सभामुखले आफ्ना बिद्यार्थी विप्लबलाई सम्झीए: विप्लब निकै निडर र साहसीक थिए (भिडियोसहित)

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा नेपाली राजनीतिको शिर्ष व्यक्तित्व हुन् । प्रायः कम्युनिस्ट पार्टीमा एकले अर्कोलाई सम्बोधन गर्ने शब्द ‘कमरेड’ हो । तत्कालीन माओवादीको प्रमुख नेता छँदा अधिकांशले महरालाई ‘सर’ भनेर संबोधन गर्थे ।

भूमिगत राजनीति गरेका र लामो समय सरकारका विभिन्न जिम्मेवारी पूरा गरेका महरालाई किन अधिकांशले ‘सर’ किन भन्छन् ? यसको कारण हो महराको शिक्षण पेशा र उनका विद्यार्थीहरु नै राजनीतिको केन्द्रमा आउनु ।

महराले बालकल्याण नमूना मावि, लिबाङमा गणित र विज्ञान पढाउँदा उनका विद्यार्थीहरु थिए हालका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’, प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी आदि । महराले औपचारिक शिक्षामात्रै दिएनन्, राजनीतिक चेतना पनि दिए । र, आफ्नै यात्रामा विद्यार्थीहरुलाई हिंडाए ।

विद्यार्थीबाट राजनीतिक सहयोद्धा बनेका पासाङ, अनन्त, केसी लगायतका नेताहरुलाई ‘कमरेड महरा’ भन्न अप्ठ्यारो लाग्यो । त्यसको सट्टा ‘महरा सर’ भन्न सजिलो भयो । त्यसपछि सभामुख कृष्णबहादुर महरालाई सबैले ‘महरा सर’ भनेर बोलाउन थाले ।

कुनै समय गणित र विज्ञानको खरो शिक्षक महरा अहिले प्रतिनिधिसभाको सभामुख भएर सबै सांसदहरुको नेतृत्व गरिरहेका छन् । जनयुद्धकालमा माओवादीको प्रवक्ता, वार्ता टोली संयोजक, शान्ति प्रक्रियापछि अन्तरिम सरकारमा माओवादीको तर्फबाट नेतृत्व, मन्त्री, उपप्रधानमन्त्री जस्तो जिम्मेवारी सम्हालेपछि सभामुख बनेका महरासँग नागरिक खबरको फरक पाटो स्तम्भमा उनको शिक्षण पेशाको अनुभवहरुलाई भिडियो सहित प्रस्तुत गरेका छौँ ।

एकसाथ चार कक्षामा

मेरो पारिवारिक पृष्ठभूमि किसान परिवार हो । म सानो छँदा हाम्रो गाउँमा पढ्ने मान्छे कम थिए । तै पनि मेरो अभिभावकले मलाई विद्यालयमा भर्ना गर्नुभयो । त्यो बेला म सात वर्षको थिएँ ।

विद्यालय जान थालेको एक दुई महिनामा मात्र भएको थियो । मेरो जीवनका लागि अविस्मरणीय र दुःखद् घटना भयो । त्यो बेला मेरो आमाको निधन भयो । यसपछि म विद्यालय जान छाडें । आमाको निधनपछि दुई वर्षपछि पुनः विद्यालय भर्ना भएँ । विद्यालयमा हुँदा म राम्रो विद्यार्थीमा गनिन्थें । त्यही साल म कक्षा चारमा पुगें ।

त्यो बेला अर्धवार्षिक र वार्षिक गरी एक शैक्षिकसत्रमा दुई पटक परीक्षा हुन्थ्यो । अर्धवार्षिक परीक्षामा राम्रो गरेकाले मलाई त्यहीँ वर्ष कक्षा दुईमा चढाइयो । कक्षा दुईको अन्तिम परीक्षामा पनि राम्रो गरें । त्यसैले अर्को शैक्षिकसत्रमा म कक्षा चारमा भर्ना भएँ ।

घरको आर्थिक अवस्था राम्रो थिएन । त्यसैले बुबा भारतमा काम गर्न जानुभयो । एक्लो सन्तान भएकाले बुबाले मलाई पनि भारत नै लानुभयो । त्यो बेला बुबा भारतमा चौकीदारी काम गर्नुहुन्थ्यो । भारतमा मैले कक्षा सात र आठ त्यही पढें ।

१ नम्बरले फस्ट डिभिजन पुगेन

त्यहाँ दुई वर्ष पढेपछि पुनः गाउँमै (लिबाङ) रहेको बालकल्याण नमुन माविबाट माध्यमिक २०३३ सालमा एसएलसी परीक्षा दिएँ । त्यो बेला एसएलसीमा ५६० नम्बर ल्याउँदा फस्ट डिभिजन हुन्थ्यो । तर, मैले ५५९ नम्बर मात्र ल्याएँ ।

एसएलसी राम्रो अंक लिएर पास गरेकाले उच्च शिक्षाका अन्यत्र जान सल्लाह दिए । तर, घरको आर्थिक राम्रो नभएकाले शिक्षालाई सहज रुपमा अघि बढाउन अवस्था थिएन । यस्तो अवस्था थाहा पाएकाले छात्रवृतिमा जेटिए पढ्न पाउँछ भन्ने सल्लाह दिए ।

त्यसको खोजीमा म नेपालगञ्जको खजुरामा गएँ । म पुग्दा भर्ना बन्द भइसकेको थियो । त्यसपछि मैले आइएसी पढें । म गरिब र जेहेन्दार भएकाले मैले २४ महिनामध्ये २० महिनाको छात्रवृत्ति पाएँ ।

चाहाना डाक्टर भईयो अर्कै

आइएसी गरेपछि मेरो डाक्टर पढने मन थियो । त्यसका लागि मेरो नम्बर पनि पुग्थ्यो । सरकारी छात्रवृत्तिको कोलम्बो प्लानअन्तर्गतको कोटामा पठाउने मापदण्डमा पनि पर्थें । तर, पञ्चायती शासन भएकाले म परिन ।

डाक्टर बन्ने बाटो टुटेपछि शिक्षकतर्फ यात्रा अघि बढ्यो । यसपछि राम्रो शिक्षक हुने चाहना थियो । पढाउन थालें । राम्रो नै हुँदै थियो । तर, त्यो पेशा पनि बीचैमा छाडें । मलाई लाग्छ राम्रो शिक्षक बन्न पनि सकिनँ । शिक्षक पेशा छाडेर राजनीतिमा होमिएँ । अहिले यहाँ छु । मेरो जीवनलाई हेर्दा लाग्छ, जीवन योजनावद्ध रुपमा चल्दैन ।

मेरो शिक्षण पेशा: मैले खोजेको होइन जागिरले खोजेको

आइएसी सकेपछि मलाई जागिर चाहिएको थियो । किनकि, घरको आर्थिक अवस्था राम्रो थिएन । तर, मैले जागिर खोज्नु परेन । मलाई जागिरले खोज्यो । २०३५÷३६ को आन्दोलनले हाम्रो गाउँको विद्यालयमा पनि असर पारेको थियो । विद्यार्थीहरु पनि आन्दोलित भएका थिए । उनीहरुले गणित र विज्ञानको शिक्षकको माग गरेका थिए ।

यही बेला प्रमुख जिल्ला अधिकारीले मलाई बेलाएर उक्त विद्यालयमा पढाइदिनु प¥यो भनी आग्रह गरे । त्यसपछि म पढाउन गएँ ।

त्यहाँ पढाउँदा पढाउँदै शिक्षकको कोटामा अध्ययन गर्ने मौका पाएँ । पोखरा गएर बिएड पढ्न सुरु गरें । त्यो बेला मासिक तीन सय रुपैयाँ भत्ता पनि पाउँथें । दुई वर्षमा बिएड गरें ।

एक मित्रले दिएको पुस्तक, जसले मलाई कम्युनिस्टप्रति आकर्षित गर्यो

२०३५/३६ सालको मुलुकमा राजनीतिक चहलपहल उत्कर्षमा पुग्यो । त्यसले मलाई पनि छोएको थियो । तर, पोखरामा रहँदा राजनीतिमा सक्रिय भएको हुँ । आइएसीपछि पढाउन थालेदेखि नै राजनीतिप्रति आकर्षित भएको थिएँ ।

पोखरामा रहँदै गरिबीको उन्मुक्ति कम्युनिष्ट पार्टीमा लागेपछि हुन्छ भन्ने थाहा पाएँ । त्यो बेला एक जना साथीले ‘समाज विकासको क्रम’ भन्ने एउटा सानो पुस्तक दिएका थिए । मलाई त्यही पुस्तकले कम्युनिष्ट पार्टी आकर्षित गरेको हो ।

राजनीतिप्रति सचेत र केही जान्ने भएपछि मैले विद्यालयमा गणित र विज्ञान विषय पढाउनुका साथै विद्यार्थीहरुलाई राजनीतिप्रति केही कुरा सिकाउन थालें ।

रोल्पाकै थबाङ गाउँका मानिसहरु राजनीतिक रुपमा सचेतना छ भन्ने हल्ला थियो । त्यहाँका नागरिकले २०३८ साल भएको पञ्चायती चुनाव बहिष्कार गरेका थिए ।

त्यो बेला केही साथीहरु गिरफ्तारीमा पनि परेका थिए । त्यो घटनाले पनि हामीलाई प्रभावित बनाएको थियो ।

त्यो बेला एउटा शिक्षक संगठन राज्यविरुद्ध लडिरहेको थियो । उक्त संगठनको म जिल्ला सचिव थिएँ । त्यो बेला पञ्चायतविरोधी शिक्षकहरु धेरै थिए ।

त्यसैले जिल्लाका सबै शिक्षकहरुलाई संगठित गर्ने काम सहज रुपमा नै गरेँ । उनै शिक्षकहरुको माध्यमबाट नै विद्यार्थीहरुलाई राजनीतिक रुपमा सचेत गर्ने काममा सफल भयौं ।

विज्ञान प्रयोगशालामा राजनीति सिकाउथेँ

त्यो बेला विद्यालयमा एउटा पिरियड ४५ मिनेटको हुन्थ्यो । आधा घण्टा पढाएपछि विद्यार्थीहरु नै सर अब अर्को पढ्ने भन्थे । उनीहरुले त्यसो भनेपछि बाँकी समय म राजनीतिक प्रशिक्षण दिन्थें ।

विद्यालयमा विज्ञान प्रयोगशाला छुट्टै कोठा थियो । कम्युनिष्टबारे केही पुस्तक, पत्रपत्रिका आए त्यहीँ राख्थें । लिडर स्वभाव भएका विद्यार्थीलाई बोलाएर त्यहाँ प्रशिक्षण दिन्थें । त्यो कोठा मेरा लागि कम्युनिष्ट प्रचार गर्ने थलो बनेको थियो ।

कक्षा १० मा पढ्ने विद्यार्थीहरुलाई परीक्षा आउने बेला विद्यालयमै रहेर पाँच छ महिना पढ्नुपर्छ भन्ने प्रधानाध्यापकले योजना बनाउनुभएको थियो । त्यसले मलाई कम्युनिष्ट पार्टीबारे उनीहरुलाई बुझाउन अनुकूल वातावरण बन्यो । किनकि, उनीहरुसँग धेरै समय म नै रहने भएकाले मैले त्यो अवसरको सदुपयोग गरें ।

मैले विद्यालयमा राजनीतिक गतिविधि गरेको प्रशासनलाई थाहा थियो । तर, हटाइहाल्ने साहस पनि गर्दैन थिए । किनकि, मैले पढाउने गणित र विज्ञानको शिक्षक पाउन कठिन थियो । त्यसैले विद्यालय प्रशासनले विद्यालय समयमा चाहिँ राजनीति गतिविधि नगर्न आग्रहमात्र गथ्र्यो ।

कृष्ण सेनसँगको त्यो पत्र

मैले पढाएको विद्यालयमा नमलाल सेन एक शिक्षक पनि थिए । एक दिन उनी विद्यालयकै एक ठाउँमा बसेर चिट्ठी लेखिरहेका थिए । त्यो देखेर मैले मैले उनलाई जिस्क्याउँदै भने, ‘प्रेमिकालाई लेखेको हो ?’

मेरो कुरा सुनेपछि उनले भने, ‘तँजस्तै पातलो पातलो मान्छेलाई लेखेको हुँ ।’ त्यही बेला मैले ख्याल ठट्ठा गर्दै ‘तँजस्तै नाम गरेको, तँजस्तै पातलो मान्छे सँगै छ भनेर लेखी दिनु’ भनें । उनले त त्यो पनि पो लेखिदिएछन् ।

नमलालले पत्र कृष्ण सेनलाई नै लेखेका रहेछन् । त्यो चिट्ठी पाएपछि कृष्ण सेनले मेरो कुराको पनि सम्बोधन गर्दैै ‘प्रिय अपरिचित सहनामी मित्र…’ भनेर सम्बोधन गर्दै चिट्ठी पठाउनुभयो ।

त्यो पत्र नमलालको पत्र भएको खाममै सँगै पठाउनुभएको थियो । यसरी हामी ख्याल ठट्ठामै जोडिएका थियौं ।

कृष्ण सेनसँगको चिट्ठीमार्फत चिनजान भएको थियो । हाम्रो भेट हुनअघिसम्म २०० चिट्ठी आदानप्रदान भएका रहेछन् । यो क्रममा मैले कम्युनिष्ट पार्टीबारे बुझ्ने मौका पाएँ । उहाँकै प्रभावले म नेकपाको चौथो महाधिवेशनको सदस्यता लिएँ ।

म लुकिछिपी पार्टीमा कार्यरत थिएँ । उहाँ बाहिरफेर काम गर्नुहुन्थ्यो । कम्युनिष्ट पार्टी नै उहाँले चलाउनुभएको थियो । उहाँले भारत, चीन, रुससँग सम्पर्क गर्नुहुन्थ्यो ।

लामो चिट्ठी आदानप्रदान भए पनि कृष्ण सेनसँग मेरो प्रत्यक्ष भेटघाट भएको थिएन । जनयुद्धको बेला मैले उहाँलाई भेट्ने योजना बनाएँ, उहाँकै परिवारका एक सदस्यमार्फत ।

कृष्ण सेनलाई मन पराउने शिक्षक खिमबहादुर गिरी हुनुहुन्थ्यो । उहाँको निधन भइसक्यो । भेटपछि मैले ‘सर मलाई चिन्नुभयो ?’ भनी सोधें । उहाँले ‘चिनिन’ भन्नुभयो । मैले फलना हुँ भनेपछि मलाई अँगालो हाल्नुभयो । उहाँ भावुक हुनुभयो । रुनु पनि भयो । मलाई तपाईंले ठीक गर्नुभयो भन्नुभयो ।

२०५२ मा जनयुद्ध सुरु हुनुअघि म पार्टीको अलि माथिल्लो कमिटीमा काम गर्न थालेँ । पश्चिमाञ्चल क्षेत्रीय ब्युरोमा पुगेपछि काम गर्न थालें । यस बेला मैले राजनीतिमा अलि पढी स्पेस बनाए । यस कमिटीमा मैले करिब ६ वर्ष काम गरें ।

मेरा विद्यार्थीमा लिडिङ क्षमता थियो, जेहेन्दार थिए

मैले पढाएका विद्यार्थीहरु राष्ट्रिय राजनीतिमा सक्रिय छन् । तीमध्ये उपल्लो तहमा भएकामध्ये उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’, पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी लगायत हुनुहुन्छ । नेत्रविक्रम चन्द ‘विप्लव’ पनि मेरो नै विद्यार्थी नै हुनुहुन्छ । मैले पढाएका विद्यार्थीहरु विभिन्न राजनीतिक दलमा संलग्न छन् ।

मेरो विद्यार्थीहरु विद्यार्थी अवस्थामा नै लिडिङ क्षमता भएको, मिहिनेती र जेहेन्दार थिए ।

उपराष्ट्रपति पासाङ: खेलकुदमा रुची भएको, मनमा लागेको भनिहाल्ने

उपराष्ट्रपति पासाङ पढाइका साथै खेलकुदमा रुची राख्नु हुन्थ्यो । लिडिङ क्षमता भएको, मेहनेती, जेहेन्दार हुनुहुन्थ्यो । मनमा लागेको कुरा सिधै भन्ने स्वाभाव थियो । उहाँमा चौतर्फी रुची र क्षमता थियो ।

उर्जामन्त्री अनन्त: कम बोल्ने, परिक्षामा राम्रो अंक ल्याउने

वर्षमान पुन ‘अनन्त’ अहिले उर्जामन्त्री हुनुहुन्छ । उहाँ मैले पढाउने बेलामा अलि कम बोल्ने उहाँको स्वभाव थियो । सबै कुरा बुझ्ने तर अभिव्यक्त कम गर्ने खालको हुनुहुन्थ्यो । परीक्षामा भने राम्रो अंक ल्याइहाल्नुहुन्थ्यो ।

विप्लव: साहसी, कहिले काहीं दुस्साहस पनि गर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ अहिले भिन्न लाइनमा हुनुहुन्छ । उहाँ मैले पढाउने समयमा पढाईमा राम्रै हुनुहुन्थ्यो । साहसी स्वाभावका हुनुहुन्थ्यो । कहिले काहीं चाहिँ दुस्साहस पनि गर्नुहुन्थ्यो । आँटिला भएकाले काम गर्न डराउनु हुँदैन भन्नु हुन्थ्यो ।

प्रदेश ५ का मन्त्री केसी: नाच्न गाउनमा रुची भएको

प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीजीलाई पनि मैले पढाएँ । उहाँ नाच्न, गाउनमा रुची राख्नुहुन्थ्यो । खेलकूदमा पनि उहाँको रुची थियो ।

पूर्वसभामुख ओनसरी: राम्रो नाच्ने, शाहसी पनि

पूर्वसभामुख ओनसरी घर्ती मैले पढाउँदा जुनियर क्लासमा हुनुहुन्थ्यो । उहाँलाई मैले स्कूलमा औपचारिक कक्षामा त पढाउन पाएन । उहाँमा नाच्ने राम्रो कला थियो । शाहसी पनि हुनुहुन्थ्यो ।

म विद्यार्थीहरुलाई तपाईं भन्थेँ र नमस्कार पनि गर्थेँ

म मेरा विद्यार्थीलाई तपाई भन्थें । नमस्कार गर्थें । मैले त्यास गर्दा कतिपय विद्यार्थी चाहिँ लाज मान्थे ।

एक पटक विद्यालयको परेड समयमा एक जना विद्यार्थी आएनन् । कक्षा कोठामा नै बसिरहे । त्यो देखेपछि मैले परेडको समयपछि उनलाई पिटें । उनी विद्रोही स्वभावका थिए ।

बेलुकीसम्म नै ‘सर मलाई किन पिट्नुभएको ? म तपाईंको लाइनमा नै काम गरिरहेको छु’ भनें ।

त्यो बेलाको राष्ट्रगान मलाई पनि मन परेको थिएन । राजाको स्तुति गाउने थियो । यो कुरा विद्यार्थीलाई सुनाएको थिएँ । उनलाई पनि त्यो मन परेको रहेनछ । र, त्यस्तो राष्ट्रगान गाउने बेला किन जानु भनेर कक्षा कोठमा नै बसेका रहेछन् । पछि सम्झिएँ, ती विद्यार्थीले लिएको लाइन त ठिकै थियो । तर, अनुशासन उल्लंघन गरेकाले कारवाही गरेको थिएँ ।

मैले उनलाई बाहेक अरु कसैलाई पिटिनँ ।

पाँचवर्षपछि फेरि आउँछु भनेर शिक्षण छाडेँ

२०४७ सालसम्म मैल भूमिगत रुपमा राजनीति गरेको २० वर्ष भइसकेको थियो । राजनीति गरेकाले पार्टीले भनेको मान्नु पथ्र्यो । चुनावमा जा भन्दा जानु पर्ने हुन्थ्यो । उता परिवारले जागिर छाडेपछि अब के खाने भन्थे । किनकि, आर्थिक आर्जन गर्ने शिक्षण पेशमा मात्र थियो ।

पार्टीले २०४८ सालमा चुनावमा जान निर्देशन दियो । त्यो निर्वाचनमा रोल्पा क्षेत्र नं. २ बाट निर्वाचनको उम्मेदवार बन्नुपर्ने भयो । त्यहीअनुसार मैले शिक्षक पेशा छाडें । त्यो बेला केही विद्यार्थीहरु रोए । उनीहरुलाई पाँच वर्ष मात्र हो भनेर सम्झाएँ । त्यसपछि पुनः आउँछु भनेँ । तर फर्किन सकिन । अभिभावकले पनि छाड्नु हुँदैन भनेका थिए ।

आफूलाई सफल भएको ठान्छु

जति वर्ष शिक्षक पेशामा रहें, त्यसमा खुशी छु । त्यो बेला मैले राजनीतिक गतिविधि पनि गरें । त्यो मेरो लगानी राम्रो नै भएको जस्तो लाग्छ । मैले त्यो बेला प्रशिक्षित गरेका विद्यार्थीहरु मुलुकको राजनीतिक रुपमा उच्च ओहदामा पुग्नुभएको छ । अहिले पनि उहाँहरुले मलाई ‘महरा सर’ नै भन्नुहुन्छ । भेट हुँदा विगतका कुरा हुन्छन् । विभिन्न सर सल्लाह हुन्छन् । मैले पनि सल्लाह माग्छु, उहाँहरुले पनि सल्लाह माग्नु हुन्छ । यस अर्थमा म सफल भएको ठान्छु ।

मैले रोपको सुन्तला रहेनछ

कहिले काहीँ फेरि पढाउँ कि जस्तो पनि लाग्छ । पोहोर साल पूर्वविद्यार्थी मिलन समाजको कार्यक्रम थियो । त्यो बेला मैले रोपेको सुन्तलाको बोट खोजें । त्यो थिएन । मैले पढ्ने गरेको कोठा पनि खोजें । त्यो पनि छैन रहेछ । किनकि, नयाँ नयाँ भवन बनेका छन् । अहिले त्यो विद्यालय सामुदायिक विद्यालयमा देशकै टप २० विद्यालयमध्ये एक पर्छ । त्यो विद्यालयको माया लाग्छ ।

-नागरिक खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *