वडा कार्यालयमा बम विस्फोट, रौतहटमा आगजनी

साउन १५, काठमाडौं । नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् ।

विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् ।

अज्ञात समूहको बम विस्फोटबाट क्षतिग्रस्त नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालय । तस्वीर सौजन्यः रामहरि न्यौपाने

ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्त्वपूर्ण सामग्री जलेको जानकारी दिइन् ।

बम विस्फोटबाट क्षतिग्रस्त बनेको नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालय । तस्वीर सौजन्यः सीता खतिवडा लामा ।
बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्ममा लिएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

त्यसैगरी, विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक वडा कार्यालयमा पनि आगजनी भएको छ । चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् ।

नुवाकोटमा जस्तै रौतहटमा पनि आगजनी गर्ने पक्षले अहिलेसम्म जिम्मा लिएको छैन ।

यो पनि पढ्नुहोस

बन्दको अवज्ञा गरेको भन्दै गाडीमा आगजनी

हेटौंडा : बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताहरुले मकवानपुरमा दुइवटा गाडीमा आगजनी गरेका छन् । फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार र मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् ।

आगजनीका कारण कार पूर्ण रूपमा क्षति पुगेको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।

त्यसैगरी, हेटौंडाका थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक २० नजिकै शंकास्पद् वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ । हेटौंडाको मुख्य बजारको पारिजात पथमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पार्न सेनाको टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा नेकपाले बुधबार बागमती, नारायणी र जनकपुर व्युराे बन्द आह्वान गरेको छ ।

झापामा एकैसाथ ३ वटा एनसेल टावरमा बम विस्फोट

झापाको ३ वटा स्थानमा एनसेल टावरमाथि एकैपटक आक्रमण भएको समाचार प्राप्त भएको छ । जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ भने दमकमा रहेको एनसेल टावरमा बम बिष्फोट भएको छ । एक्कासि एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीका अनुसार यसअघि पटकपटक नेकपाले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका कारण यसपटक पनि नेकपाले गरेको हुन सक्ने प्रहरी अनुमान छ । यद्यपि घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *