कोठामा श्रीकृष्णको तस्विर सजाउन दिनेसँग मात्रै विवाह गर्छुः श्वेता खड्का

अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन् । श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले बिहे गरे । तर, विवाहको एक महिनामा नै श्रीकृष्णको निधन भयो ।

त्यसपछि विक्षिप्त बनेकी श्वेता अहिले नयाँ जीवन बाँचिरहेकी छिन् । उनी ‘श्वेता श्री फाउन्डेसन’मार्फत माझी बस्ती निर्माण पनि गरिरहेकी छिन् । श्वेतासँग उनको अबको जीवनबारे नयाँ पत्रिकाका नवीन प्यासीले सोधखोज गरेका छन्ः–

तपाईंसँग अझै लामो जीवन बाँकी छ । अबको यात्रा कसरी गर्नुहुन्छ ?

म आजका लागि बाँच्छु । आज जसरी पनि खुसी हुने प्रयत्न गर्छु । भोलि के हुन्छ, सोच्दै सोच्दिनँ । अरूले के भन्छ, सोच्छ पनि ख्याल गर्दिनँ । उहाँ (श्रीकृष्ण श्रेष्ठ)ले मलाई यसरी अधुरो बाटोमा छाडेर जानुहुन्छ भनेर कसरी थाहा हुन्छ ? श्रीकृष्ण श्रेष्ठसँग विवाह हुन्छ भनेर पनि थाहा थिएन नि । एक महिनामा फिक्स भएर विवाह भयो । इन्टरकास्ट, उमेरको ग्यापलगायत हरेक कुराले हाम्रो विवाह नहुनुपथ्र्यो । तर, भयो । भोलिको कुरा कसलाई के थाहा ?

हिजोको जीवन त सकियो । अबको दिनमा त नयाँ सपना र सोच चाहियो नि, होइन ?

पहिलाको श्वेता त उहाँले छाडेर गएको दिन नै जलेर मरिसकी । म अर्को श्वेता जन्मेकी हो । अहिले नयाँ जे पनि सोच्न सक्छु । मेरो जीवनमा जे पनि हुन सक्छ । पहिलाको जिन्दगीको त्यो गाडी, त्यो लुकिङ मिरर हेर्न छाडिसकेँ, जुन बाटोमा मेरा पछाडिका घटना देखिन्छन् । त्यही भएर म फ्रेस श्वेता हो । मैले फिल्म पनि बनाएँ र दर्शकको मन जितेँ । बस्ती पनि बनाउँदै छु । जे गर्दै छु, नयाँ गर्दै छु ।

यदि भोलि विवाह भइहाल्यो भने श्रीकृष्ण श्रेष्ठलाई बिर्सनुहुन्छ ?

यदि मेरो विवाह भइहाल्यो भने उहाँलाई राख्ने स्पेस सिर्जना गर्न नसक्नेसँग हुँदैन । मेरो नयाँ घरमा पनि उहाँको तस्बिर राख्न पाउनुपर्छ । उहाँको जन्मदिन हरेक वर्ष सेलिब्रेट गर्न छुट दिने मान्छे आए विवाह गर्छु । उहाँ मेरो विगत हो । मेरो विगतलाई स्वीकार गर्न नसक्ने मान्छेसँग विवाह हुँदैन । मेरो प्रत्येक पलमा उहाँबारे बोल्दा तारिफ गर्ने मान्छेसँग हुनुपर्छ । धनले, रूपले मलाई अर्थ राख्दैन । मन राम्रो भएको मान्छेसँग अवश्य जोडिन सक्छु ।

000

दयाहाङ राईकी आमा हुँदा…

धेरै फिल्ममा म अभिभावकको भूमिकामा देखिएकी छु । ‘कबड्डी कबड्डी’मा मैले दयाहाङ दाइकी माइजूको भूमिका निभाएँ । फेरि ‘मिस्टर झोले’मा दयाहाङ दाइकै आमाको भूमिकामा देखिएँ । दयाहाङ दाइ मेरो अभिभावकझैँ लाग्छ । तर, फिल्ममा म उहाँको अभिभावकको भूमिकामा देखिएँ । यो भूमिकाले जन्माएको सम्बन्ध हो । त्यसैले कहिल्यै अप्ठ्यारो लागेन ।
अप्ठ्यारो नहुनुको पहिलो कारण मैले ०५९ सालतिर १९ वर्षको उमेरदेखि नै आमाको भूमिका गर्दै आएँ ।

रेडियो नाटकहरूमा मलाई आमा, भाउजू, फुपूजस्ता पात्रको भूमिका दिन्थे । मेरो स्वरले पनि साथ दियो । पछि गुरुकुल पुगेँ । त्यहाँ मञ्चन भएका नाटकमा पनि मैले दिदी, आमा, भाउजू, माइजूकै भूमिका निभाएँ । त्यसैले आमा बन्न मलाई सहज लाग्छ । दया दाइ छोरो र म आमा भएर भूमिका निर्वाह गर्न सक्नु थिएटरको सहयोग पनि हो । हामी दुवै रंगमञ्चबाट आएका हौँ । जस्तो भूमिका निर्वाह गरे पनि पात्रलाई न्याय गर्नुपर्छ भन्ने स्कुलिङ भयो ।

मैले ०५९ सालतिर १९ वर्षको उमेरदेखि नै आमाको भूमिका गरेँ । रेडियो नाटकहरूमा मलाई आमा, भाउजू, फुपूजस्ता पात्रको भूमिका दिन्थे । मेरो स्वरले पनि साथ दियो । पछि गुरुकुल पुगेँ । त्यहाँ मञ्चन भएका नाटकमा पनि मैले त्यस्तै भूमिका गरेँ ।

मैले आमाको चरित्रमा अभिनय गरिरहँदा गम्भीर हुन्छु । जब ‘कट’ हुन्छ, हाँस्न थाल्छु । ‘यस्ती तरुनीले कस्तो आमा हुन सकेको’ भनेर कतिले जिस्काए पनि । मैले त्यसलाई सहजै स्विकारेँ । अनि मेरो भागमा भूमिका पनि त्यस्तै पर्छ । त्यस्तै प्रस्ताव आउँछ । म नकार्दिनँ । चरित्रप्रधान भूमिकामा स्थापित हुन सक्नु ठूलो कुरा हो ।

दया दाइकी आमा भएको सुहाएन भन्ने कोही छैनन् । कतिले नखेल्नू भने । तर, भूमिकालाई न्याय गर्न सक्ने आत्मविश्वासले खेलेकी हुँ । दर्शकले रुचाइदिनुभएकै छ । फेरि दया दाइसँग काम गर्न सजिलो छ । उहाँ आफ्नो भूमिकालाई साह्रै गम्भीर भएर निर्वाह गर्नुहुन्छ । काम सिक्न पनि पाइन्छ । उहाँले चरित्रमा डुब्न पनि सहयोग पु¥याउनुहुन्छ । अब हिरोसँग रोमान्स गीत गाउँदै नाच्ने रहर पनि छैन । म जे गरिरहेकी छु, त्यही भूमिकालाई न्याय गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।

000

हैट भनेर बोलाउँछन् : बुद्धि तामाङ

मलाई दर्शकले चिनेकै मैले प्रयोग गर्ने थेगो ‘हैट’बाट हो । यो शब्द म कबड्डी खेल्नुभन्दा अगाडिदेखि बोल्थेँ । यो आममानिसले बोल्ने थेगो हो भन्ने लाग्छ । यो शब्दलाई मैले केही नाटकमा पनि बोलेँ । नाटकमा सीमित दर्शक हुन्छन् । उनीहरूले यो शब्दमा ध्यानै दिएनन् । यस्तैमा मैले कबड्डीमा भूमिका पाएँ । रामबाबु गुरुङले मलाई मेरो चरित्रबारे बताउनुभयो ।

कबड्डीमा मेरो भूमिका साह्रै बतासिएको पात्र थियो । सितिमिति नबोल्ने । बोलिहाल्यो भने झटारो हानेजसरी बोल्ने । नहाँस्ने । ठाडो बोल्ने । अनि मैले मेरो भूमिकामा ‘हैट’ शब्द जोडेर संवाद बोलेँ । रामबाबु गुरुङ सरलाई मन प-यो । उहाँले स्क्रिप्टमा नै राख्ने प्रस्ताव गर्नुभयो ।

मैले पछि सुटिङमा हरेक संवाद ‘हैट’ राखेर बोल्न थालेँ । पहिला केही नर्भस भएर ‘हैट’ भन्थेँ । फिल्ममा अलिकति उच्च आवाजमा भनेँ । ०७१/७२ सालतिर कबड्डी रिलिज भयो । एकाएक यो ‘थेगो’ चर्चित भयो । मैले त ‘हैट’ यति धेरै चर्चित हुन्छ भनेर कहिल्यै सोचेकै थिइनँ । अहिले काठमाडौंबाहिरका कार्यक्रममा ‘हैट’ भनेर सम्बोधन गर्छन् । मेरो करिअरको टर्निङ पोइन्ट ‘हैट’ थेगो पनि हो । जसका कारण म व्यस्त कलाकार हुन सकेको छु ।

नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *