भूमिगत जिबनले थबाङका दौँतरी कमरेडलाई सम्झिंदा

– सन्तोष बुढामगर

मैले तपाईंंलाई थबाङमा भेट्न पाइनँ । तपाईंलाई हजारौँथबाङी जनताका माझ शिर निहु¥याएर सलाम गर्न पनि पाइनँ ।

मैले सुनेँ तपाईं हामीबाट सदाका लागि भौतिक रूपमै बिदा लिएर जानुभएछ तर म भौगोलिक रूपले टाढा छु । प्रतिकूल परिस्थितिकाकारण तपाईंका बारेमा ढिलो खबर पाएँ । मलाई हो कि होइन भन्ने निकै खुलदुली लागिरह्यो । फोन गरौँ, कसैको फोन छैन । म फेसबुक लाग्ने ठाउँमा पनि छैन । त्यसै बेला मलाई एकजना कमरेडले फेसबुकमा हजारौँथबाङी जनता तपाईंको सम्झनामा रोइरहेको र श्रद्धाञ्जली दिइरहेको फोटो देखाएपछि मात्र मलाई विश्वास भयो, थबाङले फेरि एउटा असल सपूत गुमाएछ ।

 

म भावुक भएँ । थबाङी जनतासँगसँगै श्रद्धाञ्जली दिन पाइनँ । आँसु मिसाउन पाइनँ तर एकान्तमा केवल मैले एक्लै शिर झुकाएँ । आँखाबाट आँसु झरिरह्यो । मेरो आँखामा त्यो दिनभरकमरेड उज्ज्वलतपाईं नै आइरहनुभयो । मेरो मस्तिष्कमा तपाईं नै छाइरहनुभयो । त्यो दिनभरमेरो न पढ्ने–लेख्ने, न अरू कुराकानी र कामकाज गर्न नै जाँगर लाग्यो । लामो मौनतापछि कम्प्युटर खोलेँ र तपाईंकाबारेमा वातचित शैलीमा केही भावनाहरू पोखेपछि मात्र मेरो मन अलि शान्त र हल्का भयो । ढिलै भएपनि, शब्दबाटै भएपनि कमरेड हार्दिक हार्दिक श्रद्धाञ्जली छ ! साथै शोकाकुल परिवारजन, समस्त थबाङी जनता र नेकपा थबाङका सम्पूर्ण कार्यकर्ताहरूमा समवेदना छ । यसघडीमा शोकलाई शक्तिमा बदल्दै उहाँका अधुरा इच्छा र उद्देश्यहरू पूरा गर्न सबैले प्रण गरौँ ।

हो, यसरी नै कमरेड रिङ (आदरणीय मामा कमान झाँक्री, भिनाजु साङ, ताराप्रसाद, रुजबहादुर रोका, सूर्यबहादुर रोका, बैनी लली रोका, दाइदिलमान रोका र दाइदिलकुमार बुढा, कमलबहादुर रोका, सहयोद्धा नेहरु रोका, धनप्रसाद बुढाहरूको सन्दर्भमा पनि भयो । कमरेड उज्ज्वललाई सम्झिरहँदा मेरो मस्तिष्कमा मेरा यी पुराना साथीहरू, सहयोद्धाहरू र गुरुहरूको सम्झना आइरह्यो र मैले यसरी नै मौनश्रद्धाञ्जली दिएँ ।

मलाई लाग्छ, यो केवल भावावेश होइन । यो विचार र भावना मिश्रित समवेदना हो । विचारको सवालमा लामो समय एउटै विचार एउटै उद्देश्यका लागि लडिरह्यौँ । हाम्रो दुस्मन एउटै थियो । हाम्रो लक्ष्य एउटै थियो । हाम्रो उद्देश्य साझा थियो । हामी साझा उद्देश्यका लागि बलिदान दिन तयार थियौँ । भावनाको सवालमा हामी एउटै गाउँले थियौँ, एउटै ठाउँ, सँगै खेलेको, सँगै हुर्केको, लडेको, हरेक दुःख–सुखमा सहभागी भएका सहयोद्धा थियौँ । त्यसैले भावनात्मक रूपले पनि नजिक थियौँ । यी दुईको कुलयोगमा विचार नै प्रधान हो र हाम्रो लक्ष्य, उद्देश्य हासिल गर्ने वैचारिक राजनीतिक पक्ष नै प्रधान पक्ष हो ।

यस हिसाबले पनि एकजना सहयोद्धा गुमाउँदाको बिछोडको पीडाले पिरोल्दा कति धौ हुन्छ, त्यो स्वाभाविकै हो । यसले मलाई निकै मर्माहत बनायो नै । यस्तै थबाङका समस्त पार्टी, कार्यकर्ता, सहयोद्धा, दौँतरी र एकजना जनप्रतिनिधिको हैसियतले त्यहाँका जनतायस्तै भावविह्वल हुनु र दुःख पर्नु पनि स्वाभाबिक छ । मानवीय स्वभाव नै यस्तो छ, सधैँभरि परिवार, दौँतरी, प्रियसी, सहयोद्धा, जनता र कार्यकर्ता सँगै रहन पाए हुन्थ्यो भन्ने हुन्छ तर यथार्थभने उल्टो छ ।

बा–आमा, श्रीमान्–श्रीमती, बाआमाको छोरा–छोरीसँग, दुई प्रियसीका बीच, नेताहरूबीच, सहयोद्धाहरूबीच, नेता र कार्यकर्ताबीच कुनै न कुनै रूपबाट बिछोडिनु पर्ने । बिछोड हुँदा वा छुट्टिँदा पीडाबोध हुने, दुःखमनाउ हुने र मिलन हुँदा रमाइलो र आनन्द हुने यो जैविक नियम हो । यो चेतनशील मानवजीवन र अचेतनशील प्राणी जगत् सबैमा लागू हुन्छ । चेतनशील र सामाजिक प्राणी भएको नाताले मानव जातिले यसको मात्रा बढी महसुस गर्ने पनि स्वाभाविक हुन्छ तर प्राणी जगत् नबोल्ने भएकाले प्रत्यक्ष बोधनहुने गरी हुन्छ । अझ रूख,वनस्पति जगत्मा झन् अबोध रूपमा हुन्छ । यस नियमबाट हामी कोही पनि अछूत रहन सक्दैनौँ ।

जहाँसम्म जीवन र मरण (जन्मने र मर्ने) कुरा छ यो एक प्राकृतिक नियम हो । सजीव प्राणी वा निर्जीव वस्तु पनि जन्मन्छ र मर्दछ । सबैको आयु हुन्छ । हरेक प्राकृतिक वस्तुको पनि ग्यारेन्टी हुन्छ । कति बाँच्ने÷रहने यथास्थितिमा भन्ने समय अवधि हुन्छ सबैको । निश्चित अवधि वा समयपछि त्यो अर्को वस्तुमा रूपान्तरण हुन्छ वा बदलिन्छ । जस्तै कुनै पनि मानवनिर्मित वस्तुमा ग्यारेन्टी वा वारेन्टी तोकिएको हुन्छ । पृथ्वी, ब्रह्माण्ड, सौर्य परिवार, ग्रह, उपग्रह, पृथ्वीमा उपलब्ध हरेक वस्तुहरूको आयु हुन्छ । ठीक त्यस्तै मान्छेको पनि आयु हुन्छ ।

मान्छे जन्मनु र मर्नु नियमभित्र पर्दछ खैर यतिमात्र हो कहिले मर्ने, कसरी मर्ने भन्ने कुरा मात्र अज्ञात हुन्छ । मर्नुका दुई प्रक्रिया छन्– पहिलो स्वभाविक मराइर दोस्रो आकस्मिक मराइ (अर्थात् असामयिक निधन भनिन्छ) । स्वाभाविक मराइ भन्नाले उसको बाँच्ने पूर्ण समय कटाएर मर्नु र आकस्मिक मराइभन्नुको अर्थमर्ने पूर्ण उमेरभन्दा अगाडि नै कुनै प्रकारले आकस्मिक मृत्यु हुनु । आकस्मिक मृत्यु पनि केहीदुर्घटनामा परेर, कोही आत्महत्या गरेर, कोही कुनै महामारी वा रोगविशेषका कारणत कोही आपसमा झगडामा काटमार गरेर, कुनै द्विपक्षीय समूह–भिडन्तमा त कोही वर्गीय लडाइँ वा सङ्घर्षमा र लाखौँ मान्छेहरूत राज्य–राज्यबीचका स्वार्थपूर्ण युद्धहरूमामरिरहेका छन् । जस्तै भारत र पाकिस्तानबीचको कास्मिरी सीमा युद्ध, सिरियाको युद्ध, न्युजिल्यान्ड र श्रीलङ्काका चर्च र मस्जिदमा भएका धार्मिक हत्याकाण्डहरू, दिनदिनैजसो भैरहेका आत्मघाती बमकाण्डहरू आदि ।

आजको समाज वर्गसमाज हो । वर्गसमाजमा मान्छे पनि वर्गीय छ । आजको समाज शिक्षित र वैज्ञानिक समाज पनि हो । वर्गसमाजले वर्गसत्ता जन्माएको छ र वर्गसमाजले मानव–मानवबीचमा असमानता जन्माएको छ । त्यही असमानताले अनेकथरी स्वार्थ र उत्पीडनहरू जन्माएको छ । उत्पीडनले वर्गसङ्घर्षलाई जन्म दिएको छ । वर्गसङ्घर्षले नै ठूलठूला युद्ध र नरसंहारकारी विश्वयुद्धजस्ता घटनाहरू निम्त्याएको छ । मान्छेले बम, अणु बम, हाइड्रोजन बम, बन्दुक, मेसिनगन, मिसाइल किन बनायो ? मान्छे मार्न त हो ।

आज सबैभन्दा बढी र खतरनाक मिसाइल अमेरिकासँग छ र उसले कुनै पनि राष्ट्रलाई मिसाइल बनाउन दिँदैन । उत्तरकोरियासँगको झगडा ‘किन मिसाइल बनाइस्, बन्द गर’ भनेर भैरहेको छ भने इरानमाथि आक्रमण सुरु गरेको छ । त्यो पनि इरानको ‘परमाणु कार्यक्रम’ रोक्नलाई हो । आफूसँग जति पनि हुने र राख्न हुने,अरूलाई आत्मरक्षाकालागि बनाउन पनि नदिने अमेरिका अहिले सबैमाथि बहुला कुकुरझैँ झम्टिरहेको छ । मान्छे भटाभट मारिरहेको छ तर अरूलाई शान्तिको उपदेश दिइरहेको छ ।

यी तमाम कुराहरू वर्गसमाज र वर्गस्वार्थका कारणजन्मेका हुन् । मान्छे विश्वभरदिनमा हजारको दरले मर्ने र त्यसको तीनगुणाको दरले जन्मने भैरहेको छ । यसले समाजमा जनसङ्ख्या गुणात्मक रूपले बढ्दो छ र ठूलठूला प्राकृतिक र मानवीय सङ्कटहरू आइरहेकाछन् । यसले ठूलठूला लडाइँ र नरसंहारलाई निम्त्याइरहेको छ । मर्ने मान्छे नै हो, दैनिक कति मरिरहेकाछन । आर्यघाट, स्वयम्भु, बौद्धघाट, देशैभरिका घाटहरूमा दैनिक कति मान्छे खरानी भैरहेकाछन् । यी सबै मृत्युहरू मान्छेले नभोगिनहुने, पार नगरिनहुने नियम हुन् ।

त्यसैले आज मान्छेको एक हिस्सा मान्छेको आकस्मिक मृत्युलाई न्यूनीकरण गर्न सचेत रूपले लागिपरेको छ । यसमा तात्कालिक हिसाबले डाक्टरहरू र दीर्घकालीन हिसावले कम्युनिस्टहरू लागिपरेका छन् । मान्छेको स्वाभाविक मृत्युलाई त कसैले रोकेर रोक्न सक्दैन तर आकस्मिक मृत्युलाई केही हदसम्म कम गर्न सकिन्छ । बिरामी र स्वास्थ्यसम्बन्धी विषयमा डाक्टरहरूले यसमा भूमिका निर्वाह गरिरहेका हुन्छन् जसले तात्कालिक मृत्युको मिति (Date of death line)लाई अलि पर सारिदिन्छन् ।

तर कम्युनिस्टहरू मानव समाजको सबभन्दा सचेत मानव समूह भएकाले उनीहरू स्थायी शान्ति चाहन्छन् र समाजमा व्याप्त असमानताको अन्त्य गरेर वर्गसमाजकै अन्त्य गर्न चाहन्छन् । यसको गन्तव्य वैज्ञानिक समाजवाद र साम्यवाद हो भनेर ऐलान गर्दछन् । यो भनेको साम्राज्यवाद र आधुनिक निगम पुँजीवादको अन्त्य गरेर समस्त मानवसमाजलाई एउटै मानव जातिमा बदल्ने र सम्पूर्ण युद्धहरू, सङ्घर्षहरू र सबै प्रकारका हिंसाका स्रोतहरूको अन्त्यगर्ने कुरा हो । यो भनेको मानवसमाज र मानव जातिबाट सदाकालागि अशान्ति र युद्धको अन्त्य गर्ने कुरा हो ।

त्यसकारण दीर्घकालीन हिसाबले मानव जातिको युद्ध र आकस्मिक सामाजिक हिंसाहरूबाट मानव समाजलाई मर्नबाट बचाउने सबभन्दा उत्तम तरिका कम्युनिस्टहरूले उठाइरहेको मुद्दा हो । यो मानव जातिलाई अनावश्यक मृत्युबाट रोक्ने उत्तम उपाय हो । तात्कालिक हिसाबले पनि कम्युनिस्टहरू समाजको वैज्ञानिक चेतनाले युक्त मानिस भएकाले उनीहरू सचेतन मृत्युलाई सकार्दछन् । जस्तै सहिद बन्नु । सहिद बन्नु समाजका धेरै मान्छेहरूलाई आकस्मिक वा दीर्घकालीन घटना/दुर्घटना वा धेरै ठूला हिंसात्मक घटनाहरूबाट आम जनतालाई बचाउने सचेतन मृत्युको प्रक्रिया हो । बलिदान गर्नु आत्महत्या होइन । आत्महत्या अपराध हो । बलिदानी भावना सहिद बन्नु हो र सहिद बन्नु मरेर पनि बाँच्नु हो । कम्युनिस्टहरू भन्ने गर्दछन् एकथरी मानिसहरू बाँचेर पनि मर्दछन् भने एकथरी मानिसहरू मरेर पनि बाँच्दछन् । उदाहरणको लागि जनयुद्धका सहिदहरू मरेका होइनन्, जीवनलाई अमरत्व दिएका हुन् । तर प्रचण्डहरू बाँचेर पनि मरे । यही हो कम्युनिस्टहरूको जीवन र मृत्युको परिभाषा ।

म कम्युनिस्ट हुँ, त्यसैले मैले मृत्युलाई बुझेको छु । म मान्छे हुँ, त्यसैले ममा भावना पनि छ । मलाई थाहा छ मान्छे एक दिन मर्नै पर्दछ । एक मान्छेले एकैपटक मर्ने हो, दुईपटक होइन । फेरि पनि मेरा आफन्त, मेरा साथीभाइनालनाता, सहयोद्धा मर्दा म किन रुन्छु, मलाई किन पीडाबोध हुन्छ, ममा किन समवेदना पैदा हुन्छ, मेरो आँखाबाट आँसु किन झर्छ ? किनकि ममा चेतना र भावना छ । फेरि म संयमित हुन्छु किनकि ममा चेतना र विचार पनि छ । मैले मृत्युलाई राम्ररी बुझेको छु किनकि म एक कम्युनिस्ट पनि हुँ ।

म मृत्युलाई स्वाभाविक ठान्छु तर कमरेड उज्ज्वलको निधनमा किन म मर्माहत भएँ अथवा मेरा कुनै पनि सहयोद्धा, नाता, आफन्त मर्दा किन मर्माहत हुन्छु ? किनकि उहाँहरु मेरो एक असल कमरेड, असल नातेदार, असल छिमेकी, हाम्रो पार्टीको एक असल क्याडर, एक सहयोद्धा हुनुहुन्थ्यो । उहाँसँग मेरा धेरै बाचाहरू थिए । सँगै लड्ने सँगै मर्ने आदि । त्यसैले क. उज्ज्वलप्रतिको भावना वर्गीय भावना पनि हो र मानवीय भावना पनि हो ।

त्यसैले म उहाँका सन्दर्भमा यति मात्र भन्न चाहन्छु– कमरेड, हामीएउटा लक्ष्य र उद्देश्य बोकेर एक महान् यात्रामा सँगै बयलिखेल्दै सहयात्री भयौँ । सहयात्राकै क्रममा आज तपाईं आकस्मिक रूपले हामीबाट बिदा हुनुभयो । भोलि हामीले पनि तपाईंकै पथ पछ्याउने हो तर यो यात्रामा रहुन्जेल हाम्रा बाचाहरू अझै पूरा भएका छैनन् । हाम्रो गन्तव्य अझै बाँकी छ । तपाईं हामीले सुरु गरेको अभियान अन्तिमसम्म जान्छ, यसमा कुनै शङ्का छैन । अधुरा कार्यहरू पूरा गर्न म पनि अन्तिमसम्म कर्तव्यबाट पलायन हुनेछैन । थबाङ र थबाङी जनताको आशामा कुठाराघात गर्नेछैन र क्रान्तिको निरन्तर यात्रालाई जारी राख्नेछु ।

अन्तिममा प्रत्यक्ष साक्षात हुन नसके पनि शब्दबाट श्रद्धासुमन छ । श्रद्धाञ्जली !श्रद्धाञ्जली !श्रद्धाञ्जली !

Leave a Reply

Your email address will not be published. Required fields are marked *