बजारमा ‘बैनी’ आतंक !

बिहानै म्यासेन्सरमा लिंक आयो । खोलेँ । बिनु सुवेदीले लेखेको ब्लग रहेछ । ‘दाइ’हरुको डर शीर्षकमा । पढिनँ ।

अफिस आएँ । सहकर्मी साथीले सोध्नुभयो, ‘बिनुको ब्लग पढ्नुभो ?’ भनेँ, ‘पढेको छैन ।’

‘पढ्नुस्, दाम्मी छ ।’ उहाँले सुझाव दिनुभयो । र पनि पढिनँ ।

केहीबेरपछि म्यासेन्जर चेक गर्दा देखियो, त्यहीं लिंकलाई अरु धेरै साथीले पठाएका रहेछन् । लिंक खोलेर नपढ्दै अर्का सहकर्मीले भन्नु भयो, ‘यति आँट गर्ने बिनुले किन आफूलाई दुब्र्यबहार गर्ने पुरुषको नाम लेख्न सकिन ?’ एकछिन चर्चा भयो ।

त्यसपछि पढेँ ।

महिला पत्रकारले भोगेका दुःखलाई बिनुले शब्दमा उतारेकी रहिछन् । विभिन्न समयमा पुरुष पत्रकार र गैरपत्रकारले गरेको ‘यौनजन्य हिंसा’लाई कलात्मक शैलीमा प्रस्तुत गरेकी रहिछन् ।

ब्लगमा बिनुले आमपुरुषलाई नराम्ररी ‘नंग्याइछन्’ । पत्रकार, त्यसमा पनि पुरुष भन्न नै लाज लाग्ने बनाइदिइछन् । दुःख लाग्यो । सत्य हो भने उनको भोगाइप्रति म पनि दुखी छु । तर, पुरुष मात्रै होइनन्, मलाई महिलाको नियतमाथि पनि शंका लाग्छ ।

एकबेला एउटा अनलाइन पत्रिकाको नेतृत्वमा थिएँ । रिपोर्टर र मार्केटिङका लागि आवेदन आह्वान गरियो । धेरैको निवेदन र बायोडाटा आयो । जसमध्ये धेरै महिला थिए ।

अन्तरवार्ताका लागि बोलाइयो । अन्तरवार्ताको साँझ फेसबुकमा धेरैवटा फ्रेण्ड रिक्वेस्ट आयो । ती रिक्वेस्ट दिउँसो अन्तरवार्ता लिएका महिला साथीहरुको थियो । मैले र्यान्डम्ली रिक्वेस्ट एसेप्ट गरेँ ।

लगत्तै म्यासेज आउन थाल्यो । हाई, हेलो, नमस्ते टाइपका । औपचारिक रिप्लाई गरेँ ।

तीमध्ये दुईजनाले तारन्तार म्यासेज गर्न थाले । मैले रिप्लाई गर्न छाडेँ ।

‘दाइ रिसाउनु भएको हो ?’

‘दाइ बोल्नुस् न’

‘सरी दाइ डिस्टर्ब गरेँ’

यो टाइपका म्यासेज आइ नै रह्यो ।

भोलिपल्ट, पर्सिपल्ट । म्यासेज आइरहेपछि मैले पनि रिप्लाई गरेँ । ठूलो पल्टेको ठान्लान् भनेर ।

एउटीको म्यासेज आयो, ‘दाइ तपाईंको अफिसमा मलाई जसरी नि काम मिलाइदिनुस् न । बरु म जे पनि गर्न तयार छु ।’ म्योसेज सिन गरेँ । रिप्लाइ गरिनँ । फेरि म्यासेज आयो । ‘प्लिज दाइ, दाइले जे भन्नु हुन्छ त्यहीं मान्छु । मलाई काममा लगाइदिनुस् ।’

फेरि पनि रिप्लाई गरिनँ ।

पछि अन्तरवार्ता लिएकोमध्ये दुईजना ‘बैनी’को नाम निस्कियो । त्यो ‘रहर गर्ने’को निस्किएन । अलिपछि मलाई अनफ्रेण्ड गरिछन् ।
नाम निस्किएकोमध्ये एउटीलाई मार्केटिङको जिम्मा दिइयो ।

काम मिलेपछि ती बहिनीले पनि तारन्तार व्यक्तिगत मामलामा चासो राख्दै म्यासेज गर्न थालिन् । साँझ बिहान मोबाइलमा फोन गर्न थालिन् । कामको कुरा हुँदैनथ्यो ।

काम सुरु गरेको १५ दिनसम्म कुनै नतिजा नआएपछि कार्यकक्षमा बोलाएर सोधेँ । प्रयास गरिरहेको बताइन् । मैले सम्झाएँ, काममा ध्यान दिनुस् भने । तर, एक महिनासम्म पनि नतिजा नआएपछि अलिक कडा ढंगमा प्रस्तुत हुन बाध्य भएँ ।

कहिले ‘साँझ सँगै कफी पिउँ’ भन्थिन् । कहिले ‘खाना खाऔं’ । खाना खान डेरामा निम्तो गर्थिन् । समग्रमा ‘सरले जे भन्नुहुन्छ मान्छु, तर जागिर जोगाइदिनु पर्यो’ भन्थिन् ।

अलिपछिको कुरा हो । एउटी ‘बैनी’ टेलिभिजनमा जागिर खान गइछन् । समाचार संयोजकले ‘रिपोर्ट लेखेर ल्याउनू’ भनेछन् ।

‘बैनी’ले रिपोर्ट लेखेर सहयोग गरिदिन आग्रह गरिन् । मैले ‘हुन्छ’ भनेँ ।

‘कहाँ भेट्ने ?’

‘सुन्धारामा ।’

‘बहिनीले रिपोर्ट लेखाउन मलाई होटलमा बोलाइन् ।

यी त केही पछिल्ला प्रतिनिधि घटना हुन् । मैले उल्लेखित प्रकृतिका धेरै घटना सहेको छु ।

यी नजीरहरुको आशय यो हो कि, यहाँ पुरुष पीडक र महिला पीडित मात्रै छैनन् । महिलाका कारण पुरुष पनि पीडामा छन् ।

अझ भनाैं, कतिपय महिलालाई आफ्नो क्षमताप्रति भन्दा शरीरप्रति बढी गर्व छ । उनीहरु शरीरलाई नै साध्य बनाउन चाहन्छन् । जसले इमानदार र क्षमतावान् महिलामाथि पनि प्रश्न उठेको छ ।

हो, बिनुले भोगेको पीडा दुखदायी छ । पुरुषसत्ताले ग्रस्त समाजमा महिलालाई गाह्रो छ । समाजको कुदृष्ट्रि र कुबनावटका कारण महिलालाई ‘शरीरमाथि गर्व गर्नुपर्ने’ स्थिति बनेको हो ।

र पनि यो हो कि, यसमा महिलाको दोष छैन । हाम्रो समाजको निर्माण प्रक्रिया नै गलत छ । महिलालाई हेर्ने धार्मिक, सामाजिक सोच नै गलत छ । यसले महिलालाई ‘कमजोर’ बनाएको छ । पुरुषलाई ‘शक्तिशाली’ बनाएको छ ।

बिनुजस्ता थुप्रै ‘बैनी’ छन् । जसले महिला भएकै कारण अतिसास्तीको सामना गर्नुपरेको छ । र, मैले अन्तरवार्ता लिएका जस्ता ‘बहिनी’ पनि धेरै छन्, जसलाई क्षमताभन्दा शरीर नै प्रयोग गरेर स्थापित हुने भोक छ । एउटी महिलालाई समाजमा स्थापित हुन शरीर नै ‘देखाउनु वा बिकाउनु’ पर्ने बाध्यताको निर्माण पनि यहीं समाजले बनाएको हो ।

र अन्तिममा,

मैले अन्तरवार्ता लिएकी ती ‘बैनी’ले कुनै दिन लेख्न सक्छिन् । नामै तोक्न सक्छिन् ।

(यो सस्तो विषयमाथिको झन् सस्तो टिप्पणी लाग्न सक्छ । तर, हाम्रो सामाजिक संरचना र सोचले यसलाई जटिल बनाएको छ । र, यो बहसका लागि विषय उठान मात्रै हो ।)

-shilapatra.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *