छोरालाई काखी च्यापेर सशस्त्र युद्ध लडेकी धनमायाको मन फेरिएपछि…

रोल्पा- ‘प्युठानको खलंगा र बिजुवार बीचको जंगलमा सुरक्षाफौजलाई आक्रमण गर्न खोज्ने रोल्पाका गंगाराम पुनको घटनास्थलमै मृत्यु…’

जब रेडियोमा यो समाचार सुनिन्, धनमाया पुन छाँगाबाट खसेझैं भइन्। रेडियोले भनेको साँचो हो कि आफू भ्रममा परेको हो उनलाई ठम्याउन मुस्किल पर्‍यो। न उठेर हिँड्न सकिन्। न त बोल्न नै। उनले एकएक घन्टमा आउने समाचार कुरिरहिन्। रेडियोले त्यही समाचार दोहोर्‍याइरह्यो।

२०५८ मंसिरमा माओवादीले पहिलो पटक नेपाली सेनाको ब्यारेकमा आक्रमण गरेको थियो। दाङमा रहेको सो ब्यारेक आक्रमणपछि सरकारले संकटकाल घोषणा गरी सेना परिचालन गरेको थियो। सेना परिचालनपछि दिनहुँजसो हुने भिडन्तमा माओवादी मरेको भन्ने समाचार रेडियोबाट प्राथमिकताका साथ बजिरहन्थ्यो।

श्रीमान् घर छाडेर माओवादी सशस्त्र युद्धमा पूर्णकालीन भएपछि धनमायाको साथी रेडियो भएको थियो। साथीको रुपमा रहेको त्यही रेडियोले जीवनसाथीको मृत्युको खबर दिँदा उनलाई पत्यार लागेन। त्यस्तै नाम गरेका अरु कोही हुन सक्छन् भन्ने एक मनले सोचे पनि मनको एक कुनामा कताकता शंकाले भने पिछा छाडेन।

युद्धकालीन समयमा पार्टीका नेता कार्यकर्ताको मृत्यु भएपछि त्यसको खबर पार्टी संयन्त्रमार्फत परिवारसम्म आइपुग्न लामै समय लाग्थ्यो। उनले रेडियोबाट त्यस्तो खबर सुनेको केही दिनपछि पार्टीका जिम्मेवार मान्छे आइपुगे, श्रीमान्‌ले ‘सहादत’ प्राप्त गरेक खबर लिएर। पार्टीबाट श्रद्धाञ्जलीसभाको कार्यक्रम राखियो। उनी पनि त्यो कार्यक्रममा सहभागी भइन्।

श्रीमान् २०५२ सालदेखि नै माओवादी युद्धमा लागेको भए पनि उनलाई भने राजनीतिले छोएको थिएन। घरमै बसेर खेती किसानी गर्ने तथा छोराहरु हुर्काउने जिम्मेवारी थियो उनको।

सामान्य गृहणी धनमाया श्रीमान्‌को मृत्युपछि भने चुप लागेर नबस्ने निष्कर्षमा पुगिन्। श्रीमान्‌को सपना पूरा गरेरै छाड्ने अठोटले उनलाई ऊर्जा दिइरह्यो।

एक वर्षभित्र दाजुभाइको हत्या

श्रीमान्‌को मृत्युको घाउ परिवारमा आलै थियो। २०५९ जेठ २१ गते उनलाई अर्को पीडा थपियो।

एकाघरको देवर तुकमान पुनलाई सेनाले हत्या गरेको खबर आयो। एउटै परिवारमा एक वर्षभित्र २ जनाको मृत्यु चानचुने कुरा थिएन। आफ्ना तीन नाबालक छोरा, देवरको छोरी, सासूससुरा अनि देवरानी पाल्ने जिम्मेवारी उनको काँधमा आइपुग्यो। घरका दाजुभाइको हत्यापछि कमाइदिने कोही भएन। एकातिर श्रीमान् र देवर हत्याको जवाफ माग्नु थियो भने अर्कोतर्फ परिवार पाल्ने दायित्व। उनले दोस्रो दायित्वलाई समेत नभुलेर पहिलो जिम्मेवारी वहन गर्ने निर्णयमा पुगिन्।

श्रीमान् र देवरको हत्यापछि सुरक्षा फौज दिनहुँजसो उनको गाउँमा आउन थाल्यो। आफ्नो पूरै परिवार नै असुरक्षित हुन थालेको महसुस भएपछि श्रीमान्‌को बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्दै ७ र ५ वर्षका जेठो र माहिलो छोरालाई माइतमै छाडिन्। ३ वर्षको कान्छो छोरालाई काखी च्यापेर भूमिगत भइन् धनमाया।

कठोर भूमिगतकाल

भूमिगत भएपछि कैयौं दिन माटोको ओछ्यान र ढुंगाको सिरानी बनाएर सुत्नुपरेको धनमाया अहिले पनि स्मरण गर्छिन्। ३ वर्षे नाबालक छोरालाई काखी च्यापेर सेना प्रहरीबाट बच्दै हिँड्नुपर्ने कहालीलाग्दो यात्रासँग असीम आशासमेत थियो उनमा।

‘पार्टीले परिकल्पना गरेको राज्यमा धनी-गरिब सबै समान हुने कस्तो आदर्शवादी सपना थिए,’ उनले स्मरण गर्दै भनिन्, ‘नेताको प्रशिक्षण र भाषण सुन्दै जाँदा अलिअलि राजनीति बुझ्न थालेँ।’

महिला संगठनमा बसेर काम गर्न थालेपछि उनले पार्टी सदस्यता पाइन्। नेताहरुले भनेको त्यही आदर्शवादी समाजका लागि आफू संघर्षरत रहिन्। छोराहरुको सुनौलो भविष्यको कल्पनासँगै कठोर भूमिगत दिनहरु बिताइरहिन्।

४ वर्ष लामो भूमिगत राजनीतिपछि पार्टी शान्तिपूर्ण प्रक्रियामा प्रवेश गर्‍यो। यसपछि भने धनमायाको दैनिकी पार्टीको जिम्मेवारीका साथै घरायसी काममा बित्न थाल्यो। लामो समय बाहिर बस्दा घर अस्तव्यस्त थियो। शान्तिकालपछि उनले घरको व्यवस्थापन गर्दै परिवार सम्हाल्न थालिन्। घरको व्यवस्थापन गर्न निकै मुस्किल पर्‍यो उनलाई।

पार्टीले खटाएको बेला जहाँ पनि पुग्न पछि नपर्ने उनी पार्टीको आशालाग्दी कार्यकर्ता थिइन्। पहिलो संविधानसभा निर्वाचनपछि पार्टी देशकै ठूलो शक्ति वन्यो। नेताहरु सांसद, मन्त्री, प्रधानमन्त्री बने। पानी चुहिने घरमा बसेर ढिँडो गुन्द्रुक खाएका नेताहरु काठमाडौंमुखी भएर चौरासी व्यञ्जनमा लिप्त हुन थालेपछि गाउँघर चटक्कै बिर्सिएको उनले पटकपटक गुनासो गरिरहिन्।

सहिद तथा बेपत्ता परिवार र घाइतेहरुलाई चटक्कै बिर्सिएको पीडा उनका लागि कम दुःखलाग्दो थिएन। पद र भागबण्डाको तानातान गर्दै पार्टी पनि चिराचिरा भएपछि उनलाई राजनीतिप्रति वितृष्णा जाग्न थाल्यो। उनले राजनीतिभन्दा समाजसेवामा ध्यान दिन थालिन्। एकल महिलाहरुसँगै रहेर काम गर्नुका साथै गाउँघरमा आउने मुद्दा मिलाउन थालिन्। सुरुसुरुमा टोलको भलाद्मी रहेकी उनी पछिपछि गाविसकै भलाद्मी बन्न पुगिन्।

पूर्व सहकर्मीले नै घर घेरेपछि

वडाभर (साबिक गाविस) उनको स्विकार्यता बढ्दै गयो। माओवादी सशस्त्र युद्धमा गरेको लगानी, सामाजिक कार्य आदिका कारण जनतामाझ लोकप्रिय हुदै गरेकी धनमाया स्थानीय तहको निर्वाचनमा रोल्पा नगरपालिका वडा नं १० वाट महिला वडा सदस्यमा निर्वाचित भइन्। नेपाली कांग्रेसको उम्मेदवार बनेकी उनलाई निर्वाचनमा आफ्ना पूर्व सहकर्मीहरुले निकै दु:खसमेत दिए।

‘आफ्नै पूर्व सहकर्मीहरुले नै मतदान हुनुभन्दा ५ दिन अघिदेखि नै रातिको समयमा घर घेरा हालेर नाराबाजी गरेका थिए,’ उनी सम्झिन्छिन्।

बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्यहरु पार्टीबाट छुट्टिँदा केही गर्न नसक्नेहरुले आफू अर्को पार्टीमा प्रवेश गरेका कारण ५ रातसम्म नाराबाजी गरेको घटना उनलाई निकै चित्त दुखेको छ।

पूर्व सहकर्मीहरुले आफूलाई जुत्ताको माला र मोसो दल्ने भनेर प्रचार गर्दै हिँडेको भए पनि जनताले भने आफूलाई विश्वास गरेर विजयी बनाएकोमा उनी खुसी हुन्छिन्। युद्धमा परिवारका २ सदस्य गुमाए पनि पूर्व सहकर्मीको व्यवहारले साँच्चिकै चित्त काटिएको थियो उनको। स्थानीय निर्वाचन भएको २ वर्ष पूरा भए पनि यो घटनाले उनलाई सधैं पछ्याइरहन्छ।

माओवादी सशस्त्र युद्धमार्फत राज्यसत्ता कब्जा गर्ने भन्दै ४ वर्ष लामो भूमिगत जीवनका साथै एक दशक लामो खुला राजनीतिमार्फत माओवादी आन्दोलनलाई सहयोग गरेकी उनी अहिले भने बिपीको प्रजातान्त्रिक समाजवादको वकालत गर्दै हिँड्न थालेकी छन्। कुनै समय मार्क्स, लेनिन र माओलाई उनले आदर्श मान्ने गर्थिन्। अहिले भने उनको राजनीतिको आदर्श पात्र फेरिएका छन्।

‘प्रचण्ड-बाबुरामहरु पनि आफूले राजेकै शान्तिपूर्ण बाटोमा आएका हुन्,’ उनलाई पश्चात्ताप छैन, ‘मैले बेलैमा सही निर्णय गरेकी हुँ।’

तत्कालीन नेकपा एमालेलाई कम्युनिस्ट होन भन्ने आफ्ना पूर्व नेता प्रचण्ड एमालेमै मिसिन आएर राजनीति भविष्य सुरक्षित गरेको धनमायाको बुझाइ छ। एक सामान्य गृहिणी, माओवादी कार्यकर्ता, सामाजिक अगुवा हुँदै अहिले नेपाली कांग्रेसको तर्फबाट निर्वाचित स्थानीय तहको जनप्रतिनिधि हुँदा उनी निकै खारिइसकेकी छिन्। भन्छिन्, ‘त्यो बेला पार्टीबाट ठूलो आशा थियो। तर शान्तिपूर्ण राजनीतिमा आएपछि नेतृत्व पंक्ति नै स्वार्थमा लागे। न सहिद परिवारको न्यायोचित सम्बोधन भयो। न त बलिदानीको मूल्यांकन।’

महेश न्यौपाने/nepallive.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *