बन्दको अवज्ञा गरेको भन्दै गाडीमा आगजनी

हेटौंडा : बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताहरुले मकवानपुरमा दुइवटा गाडीमा आगजनी गरेका छन् । फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार र मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् ।

आगजनीका कारण कार पूर्ण रूपमा क्षति पुगेको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।

त्यसैगरी, हेटौंडाका थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक २० नजिकै शंकास्पद् वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ । हेटौंडाको मुख्य बजारको पारिजात पथमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पार्न सेनाको टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा नेकपाले बुधबार बागमती, नारायणी र जनकपुर व्युराे बन्द आह्वान गरेको छ ।

यो पनि पढ्नुहोस

बन्दको पूर्वसन्ध्यामा उपत्यकालगायत विभिन्न स्थानमा मसाल जुलुस

नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता-कार्यकर्तामाथिको सरकारी दमन, धरपकड र ज्यादतीबिरुद्ध बागमती, नारायणी र जनकपुर व्युराेका विभिन्न स्थानहरूमा बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेको छ । नेकपाले मंगलबार साँझ मसाल जुलुस गरेको जनाएको छ । नेकपा स्रोतले दिएकाे जानकारी अनुसार बागमती, नारायणी र जनकपुरका, रामेछाप र दोलखासमेतमा मसाल जुलुस गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्जसमेत रहेका चर्चित जनकलाकार माइला लामा गिरफ्तार भएपछि नेकपाले त्यसको विरोध बन्द आव्हान गरेको हो । पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै नेता लामाको गिरफ्तारी गैरन्यायिक भएको भन्दै निन्दा तथा घोर भत्र्सना गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

संघर्षका कार्यक्रम अनुसार साउन १५ गते बुधबार बागमती, नारायणी र जनकपुरका रामेछाप र दोलखासमेत बन्द हुनेछन् ।

झापामा एकैसाथ ३ वटा एनसेल टावरमा बम विस्फोट

झापाको ३ वटा स्थानमा एनसेल टावरमाथि एकैपटक आक्रमण भएको समाचार प्राप्त भएको छ । जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ भने दमकमा रहेको एनसेल टावरमा बम बिष्फोट भएको छ । एक्कासि एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीका अनुसार यसअघि पटकपटक नेकपाले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका कारण यसपटक पनि नेकपाले गरेको हुन सक्ने प्रहरी अनुमान छ । यद्यपि घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *