किन गुम्दै छ थवाङको मौलिकता ?

महेश न्यौपाने  

रोल्पा- गुजमुज्ज परेका घर। काठले छाएका छाना। माथिल्लो तलामा बस्नका लागि दलिन।

यही हो मगर गाउँ थवाङको पहिचान।

अन्य मगर गाउँभन्दा फरक मौलिकता बोकेको थवाङलाई पछिल्लो पटक भित्रिएको विकासले भने मौलिकता जोगाउनै सकस भएको छ। गाउँको पहिचान हराउँदै जान थालेसँगै यहाँका अगुवा चिन्तित देखिन थालेका छन्।

रोल्पाको उत्तरी भेगमा पर्ने थवाङ रुकुम-पूर्वसँग सिमाना जोडिएको छ। मगर बाहुल्य थवाङ पछिल्लो पटक अन्य जातिकोसमेत मिश्रित बासस्थान वन्न पुगेको छ। दलित, ठकुरी, नेवार पनि थवाङको बासिन्दा भएसँगै एकल जातीय बसोबास रहेको थवाङ अब बहुजातीय समाज बन्न पुगेको छ।

थवाङमा केही वर्षयता आरसिसी ढलानयुक्त घर बन्न थालेसँगै यहाँको मौलिकता हराउँदै जान थालेको हो। सिमेन्ट प्रयोग गरी पिलरवाला ढलानयुक्त घर बनेपछि यहाँको सयौं वर्ष पुरानो मौलिकता हराउन थालेको स्थानीय युवा अमित घर्तीमगर बताउँछन्। ‘यहाँको मौलिकता संरक्षण गर्न लागिपरेका त छौं तर सार्थकता पाउन सकेको छैन,’ उनले भने, ‘भवन निर्माणको स्वीकृत दिँदा स्थानीय सरकारले मौलिकता नहराउने गरी अनुमति दिनुपर्छ। तबमात्रै हाम्रो मौलिकता बाँच्न सक्छ।’

थवाङको मौलिकता नै परम्परागत कला संस्कृति र संरचना भएकाले यसको संरक्षणमा ध्यानुपर्ने दलसुर रोका बताउँछन्। नयाँ पुस्तालाई यहाँको मौलिक कला संस्कृति, रहनसहन र भेषभूषा संरक्षणका लागि विशेष योजना ल्याउनुपर्ने उनको सुझाव छ। ‘मौलिकता हराउँदै गए थवाङको महत्व पनि हराउँदै जान्छ भनेर चिन्ता लागिरहेको छ,’ रोकाले भने।

करिब १ हजार घरधुरी रहेको साबिकको थवाङमा रहेको ३ वटा वडामा २२९ घरधुरी रहेका छन्। काठको फलेक र स्लेट ढुंगाले छाना छाएका गुजुमुज्ज र बाक्ला घरमा प्राचीन कला संस्कृति झल्कने हस्तकलासमेत अंकित छन्।

गाउँपालिका अध्यक्ष वीरवहादुर घर्ती भने थवाङको मौलिक पहिचान बचाइराख्न स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउने बताउँछन्। ‘पर्यटक भित्र्याउनका लागि यहाँको मौलिक कला संस्कृतिको संरक्षण पहिलो सर्त हुन्छ,’ घर्तीले भने, ‘पचासौं वर्षदेखि लोप हुन थालेका केही कला संस्कृति हामी निर्वाचित भएपछि पुनर्जीवित गरेका छौं।’

सांस्कृतिक धरोहरको चिन्ता

साबिक थवाङ गाविसको ३ वटा वडा रहेको ठूलो गाउँलाई नै थवाङ भन्ने गरिन्छ। पछिल्लो पटक थवाङ गाउँमा रहेका सबै बस्तीमा ढुंगा बिछ्याएर गाउँलाई नै सफासुग्घर राखिएको छ। जमिनमुनि ढलको व्यवस्था गरिएका कारण फोहोर व्यवस्थापनमा समेत अब्बल देखिएको सो गाउँलाई मगर समुदायको सांस्कृतिक धरोहरको रुपमा विकास गर्न सकिने स्थानीय बताउँछन्।

जन्म, मृत्यु, विवाह जस्ता संस्कारका साथै प्रकृतिपूजामा मान्यता राख्नु थवाङको मौलिक परम्परा हो। भाषा, रहन सहन र भेषभूषामा समेत मौलिकता झल्काउनु थवाङको छुट्टै विशेषता। मुख्य चाडको रुपमा हरेक वर्ष असार १ देखि ५ गतेसम्म भुमे पर्व मनाउने चलन छ। भुमे पर्व मगरको मौलिक सांस्कृतिक पर्व भए पनि अन्य स्थानमा लोप हुँदै गएको उक्त वर्षलाई थवाङमा भने भव्यताका साथ मनाउने चलन अहिले पनि कायमै छ।

नौमती बाजाको १२ प्रकारको तालमा परम्परागत मगर पोसाक लगाएर १२ प्रकारको नाचमा एकै पटक सयौं नरनारी नाच्ने गर्दछन्। पछिल्ला दिनमा भुमे पर्व हेर्न तथा सोबारे अनुसन्धान गर्न देश विदेशाबट थवाङ आउनेहरुको लर्को लाग्ने गरेको छ।

लामो समय सडक सञ्जालबाट विमुख हुँदै आएको थवाङ केहीअघि मात्रै जिल्ला सदरमुकाम लिवाङ, दाङ सदरमुकाम घोराही तथा पूर्वी रोल्पाको प्रमुख बजार केन्द्र सुलिचौरबाट सडक सञ्जालमा जोडिएको हो। थवाङ मध्य पहाडी लोकमार्गबाट समेत निकै छोटो दुरीमा पर्छ। मध्य पहाडी लोकमार्गले रोल्पालाई नछोए पनि थवाङसँग सो लोकमार्ग निकै छोटो दुरीमा रहेको रुकुम पूर्वमा पर्छ।

थवाङको चारै दिशाबाट एकै पटक सडक सञ्जालले जोडेसँगै यहाँको मौलिकता समेत हराउदै जान थालेको हो। स्थानीय मौलिकता नमासिने गरी विकास उपयोग गर्नुपर्नेमा जबर्जस्त र योजनाविहीन ढंगले खनिएका सडकका कारण मौलिकता संरक्षणमा हम्मेहम्मे परेको स्थानीयहरुको भनाइ छ।

नेपाल लाइभबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *