सपना एक मोर्चा अनेक: यसरी बाँचेका थिए माइला लामा !

कान सुन्दैनन् । तर उनको कान सबभन्दा चनाखो छ । आँखा देख्दैनन् तर उनको आँखाले झन् धेरै देख्छ । जीवनका कैयन वर्ष आफ्नी जीवन साथीले डोहोर्याइन् उनलाई । उनी डोहोेरिएर हिँडे जनयुद्धको भिषण यात्रामा । कामरेडहरु थिए – प्रिय । उनै कामरेडले डोहोर्याए । उनी डोहोरिदैँ डोहोरिदैँ गाउन थाले । अरु नाँचेको हेर्न पाएनन् तर नचाए । हार नमिलेका ठूल्ठूला अक्षरमा गीत लेखेर लय हाले । तिनै सुनाउन लगाए कामरेडलाई र आफूले कण्ठ गरे अनि मुक्त लयमा गाए ।

माइला लामा

उनका गीतमा जनता हुन्थे । जनयुद्ध हुन्थ्यो । लड्दै गरेका छापामार हुन्थे । मोर्चा हुन्थे । घाइते हुन्थे । खुसी हुन्थ्यो, मोर्चा जितेको । जो आप्mनै जीवनका रंगहरुसँग थिएनन्–तर अरुलाई रंग दिन्थे । अरुलाई ताल दिन्थे । सुर दिन्थे । जनता जगाउँथे । जनता नचाउँथे । हजारौँ युवा उनले जगाएपछि लड्न हिँड्थे मैदानमा ।

धेरै पछि उपचार भयो । अलिअलि देख्न थाले खुल्ला आकाश । घुर्मइलो । सम्झन्छन् –‘मधुर जुनजस्तो’ । अलिकति सुन्न थाले । उनको कानमा हेयरिङ सेट घुसारियो । त्यसैले सुन्ने बनायो ।

राज्यको श्वेत र विद्रोहीको लाल हतियारले मुलुकमा दक्षिण र बामको अघोषित सिमारेखा कोरी रहँदा त्यही विभाजनमा परेर उत्तरी भेगमा चोइटिएको नेपालको एउटा सामान्य डाँडामा २०५४ साल फागुन १९ गते अचानक एउटा विष्फोट हुन्छ ।

त्यसैले त १८ वर्ष पुरानो महाभारतको त्यो घटना सम्झेर उनले भने– ‘भयंकर बम विष्फोटको सामना गर्नु नपरेको भए अहिले मेरा औँलाहरु सारङ्गीका तारहरुसँग होइन की स्वचालित बन्दुकहरुसँग खेलिरहेका हुन्थे ।’

फागुन १९ गतेको विष्फोटमा उनी बाँच्न त सफल भए तर उनका आँखा र कानले सधैँभरी उनलाई साथ दिन सकेनन् । विष्फोटको परिणाम भनौँ उनले अहिले एक सय मिटरभन्दा टाढा देख्दैनन् । सामान्य मधुरो आवाजलाई ठम्याउँन सक्दैनन् तर उनले भरेको मधुरो आवाजमा भने मानिसहरु आफैँलाई बिर्सिएर राष्ट्र र जनताको पक्षमा उभिन प्रण गर्छन् ।

माइला लामासँग गृहमन्त्री रामबहादुर थापा।

यो कथा उनै स्वरका धनी माइला लामाको हो जसलाई मानिसहरु जनवादी कलाकार भनेर चिन्छन् । कुरा यत्तिमै अन्त्य हुँदैन उनलाई जनताको गीत गाएको भनेर जतिले चिन्छन् शायद त्यतिले नै हेप्छन पनि । तर, उनी अगाध जनताको र राष्ट्रको पक्षमा लेखिरहन्छन् । गाइ नै रहन्छन् । यिनै शब्दहरुमा–

लाग्छ आधा निन्द्रामा छ, अझै एउटा पुस्ता
जब देख्छु लुटिएकी, मेरी आमा सुस्ता
यता हेर्छु कालापानी त्यही छ लुटिएकी
महेशपुरको ओठबाट मुस्कान खोसिएकी

काठमाडौंको भिमढुङ्गामा जन्मिएका माइला लामामा बामपन्थी राजनीतिक संस्कारको बिजारोपण गर्ने भोला खनाल हुन् । खनाल ०४२ साल ताका सिताराम हाईस्कुल रामकोटमा शिक्षक थिए । खनालसँगै थिए अन्य दुई शिक्षक बिनबहादुर कुँवर र टोपबहादुर रायमाझी । रामकोट, सितापाईला र भिमढुङ्गा क्षेत्रमा बाम राजनीति फैलाउन तीनैजना शिक्षक आफ्नो ठाउँमा कटिबद्ध थिए । माइला उनैले पढाउने विद्यालयका विद्यार्थी थिए ।

शिक्षक खनालको प्रेरणाले वि.सं. ०४२ सालमा विद्यालयको मञ्चमा पञ्चायती शासनको विरुद्धमा जनताको अधिकारका लागि उक्लिएका माइलाले त्यस यताका ३० वर्षसम्म अझै पनि जनताको आन्दोनल, प्रतिरोध र खबरदारीलाई छाडेनन् । मात्र उनका मोर्चाहरु फेरिए । कहिले विद्यार्थीको मोर्चा, कहिले सांस्कृतिककर्मीको मोर्चा, कहिले राजनीतिक नेतृत्वको मोर्चा, कहिले युद्ध कमाण्डरको मोर्चा र घुमीफिरी अन्ततः जनताको कलाकारको मोर्चामा उनी विगत ३० वर्षदेखि निरन्तर लागिरहेका छन् ।

बम बिष्फोटमा पर्दा ताका उनी सैन्य कमाण्डरको रुपमा आफूलाई मोर्चामा खपाउँदै थिए । ल्यान्ड माइनको विष्फोटमा परेर मृत्युलाई नजिकदेखि चिहाएका लामा आन्तरिक विष्फोटमा परेका थिए । भारतीय कम्युनिष्ट पार्टी पिपुल्स वार ग्रुपका केन्द्रीय सदस्य रहेका एकजना सैन्य कमाण्डरसँग तालिम लिएपछि जनमुक्ती सेनाका अन्य टोलीहरुलाई ल्यान्ड माइनबारे अन्तिम प्रशिक्षण दिँदै गर्दा उनी घाइते भएका थिए । त्यस समय उनी पार्टीको गुरिल्ला जोनका इञ्चार्ज थिए ।

‘मैले ल्याण्ड माइनको प्रयोग बारे प्रशिक्षण दिइरहेको थिए । हामीले त्यसबेला ल्यान्ड माइनमा फोटो फ्ल्यास प्रयोग गर्ने गर्दथ्यौं । हामीलाई फोटो फ्ल्यासमा एकपटक चार्ज गरेपछि त्यसमा चार्ज टिकी रहँदैन होला भन्ने लाग्यो तर वास्तविकता त्यसको उल्टो रहेछ । विष्फोटमा म नै परेँ र गम्भिर घाइते भएँ ।’– उनले भने ।

घाइते भएर माइलाले आँखाको अधिकांश ज्योति गुमाए भने कान सुन्न छाडे तर उनले जीवनमा क्रान्तिको यात्रा छोडेनन् । त्यसैले होला सायद वरिष्ठ नाट्यकार सुनिल पोखरेलले माइला लामाका लागि यी शब्दहरु खर्च गरे– ‘म माइला लामालाई अत्यन्त सम्मान गर्छु । हामीबीच वैचारिक दुरी छ तर त्यो दुरीले उनलाई सम्मान गर्न कहिल्यै पनि रोकेन । उनी जनताका कलाकार हुन् । हामी जस्ता धेरै हुन्छन् तर माइला लामा एक जना मात्र छन् ।’

आखिर किन हिँड्छन् त माइला लामा यो दुःखै दुःखको पहाडी गोरेटो ? लामाले आफ्नै शब्दमा जनतालाई ब्युँझ्याई हिँड्नुको अर्थ यसरी खुलाए– ‘मानिसको निम्ती संसारमा सबै भन्दा प्यारो, उ जन्मेको माटो हुन्छ । तर, जब त्यही माटोमा बारम्बार विदेशी हस्तक्षेप दोहोरिन्छ, छाती नराम्ररी चस्किन्छ र मुटु भत–भति पोल्छ । अनि राष्ट्रियता सगरमाथा झैँ ठिङ्ग उभिन्छ ।’

‘त्यती मात्र होइन जनतालाई अधिकार सम्पन्न गराउन हिँडेका राजनीतिक दलहरु नै जब जनताको अधिकारमाथि धावा बोल्दै मुठ्ठीभर मालिकहरुको यात्रामा लाम लाग्न थाल्छन् अनि जन्मिन्छ माइला लामा ।’– उनले दृढताका साथ भने ।

माइलालाई पार्टीले जहाँ जसरी खटायो निष्ठापूर्वक लागे । उनले अहिलेसम्म बेथानमा सैन्य कमाण्डरको भूमिका निभाए । गीतकार भए । गायक भएर गीतहरुमा स्वर भरे । संगठकको पनि भूमिका निभाए । तर जहाँ पनि गए कुनै पनि मोर्चामा संगीतलाई आफूदेखि टाढा हुन दिएनन् । त्यही भएर होला सायद संगीत के हो भन्ने प्रश्नमा उनले भने– ‘संगीत त्यस्तो कुरा हो जसले शासकलाई कायर र कायरलाई शासक बनाई दिन सक्छ । त्यसैले संगीन भन्दा संगीत ठूलो हुन्छ ।’

उनले आफूलाई जहिले पनि दुई भूमिकामा प्रस्फुटीत भएको महशुस गरे । पहिलो सैन्य कमाण्डर । दोस्रो जनताको कलाकार अर्थात् जनकलाकार । उनको यो दुई भूमिकासँगको लगाव कति गहिरो छ भन्ने कुरा उनका यी हरफहरुबाट ठम्याँउन सकिन्छ । उनी भन्छन्–

‘भयंकर बम विष्फोटमा नपरेको भए अहिले म, मैले आफ्ना ठानेका जनयुद्धका सहयोद्धा जनसेनाका साथीहरुसँग रमाई रहेको हुन्थेँ तर, अफसोस निशाना साँध्ने बेलामा मेरा आँखाहरु सय मिटरसम्म भन्दा टाढा ठम्याउँन सक्दैनन् । सधैँ चनाखो रहनुपर्ने मेरा कानहरु कामै गर्न सक्दैनन् । ट्रिगर दबाउने मेरा औंलाहरु बमको शिकार भएका छन् त्यसैले मेरो भुमिका नयाँ भएको छ ।’

आफूले गाएका गीतहरु कुनै न कुनै राजनीतिक सन्दर्भसँग जोडेर लेखिएको उनले बताए । माइलाले भने– ‘मैले लेखेका गीतहरुका आफ्नै राजनीतिक सन्दर्भहरु छन् । क्रान्तिलाई अगाडि बढाउन जनताका घर दैलोमा उनीहरुसँगै कुटो कोदालो गर्दै लेखिएको हुनाले यसले बोक्ने अर्थ पनि तिनै सन्दर्भसँग जोडेर हेर्नु पर्छ ।’

खोज्दछन यी मेरा आँखाहरु ती साथीहरुलाई
जसको रगतले रंगीयो यो धर्ती
ति महान यात्रुहरुलाई

वि.सं. २०५५ सालमा प्रहरीद्वारा चलाइएको ‘किलो सेराटु अप्रेसन’ का विरुद्ध लेखिएको यो गीत त्यसैको एउटा उदाहरण हो । यस गीतको पृष्ठभूमी सम्झँदै माइलाले भने– ‘हरेक दिन जसो लगातार हाम्रा साथीहरु मारिएको, पक्राउ परेको र बेपत्ता पारिएको समाचार हामी समक्ष आई पुग्ने गरेका थिए । म घाइते भएर एउटा कुनामा थन्किन बाध्य थिए । देश र जनताका लागि केही गरौँ भन्दा पनि सक्षम थिइनँ, अनि पिडाले भित्रैदेखि निमोठिएर गीत लेखेँ ।’

उनले यो गीतका शब्दहरु संयोजन गर्दै गर्दा धेरै पटक आँसुका थोपा बगाएको सुनाए । गीत लेख्दा लेख्दै आफु कयौं पटक रोए र गित सुनाएर धेरैलाई रुवाए माइलाले । गीतमा तत्कालीन जनयुद्धमा सहभागीहरुले झेलेका पिडाका कहाली लाग्दा दैनन्दिनी घटनाहरुलाई समेटिएको माइला बताउँछन् ।

माइलाको वाक कला पनि अत्यन्त सराहनीय छ । श्रृंखलावद्ध रुपमा उनले बोल्दै जाँदा भावुक नहुने र जिउमा काँडा नउम्रिने कमैलाई हुन्छ होला । खुसीराम पाख्रीनले लेखेको त्यस्तै मध्येको एउटा गीत हो–

टुट फुट खण्डीत कुरा नगर
आत्मसमर्पणको कुरा नगर
एकढिक्का एकताको कुरा गर
विरताका कुरा गर

अन्तरसंघर्षका कारण तत्कालीन माओवादी पार्टी विभाजनको उत्कर्षमा पुग्दै गर्दा ताका चुनवाङमा गाइएको यो गीतलाई पाख्रीनसहित माइलाले पनि कैयौं पटक गाए । त्यसैले त वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेलले माइला लामा निजी सुखदुःखको माया जालबाट उम्किएर देश, जनता र सर्वहाराको मुक्तीका लागि एउटा कठिन यात्रामा निस्किएको मान्छे भएको बताए ।

पोखरेलले भने– ‘आफ्नो घर परिवार सबै त्यागेर वर्ग युद्धमा होमिँदै हिमाल, पहाड, तराई, प्रवास उनको यात्राको अंगालोमा सबै भुगोल अटायो । उनी जहाँ जहाँ पुगे संगीत बनेर पुगे र त्यहाँबाट हिँड्दा एक टुक्रा क्रान्ति छोडेर हिँडे । उनको लडाई आगोको लडाई थियो । उनी जनताको युद्धमा होमीएका थिए । त्यसको परिणाम उनले आफ्नो आँखाको ज्योति गुमाए । कानको सुन्ने क्षमता गुमाए । र गुमाए हातका औंलाहरु । कल्पना गर्नुस् गीतार, हार्मोनियममा हिँड्ने तिनका औंलाहरु चल्न छाडेपछि कसरी संगीतको श्रृजना गर्दा हुन् । यी सबैको जोड हो माइला लामा ।’

त्यही माइला जो कुनै समय राजधानीका साँघुरा गल्लीहरुमा नेत्रविक्रम चन्दको नेतृत्वमा विद्यार्थीहरुमा अधिकारप्रतिको चेतना र क्रान्तिप्रतिको सपना जगाउँथ्यो उही माइला झण्डै ३० वर्ष पछि आज पनि आफ्नो उही पुरानो लिडरको नेतृत्वमा जनतामा अधिकारप्रतिको चेतना र क्रान्ति प्रतिको सपना जगाउँदै हिँडेको छ ।

फरक मात्र कुनै समय काठमाडौंको विद्यार्थी अध्यक्ष रहेका चन्द पार्टी अध्यक्ष हुँदै विप्लव बने भने उनी विद्यार्थीको जिल्ला सदस्य हुँदै पार्टीको केन्द्रीय सदस्य बने । जनता विद्यार्थीबाट प्रौढ जनता बने । माइला पनि ठिटौले विद्यार्थी नेताबाट इमान्दार राजनीतिक सांस्कृतिक अभियन्ता बने ।

तर, आजसम्म पनि उनमा उही उर्जा, उही जोस जिवित छ ।

बालाजुको बैठकमा माओवादीबाट एमाओवादीमा फेरिएको पार्टीले क्रान्ति नगर्ने हो कि भन्ने चिन्तामा विप्लबले पार्टीको क्रान्तिकारिता जोगाउन क्रान्तिमा होमिने एक सय जना युवा चाहिन्छ भन्दा उनले बीचमै उठेर भनेका थिए– ‘एक सय जना चाहिँदैन कमरेड ९९ जना खोज्नुहोस । राष्ट्रका लागि मेरो लहु बग्न तयार छ ।’

धाराप्रवाह रुपमा हाम्रा विभिन्न बाङ्गा टिङ्गा प्रश्नहरुको सालिनतापूर्वक जवाफ दिइरहे माइलाले । तर त्यस बेलासम्म हामीमा आफ्नो प्रभाव छोडी सकेका रहेछन् उनले ।

हामी छुट्टिनु भन्दा अघि माइलाले अन्तिममा भने– भाइ, तपाईंले मलाई यहाँ भेट्नु त भयो तर, यो भेटलाई सम्भव तुल्याई दिने मान्छे मोडेल हस्पिटलका डा. सरोज धिताल हुन् । ‘मलाई अर्को जीवन दिने मान्छे, अर्थात डा. सरोज धिताल ।’

•••

यो स्टोरी नरेश ज्ञवाली र दिपेश शाहीले २९ मंसिर २०७२ मा लेखेका हुन्। “जनगायक, जसले जनयुद्धमा आँखा र कान गुमाए, भन्छन् – अझै लड्ने हो” शिर्षकमा खबरडबली.कममा प्रकाशित भएको यो फिचर निकै रुचाइएको थियो। हाल नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको (प्रतिबन्धित) नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा भ्याली इम्चार्ज माइला लामा माओवादी जनयुद्धका एक सैन्य कमान्डर र जनवादी गाएकका रुपमा परिचीत थिए। तत्कालीन माओवादीका सैन्य कमान्डर रामबहादुर थापा गृहमन्त्री भएकाबेला माइला लामा यतिवेला जेल चलान भएका छन्। यसै सन्दर्भमामा पुरानो फिचरलाई यहाँ राखिएको हो।

माइला लामा जेल पठाइनु अघिका केही तस्वीर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *