एकीकृत जनक्रान्ति गर्न नेकपाको आर्थिक अभियान सुरु

 

नेपाल कम्युनिस्ट पार्टीले असारबाट सन्चालन गरेको पाँच महिने आर्थिक सहयोग अभियानमा पार्टीबाट कार्वाहिमा परेका र भगौडाहरुसँग सचेत रहन अपिल गरेको छ । ने.क.पा.ले आगामि कार्तिकसम्म चल्ने अभियानलाई पार्टीले कारबाही गरेका र भगौडाहरू तथा अराजकतावादीहरूले दुरुपयोग गर्नसक्ने खतराप्रति सतर्क रहन अपिल गरेको हो ।

सो पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै पार्टीले सन्चालन गरेको एकिकृत जनक्रान्तिका लागि सहयोग स्वरुप असारदेखि कात्तिकसम्म पाँच महिना आर्थिक सहयोग अभियान सन्चालन गरेको सार्वजनिक गर्दै अभियानलाई अराजकतावादीले दुरुपयोग गर्नेतर्फ सहयोगदालाई सचेत रहन अपिल गर्नुभएको हो । विज्ञप्तिको भनिएको छ, ‘देशमा भ्रष्टाचारी, तस्कर, सुराकी, कमिसनखोर, लुटेरा, ठग, गुन्डा, बलात्कारी, व्यभिचारीहरूको बिगबिगी भएको बेला दुस्मनको हातमा खेलिरहेका, पार्टीले कारबाही गरेका र भगौडाहरू तथा अराजकतावादीहरूले पार्टीको अभियानलाई दुरुपयोग गर्नसक्ने खतराप्रति सतर्क रहन सम्बन्धित सबैमा अनुरोध पनि गर्दछ ।’

देशको राजनीतिक, आर्थिक, सांस्कृतिक सङ्कटको समाधान क्रान्तिले मात्र सम्भव रहेको भन्दै उहाँले त्यसैका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरेको पनि प्रष्ठ पार्नुभएको छ । अभियानमा केन्द्रीय समिति, ब्युरो, जिल्ला र जवस तथा मोर्चाहरूको संयुक्त र एकीकृत सहभागिता रहेको जनाउदँै ने.क.पा.ले सहयोग र समर्थन गरिदिन सबै व्यापारी, उद्यमी, मजदुर, किसान, बुद्धिजीवी, सङ्घसंस्था, सञ्चारकर्मी तथा देशभक्त जनसमुदायमा अनुरोध गरेको छ ।

१० वर्षको महान् जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त जनअधिकार र उपलब्धिहरूलाई ओली–बादल कम्पनीले ध्वस्त पार्दै गएको भन्दै प्रवक्ता प्रकाण्डले नेपाल जनक्रान्ति र प्रतिक्रान्तिको भीषण टक्करबाट गुज्रिरहेको बताउनु भयो । राष्ट्रिय स्वाधीनतालाई उत्तरसाम्राज्यवादको गोटी बनेर धरापमा पारिरहेको उहाँको भनाई छ ।
जनताका राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकारहरूलाई बन्दुकको बलमा दबाउन खोज्नुका साथै राजनीतिक असहमति राख्ने निशस्त्र र राजनीतिक कार्यकर्तालाई शान्ति र विकासविरोधी आरोपमा हत्या गरि अस्तित्व नामेट पार्न खोजिएको पनि विज्ञप्तिमा जनाईएको छ ।

राजनीतिक पार्टी र शक्ति होइनजस्तो गरी सबैको अस्तित्व नामेट पार्न खोजिएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक असहमति राख्ने निशस्त्र र राजनीतिक कार्यकर्तालाई शान्ति र विकासविरोधी आरोपमा हत्या गरेको छ । हत्या, बलात्कार र लुटपाट गर्नेलाई मन्त्रीका नाता–गोता र वली सरकारको गृह प्रशासनले संरक्षण गरिरहेको छ ।’

२००७ सालदेखिका सशस्त्र सङ्घर्ष, जनसङ्घर्ष र जनआन्दोलनका उपलब्धिहरूलाई तथाकथित कम्युनिस्ट आवरणमा हमला भईरहेको भन्दै नेकपाले अहिले पनि दुई तिहाइ बहुमतको बकबासमा गरेर कम्युनिस्ट क्रान्तिकारी र देशभक्त शक्तिका साथै संसदीय लोकतन्त्रवादी शक्तिहरूलाईसमेत आजित बनाएको बताएको छ । प्रतिपक्षी दलहरूले सदनमा गरेको सङ्घर्ष र सामाजिक अभियन्ताहरूले चलाइरहेको सडक आन्दोलन त्यसैको अनिवार्य परिणाम भएको उसको भनाई छ ।

२०७१ मङ्सिर ८ गतेदेखि ५ वर्षयता हामीले एकीकृत जनक्रान्ति कार्य्दिशामार्फत नयाँ क्रान्तिको नेतृत्व गरिरहेको स्मरण गराउँदै प्रवक्ता प्रकाण्डले २०६२–०६३ को आन्दोलनको प्रक्रियामा शान्ति वार्ताका नाममा साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप र षड्यन्त्र, संसदीय यथास्थितिवाद र प्रचण्डको आत्मसमर्पण, विचलन पलायन र गद्दारीका विरुद्ध जीवनमरणको सङ्घर्ष गर्दै आएकोमा राष्ट्रिय राजनीति र प्रचण्डमा देखापरेको प्रतिक्रान्ति र गद्दारीकाविरुद्ध २०६९ असारमा सङ्गठित विद्रोह गरेको बताउनु भएको छ ।

‘सन् १९५० देखि वली प्रवृत्तिले गरेका असमान र अपमानजनक सन्धि–सम्झौता खारेज गर्ने, वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने, गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगार सुनिश्चित गर्ने, शिक्षा, स्वास्थ्य, यातायातमा राज्यको नियन्त्रण कायम गर्ने, सामाजिक न्याय, सुरक्षा र समानता कायम गर्ने, प्राकृतिक स्रोतको संरक्षण गर्ने, श्रम, पुँजी र प्रविधिलाई एकीकृत गरी गाउँ र सहरलाई समान अवसरसहित विकास गर्नु एकीकृत जनक्रान्तिको उद्देश्य भएको प्रष्ठ पार्दै प्रवक्ता प्रकाण्डले त्यसका निम्ति कुनै पनि जोखिम मोल्न र बलिदान गर्न पार्टी तयार रहेको बताउनु भएको छ ।

जनक्रान्तिबिना देश र जनताका पक्षमा आमूल परिवर्तन सम्भव नरहेको भन्दै उहाँले त्यसका लागि पार्टी क्रियाशिल हुँन जनताको सहयोग र समर्थन आवश्यक रहेको बताउनु भयो ।

यो पनि पढ्नुहोस

प्रहरीविरुद्ध २५ दिने ‘पक्राउ पुर्जी’ जारी !

नेपाल कम्युनिस्ट पार्टीले प्रहरीविरुद्ध ‘पक्राउ पुर्जी’ जारी गरेको छ । प्रहरीले नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेका बेला ने.क.पा.को कैलाली जनअदालतले राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पुर्जी’ जारी गरेको हो।

नेकपाको जनअदालत प्रमुख विकासको नामबाट जारी भएको पक्राउ पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई ‘२५ दिनभित्र उपस्थित हुन’ भनिएको छ।

कुँवरको घर आसपास सार्वजनिक स्थानहरू टाँसिएको उक्त पुर्जीमा लेखिएको छ– ‘कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई २५ दिनभित्र जनअदालतमा उपस्थित हुन पक्राउ पुर्जी जारी गरिएको हो।’

अनुसन्धान विभागमा असई पदमा कार्यरत कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ ।
‘बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला’, उक्त पुर्जीमा उल्लेख छ।

असई कुँवरकाविरुद्ध नेकपाका कार्यकर्ता ’तुफान’ ले अभियोग दर्ता गराएको र जनसरकार प्रमुख अनुकलले प्रतिवेदन बुझाएकाले सोहीका आधारमा पक्राउ पुर्जी जारी गरिएको जनअदालतले जनाएको छ । आफैं वा पक्राउ परी आएमा जनअदालतले व्यवहार बुझेर जनअदालतको कानुनअनुसार कारवाही हुने उल्लेख छ।

तोकिएको म्यादमा उपस्थित नभएमा जुनसुकै कारबाही गर्ने चेतावनी नेकपाले दिएको छ। ‘म्याद गुजारी फरार रहेमा देश र जनताको हितविरुद्ध नेता कार्यकर्ताको सुराकी, हत्या, अपहरण र यातनामा संलग्न रहेको पाइएमा, जिल्ला जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि कारवाहि गर्न आदेश दिइएको छ’, चेतावनीपत्रमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *