विप्लबका नेता कार्यकर्ता पक्राउ

साउन २२, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’का केन्द्रीय सदस्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ४८ वर्षीय श्यामबहादुर बोहरालाई पक्राउ गरेको हो । त्रिवेणी गाउँपालिका २ का बोहरालाई मंगलबार राति १० बजे त्रिवेणी गाउँपालिका ६ मुरुबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विप्लवका नेता, कार्यकर्ताहरुलाई पक्राउ गरिरहेपनि केन्द्रीय सदस्य नै पक्राउ परेको भने पहिलो पटक रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय सदस्य बोहरासँगै विप्लवका अन्य दुई कार्यकर्ता पनि पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका जिल्ला सम्मेलन आयोजक समिति सह–संयोजक प्रेम प्रशान्त बोहरा र अनेरास्वबियू क्रान्तिकारी रुकुम पूर्वका जिल्ला सम्मेलन आयोजक समिति संयोजक हरि पुन रहेको डिएसपी खड्काले बताए ।

केही दिनदेखि रोल्पा, सल्यान र रुकुम पश्चिमको सिमा नाका तथा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको विभिन्न ठाउँहरुमा समुहले चन्दा तथा फिरौती माग गरिरहेको र सुरक्षा चुनौती बढ्दै गएपछि उनीहरु माथि निगरानी बढाएको प्रहरीले जनाएको छ । त्यसै क्रममा मुरुमा विप्लव समुहका नेता तथा कार्यकर्ता जम्मा भएर शंकास्पद गतिविधि संचालन गरिरहेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी खड्काले बताए ।

नेकपाका नेता प्रयास गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकका पुर्व जिल्ला इन्चार्ज गोपाल श्रेष्ठ ‘प्रयास’लाई मंगलबार दिउसो भक्तपुर सल्लाघरीबाट केपी–बादल गृह प्रशासनले गिरफ्तार गरी सिन्धुपाल्चोक चौतारा लगिएको पारिवारिक श्रोतले बताएका छन् । मिर्गौला रोगको उपचार गराइरहेको श्रेष्ठ नियमित चेकजाँचको लागि काठमाडौं आउनु भएको परिवारले जानकारी दिएका छन् ।

सोमबार मात्रै रामेछाप जिल्ला इन्चार्ज जमिनलाई बनेपा घरमै सुतिरहेको समयमा गिरफ्तार गरी धुलिखेलमा राखेको छ । बार्ताको हल्ला चलाएर नेकपा नेताहरु गिरफ्तार, यातना, हत्या गर्ने सरकारको योजना देखिन्छ ।

देशभर नेकपाको नेता कार्यकर्ताहरु व्यापक धरपकड गरेर सरकार आफै वार्ताबाट भागेको नेकपा नेताहरुले बताइरहेका छन् । आफ्ना नेताहरु गिरफ्तारपछि सोमबार ताम्सालिङ्ग व्युरो इन्चार्ज आधारले कडा प्रतिरोधको चेतावनी दिएका छन् ।

सङ्घर्षमा उत्रिने अखिल नेपाल किसान महासङ्घको चेतावनी

काठमाडौं : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) लुम्बिनी ब्युरोले आफ्नो सङ्गठनका नवलपुर जिल्ला संयोजक काशीराम कँडेललाई प्रहरीले गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् । मंगलबार विज्ञप्ति प्रकाशित गर्दै ब्युरो संयोजक सेवक सिंहले कँडेललाई झूट्टा मुद्दा लगाई नियोजित ढङ्गले फसाउने षड्यन्त्र गरे सङ्गठन सङ्घर्षमा उत्रिने चेतावनी पनि दिएका छन् ।

ब्युरो संयोजक सेवक सिंहको विज्ञप्तिमा भनिएको छ, ‘२०७६ साउन १९ गते नवलपुर जिल्लामा हाम्रो सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) नवलपुर जिल्ला संयोजक कमरेड काशीराम कँडेललाई कामको सिलसिलामा जिल्लाको गैँडाकोट नगरपालिका १६ स्थित बेल्डिहिया बजारबाट साँझ करिब ५ः३० बजेतिर यो फासिस्ट गृह प्रशासनले गिरफ्तार गरी बन्दी बनाएको छ ।

कथित वामपन्थी कम्युनिस्ट सरकार भनिने सामाजिक दलाल पुँजीवादी सरकारले राष्ट्रघाती, जनघाती, भ्रष्टतत्वहरूको रक्षा गर्दै हाम्रो सङ्गठनकाविरुद्ध दमन बढाइरहेको छ । यस प्रकारको रवैयाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षणसहित गिरफ्तार कमरेडलाई यथाशीघ्र रिहाइको माग गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘साथै झूट्टा मुद्दा लगाई नियोजित ढङ्गले फसाउने षड्यन्त्र गरे हामी चरणबद्ध सङ्घर्षमा उत्रिने चेतावनीसमेत यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *