‘जब घरमा रोटी पाक्यो, चिनी आयो, तब मेरो आत्मविश्वास बढ्यो’ -सपूत

पछिल्लो समय धेरैको मुखमा झुन्डिएको गीत हो ‘गलबन्दी’। अहिलेसम्म यो लोकगीत युट्युबमा १ करोड ८४ लाख बढी दर्शकले हेरिसकेका छन्। गीतले गायक प्रकाश सपूतको चर्चा चुलियो। सँगै विवादमा पनि तानिए।

गीतको सफलताले खुसी दिए पनि सपूतलाई दुइटा कारणले पिरोल्यो।

पहिलो, गायक शम्भु राईले गीतको भाका आफ्नोसँग मिलेको दावी गरे। धेरै दिनको विवादपछि दुईबीच सहमति भयो।

सपूतलाई पिरोल्ने दोस्रो कारण हो, जातीय विभेद। योसँग जोडिएका टिकाटिप्पणीले आफ्नो आत्मसम्मान र स्वाभिमानमा ठूलो धक्का पुगेको उनी बताउँछन्।

‘मैले बिताएका पछिल्ला पन्ध्र-बीस दिन, मेरो जीवनकै ‘ब्ल्याक डे’ हुन्,’ सेतोपाटीसँग उनले भने।

उनले केटाकेटी बेलादेखि नै जातीय विभेदका धेरै कठिनाइ भोग्दै आएका छन्। सानो छँदा एकचोटि गाउँमा टिभी हेर्न गएका थिए। उनलाई भित्र पस्न दिइएन। झ्यालबाटै चिहाए। त्यहीबेला कसैले पछाडिबाट उनलाई घचेट्यो। उनी भित्र हुत्तिए। त्यसपछि उनले गाली खाएको र रुँदै घर फर्किएको घटना सुनाए।

‘म पनि अरुजस्तै राम्रो छु, सफा छु। अनि भित्र जाँदा जातकै कारणले मैले किन गाली खानुपर्ने,’ उनले प्रश्न गरे।

जब हुर्किँदै गए, उनले गैरदलित साथी र आफूलाई समाजले गर्ने व्यवहार फरक भएको पाए। धेरैपटक गाउँका बिहे भोजमा अलग्गै बसेर खाएको सम्झिए।पछि उनले भोजै ‘बहिष्कार’ गरेको उनी बताउँछन्।

‘छुट्टै बसेर खान मनले मानेन। प्रतिकार गर्न पनि सक्दिनँ थिएँ, उल्टै अर्को समस्या आइलाग्ला भन्ने डर,’ उनले तीता सम्झना पोख्दै भने, ‘बरु नगए आनन्द।’

पाइला-पाइला छुवाछुत हुँदा नराम्रो लाग्थ्यो। कलिलो दिमागले सही-गलतका तर्क भने ठम्याउन सक्दैनथ्यो। चौध वर्ष उमेर हुँदा उनलाई लाग्यो, यो गलत हो। तब भने उनलाई धेरै पीडा हुन थाल्यो।

सपूत गाउँमा प्यारा थिए। सबैलाई आदर गर्थे। सहयोगी थिए। अरूले कहिलेकाँही उनलाई चिया खाने निम्तो दिन्थे। सुरूसुरूमा उनी जान्थे, पछि जान छाडे। चिया खाएपछि भाँडा माझ्नुपर्छ भन्ने उनलाई थाहा थियो।

‘पहिला खानैपर्ने बाध्यता थियो। घरमा चिनी किन्ने हैसियत थिएन। पछि घरमा चिनी हुन थाल्यो, घरमै चिया, रोटी पाक्न थाल्यो। त्यसपछि बहिस्कार गर्ने बल पनि आउन थाल्यो,’ उनले भने।

कहिलेकाँही व्यवहारिक र भौगोलिक अवस्थाले पनि विभेद हटाउन भूमिका खेल्ने उनी बताउँछन्। गाउँ छाडेर सहर आएपछि उनले यस्तै परिस्थिति भोगेका थिए।

‘गाउँको भोजमा अलग्गै बसेर खाने साथी पछि सहरमा मसँगै बसेर पढ्न थाले,’ उनले सुनाए, ‘हामी एउटै भान्सामा खान थाल्यौं।’

जातीय विभेदसँग जुध्दै आएकाले होला, उनी यी कुरालाई ‘अकास्मात आएको पहिरो’ मान्दैनन्।

भन्छन्, ‘यो कसैले एकैचोटि हिर्काएर गएको जस्तो होइन। हिर्काउँदै-हिर्काउँदै निलडाम बसाएको जस्तो हो।’

संसार धेरै अघि बढिसक्दा, नेपाली समाज भने अझै छुवाछुतको कुरितिमा फसिरहेकोमा उनलाई दुःख लाग्छ। आज सामाजिक सञ्जालमा भएको ‘हंगामा’ ले विभेदको कुरा चर्चामा आए पनि आफूहरू सधैंका भुक्तमान भएको उनले बताए।

‘मेरा हजुरआमा-बुबाले भोग्नुभयो, आमाबुबा अहिले पनि गाउँमा भोग्दै हुनुहुन्छ र म यहाँ। हामी पनि यही समाजका मान्छे हौं। समाजको उन्नति, विकास हामी पनि चाहन्छौं। र, छुवाछुत विकासकै वाधक हो,’ उनले भने।

संगीत क्षेत्रमा आएर नाम कमाएपछि पनि मनोवैज्ञानिक विभेदको शिकार भइरहेको उनी बताउँछन्। क्षमता समान भए पनि एकै मूल्यांकन पाउन अरूभन्दा बढी नम्बर ल्याउनुपरेको गुनासो उनले पोखे।

‘हाम्रो नम्बर कम आउँछ। किनकि हाम्रो सामाजिक स्तर तल छ,’ उनले भने।

पछिल्लो समय हिट गीतहरूमार्फत् श्रोता र दर्शकको मन जित्न सफल सपूतको गायनयात्रा सानैबाट सुरू भएको हो। उनको रोजाइ पनि लोक गीत नै हुन्थे। गाउँका स-साना मेलाहरूमा गाउँथे। एसएलसीपछि ठूल्ठूला स्टेजमा गाउन थाले। व्यवसायिक रुपमा पहिलोपटक ‘मुसुमुसु नहाँस’ नामक एल्बम रिलिज गरे। यो २०६९-७० सालतिरको कुरा हो।

त्योभन्दा अगाडि उनले ‘गरी खाने जनतालाई गरी खान देऊ’ भन्ने गीत रेकर्ड गराएका थिए। तै उक्त गीतको भिडिओ बनाउन र रिलिज गर्न नपाएको उनले बताए।

उनको पछिल्लो गीत ‘गलबन्दी’ धेरै दर्शकले रुचाएका छन्। तर यही गीतसँग जोडेर आफ्नो परिचयमाथि नै आलोचना गर्न खोजिएमा उनी दुःखी देखिए।

‘मैले सबैको लागि काम गरेको छु। तर म सबैको किन हुन सक्दिनँ,’ उनले प्रश्न गरे।

दलित र छुवाछुतको भाव जोडेर आएका लेखाइहरूले पीडा भएको उनले बताए। आफूले खेपेका दुवै विषयमा गल्ती नै नगरेको दाबी गर्दै उनले भने, ‘भाका मिले-नमिलेको कुरा पनि स्पष्ट भएको छैन। त्यो बहसमै छ। अनि म जन्मिँदै एउटा दलित हुनु मेरो गल्ती होइन नि!’

सामाजिक व्यवहारको कुरितिमाथि टेकेर अपराधी जस्तो व्यवहार गरिएकोमा पनि उनी खिन्न देखिए।

भने, ‘अपराध गर्नेहरू दलित हुन्छन् भन्ने तरिकाले कुराहरू प्रस्तुत गरियो।’

जीवनभरमा भोगेका विभेदका घटनामध्ये यो उनलाई निकै चर्को लागेको छ। भन्छन्, ‘बिस्तारै ‘कुल डाउन’ हुँदैछु।’

सपूतलाई आफ्नो समुदायसँग जोडिएको गीत गाउन मन छ। आफूलाई धेरैले ‘यतिका सफल गीत गाउँदा आफ्नो समुदायका लागि गर्न सकिँदैन’ भन्ने गरेका छन्। अहिलेको घटनाले उनलाई झनै हौस्याएको छ।

‘तयारी थालेको छु। एक वर्षभित्र दलित विषयसँग जोडिएको गीत निकाल्छु,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *