नेकपासँग एकीकरण नगरे विप्लवको पार्टी सिद्धिन्छ

भक्तपुर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेन्द्रबहादुर पाण्डेले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा एकीकरणमा आउनै पर्ने र नआए सिद्धिने चेतावनी दिएका छन्।

मदन भण्डारी फाउन्डेसन भक्तपुरले शुक्रबार यहाँ गरेको ‘आजको सन्दर्भमा जननेता मदन भण्डारीका विचार’ विषयक विचार गोष्ठीमा नेता पाण्डेले यस्तो बताएका हुन्।

मदन भण्डारीको ६८ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले अरु कम्युनिस्ट पार्टीलाई समेत नेकपा एकीकरणमा आउनुको विकल्प नभएको जिकिर गरे।

‘एकीकृत क्रान्तिको नाउँमा पुनः हतियार उठाउँदै आएको विप्लव कम्युनिस्ट एकीकरणमा आउनैपर्छ, नत्र सिद्धिन्छ’, पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता पाण्डेले भने, ‘अरु कम्युनिस्ट पार्टीलाई पनि एकीकरणमा आउनुको विकल्प छैन। नत्र दक्षिणपन्थी भासमा जाकिन्छ कि सिद्धिन्छ।’

उनले अरु कम्युनिस्ट पार्टी भनेर नेकपा माले, नेकपा मसाल तथा नेपाल मजदुर किसान पार्टीलगायतका साना कम्युनिस्ट पार्टीलाई इंगित गरेका थिए।

मदन भण्डारीको ६८ औं जन्म जयन्तीको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै नेकपा (नेकपा) नेता महेन्द्रबहादुर पाण्डे। तस्बिर : ईश्वरकाजी खाइजू

‘जनताको जनवादभित्र त्रुटि छ’
नेता पाण्डेले नेकपा (नेकपा) ले अँगाल्ने भनिएको जनताको जनवादमा त्रुटि रहेको बताए।

कार्यक्रममा बोल्ने नेकपा (नेकपा) का नेताले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अघि सारेको २१ औं शताब्दीको जनताको जनवादबारे फरकफर मत राखेपछि उनले उक्त कुरा बताएका हुन्।

उनले विश्वभर रहेका कम्युनिस्ट पार्टीले गरेका क्रान्ति र अन्य देशमा कम्युनिस्ट पार्टीको पतन हुन थालेको अनुभवबाट मदन भण्डारीले जनताको बहुदलीय जनवाद अघि सारेको भन्दै नेकपा (नेकपा) ले अघि सारेको जनताको जनवादमा माक्र्सवादको विकास गर्ने उल्लेख गरेको सुनाए।

‘माक्र्सवाद आफै विज्ञान हो। यसको विकास गर्ने होइन’, नेता पाण्डेले भने, ‘माक्र्सवादको आलोकमा समाज परिवर्तन गर्न पार्टीलाई सिर्जनशील, क्रियाशील र रचनात्मक बनाउने भन्ने हुन्छ।’
उनले फाउन्डेसन नेकपाको भ्रातृ संस्था नभएकाले विचारमा बहसै गर्न नपाउने भन्ने नहुने धारणा राखे।

मदन भण्डारीको विचारबारे छलफल, अन्तरक्रिया, बहस गर्न नै फाउन्डेसन स्थापना गरिएको भन्दै नेता पाण्डेले फाउन्डेसनले समयसापेक्ष नयाँ विचारसमेत निर्माण गर्न सक्ने बताए।

विचारमा बहस नगरौं : प्रजापति

कार्यक्रममा नेकपा (नेकपा) का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप प्रजापतिले पार्टीले विचारसम्बन्धी बहसमा खुला नगरेकाले जबज वा जनताको जनवादमा बहसै नगर्न ध्यानाकर्षण गरे।

‘विचारमा बहस गर्न पार्टीले खुला गरेको छैन’, उनले भने, ‘हामी पार्टी एकताको प्रक्रियामा छौं। त्यसैले बहसको नाउँमा पार्टीलाई अनेकतामा नलैजाऔं।’

उनले हिजैकै अवस्थामा जनताको बहुदलीय जनवाद र जनताको जनवादमा तात्विक भिन्नता छैन भन्न नमिल्नेसमेत बताए।

फाउन्डेसनको प्रदेश ३ का अध्यक्ष केशव पाण्डेले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद र माओवादीको २१ औं शताब्दीको जनताको जनवादमा तात्विक भिन्नता नभएको धारणा राखेका थिए।

त्यस्तै फाउन्डेसन भक्तपुरका अध्यक्ष शशिजंग थापाले जनताको बहुदलीय जनवादकै जगमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको दाबी गरे।

उनले जबजकै बलमा नेकपाले पछिल्लो निर्वाचनमार्फत सत्तासम्म पुगेको भन्दै जबजको उपादेयताबारे बहस गर्न कार्यक्रम गरिएको स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *