जनमुक्ति सेनामाथि नेपाली सेनाको १० वर्षे जेल सजाय :सर्वत्र आश्चर्य, आपत्ति र विरोध

तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा सञ्चालित भई देशमा गणतन्त्र, संघीयता र समानुपातिक–समावेशिता स्थापना गर्न सफल दसवर्षे जनयुद्धका क्रममा जनमुक्ति सेनामा रही काम गरेका शक्ति गुरुङ ‘विक्रम’ लाई नेपाली सेनाको ‘समरी जनरल अदालत’ ले ‘दसवर्षे जेल सजाय’ तोकेको छ ।

तत्कालीन नेकपा (माओवादी) को नेतृत्वले गरेको आह्वानमा नेपाली सेनाबाट विद्रोह गरी जनमुक्ति सेना नेपालमा आबद्ध भएका एक पूर्वसैनिक जवानलाई ‘शान्ति प्रक्रिया सफलता’ को १३ वर्षपछि कथित जेल सजाय सुनाइएको हो ।

तत्कालीन माओवादी, जनयुद्ध र अहिले आफ्नै पार्टीमा समाहित भैसकेका पूर्वमाओवादीहरु समेतप्रति घोर पूर्वाग्रह राख्दै आएका सत्ताधारी नेकपाका केन्द्रीय सचिवालय सदस्य एवं नेपाल सरकारका रक्षामन्त्री ईश्वर पोखरेलको दूराशयपूर्ण निर्देशनका आधारमा नेपाली सेनाले गरेको यो आपत्तिजनक हर्कतप्रति सिंगै देश आश्चर्यचकित भएको छ । मुलुकको अग्रगमन, शान्ति र समृद्धिका पक्षधर तमाम नेपालीहरुले यो हर्कतप्रति आश्चर्य प्रकट गर्दै गम्भीर आपत्ति र कडा विरोध जनाएका छन् ।

आरुघाट– ९, गोरखा स्थायी घर भएका शक्ति गुरुङ ‘विक्रम’ लाई सैनिक समरी जनरल अदालतले ‘दसवर्षे जेल सजाय’ तोकेपछि जनयुद्धकालीन तमाम मुद्दाहरु अब गम्भीर मोडमा प्रवेश गरेको सर्वत्र अनुभूति भएको छ । सैनिक अदालतले गुरुङलाई ‘भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुने’ पनि ठहर गरेको छ । गुरुङ २०६३ साउन ३० गते तत्कालीन शाही सेनाबाट हतियारसहित विद्रोह गरेर माओवादी पार्टी मातहतको जनमुक्ति सेना नेपालमा आबद्ध भएका थिए ।

सहायकरथी एवम् सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार गुरुङलाई भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुने गरी सैनिक अदालतले ‘कोर्टमार्सल’ को फैसला सुनाएको हो । यो हदको अत्याचारप्रति तत्कालीन सर्वोच्च कमान्डर रहेका वर्तमान सत्ताका हर्ताकर्ता अध्यक्ष प्रचण्ड र अरु शीर्ष नेताहरुको खेदजनक मौनताप्रति सरोकारवालाहरुले झन् बढी दुःख प्रकट गरेका छन् ।

***

पूर्वमाओवादी कमाण्डर कसरी बने ‘रोलमोडल’ किसान ?

गोपालप्रसाद बराल
महोत्तरी । पूर्व माओवादी कमाण्डर रहेका महोत्तरीको भङ्गाहा–४ का ३५ वर्षीय नारायण दाहालको परिचय अब पौरखी किसानका रुपमा फेरिएको छ ।

कम्मरमा झिलझिल चम्कने लालुपाते खुकुरी र काँधमा इन्सास राइफल भिरेर जनयुद्धमा लाग्दा त्यतिखेर आफ्नो पङ्क्तिमा कमरेड सुधिर नामले चिनिने नारायण दाहाल अहिले भने आफ्नो गाउँ बस्तीका साथी र पछिल्लो पुस्ताका लागि पौरखी किसानको उदाहरण बनेका छन् ।
घर वरपरनै रहेको आठ कट्ठा जग्गाभित्र लटरम्म फलेका बोडी, परबल र लौकासहितका तरकारी बालीमा दाहालको मेहनत हाँसेको छ । बिहान ४ बजे ओछ्यान छोडेदेखि नै गाई-बाख्राको हेरचाह सकेर बारी पसेपछि आवश्यक उपचार गर्ने, तरकारी टिप्ने र घरमै आइपुगेका तरकारी व्यापारीलाई आफ्नो उत्पादन तौलेर दिन भ्याइनभ्याइ पर्ने गरेको दाहाल बताउँछन् ।

विसं २०६५ को अन्त्यतिर माओवादी लडाकुको जीवन छाडेर गृहस्थीमा फर्केका दाहालले २०६८ यता भने खेतीमै आफ्नो भविष्य देखे । माओवादी लडाकुको जीवन त्यागेर फर्कदा राज्यबाट जम्मा रु छ लाख २० हजार पाएका दाहालले त्यतिखेर त्यो रकमले छ कट्ठा जग्गा, एउटा साइकल र घरमा एउटा टिभी जोडेर सानो गाई गोठ बनाएको बताए ।

खेतीमा लागेयता आफ्नो मेहनत खेर गएको कहिल्यै महसुस गर्न नपरेको दाहालको भनाइ छ । “यसपालि वैशाखयता मौसमी बेमौसमी तरकारी खेतीबाटै अहिलेसम्म रु दुई लाखको तरकारी बेचिएछ”, आफ्नो पुगनपुग चार महीनाको कमाइबारे बताउँदै दाहालले अगाडि भने, “असार मसान्त ताकाको साताव्यापी वर्षासँगैको बाढीले लहरे तरकारी र लहलहाउँदा रायोको बिरुवा लता¥यो, त्यसको उत्पादन लिन सकेको भए आम्दानी निकै बढी हुने थियो ।”

यद्यपि दैनिक घरखर्चमा लगाइएको रकमको लेखाजोखा भने राख्न नसकेको दाहालको भनाइ छ । त्यस्तै प्रत्येक वर्ष दशैँ, तिहार र अन्य चाडपर्वमा गरिने खर्च पनि आम्दानीको हिसाबमा नरहने गरेको दाहाल बताउनुहुन्छ । “किसानी पेशाको घरगृहस्थीमा सबै लेखा राख्न नसकिने रहेछ”, दाहालले भने, “तर, चाडबाड खेतीपातीले नै चलाएको छ भन्न त पाइयो नि !”

आफ्नो खेती अग्र्यानिक पद्धतिको भएकाले उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको दाहालको भनाइ छ । तरकारीमा लाग्ने किराको नियन्त्रणका लागि दाहाल आफैँ कीटनाशक औषधि बनाउँछन्। ‘यो नारायणास्त्र, यो ब्रह्मास्त्र र यो आग्नेयास्त्र’ दाहालले तरकारी बालीमा लाग्ने किरा नियन्त्रणका लागि आफैँले घरमा बनाएका कीटनाशक औषधि देखाउँदै भने, “गाईको गहुँत सङ्कलन गरेर निमका पात र अन्य कीटनाशक वनस्पति मिलाएर बनाएको औषधि हो, तरकारी बालीमा लाग्ने किराको सङ्ख्या र क्षतिको प्रकृति आँकलन गरेर मात्रा बनाएर छरिन्छ ।”

रामायण, महाभारतलगायतका पौराणिक ग्रन्थमा प्रयोग गरेपछि खेर नजाने वर्णन गरिएका शस्त्रअस्त्रको महत्व थाहा पाएर किरा नियन्त्रणका लागि बनाइएका औषधिको नाउँ त्यस्तै मिलाएर राखिएको दाहालको भनाइ छ । ‘यो हेर्नुहोस्, यो आग्नेयास्त्र हो’ दाहालले एउटा सिसिमा राखिएको झोल औषधि देखाउँदै भने, “भगवान् रामको वाण विस्तुर जाँदैनथ्यो रे ! हो, यो त्यही ‘रामवाण’ हो, छिर्का प¥यो कि किरा खत्तम !”

अहिले जताततै खेतीपातीमा कडा विषादीको प्रयोग बढेसँगै कडा प्रकृतिका रोग बढेकाले सबैलाई प्राङ्गारिक खेतीमा आकर्षित गराउन पर्ने दाहालको सुझाव छ । “अमृत हुने वस्तु हाम्रै कारण विष बनाइएका छन्”, दाहालले भने, “अब विषादी नियन्त्रणका लागि सरकारले अभियान नै चलाउनु पर्छ ।” साझा प्रयत्नबाट यो सम्भव रहेको दाहालको विश्वास छ ।

दाहालको सङ्गतले गाउँका युवा पनि तरकारी खेतीबाट राम्रो उत्पादन लिन थालेका छन् । “विषादी नछरी किरा नियन्त्रण गर्न सकिने दाहालले अप्नाएको तरिकाले हामीलाई लोभ्याएको छ”, दाहालको मेहनत र खेती प्रणालीलाई अनुशरण गर्न थालेका छिमेकी छेदीलाल महतोले भने, “आफ्नै वरिपरि पाइने वनस्पति र गहुँतबाट किरा नियन्त्रण गरिँदा स्वास्थ्य सुरक्षा र कीटनाशक विषादीमा हुने खर्चबाट बचिएको छ ।”

मुलुककै समृद्धि र जनताको मुक्तिका लागि भन्दै विगतमा बन्दुक बोकेको कुरामा पश्चाताप नभए पनि समृद्धिको बाटोचैँ अहिलेको बाटो नै उपयुक्त रहेको निष्कर्ष दाहालको छ । अहिले गाउँ छिमेक वरपर राम्रो उदाहरणका ‘रोलमोडल’ किसानको परिचय दाहालले बनाएका छन् । “घरमा भेट्न आउने आफन्त हऊन् कि अन्य छिमेकी यिनी ९दाहाल० खेतीकै कुरा गर्छन्”, दाहालकै छिमेकी ८० वर्षीय रामनन्दन महतो भन्छन्, “यिनले त बरालिएर हिँड्ने कति केटालाई आफ्नो सङ्गतमा ल्याएर मेहनती किसान बनाएका छन् ।”

त्यही बस्तीमा तरकारी बाली फस्टाउन रसायनिक मल र किरा नियन्त्रण गर्न विषादी प्रयोग गर्दै आएका दाहालका समवयस्क किसानले अब आफैँले तयार पारेको कम्पोष्ट मल र घरायसी कीटनाशक औषधि प्रयोग गर्न थालेका छन् । आफूले मेहनत र लगन लगाए पनि सरकारी निकायबाट कुनै सहयोग र भरथेग नपाइएको दाहाललगायतका सो बस्तीका युवा किसानको गुनासो छ । “खेतीपातीमा किसानलाई सहयोग गरिन्छ भन्ने रेडि ९रेडियो० र छापामा भन्ने, लेख्ने गर्छन रे १” दाहालकै समवयस्क सो बस्तीका किसान चन्देश्वर राय दनुवारले भने, “तर, हामीसम्म त्यो कहिल्यै आइपुग्ने भएन ।” किसानका लागि छुट्याइएका रकम पनि भनसुन र ठूलाबडाकै प्रयोगमा जाने गरेका बस्तीका सोझा किसानको गुनासो छ ।

खेतीपातीसँगै दाहालले अहिले बाख्रापालन शुरु गरेका छन् । खोरमा १५ वटा बाख्रा जम्मा पारेका दाहालले यसको तयारीका लागि दुई वर्ष पहिले नै डालेघाँसका बिरुवा रोपेर हुर्काएको बताए। बारीमा इपिलिपिल, बकाइनो र पट्मिरोसहितका पोष्टिक मानिने डाले घाँसका ५० रुख हुर्की सकेका र यसपालि फेरि १०० वटा जति रोपिएको दाहालले नजिकैको बारीमै देखाए । आउने चैतसम्म २५ वटा बाख्रा पु¥याउने दाहालको लक्ष छ । “गर्दा नहुने भन्ने केही रहेनछ”, दाहाल भन्छन्, “रु सय पचासको गर्जो टार्न गाउँ पस्नु पर्ने म अहिले आफ्नो मेहनतले नै गाउँघरको अड्कोपड्को टार्न सक्ने भएको छु ।”

कृषिसँग सम्बन्धित सरकारी निकाय किसानसम्म नपुगेका दाहालको पनि गुनासो छ । अहिले सुने जतिकै सरकारले बनाएको कृषि कार्यक्रम किसानसम्म पुग्ने हो भने पनि कृषि क्रान्ति नै हुने दाहाल बताउँछन् । तर, ती सरकारी कार्यक्रम किसानसम्म नपुगेको कुरा अनुगमन हुनपर्ने दाहालसहितका किसानको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *