बाँचेर आइयो, पैसाको फिकर छैन’

शंकर दाहाल

छोराछोरीसँग अदिबहादुर गुरूङ।छोराछोरीसँग अदिबहादुर गुरूङ।

श्रीमान् परदेशमा बिचल्ली परेका सात महिना अनु गुरूङका लागि सात वर्षभन्दा लामाजस्ता भए।।

मरूभूमिमा रियाल कमाउन गएका उनका श्रीमान्बारे खबर आउँथ्यो-कम्पनीले तलब दिन बन्द गर्‍यो रे, एक छाकमात्र खान दिन्छ रे।

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि कतार पुगेका अदिबहादुर गुरूङ ठगिए। चर्को गर्मीमा ज्यामीको काम। न तलब पाए, न घरै फर्किन पाए।

एकातिर परदेशीको अत्याउने खबर अर्कातिर छोराछोरीले सोध्थे- हाम्रो बाबा कहिले आउनुहुन्छ?

बालख केटाकेटीको प्रश्नमा अनुत्तरित अनु अलपत्र परेका बेखर्ची श्रीमानका दुःख महसुस गर्थिन्।

अनु र अदिलाई पाखुरा बजाउँदा नेपालमा दुई छाक खान पुगेकै थियो।

अनुलाई लाग्थ्यो- श्रीमानको हातमा नभएको सीप छैन।

विदेसिनुअघि अदि फर्निचरमा काम गर्थे। दिनको हजार रुपैयाँले पनि महिनामा २४-२५ हजार कमाइ हुन्थ्यो।

दुई सन्तान जन्मिएपछि भने अनुलाई भविष्यको चिन्ताले पिरोल्न थाल्यो।

नानीबाबुलाई कसरी हुर्काउने, कसरी पढाउने? अनुले नै अदिबहादुरलाई विदेश जान कर गरिन्।

केही साताअघि अदिसहित एक सय २५ नेपाली कामदार कतारमा अलपत्र परेको खबरले मलाई अनुको इटहरी–२, शान्तिनगरको घरसम्म पुर्‍याएको थियो।

एकातिर श्रीमानको सुर्ता अर्कातिर सन्तान हुर्काउने महाभारत।

जेठ १ गते अनुको घर पुग्दा उनको अनुहार मलिनो थियो।

‘ट्रयाप इन कतार’ वृत्तचित्र छायाँकनका क्रममा कतारमा अदिबहादुर गुरूङलाई भेटेपछि जर्मन टिभी डब्लुडिआरले नेपालमा अदिको पारिवारिक अवस्था बुझ्न चाहेको थियो।

‘श्रीमानले खर्च पठाइरहनुभएको छैन, घर कसरी चल्दैछ?’ मैले सोधेको पहिलो प्रश्नले नै अनुका आँखा रसाए।

‘वैशाख गइसक्यो, नानीबाबुको भर्ना गरेको छैन,’ अनुले गाँठो परेको आवाजमा घरको अवस्था सुनाइन्, ‘उताबाट पैसा नआएको छ महिना भइसक्यो। उहाँकै बिचल्ली छ रे।’

क्यामेराअघि म उनको अन्तर्वार्ता गर्दै थिएँ। केही क्षण पात्रको भावुकतामा मैले आफूलाई पत्रकार हुनबाट रोकें। केहीबेरको पर्खाइपछि हलुका बनाउन बिस्तारै सोधें, ‘श्रीमानसँग कुरा हुन्छ?’

‘हुन्छ। तर म्यासेजमा मात्रै हुन्छ’ श्रीमानको बाध्यता सुनाउँदै उनले भनिन्, ‘कुरा गर्नलाई मोबाइलमा एमबी हाल्ने पैसा हुन्न रे।’

बेखर्ची भएकाले मोबाइलमा डाटा प्याक हाल्ने पैसा नहुँदा भ्वाइस कल गर्न नमिल्ने समस्या अदिले सुनाउँदा रैछन्।

करिब आधा घन्टाको अन्तर्वार्तामा अनुले बालख केटाकेटी हुर्काउने जिम्मेवारी र कतारमा श्रीमानको अवस्थाबारे बेलिविस्तार लगाइन्।

उनका हरेक शब्दमा पीडा मिसिएको थिए। श्रीमानको व्यग्र चिन्ता र प्रतिक्षा थियो।

अनुका श्रीमानले सकेसम्म आफ्नो पीडा भन्दैनथे। आफ्नो दुःखले परिवारलाई झन् पीडामा पार्न उनी चाहँदैनथे। तर श्रीमतीको ढिपीले कतारको कहर सुनाउन अदि बाध्य हुन्थे।

इटहरीकै एक म्यानपावर कम्पनीबाट कतार पुगेका अदिलाई कम्पनीले बेखर्ची बनाउँदा असह्य दुःख पाएछन्।

कामदार सप्लाई गर्ने कम्पनी भएकाले कामको ठेगान नहुने। भिडियो च्याट गर्दा अदि समुद्र किनारमा फलाम उचाल्ने, सडकमा काम गर्नेजस्ता दृष्य देखाएर ‘परदेशी जिन्दगी’ भन्दै पीडादायी ठट्यौली गर्थे।

श्रीमानले दुःखै गरेर भए पनि पठाएको पैसाले जेनतेन घरखर्च चल्दै थियो। तर कम्पनीले तलब नै रोकिदिएपछि सोचेजस्तो भएन जीवन।

कतार पुगेपछि साथमा पासपोर्ट नहुँदा कम्पनीको अनुमतिबिना नेपाल पनि फर्किन पाएनन् अदिले। साथै कम्पनीले ‘रिलिज पेपर’ नदिएकाले रोजगारीका लागि अन्य कम्पनी चहार्न पनि पाएनन्।

पासपोर्ट र रिलिज पेपरबारे अदिले भोगेको समस्या वैदेशिक रोजगारीका लागि कतार, साउदी अरब, मलेसियाजस्ता गन्तव्य मुलुक पुगेका अधिकांश नेपालीको साझा समस्या हो।

अदिले साथीहरूसँग मिलेर कम्पनीलाई दबाब दिन त्यहाँको श्रम अदालतमा अपिल पनि गरे। जवाफमा अदालतले कामदारको मुद्दालाई उच्च अदालतमा पठाइदियो। तर कम्पनीको आवास क्याम्पमा बन्दीझैं जीवन बिताइरहेका अदिलाई हरबखत अदालत धाएर मुद्दाबारे बुझिरहन सम्भव थिएन।

हुन त विचल्लीको खबर बोकेर अदि र साथीहरु दोहास्थित नेपाली दूतावास धाए पनि। तर कामदारको तलबका लागि दूतावासले पनि कम्पनीलाई बाध्य बनाउन सकेन।

‘मरूभुमिको देशमा सबै पराई। नकमाउने भएपछि त्यहाँ साथीभाइ पनि टाढिने,’ बेखर्ची हुँदा घरमा कुरा गर्न पनि मुस्किल हुन्छ भन्थे अदि।

मोबाइलमा एमबी हाल्न कम्पनीको क्याम्प वरपर तामाका तार खोज्ने, जम्मा पारेको तार बेचेर जम्मा भएको १५-२० रियालले मोबाइलमा डाटा प्याक हालेको अनुलाई सुनाउथे।

अदिसहित परिवारमा ३ भाइ छोरा। सबैले घरजम गरिसकेका। ६५ वर्षीया वृद्ध आमासहित बुहारीहरू एकै छतमा बसेका। तीनै भाइ वैदेशिक रोजगारीका लागि खाडीमा।

फिल्मको कथाझैं लाग्ने घटना हुँदा पनि अनुले आश मारिनन्। श्रीमान् आउन बाटो हेर्न छाडिनन्। ‘घरको आर्थिक अवस्था जस्तो भएपनि हात फैलाएर अरुकहाँ गइनँ,’ अभाव र पीडाका ती दिन सम्झँदै अनु भन्छिन्, ‘मेरो अप्ठ्यारोमा माइतीले गर्ने सर-सहयोगबाहेक अरूसँग हात पसारिनँ।’

अनुसँग कुरा गरी काठमाडौं फर्किएको १० दिनपछि अन्ततः अदिबहादुर नेपाल फर्किए।

म उनलाई भेट्न गएँ।

‘बाँचेर आइयो भन्नुपर्‍यो,’ अदिबहादुरले भने।

कम्पनीले तलब पनि नदिने घर पनि नपठाउने देखेपछि क्याम्पमा रहेका झन्डै सय नेपालीले अनेक प्रयासपछि टिकट खर्च जुटाएछन्।

पासपोर्ट उपलब्ध गराउन दूतावासले गरेको गुनासोको सुनुवाइ भयो। तर तलब रकमबापत् पाउने पैसा कम्पनीले नदिएपछि नेपाल फर्किन टिकट कसरी काट्ने त? अदिलाई झनै पीडा भएछ।

‘एक दिन कुवेतबाट फोन आयो’ अदिले सम्झिए, ‘नातामा काका ससुरा पर्ने अंकलले टिकट काटिदिनुभएछ।’

अनुले आफन्तमार्फत् श्रीमानलाई नेपाल झिकाउन पहल गरेकी रैछन्।

अदि घर फर्किएपछि परिवारमा फर्किएको खुसी पछ्याउँदै म सुनसरी तरहरा चोकबाट एक किलोमिटर पूर्वतिर पर्ने अनुको घरमा फेरि पुगें।

अदि नहुँदा र हुँदाको भिन्नता प्रष्टै छुटिन्थ्यो। गाउँका साथीभाइ आउजाउ थियो। सानी छोरी बाबाको काँधमा चढेर खेलिरहेकी थिइन्। पहिला शुन्य लाग्ने घरमा छरछिमेकको आउजाउले उज्यालो लाग्थ्यो।

श्रीमान घर आएपछिको खुसी साट्दै अनुले भनिन्,‘उहाँ त मेरो सहारा हो। उहाँ हुँदा आँट आउँछ।’

अनुले यसो भनिरहँदा अदिको अनुहारमा निराशाबीच पनि चमक देखिन्थ्यो।

अदि परिवारमा फर्किएपछि पीडादायी ती सात महिना इतिहास बने।

‘विदेशमा दुःख पाउनु भो, पैसा पनि भएन। घर फर्किनै मुस्किल भयो। कसरी सम्झनुहुन्छ?’ मैले अदिलाई सोधें।

उनले सरल उत्तर फर्काए-बाँचेर आइयो, पैसाको कुनै फिकर छैन।

अहो, कत्रो आत्मविश्वास! मैले अनुतिर फर्कदै सोधें-श्रीमान् साथमा नहुँदाको क्षणले पाठ पनि त सिकायो होला नि?

अनुलाई बितेका ती ७ महिना अत्यन्त कष्टपूर्ण नै लागेका रैछन्। श्रीमान कसरी फर्किएर आउलान् भन्ने चिन्ता एकातिर। अर्कातिर घर धान्ने जिम्मेवारी।

अघिल्लो पटकको भेटमा अनु भन्थिन्, ‘म पनि केही गर्न सक्छु। प्लस टु सम्म पढेकी छु।’

परदेशमा छँदाको दुःख सम्झनै मन नलाग्ने दुबै जना बताउँछन्। तर ती दुःखका दिनले पाठ भने सिकाएर गएको अनुभव दुबै जनासँग छ।

‘अतितमा बाँच्न त सकिँदैन। तर अतितको भोगाइबाट जिन्दगी जिउने प्रेरणा मिल्दो रैछ भन्नुपर्‍यो,’ हाँस्दै अदिले सुनाए।

अहिले अदि इटहरीकै एउटा फर्निचर उद्योगमा काम गर्छन्।

‘खाली बस्नुभन्दा इलम गरे मन हल्का हुन्छ,’ हातको सीप उपयोग गरिरहेको बताउँदै अदिले भने, ‘जे त होला, परिवार सन्तानको खुसी नै मेरो खुसी हो।’

setopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *