मध्यरातमा युवतीको कोठामा आउन खोज्ने ती सर

दिनभरि अफिसको कामले थकित थिएँ । गाउँकै एउटी साथी काठमाडौँ आउँदा मेरै कोठामा बस्थिन् । उनको काठमाडौँ आउने-जाने काम परिरहन्थ्यो । गाउँमा सानैदेखि सँगै हुर्के बढेकी साथी काठमाडौँ आउँदा, सँगै बस्दा पनि रमाइलो लाग्दोरहेछ । त्यस दिन पनि उनी मेरो कोठामा आइन् । खाना खाएर गफ गर्दै सुत्यौँ ।

राति करिव १० बजेको थियो । पानी परिरहेको थियो । साथीसँग गफ गर्दागर्दै झपक्क निदाउन लागेकी थिएँ । साथीको मोबाइलको घण्टी बज्यो । निदाइसकेकी साथी जुरुक्क उठेर फोन उठाइन् । राति फोन आएपछि म पनि झस्किएँ ।

फोन उठाउँदै उनी केहीबेर आरामले बोलिन् । कुराकानी खासै विशेष नलागेपछि केही तेज भएको मेरो मुटुको धड्कन पनि सामान्य बन्यो ।

फोनको कुराकानी सकिएपछि मैले साथीलाई मैले सोधें, ‘कसको फोन यति राति ?’ उनको जवाफ थियो, ‘एकजना सर हो, अँ..साँच्ची अस्ति तिमीसँग पनि भेटेका थिए नि तिनै सर क्या… । भ्याली बाहिर गएका रहेछन् आउँदैछन् र । आइपुग्न निकै राति हुने भयो भन्दै छन् ।’

मैले भने, ‘उनको घर यतै काठमाडौंतिरै होइन र ?’ साथीको जवाफ- ‘अँ हो, यतै हो ।’

यति बोलेपछि हाम्रो कुरा सकियो । लामो यात्राबाट आएकी उनी निदाइहालिन् । म भने निदाउनै सकिनँ । केही दिनदेखि बिरामी भएर ज्वरोले लखतरान परेकी थिएँ । एन्टिवायोटिक औषधी पनि खाइरहेकी थिए ।

अलिबेरपछि झपक्क निन्द्रामा रहंेछु । साथीको फोनको घण्टी फेरि बज्यो । यति राति कसको फोन ? भन्दै अलिअलि रिसको भाव देखाउँदै छेउकी साथीलाई बोलाएँ र भनंे ‘तपाईको फोन आइरहेको छ, को हो नि यति राति फोन गर्ने ? किन गर्छन् कुन्नि ?’

सिरानीको छेउको टी-टेवलमा रहेको फोन लिँदै साथीले भनिन्, उही के त अघि फोन गर्ने सर…यति भन्दै फोन उठाइन् र कुरा गर्न थालिन् । यसो घडी हेरेको दुई बजेको रहेछ । मेरो त होस हवासै उड्ला जस्तो भयो । किन फोन गर्छन् यति राति ? अनि उठाउने मान्छेलाई पनि झर्काे नलागेको । मनमनै सोच्न थालेँ ।

फोनमा एकतर्फी मात्र कुरा सुनिरहेकी थिएँ । साथीले भनिरहेकी थिईन, ‘यति राति भैसक्यो तपाई त्यतै कतै बस्नु ।’ केहीबेरपछि फोनको कुरा सकियो । मैले सोधंे, ‘यति राति चै किन फोन गरेछन् ?’ उनले भनिन, ‘अघि फोन गर्ने सर क्या, समस्यामा परँे भन्दै छन् । बल्ल कोटेश्वर आइपुगें, विचल्ली भएँ रे ।’

साथीले फोनमा कुरा गर्दै गर्दा मैले सोच्न भ्याइसकेकी थिएँ…त्यो मान्छे त अस्ति भर्खर भेटेको, एक हप्ता पनि भएको छैन । उसले मेरो फोन नम्बर पनि लिन भ्याएको थियो । हाम्रो भेटपछि उसले २ पटक फोन पनि गरेको थियो । उसले फोन गरेर बोलेको सुन्दा लाग्थ्यो, मलाई आफ्नै बहिनी सोचेर बोलिरहेको छ । अनि अर्को अचम्मको कुरा त के छ भने, दोस्रो पटकको फोनमा उसले मसँग भनेको थियो, ‘तपाई जत्तिको मान्छेले अब मिडियामा मात्रै सीमित हुनुहुँदैन, अब तपाई हामी मिलेर एउटा काम गर्नुपर्छ ।

उसले यो भन्दै गर्दा मलाई लागेको थियो, खुबै राम्रो कुरा गरिररहेको छ । मानौं मेरो परिवारको कुनै अभिभावक हो । मेरो भविष्यको पनि चिन्ता गर्ने Û

तर, छेउमा सुतीरहेकी साथीसँग उनले गरेको फोनको कुराकानीले एकैछिनमा उनको हर्कत कस्तो हो भन्ने प्रष्टै पारिदियो । म झसङ्ग झस्किएँ ।

साथीले फोन राखिसकेपछि मलाई सुनाइन्, त्यो सर त समस्यामा परेँ भन्दै हाम्रो कोठामा आउने कुरा गर्दैहुनुहुन्छ । यतै नजिकै चोकमा हुनुहुन्छ रे ।

उफ, अब म फसादमा परेँ । मनमनै दिक्क मानेँ । साथीलाई पाहुनाको रुपमा राख्नु नै पो गल्ती गरंेछु कि भन्ने लाग्यो ।

मैले सोधेँ, ‘अँ के समस्या परेछ ?’

उनले भनिन्, ‘यति राति जिल्ला बाहिरबाट आइपुग्नुभएछ, आजको रात बास दिनुपर्ने भयो ।’

मेरो रीसले सीमा नाघ्यो । काठमाडौँ मै घर भएका व्यक्तिलाई कसरी समस्या हुन्छ र ? त्यसमा पनि उसका लागि काठमाडाँैका यति धेरै रेष्टुरेन्ट आज सबै भरिएछन् ?

साथीलाई भनें, ‘आफ्नो व्यवस्था आफै मिलाउनु भन्दिनुस् उहाँलाई ।’

खै ? उनले के सोचेकी थिइन्, त्यो उनै जानुने…उनी पनि ती व्यक्तिलाई मेरो कोठामा ल्याउने कुरामा केही हदसम्म सहमत भएको उनको बोलीबाट मलाई प्रष्ट बनायो ।

त्यसपछि साथीले फेरि ती व्यक्तिलाई फोन गरेर भनिन्, यहाँ नमिल्ने भयो, सरी है सर । तपाई आफ्नो व्यवस्था गर्नुस्, भोलि कुरा गरौँला ।

एक पटक भेटेको मान्छे, त्यसमा पनि छोरीमान्छेको कोठामा राति दुई बजे आउँछु भन्नु कत्तिको उपयुक्त कुरा हो ? त्यो व्यक्तिको मनमा कस्तो कालो स्वार्थ थियो भन्ने प्रष्टै बुझिन्थ्यो ।

अफिसियल कामको शिलशिलामा भेटिएको व्यक्ति, देख्दा निकै खानदानी र भलाद्मी लाग्थ्यो । तर, आज अचानक राति फोन गरेर किन मेरो कोठामा आउँछु भन्दैछ ? अचम्मको कुरा त के छ भने, त्यत्तिका राति ती व्यक्तिले छोरीमान्छे, त्यो पनि अविवाहित युवतीको कोठामा आउने आँट कसरी गरे होलान् ?

अर्काे कुरा, यस्ता कालो स्वार्थले भरिएका ब्वाँसाहरुलाई थप हौंस्याउन हामी महिलाहरुको पनि निक्कै ठूलो दोष भएको मैले पाएँ ।

यो एउटा घटनाले मेरो मनमा त्रासले बास गरेको छ । आफ्नै देशमा असुरक्षित छुु भन्ने डरले घरीघरी सताउन थालेको छ । महिला हिंसाविरुद्ध खरो रुपमा प्रस्तुत हुने हामी जस्ता महिला पत्रकारमाथि त अप्रत्यक्ष रुपमा यस्ता घटना हुने गर्छन् भने आफूमाथि भएको हिंसाको खुलेर प्रतिवाद गर्न नसक्ने र २/४ जना व्यक्तिका अगाडि आफ्नो नाम समेत भन्न नसक्ने महिलाहरुको अवस्था कस्तो होला ?

शिक्षित, प्रतिष्ठित भनिने व्यक्तिबाट अप्रत्यक्षरुपमा हुने यस्ता हर्कतबाट नेपाली चेलीहरु अझै पीडित छन् । नेपाली महिलाहरु अहिले राज्यको प्रमुख अंगमा ३३ प्रतिशत अनिवार्य सहभागितालाई संविधानमा उल्लेख गराउन सफल भएका छन् । तर, अझै पनि व्यवहारिकरुपमा भने आफ्नो अधिकार स्थापित गराउन र हिंसाबाट बच्न भने असफल नै बनिरहेका छन् ।

(ढुंगाना पत्रकार हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *