बौद्ध–जोरपाटी सडकमा स्थानीय र प्रहरीबीच झडप

काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

तस्वीर : शैलेश काेइरालाबाट
चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरूले बिहीबार सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

बौद्धबासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ ।

विसं २०७२ देखि शुरु गरेपनि २०७६ सम्म पिच नभएकाले उनीहरू आन्दोलनमा उत्रेका हुन् । स्थानीयले आज चुच्चेपाटीदेखि जोरपाटीसम्म सडक बन्द गरेका छन् ।

स्थानीयले प्रहरीका गाडीलाई समेत गुड्न दिएका छैनन् । शंख फुक्दै टायर बालेर सरकार तथा ठेकेदारको विरोध गरेका छन् । प्रदर्शनकारी प्लाकार्ड लिएर सडकमा उत्रिएका छन् ।

चाबहिल–जोरपाटीसम्म ३.६ किमी सडक विस्तारका लागि २०७२ असोज १३ गते युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर्स प्रालि लगायत ५ कम्पनीसँग सम्झौता भएको थियो ।

मुआब्जाको विषयमा अदालतको अन्तरिम आदेश, बजेट अभावलगायतका कारण विस्तारको काम अवरुद्ध भएको भन्दै ठेकेदार कम्पनी जिम्मेवारीबाट पन्छिदै आएको छ ।

जोरपाटीसम्मको क्षेत्रमा सडक अधिकार क्षेत्रकै विवाद छ । दायाँ भागमा सडक बन्नुअघिको राजकुलो मिचेर व्यक्तिले जग्गाधनी प्रमाण पूर्जा बनाएको बायाँ किनारका स्थानीयवासीको भनाइ छ ।

बौद्ध र जोरपाटी क्षेत्रमा वर्षामा पानी जमेर पोखरी बन्ने समस्या समस्या तथा घाम लाग्दा धुलोले बस्न नसक्ने भएपछि स्थानीय आन्दोलनमा उत्रेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *