जो गणतन्त्रको लागि १० वर्ष गीत गाएर हिँड्यो, उसैको हातमा हतकडी !

दिलनिशानी मगर

लाग्छ आधा निन्द्रामा छ अझै एउटा पुस्ता
जब देख्छु लुटिएकी मेरी आमा सुस्ता
यता हेर्छु कालापानी त्यही छ लुटिएकी
महेशपुरको ओठबाट मुस्कान खोसिएकी

नेपालको ठूलो सांस्कृतिक संस्थानको कुलपति वा निर्देशकको कुर्सीमा बस्नुपर्ने मान्छे हुन् माइला लामा । राज्यले झकिझकाउका साथ सम्मान गर्नुपर्ने उनी आज कुनै चोरी–डकैती गर्नेलाई जस्तो हतकडी लगाएर, कतै भाग्छ कि भनेर चारैतिरबाट घेरेर नख्खुको चिसो भुइँमा सुत्न बाध्य बनाइएको छ । जुन भुइँमा आत्मियता हुँदैन, जुन भुइँमा प्रेम हुँदैन, त्यो भुइँमा १० वटा सिरक ओढेर सुतेपनि चिसो नै हुन्छ ।

राजनीतिमा कहिले हस्तिनापुरको राज त कहिले चपरीमुनिको बास तर शान्तिप्रक्रिया सकियो, अब देशको उन्नति मात्रै बाँकी रह्यो भनेर ढुक्कसँग बसिरहेका बेला फेरि किन आकाशमा कालो बादल मडारिँदैछ ? त्यो त पक्कै पनि गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै थाहा होला ।

माईला लामाले आफ्नो गीतमा भनेजस्तै अझै पनि कालापानी लुटिएकै छ, महेशपुरको ओठबाट मुस्कान खोसिएकै छ । भूमिगत रहेका नेकपाका शीर्ष नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले लेखेको गीत ‘कसले बनायो दाजै उडी जाने बस’मा पछिल्लो समय संगीत भरेका जनसांस्कृतिककर्मी माइला लामालाई काठमाडौंको काँडाघारीस्थित एउटा घरमा सुतिरहेको अवस्थामा प्रहरीले मध्यराति घेरा हालेर पक्राउ गरेको छ । माइला लामाले विप्लवको गीतमा संगीत मात्र भरेका थिएनन्, उनैले गठन गरेको पार्टीमा लागेका थिए । पार्टीकै योजना र काममा खटिएका थिए । उपत्यका इन्चार्ज भएका थिए ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १२ वर्षे जनयुद्धमा छुट्टै पहिचान बनाउन सफल लामालाई संसदीय व्यवस्था मन परिरहेको थिएन । त्यसैले उनी फेरि पनि भूमिगत रहनसहनमै फर्किए । उनलाई गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि १ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको आरोप छ । पक्राउपश्चात् उनलाई विप्लवका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश वलीलाई थुनेकै नख्खु जेलमा चलान गरिएको छ ।

माइला लामाको पक्राउले सामाजिक सञ्जालमा ठूलो तरङ्ग ल्याइदिएको छ । उनलाई नजिकबाट चिनेका, जानेका सबैले माइला लामाको हिजोको योगदानको खुलेर प्रशंसा गरेका छन् । हिजोको योगदान भन्नुको मतलब हिजोको माओवादी युद्धमा गरिएको योगदान । गणतन्त्र लगायत सबै राजनीतिक उपलब्धि प्राप्त हुनुमा माइला लामाको समेत भूमिका छ । उनी सांस्कृतिक क्रान्तिका खम्बा हुन् भन्न सकिन्छ ।

बादल माइला लामाका नजिकका मान्छे पनि थिए, प्रिय थिए तर आज एक प्रकारको वैधानिक प्रतिक्रान्तिजस्तो देखिएको छ ।

‘निकै त टाढा पुग्नुछ टाढा राता सिपाहीहरूले, सारो र गाह्रो भन्दैनन् आटी छोरा र छोरीहरूले’ जस्ता गीत गाएर युद्ध आन्दोलको मनोबल उठाउने जनगायकको पहिचान बनाएका माइला लामाको गिरफ्तारीसँगै विभिन्न कोणमा बहस देखिएका छन् । सरकारको रवैया अर्थात् राजबन्दीलाई गरेको दुर्व्यवहार ठीक नभएको धेरैको तर्क छ ।

देशमा हाल गृहमन्त्री छन् रामबहादुर थापा ‘बादल’ । बादल माइला लामाका नजिकका मान्छे पनि थिए, प्रिय थिए तर आज एक प्रकारको वैधानिक प्रतिक्रान्तिजस्तो देखिएको छ । निश्चित रुपमा यसका सकारात्मक–नकारात्मक कारण पनि छन्, तिनको चर्चा गरौंला । त्योभन्दा पहिला माइला लामाको योगदानको चर्चा गर्नु न्यायसंगत हुन्छ ।

माइला लामाको गिरफ्तारीपश्चात् फेसबूकमा पत्रकार राजेश राईले टिप्पणी गरेका छन्, ‘म माओवादी थिइनँ तर उतिबेला पनि माइला लामाको ठूलो ‘फ्यान’ थिएँ । माइला लामाको त्यो सगरमाथाजस्तो प्रतिवद्धता र निष्ठा देखेर हामी रोमाञ्चित हुन्थ्यौं । झन् यतिबेला विप्लव नेतृत्वको नेकपा हुने त कुरै भएन तर माइला लामा उत्तिकै मन पर्छन् । वैचारिक दूरीले उनका लोकप्रिय गीतहरू सुन्न कहिल्यै छेकेन । दुनियाँका क्रान्तिहरूको इतिहास र साहित्यमा भेटिएका मिथकीय क्रान्तिकारी पात्रजस्तै लाग्छन् माइला लामा । तपाईंको यो तस्बिर देखेपछि मैले तपाईंका एक दर्जन जति गीतहरू र कविताजस्तै लाग्ने केही मन्तव्यहरू सुनें । आँखा रसायो । ए ! माइला दाई म भन्छु, मेरो आँशु जिन्दावाद ! माइला दाई बन्दुकले दुनियाँ रुवाउँछ, तिम्रो हातमा त सारङ्गी सुहाउँछ ।’

लेखक नरेन्द्रजंग पिटरले भनेका छन्, ‘एउटा सोच, एउटा सपना, एउटा इतिहासको समीक्षा, एउटा दर्शन र राजनीति, एउटा कविता, एउटा गीत, एउटा युद्धमोर्चा एसाल्ट सिपाही कमरेड अर्काेतर्फ गद्दार, एकातर्फ हारमोनियमका झंकार र सुरिला गीतका गुञ्जन अर्कातर्फ हतकडी र उफ् !’

भाषण गर्दा माइला लामाको गीतको उदाहरण दिने नेताहरू आज किन चुपचाप ? आज किन मौनधारण ? के कम्तिमा अन्यायबारे बोल्नका लागि एउटै पार्टीको मान्छे हुनुपर्छ ? के सहानुभूति पाउन दलाल, फटाहा वा डोजर मालिक नै हुनुपर्छ ?
माइला लामाको गिरफ्तारीसँगै उनकी पत्नी मनु लामाले पनि फेसबूकमा भावुक टिप्पणी गरिन् । सामाजिक सञ्जालमा खासै सक्रिय नहुने मनुले यस पटक भने पतिको गिरफ्तारीको विरोध गर्दै बादल गृहमन्त्री भएपछि बधाई दिन जाँदाको तस्बिर राखेर लेखिन्, ‘बादल दाइ ! यदि हजुरको भन्दा मेरो पछि लास परें भने पक्कै पुष्प गुच्छा लिएर आउनेछु । हजुरको कार्यकाल सफल होस् ।’ मनु लामा स्वयं सक्रिय नेता थिइन् तत्कालीन युद्धको समयमा । उनीहरूले युद्धमा नै आफ्नो महत्त्वपूर्ण जीवनको हिस्सा बिताएका छन् ।

शान्ति सम्झौता भएपश्चात् धेरैले लाभको पद लिए तर माइला र मनु लामाको जीवनमा लाभको पद कहिल्यै आएन । सायद उनीहरूले त्यो लिएनन् । यो संसदीय व्यवस्थासँग शुरूवातदेखि नै असन्तुष्ट उनीहरू आफ्नो राजनीतिक हक प्रयोग गर्दै थिए तर मनु भने सक्रिय राजनीतिमा छैनन् । माइला लामा भूमिगत थिए । भूमिगत त के भनौं, ओली सरकारको व्यापक धडपकड र पक्राउ तथा पार्टी प्रतिबन्धपश्चात् उनी भूमिगत भएका थिए ।

माइला लामाको राजनीतिक उडान के हो ? त्यो माइला लामाले नै जान्ने कुरा भयो । किन मुलुकमा अझै असन्तुष्टिका बेग बाँकी नै छन् ? त्यो राजनीतिकर्मीले बढ्ता जान्ने कुरा भयो तर परिवर्तनका निम्ति, जनतालाई जागरुक गराउने सन्दर्भमा अथवा सम्पूर्ण राजनीतिक परिवर्तनमा माइला लामाको ठूलो लगानी छ । उनको त्याग, तपस्या र बलिदानी छ । एक प्रकारले उनी ज्यूँदो शहीद हुन् ।

राजनीतिक मतभेद होला तर उनलाई कम्तिमा राजबन्दीको व्यवहार गर्नुपर्छ भन्ने हो । गृह मन्त्रायल वा प्रहरी आफैं कानून होइन, कानूनको पालना गराउने निकाय हो । माइला लामा दोषी हुन् कि हैनन् ? त्यो अदालतले फैसला गर्ने कुरा भयो । उनी हालका लागि अभियुक्त मात्र हुन् । आरोपित मात्र हुन् । अपराधी हैनन् । यसकारण जसले गणतन्त्रको लागि १० वर्ष गीत गाएर हिँड्यो, उसैको हातमा हतकडी ! यसलाई गणतन्त्रकै अपमान हो भन्न सकिन्छ । यो हदसम्मको दमनमा सरकार जानु हुँदैन । यदि दमन नै गर्ने हो भने वार्ताको कुरा किन गरेको ? नक्खु कारागारमै रहेका अर्का नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई सरकारी वार्ता टोलीले किन भेटेको ? दोहोरो मुठभेडको नाममा सरकारले किन ठाउँठाउँमा हत्या शृंखला मच्चाएको ?

हिजो युद्ध र आन्दोलनमा माइला लामा भन्ने मान्छे र उसको आवाज अपरिहार्यजस्तै थियो । शान्तिकाल पश्चात् पनि माइला लामाको छाप जनतामा बेजोड छ । उनको सम्बन्ध मिडियासँग होइन, जनतासँग थियो । अहिले पनि उनलाई सम्झना गर्ने लाखौं छन् । यो कुरामा स्वयं नेताहरू समेत सहमत छन् । उनलाई पक्राउ गर्नु राज्यको कर्तव्य होला तर पक्राउ गर्नु मात्र होइन, राजबन्दीलाई सम्मानजनक व्यवहार गर्नु पनि राज्यको कर्तव्य हो । कि गृहमन्त्री बादल हँदैसम्म पूर्वाग्रही भएका हुन् ?

हिजो माइला लामाका गीत जनताका हुन्थे । जनयुद्धको हुन्थ्यो । संघीय गणतन्त्रको हुन्थ्यो । छापामारको हुन्थ्यो । वर्षमानको हुन्थ्यो । बाबुरामको हुन्थ्यो । बादलको हुन्थ्यो । घाइतेको हुन्थ्यो । शहीद परिवारको हुन्थ्यो तर आज माइला लामा कसैका हुन सकेनन् ।
२०५४ फागुन १९ गतेको विस्फोटमा परेर माइला लामाले आँखा गुमाए । उनको कानको जाली पनि फुट्यो तर एउटा कान अनि धमिलो आँखाको ज्योतिको सहारामा उनले गीत गाउन र लेख्न भने छाडेनन् ।

गीतमार्फत युद्ध, आन्दोलन र जनतालाई जागरुक गराउने काममा उनी अन्तिम घडीसम्म लागिरहे । कहिल्यै हिम्मत हारेनन् । जब हिम्मत हार्ने परिस्थिति बन्थ्यो, त्यहाँ माइला लामाका गीत उपस्थित हुन्थे । त्यसैले दिपक मनाङेजस्ता डनहरू पार्टीमा सलामी खाइरहँदा माइला लामाजस्ता राष्ट्रसेवक हतकडीमा बाँधिएर शासकका अगाडि निहुरिनुपरेको छ । गणतन्त्रमा राजनीतिक स्वतन्त्रता हुन्छ तर यहाँ प्रतिबन्ध छ । अब अलिअलि बल प्रयोग त हुन्छ नै । फेरि हिजो युद्धबाटै आएका गृहमन्त्री बादललाई किन बल प्रयोग हुन्छ र कसरी हुन्छ थाहा नभएको पनि हैन । सम्भवतः समाधानको उपाय थाहा नभएको पनि होइन ।

यहाँ माइला लामाको आवाज सुनेर परिवर्तनका लागि बलिदानी दिने हजारौं छन् । माइला लामा जोश हुन्, उमंग हुन् । हिजो पनि आज पनि । माईला लामा केवल एउटा व्यक्ति होइन, उ त संस्था भइसक्यो ।

उनको कान सबैभन्दा चनाखो छ । शासकको घर सल्लाह उ टाढैबाट सुन्न सक्दछ । हो आँखा देख्दैनन् तर उनको आँखाले शासकको दमन, अत्याचार, अन्याय झन् धेरै देख्छ । लाखौं जनतालाई ऊर्जा दिने आवाज भएको त्यो मान्छे कान नसुन्ने र आँखा नदेख्ने हुनै सक्दैन ।

भाषण गर्दा माइला लामाको गीतको उदाहरण दिने नेताहरू आज किन चुपचाप ? आज किन मौनधारण ? के हण्डीको पिरलो हो त ? होइन भने फरक राजनीतिक विचार भएपनि के पृष्ठभूमि फरक हो त ? के कम्तिमा अन्यायबारे बोल्नका लागि एउटै पार्टीको मान्छे हुनुपर्छ ? के सहानुभूति पाउन दलाल, फटाहा वा डोजर मालिक नै हुनुपर्छ ?

हिजो माइला लामाका गीत जनताका हुन्थे । जनयुद्धको हुन्थ्यो । संघीय गणतन्त्रको हुन्थ्यो । छापामारको हुन्थ्यो । वर्षमानको हुन्थ्यो । बाबुरामको हुन्थ्यो । बादलको हुन्थ्यो । घाइतेको हुन्थ्यो । शहीद परिवारको हुन्थ्यो तर आज माइला लामा कसैका हुन सकेनन् । फगत एउटा हवल्दारले हतकडी लगाएर लैजाने डाँकाजस्तो भए माइला लामा ।

समस्या राजनीतिक नै हो । यसको हल पनि राजनीतिक नै हो तर राजबन्दीलाई यस्तो खालको अमानवीय व्यवहार कतिसम्म जायज हो ? जानेमानेकाहरूलाई अवगत होला । कम्तिमा यो पंक्तिकारका लागि भने हजम हुन सकेन, त्यो हतकडीको दृश्य ।

उनलाई यो थिति मन परेन, यो माफियाको राज्य वा लुटतन्त्र मन परेन र फेरि गीत गाउने, जनता जगाउने अभियान नै हिँडे ।
काठमाडौंको भीमढुंगामा जन्मिएका माइला लामा रोल्पा–रुकुमका पहाडदेखि देशको भूगोलभर जोखिम मोलेर गीत गाउदै हिँड्नुपर्ने कुनै व्यक्तिगत कारण त थिएन । जे गरेका थिए मुलुकको परिवर्तनका निम्ति गरेका थिए तर आज दिपक मनाङ्गेहरू राज्यका लागि आफ्नोजस्तो भएको छ, जसको यो परिवर्तनमा कुनै एक चिम्टी भूमिका छैन । सायद उनलाई यो देशमा कुन व्यवस्था छ भन्ने पनि थाहा छैन तर बादलसँगै कुम जोडेर हिँडेका, लडेका, खाएका, सुतेका जनगायक माइला लामा ठूलो दुस्मन भए । जति दमन हुन्छ उति ज्वालामुखी फुट्छ भन्ने कुरा राज्यलाई थाहा हुन सकेन । के यो आश्चर्य कुरा हैन ?

‘खोज्दछन् यी मेरा आँखाहरू ती साथीहरूलाई
जसको रगतले रंगीयो यो धर्ती ती महान यात्रुहरूलाई

विक्रम संवत् २०५५ सालमा प्रहरीद्वारा चलाइएको ‘किलो सेराटु अप्रेसन’विरुद्ध माइला लामाले यो गीत लेखेका थिए ।

माइला लामाले जनवादी क्रान्तिकारी गीत गाएर गाउँ बस्तीका लाखौं जनता जगाउँदै हिँडे, हिडिरहेका थिए । उनको त्यो क्रान्तिकारी अभियानले एउटा उचाइ थप्यो । जनतामा, भूगोलमा अमिट छाप छोड्यो ।

अहिले भएको यत्ति हो, उनलाई यो थिति मन परेन, यो माफियाको राज्य वा लुटतन्त्र मन परेन र फेरि गीत गाउने, जनता जगाउने अभियान नै हिँडे ।

समस्याको जड के हो ? त्यो अनुसारको समाधान खोज्नुपर्‍यो । अहिले भएको के छ भने टाउको दुःखेको बिरामीलाई पेट दुःखेको दबाइ दिइएको छ । संसदीय व्यवस्था भनेको कुकुरको मासु बेच्ने ठाउँ हो भन्न पनि नपाउनु ?

राजनीतिक असहमतिलाई राजनीतिक ढंकबाटै हल गर्नुपर्छ । बल प्रयोगको राम्रो परिणाम सम्भवतः दुनियाँमा कहीँकतै राम्रो आएको छैन । तत्कालीन ‘सामना परिवार’का संयोजक रहेका लामा तत्कालीन माओवादी सम्वद्ध ‘अखिल नेपाल जनसांस्कृतिक संघ’को दोस्रो राष्ट्रिय सम्मेलनद्वारा निर्वाचित कोषाध्यक्ष पनि थिए । त्यसकारण उनी अपराधी हैनन्, कुसल जनसांस्कृतिककर्मी पो हुन् । ‘इच्छुक प्रतिष्ठान’का प्राज्ञसभा सदस्यसमेत रहेका माइला लामा मादलसित खेल्न अभ्यस्त प्रवृत्तिका राजनीतिक व्यक्तित्व हुन् । यस्ता महान् व्यक्ति संसारमा दुर्लभ नै हुन्छन् । के दुर्लभ चिज संरक्षण गर्नु हामी सबैको कर्तव्य हैन र ?

-लोकान्तरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *