प्रचण्डलाई छटपटाहट सुरु भयो : लेलिन बिष्ट

काठमाडौ। पूर्व माओवादी बाल लडाकू लेलिन बिष्टले प्रचण्डलाई हेग लैजान तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रिय अदालत (हेग) लगेमा आफूलाई केही फरक नपर्ने उल्टै संसारको हिरो बनेर निस्कने दाहालको भनाई प्रति प्रतिक्रिया दिँदै लेलिनले प्रचण्डमा छटपटाहट सुरु भएको बताए ।

“हामीले न्यायका लागि अन्तर्राष्ट्रिय पहल गरिरहेका छौँ, प्रचण्डको हिरो बनेर निस्कने अभिव्यक्ति त्यसैको नतिजा हो” विष्टले भने, “हिरो नै बन्न मन भए पीडितहरु सबै एक ठाउँमा छौँ, उनलाई हेग लैजान तयार छौँ । ”

विप्लव माओवादीका केही नेताहरुलाई आफ्नो पार्टी नेकपामा प्रवेश गराउँदै प्रचण्डले आफूलाई हेग लैजाने भन्दै दिइएको धम्कीलाई ‘प्रतिगामीको डिजाइन’ को संज्ञा दिएका थिए ।

हेग लगेमा संसारकै हिरो बनेर निस्कने बताएका प्रचण्डले भनेका थिए, ‘तर मलाई यिनीहरुले हेग लगेर हिरो बन्न दिन्छन् जस्तो लाग्दैन ।’

पूर्व माओवादी लडाकू विष्टले हालै संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को कार्यालय जेनेभामा आफूहरूमाथि अन्याय गरिएको भन्दै निवेदन दिएका थिए ।

हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु: प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग (अन्तर्राष्ट्रिय अदालत) लगे आफू झन संसारमा परिचित हुने दाबी गरेका छन्।

सोमबार बिहान निवास खुमलटारमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेर नेकपामा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्ने क्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्।

‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन’ प्रचण्डले भने ’हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु,। संसारभरिका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने मिल्ने दाहालले दाबी गरे। ‘त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन तिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन्’ उनले भने।

परिवर्तनको नेतृत्व गरेका नेतालाई सिध्याउन पाए अहिलेको परिवर्तन उल्टाउन सकिन्छ भनी पश्चमागी तत्व लागि परेको उनले आरोप लगाए।

दुईचार जनाले म क्रान्ति गर्छु भनेर लाग्दैमा क्रान्ति नहुने भन्दै दाहालले क्रान्ति भनेको लाखौं करोडौं जन्ताको काम भएको बताए। जनताको व्यापक सहभागिता बिना क्रान्ति सार्थक नहुने उनले सप्ष्ट पारे।

आफूहरुको चाहेको यो धेरै भए पनि शक्ति सन्तुलन, विश्व परिस्थितलाई विचार गरेर अहिलेलाई यही उपलब्धिको रक्षा गरौं भनेर यो व्यवस्थामा आएको धारणा व्यक्त गरे।

संघीय लोकतान्त्रिक व्यवस्था रहँदासम्म अहिलेको नेतृत्व कोही कमजोर नहुने उनले बताए। क्रान्तिका नाममा प्रतिक्रियावादीलाई फाइदा पुग्ने काम गर्दा अहिलेको व्यवस्था नरहने र देशले दुख पाउने उनले दाबी गरे।

प्रचण्डको सचिवालयका अनुसार पार्टी प्रवेश गर्नेहरुमा रमण घिमिरे, आवास मन्सुरी, सुरेश कुमार यादव, विनोद केसी, सुवास तिवारी राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की, नमराज शर्मालगायत रहेका छन् ।

यो पनि पढ्नुहोस

पुर्वबालसेना लेनिनको चेतावनी: न्याय नपाए प्रचण्डलाई अन्तर्राष्ट्रिय जेलमा हाल्छु’

पूर्व बाल सैनिक लेनिन विष्ट अहिले चर्चामा छन् । खासगरी युरोपको तीन महिने भ्रमणका क्रममा उनले त्यहाँ गरेका गतिविधिलाई लिएर अहिलेको सत्तारुढ दल नेकपामा रहेको पूर्व माओवादीको खेमा भने सशंकित छ ।

गत वर्षको भदौ ८ गते एक कार्यक्रममा भाग लिन थाइल्यान्ड जाने क्रममा उनलाई प्रशासनले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट फिर्ता गरेपछि उनी एकाएक चर्चामा आएका हुन् । उक्त प्रकरणमा उनले सोही भदौ १५ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोमा त्यसको अन्तिम छिनोफानो अझै भइसकेको छैन । उनलाई कसले युरोप पठायो, त्यहाँ केके गरे र आइसकेपछि उनलाई के कस्ता चुनौती आइपरेका छन् त्यसबारेमा विष्टसँग बाह्रखरीले विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानीका मुख्य अंशहरुः

तपाईं अहिले सेलिब्रेटी नै भइसकेको हो, जताततै चर्चा सुनिन्छ नि ?

सेलिब्रेटी त होइन । तर, आफ्ना पीडाका कुरा उठाइरहेका छौं । यसमा जनस्तरबाट हामीलाई साथ मिलिरहेको छ ।

सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले हालै एउटा सार्वजनिक कार्यक्रममा नै तपाईंको युरोप भ्रमणको बारेमा कुरा उठाउनु भएको थियो । उहाँले भने जस्तै कसैले प्रयोग गरेको हो तपाईंलाई ?

उहाँले गल्ति गर्नुभएको छ । त्यही भएर हामीले न्यायको कुरा उठाउँदा उहाँलाई छोएको हो । हामीलाई कसैले उचालेको भन्दा पनि आफ्नो देशमा न्याय नपाएपछि हामीले विदेशमा गएर गुहार्नु परेको हो । यो हाम्रो बाध्यता हो ।

तपाईलाई कसले युरोप लगेको हो ?

मलाई नेदरल्यान्डस् सरकारले लगेको हो । उहाँहरुकै खर्चमा म तीन महिना युरोपमा बसेर आएको हुँ ।

तपाईंलाई नेदरल्यान्डस सरकारले पहिला सम्पर्क गरेको कि तपाईंले उता सम्पर्क गरेको ?

विभिन्न संघ संस्था मार्फत नेदरल्यान्डस् सरकारको सम्पर्कमा पुगेको हुँ ।

कहाँका संघ संस्था ? नेपालका कि बाहिरका ?

बाहिरका संघ संस्थामार्फत् ।

युरोपमा के गर्नुभयो ?

नेदरल्यान्डस्का राजपरिवारका सदस्यसँग भेट भयो । अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न मिल्छ कि मिल्दैन भनेर हामीले त्यहाँका वकिलहरुसँग छलफल गर्यौं । त्यसपछि जर्मनी र फ्रान्सका सांसदहरुसँग समेत कुरा भयो । जेनेभामा संयुक्त राष्ट्र संघका रापोर्टरहरुसँग कुरा भयो, मानवअधिकार परिषद्मा पनि हाम्रो पीडा बारेमा जानकारी गराएका छौं ।

हेगमा मुद्दा दर्ता गर्न त मिलेन होइन ?

हामीले जानकारी गराएका छौं ।

नेपालको शान्ति प्रक्रिया भाँड्न तपाईंलाई कसैले प्रयोग गर्न खोज्यो भन्ने आरोप पूर्व माओवादीका नेताहरुले लगाएको सुनिन्छ । किन यस्तो आरोप लगाइएको होला ?

उहाँहरुले हामीलाई पहिला प्रयोग गरेकै हो । उहाँहरुका परिवारलाई मात्रै अहिले अवसर दिनु भएको छ । हामीलाई त्यत्तिकै फालिएको छ । त्यसैले अहिले सडकमा आवाज उठ्न थालेपछि उहाँहरुले हामीलाई आरोप लगाउनुभएको हो ।

तपाईंहरु के भएचाहिँ सहमतिमा आउनु हुन्छ ?

उहाँहरुले अहिले पैसा दिएर मिलाउन खोजेको जस्तो देखिन्छ । तर, हामीले न्याय पाउनु पर्यो भन्न खोजेका हौं । दोषीमाथि कारवाही हुनुपर्छ भनेका हौं ।

कति पैसाको अफर गर्नुभएको छ ?

हामीलाई प्रति व्यक्ति ५ लाख रुपिया अफर गर्नुभएको छ । तर, हामीलाई किन बाल सेना बनाइयो त्यसको आचित्य पुष्टी गर्नुपर्यो भन्ने हाम्रो माग हो ।

कति जना हुनुहुन्छ बाल सेनाको रुपमा अहिले ?

हामी जम्मा २ हजार ९७३ जना छौं ।

कहाँ हुनुहुन्छ अरु साथीहरु ?

२/३ सय जना अहिले काठमाडौंमै हुनुहुन्छ । अरु कोही खाडीमा, कोही भारतमा हुनुहुन्छ । कोही अहिले विप्लब माओवादीतिर लाग्नुभएको छ ।

अर्को हिसाबलेभन्दा तपाईंहरुको मुद्दा चर्चित बनाउन गृहमन्त्री रामबहादुर थापाले नै मद्यत गर्नु भयो होइन ? उहाँले त्यतिबेला बिमानस्थलबाट फिर्ता नगरिदिएको भए सायद तपाईं र तपाईंको मुद्दा त्यत्तिकै ओझेलमा पर्ने थियो होला । अहिले ठीकै गर्नुभएछ जस्तो लागेको छ ?

सत्य हो । उहाँले त्यसदिन फिर्ता गरेकै कारण हाम्रो मुद्दा एक्कासी अन्तर्राष्ट्रियकरण भयो, चर्चित भयो । नत्र कुनै सुनुवाई नै भएको थिएन । त्यही घटनापछि हामीलाई सबैले साथ दिएका हुन् । त्यसैले सहयोगका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु ।

बिमानस्थलबाट फिर्ता गरिएको प्रसंगमा परेको मुद्दा के भयो ?

मैले मुद्दा दर्ता गरेको थिएँ । अदालतले सारेको सार्यै गरिरहेको छ । अर्को पेशी साउन ३० गतेका लागि सरेको छ । त्यसो गर्नु गलत थियो भन्ने कुरा अदालतले भनिदिएमा आगामी दिनमा यस्ता गतिविधि नदोहोरिने आशा गरेको छु । अरु साथीहरुपनि यस्तोमा पर्नु हुने थिएन ।

तपाईं युरोप भ्रमण गरेर फर्केपछि नेपालमा कुनै समस्या त परेको छैन ? कसैले धम्क्याए कि ?

तत्कालीन माओवादीका नेता निकट रहेका कार्यकर्ताले मेसेज पठाएर र फोन गरेर बेलाबेलामा धम्क्याएका छन् । नेताहरुले प्रत्यक्ष केही भनेका छैनन् । प्रचण्डले भने हालै केही नेताहरु पार्टी प्रवेश गर्न आयोजित सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीकै अगाडि मेरो प्रसंगपनि झिक्नु भएछ ।

कांग्रेसका एक जना सांसदले त सार्वजनिक रुपमा नै प्रधानमन्त्रीले तपाईंलाई युरोप पठाएको भन्ने सम्मको आरोप लगाए त ?

यसबारेमा म के भनौं ? म युरोपमै भएका बेलामा कांग्रेसका सांसदले त्यसो भनेको भन्ने थाहा पाएँ । एउटा जनताको हिसाबले प्रधानमन्त्रीसँग मेरो कुरा भएको हुन सक्छ । हामीले हाम्रा माग पनि राखेका थियौं । तर, प्रधानमन्त्रीले नै युरोप पठाएको भन्ने कुरा गलत हो ।

मानवअधिकारको विषय हेर्ने अन्य धेरै निकाय छन् । तर, नेदरल्यान्डसले नै तपाईलाई किन चासो दिएको होला ?

विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुले नेदरल्यान्डस सरकारलाई जानकारी गराएका रहेछन् । त्यसबाट हाम्रो पीडाका बारेमा पहिला नै जानकार हुनुहुँदोरहेछ । अन्तर्राष्ट्रिय अदालतको कार्यालयसमेत भएको देश भएको हिसाबले मलाई सहयोग गरेको होला ।

नेपालमा विभिन्न अधिकारकर्मीहरुको नामै किटेर यिनिहरुले तपार्इंलाई युरोप पठाएको हो भनेर चर्चा भएको थियो नि ?

त्यो गलत कुरा हो । जसको नाम चर्चामा आयो उहाँहरुलाई बिचरा म उता जाने कुरासम्म थाहा थिएन ।

युरोपमा तपाईले आफूहरुको समस्याका बारेमा के निष्कर्ष निकाल्नुभयो त ?

हाम्रो मुद्दा अन्तर्राष्ट्रियकरण भएको छ । युरोपेली राष्ट्रकातर्फबाट हामीलाई तालिमलगायतको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त भएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा पनि यो विषयमा छलफल हुनेछ । हामीले संयुक्त राष्ट्र संघकै मानवअधिकार परिषद्लाई पनि हाम्रो समस्याको बारेमा लिखित जानकारी दिएका छौं । त्यसैले हाम्रो न्यायका लागि अन्तर्राष्ट्रिय जगतको ध्यान अब जान्छ भन्ने हामीले ठानेका छौं ।

संयुक्त राष्ट्र संघको कुरागर्दा त्यही निकायले शान्ति संझौताको मध्यस्थता गरेको हो । त्यतिबेला बाल सेनाको मामिला छुट्नुमा त उसको पनि केही न केही त्रुटी होइन र ?

राज्यले हाम्रो बारेमा चासो लिनुपर्ने हो । लिन सकेन । अनि द्वन्द्वरत दुवै पक्षले बेवास्ता गरे । संयुक्त राष्ट्र संघले पनि त्रुटी गरेकै हो । अहिले युरोप भ्रमणका क्रममा राष्ट्र संघका रापोर्टरहरुसँगको कुराकानीमा पनि यो कुरा मैले उठाएको छु ।

तपाई आफूलाई पूर्व बाल सेनाभन्दै आउनु भएको छ । तर, तपाईको पृष्ठभूमिबारेमा धेरैलाई थाहा छैन कसरी बाल सेना हुनुभयो ?

म १३ वर्षको हुँदा ५ कक्षामा पढिरहेको बेलामा काभ्रे घरबाट मकवानपुरमा रहेको मामाघरमा गएको थिएँ । मामाघरको छेउमा माओवादीको एउटा साँस्कृतिक कार्यक्रम रहेछ । त्यहाँ हामी ५ जना सँगै हेर्न गएका थियौं । त्यहाँ गएपछि उहाँहरुले यतै बस भन्नुभयो । बच्चा बेलामा त्यही भएर बसियो । यो २०५९ सालको कुरा हो । हामी पाँचै जना त्यही बस्यौं ।

अनि शान्ति संझौता नहुन्जेल त्यतै बस्नुभयो ?

हो, त्यतै बस्यौं ।

के गर्नु हुन्थ्यो त्यतिबेला माओवादीमा ?

हामीलाई सूचना आदान प्रदान गर्ने, कुनै कार्यक्रम छ भने भित्ते लेखन गर्ने जस्ता काममा लगाइन्थ्यो ।

कसको प्रत्यक्ष निगरानीमा काम गर्नुभयो ?

त्यतिबेला हामीलाई काम लगाउने मान्छेहरु अहिले कोही विप्लब माओवादीमा, कोही वैद्य माओवादीमा छन् । केही अहिले नेकपामा नै छन् । उनीहरुको नाम चाहिँ सार्वजनिक रुपमा नभनौं ।

शान्ति सम्झौता भएपछि के गरियो त ?

हामीलाई चितवनको क्यान्टोनमेन्टमा लगेर ४ वर्ष राखियो । त्यतिबेला भएको छानबिनका क्रममा हामी २ हजार ९७३ जना बाल सैनिक ठहरियौं र अरु १ हजार ३५ जना शान्ति संझौता भएपछि भर्ना भएका मानिस देखिए ।

तपाईंहरुलाई त्यसपछि राज्यले कुनै आर्थिक सहयोग गरेको छ कि छैन ?

क्यान्टोनमेन्टमा बस्दा हामीलाई मासिक तीन हजार रुपियाँ दिइएको हो । पछि संयुक्त राष्ट्र संघकातर्फबाट एक सय डलर बराबरको रकम र एउटा झोला दिइएको थियो ।

क्यान्टोनमेन्टबाट छुटेपछि के गर्नुभयो ?

हामीले पनि न्याय पाउनुपर्यो भनेर माग गर्यौं । तर, कतैबाट सुनुवाई भएन ।

तपाईं युरोपमा भएका बेलामा एक जना मन्त्री नै त्यहाँ गएर उजुरी हाल्दै नहिँड भनेको पनि चर्चा सुनिएको थियो नि ?

त्यो कुरा हो । तर, यो कुराभन्दा मलाई अप्ठेरो पर्छ । त्यसैले अहिले भन्न चाहन्न ।

अहिले प्रचण्डले नै सार्वजनिक रुपमा तपाईंको अभियानबारे टिप्पणी गर्न थाल्नुभएको छ ? बोलाएर केही भन्नुभएको छैन ?

उहाँले त भन्नु भएको छैन । तर, विभिन्न मान्छे लगाएर सम्झाउन खोजेको जस्तो बुझेको छु ।

सकेसम्म त आन्तरिक रुपमा नै कुरा मिलाएको भए हुन्थ्यो नि होइन ? किन विदेशतिर ताक्नु भएको ?

हामीले आन्तरिक रुपमा न्याय मागेका हौं । तर, न्याय दिइएन । त्यसैले बाध्य भएर जानुपरेको हो ।

अब कसरी समस्याको समाधान होला त ?

म अब एक चरणमा सबै नेताहरुलाई भेट्ने प्रयासमा छु । तीन महिनासम्म उहाँहरुलाई भेटेर पूर्व बालसैनिकको विषय समाधान गरिदिन आग्रह गर्छु । उहाँहरुले केही पनि गरिदिनु भएन भने फेरि तीन महिनापछि युरोप गएर यो मुद्दालाई अझ कडाईका साथ उठाउने छु ।

तपाईं दोषीलाई कारवाही हुनुपर्छ भन्दै आउनु भएको छ । तपाईंको दृष्टिमा को चाहिँ यो मामिलामा बढी जिम्बेवार छ जस्तो लाग्छ ?

यसमा मुख्य नेताहरु चाहिँ उम्किने प्रयासमा हुनुहुन्छ । सानातिना मान्छेलाई दोषी खडा गरेर उहाँहरु जोगिन खोजे झैं गरिरहनु भएको छ । हामी दोषीले कारवाही भोग्नुपर्छ भन्ने पक्षमा छौं । दोषीलाई कारवाही नहुन्जेलसम्म हामी न्यायको लडाईं लडिरहन्छौं ।

नेता नै ताकेपछि झन् तपाईंहरुका माग सम्बोधन गर्न अप्ठेरो पर्ला नि त ?

हामी त निरन्तर न्याय मागिरहन्छौं । न्याय नपाएसम्म हाम्रो अभियान जारी रहन्छ ।

तपाईंले युरोपेली राष्ट्रहरुमा ठाउँ ठाउँमा उजुरी गर्नुभयो । त्यसको असर के पर्न सक्छ ?

उजुरी भन्दापनि जानकारी गराएको छु । त्यसले युरोपेली मुलुकमा कर्णेल लामालाई बेलायतले पक्रिए झैं त्यस्तो समस्या आउनपनि सक्छ । केही अघि अष्ट्रेलियाका राजदूतले पनि यस्तै कुरा उठाउनु भएको थियो । त्यसैले नेताहरुलाई अप्ठेरो पर्ने अवस्था रहेकाले हाम्रो माग उहाँहरुले सम्बोधन गर्नु हुन्छ भन्ने लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *