सञ्चारमन्त्री बाँस्कोटाले झुट बोले [भिडियोसहित]

असार ६, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले झुट बोलेका छन् । गुठी विधेयकका सम्बन्धमा शुक्रबार उनले आफूले ‘सामन्तवाद’ शब्द प्रयोग नगरेको दाबी गरेका हुन् ।

‘आरोप लगाइरहन पाइन्छ। पुष्टि गर्नु मुख्य कुरा हो। त्यतातर्फ फर्कन म अनुरोध गर्न चाहन्छु,’ उनको जवाफ थियो, ‘भन्दै नभनेको कुरा भन्यो भनेर रिउमर क्रियट गरेर, पानी धमिल्याएर माछा मार्न सकिन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला।’ प्रतिनिधिसभामा विनियोजन विधेयक ०७६/७७ अन्तर्गत मन्त्रालयगत छलफलमा मन्त्री बाँस्कोटाले सांसद्ले उठाएको प्रश्नको जवाफमा आफूमाथि आरोप लगाइएको दाबी गर्दै पुष्टि गर्न चुनौती दिए। ‘कहीं त्यस्तो पुष्टि भयो भने म त्यतिखेर नै सवाल जवाफ गरौंला, मैले त्यो भनेको पनि छैन,’ उनले थपे।

मन्त्री बाँस्कोटाले काठमाडौंको कुरा सांस्कृतिक र काठमाडौं बाहिरको विषय भूमि व्यवस्था, भूमिहीनसित जोडिएको मात्रै भनेको दाबी गरेका थिए। नभनेको कुरालाई भन्यो भन्ने, तीललाई पहाड बनाउने, नचलेको हावा चलाउन खोजेर राजनीतिक लाभको स्वार्थबाट आफूमाथि आरोप लगाइएको उनको भनाइ थियो।

बैठकमा कांग्रेस सांसद डिला संग्रौलाले गुठी विधेयकको विरोधमा काठमाडौंमा उर्लिएको जनसागरलाई मन्त्री बाँस्कोटाले सामन्ती सोचको अवशेष भनेको बारे जवाफ मागेकी थिइन्।

मन्त्री बाँस्कोटाले जेठ ३० गते मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने?’ उनले प्रश्न गरे, ‘गुठी, बेखारी, हलिया, कमलरीजस्ता प्रथाले सामन्तवादको आर्थिक, सामाजिक एवं राजनीतिक चरित्रको प्रतिनिधित्व गर्थे, तिनलाई हामीले भत्काउन खोजेका मात्र हौं।’

यसअघि बास्कोटाको भनाइ यस्तो थियो ‘गुठी प्रथा सामन्तवादको स्वरूप’

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गुठी प्रथा सामन्तवादको स्वरूप भएकाले त्यसलाई समेत सुधार्न गुठी विधेयक आएको प्रतिक्रिया दिएका थिए । विधेयकमा कहीँकतै कमजोरी भए छलफल गर्न सरकार तयार रहेको उनको भनाइ थियो ।

सांस्कृतिक क्षेत्रमा हस्तक्षेप गर्ने हाम्रो चाहना होइन,’ यसअघि बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘संवाद गरेर कुरा टुंग्याउँला ।’

नयाँ कानुन बन्ने क्रममा त्यसले कहीँकतै समस्या निम्त्याउने उनको भनाइ थियो । ‘सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने ?’ उनले प्रश्न गरे, ‘गुठी, बेखारी, हलिया, कम्लरीजस्ता प्रथाले सामन्तवादको आर्थिक, सामाजिक एवं राजनीतिक चरित्रको प्रतिनिधित्व गर्थे, तिनलाई हामीले भत्काउन खोजेका मात्र हौं ।’

उपत्यकाभित्र सांस्कृतिक विषयसँग गुठी जोडिएको र बाहिर फरक रहेको उनले बताएका थिए । ‘मेरै गृह जिल्ला काभ्रेको पलाञ्चोक भगवतीमा २७ सय परिवारले गुठीको जमिन प्रयोग गरेका छन् । जग्गा व्यक्तिकै नाममा छ । तर त्यसलाई गुठी जनाइएको छ,’ उनले भने, ‘उनीहरूलाई घर बनाउन पनि गाह्रो छ । यस्ता समस्या समाधान गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *