माईला दाईको झोलाको जीवन र साहासिक बिचार जेल-नेलले कहाँ गल्यो र ?

– अशोक सुवेदी

जेलका काला पर्खालसँग हार्नु हुँदैन
संसार मुक्त गर्ने अठोट मार्नु हुँदैन ।
-माइला लामा

मातृभूमि, श्रमिक जनता र सर्वहारावर्गको मुक्तिका लागि सिङ्गो जीवन राजनीतिक/सांस्कृतिक आन्दोलनमा लगाएका स्थापित जनवादी स्रष्टा एवम् नेकपाका नेता कमरेड माइला लामा यतिखेर कथित राजद्रोहको मुद्दामा नख्खु जेलमा पुर्पक्षका लागि थुनामा बन्दी अवस्थामा छन् । नेपालको जनवादी सांस्कृतिक आन्दोलनका एक खम्बासमेत रहेका माइला लामामाथि राज्यमाथि द्रोह गरेको आरोप छ । आफ्नो सिङ्गो जवानी देश, जनता र वर्गका लागि जीवन दाउमा लगाएर लडिरहेका माइला लामा देशद्रोही बनेर जेलमा सड्ने अनिभारतलाई महाकाली बुझाउने, भारतीय साम्राज्यवादकासामु लुते कुकुरझैँ पुच्छर लुकाएर भक्ति गर्ने, गणतन्त्र/जनगणतन्त्र ल्याउन युद्ध र आन्दोलन गर्नेहरूलाई गोरुगाडा चढेर अमेरिका जानुजस्तो भनेर होच्याउने, तराई विभाजन गरेर भारतमा मिलाइदिन्छु भन्ने सीके राउतहरूलाई फूलमाला लगाएर स्वागत गर्ने केपी वलीहरू यो सत्ताको प्रधानमन्त्रीको कुर्सीमा छन् र रामबहादुर थापालगायत बुख्याँचाहरूलाई आदेश दिइरहेछन्– हाम्रो ‘रामराज्य’ बिथोलेर जनताको राज्यसत्ता स्थापना गर्न विद्रोह बोल्ने सुदर्शन र माइला लामाहरूलाई देशद्रोही करार गर्दै जेलमा पठाऊ…। योभन्दा भद्दा नाटक अरू के हुन सक्छ ? इतिहासमा योभन्दा मजाक अरू के हुन सक्छ ? त्यसैले त माइलाले जेलबाटै लेखेका छन्–

जेलकै छानामुनि कयौँ योद्धा हुर्किन्छन्
जेलभित्रै कयौँ महानायक जन्मिन्छन्

हुनत जेल क्रान्तिकारीहरूका लागि एउटा मोर्चा पनि हो । केपी, प्रचण्ड र बादलहरूको शासनमा जेल सुदर्शन र माइलाहरूका लागि सही बासस्थल पनि हो । त्यही नख्खु जेलमा नेकपा स्थायी समिति सदस्य एवम् जनयुद्धका अर्का माक्र्सवादी स्रष्टा/विचारक सुदर्शन पनि पाँच महिनादेखि पुर्पक्षकै लागि थुनिएका छन् । अन्य सयौँ कमरेडहरू देशद्रोहकै मुद्दामा जेल र हिरासतमा कैदी/बन्दी जीवन बिताइरहेका छन् । सुदर्शन र माइलाहरूमाथि अभियोग छ– उनीहरूले यो व्यवस्था, यो संविधान, यो सरकार, तिनका नीति, कार्यक्रम र नेतृत्व अस्वीकार गरे । वैज्ञानिक समाजवाद ल्याउन विद्रोह सुरु गरे । एकीकृत जनक्रान्तिको कार्यदिशामा जनता सङ्गठित गरे । एनसेलका टावरहरू र भ्रष्टहरूमाथि कारबाही गरे । आदि–इत्यादि ।

विस्तारवादी/साम्राज्यवादी उत्पीडन र थिचोमिचोबाट देशलाई मुक्त पार्नुपर्छ, दलाल पुँजीवादी शोषण–उत्पीडनबाट जनतालाई मुक्त पार्नुपर्छ भनेर निजी स्वार्थलाई तिलाञ्जली दिँदै दिनरात आन्दोलनमा होमिने सुदर्शन र माइलाहरूले देशद्रोहीको पगरी लगाएर जेलमा सड्नुपर्ने अनि सत्ताका लागि वर्ग, देश र आदर्श भुलेर साम्राज्यवादका सामु लम्पसार पर्ने केपी वली र पुष्पकमल दाहालहरू राष्ट्रनायक हुने/भनिने हददर्जाको भद्दा मजाक समाजले बेहोरिरहेको छ । कलाविहीन नाटकको यो दृश्य लामो समयसम्म रहनेछैन तर पनि देशभक्त र क्रान्तिकारीहरूमाथिको यो अपमान सहन स्वयम् मातृभूमिलाई पनि पलपल गाह्रो भइरहेको हुनसक्छ ।

फोहोर गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो केपी–पीके र रामबहादुरहरूले अझ पनि आफूलाई कम्युनिस्ट हौँ भनिरहेका छन् । उनीहरू समाजवाद ल्याउन कसरत गरिरहेको पनि बताइरहेका छन् । अझ उनीहरूसँग यही संसदीय व्यवस्थाको सजिलो दुई तिहाइ बहुमतको सरकार पनि छ तर उनीहरूलाई देशको विकास गर्न, जनतालाई सुख दिन केले छेकेको छ ? सिंहदरबार गाउँमा पु¥याउँछौँ भन्दै मत माग्न गाउँ पुगेका केपी र प्रचण्डहरूले सिंहदरबारको चरम भ्रष्टाचार, बेथिति र भाँडभैलो गाउँमा पु¥याएका छन् । भ्रष्टाचारले देश खतम भइसकेको छ ।

इतिहासमै सबैभन्दा बढी राष्ट्रघात–जनघातका शृङ्खलाहरू मच्चिइरहेका छन् । हत्या, बलात्कार र तस्करी नभएको पल नै छैन । शासकहरूले आफू र आफ्ना आसेपासेहरूका लागि सुविधाको चाङ लगाएर जनताका नाममा गरिबी, अन्याय, अत्याचार, भोकमरी र शोषणको उरुङ लगाएका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूलाई लिएर सङ्गठन र आन्दोलन पनि गर्न नपाउनु भनेको राणाकाल, पञ्चायतकाल वा शाहीकालको पुनरावृत्ति हो । यस्तो अवस्थामा झन्डै हजारको सङ्ख्यामा नेकपाका नेता–कार्यकर्ताहरू हिरासत र जेलको छिँडीमा कैदी र बन्दी अवस्थामा छन् । नेकपामाथि प्रतिबन्ध लगाइएको छ । देशलाई साम्राज्यवादी स्वार्थ र थिचोमिचोहरूबाट मुक्ति दिने र जनतालाई गाँस, बास र कपासको ग्यारेन्टी गर्ने हो भने सरकारका विरुद्ध को रहरले विद्रोह, युद्ध र क्रान्तिमा लाग्छ र ? विद्रोहमा सामेल भएर जीवन गुमाउन कसलाई रहर छ ? तर केपी–पीकेहरू आफूले गरेको सत्ताको ब्रह्मलूटलाई सबैले ‘रामराज्य’ भनिदिनुपर्छ भन्ने मूढाग्रह पालेर विरोधीहरूमाथि दमनचक्र चलाइरहेका छन् । एकीकृत जनक्रान्तिको यो समयमा दस जना होनहार युवाले बलिदानको कोटा चुक्ता गर्नुपरेको छ । यस्तो अवस्था र व्यवस्था गलत छ भन्ने, नाफाबट तिर्नुपर्ने कर मात्र झन्डै एक खर्ब तिर्न बाँकी रहेको एनसेल नाउँको सञ्चार कम्पनीबाट कर उठाऊ भन्ने, भ्रष्टाचार र तस्करी बन्द गर भन्ने, महँगी नबढाऊ, जनतालाई कामका लागि अर्काको देशमा जान बाध्य नपार भन्ने पार्टी र नेताहरूमाथि गोली दागेर यो सरकारले दैनन्दिन आतङ्क र भय उत्पन्न गरिरहेको छ । यस्तो अवस्था नाङ्गो बादशाहलाई नाङ्गै देख्ने र भन्ने सुदर्शन र माइलाहरूको हातमा हतकडी र खुट्टामा नेल देख्ने अवस्था उत्पन्न हुनु कुन नौलो कुरा भयो र ! जेलभित्रैबाट माइलाले वर्तमानको कुरूप चित्रण यसरी गरेका छन् :

कहिले छाउँछन् निराशाका काला बादलहरू
कहिले आउँछन् बेइमानीका गन्धे लालचहरू

राज्यको आँखामा खतरनाक मानिएकाहरूका लागि जेल सामान्य थलो हो । नेल्सन मन्डेलाले जीवनको महत्वपूर्ण समय अर्थात् २७ वर्ष जेलमै बिताए । नेपालमा पनि डेढ दशकसम्म जेलमा बस्नेहरू यतिबेला समाजवादका नाउँमा प्रतिक्रियावादी सत्ता सञ्चालन गरिरहेका छन् । एउटै मोर्चा पनि कसैका लागि आमूल परिवर्तनको र कसैका लागि आत्मरक्षा र आत्मसमर्पणको थलो बन्दो रहेछ । राधाकृष्ण मैनालीहरू यही मोर्चा भँजाउँदै दरबार छिरे । नेपालका नेल्सन मन्डेला भनिएका मोहनचन्द्र अधिकारी, सीपी मैनाली र मोदनाथ प्रश्रितहरूले जेलमोर्चाको विरासत थाम्न सकेनन् । केपी वलीहरूले जेल मोर्चालाई प्रतिगामीकरण हुने अवसरका रूपमा दुरूपयोग गरे । आज सुदर्शन र माइला लामाहरू त्यही जेललाई क्रान्तिको अर्को मोर्चाका रूपमा सदुपयोग गरिरहेका छन् । जेलका बन्द कोठरीबाटै माइला आफ्नो आस्था यसरी प्रकट गरिरहेका छन् :

जेलभित्रै जेललाई जित्न सक्नुपर्छ
अँध्यारोमै उज्यालो देख्न सक्नुपर्छ

महान् जनयुद्धका सहिद एवम् सांस्कृतिक योद्धा कृष्ण सेन ‘इच्छुक’ ले जेललाई सिर्जनाको थलो बनाए र शोकाञ्जली, बन्दी आवाज, इतिहासको यस घडीमा, बन्दी र चन्द्रागिरिजस्ता अमर कृतिहरू सिर्जना गरेका थिए । कमरेड सुदर्शन र माइलाहरूपनि जेललाई सिर्जनाको थलो बनाइरहेका छन् । यो हिरासत र जेलमा बसिरहेका सबै योद्धाहरूका लागि पनि ऊर्जा हो, पाठ हो ।

नेपालको क्रान्तिकारी साहित्यिक–सांस्कृतिक आन्दोलनको इतिहासमा जेल मोर्चालाई सदुपयोग गर्ने प्रथम शक्तिशाली सर्जकका रूपमा सुब्बा कृष्णलाल अधिकारीलाई लिइन्छ । निरङ्कुश राणाशासक चन्द्रशमशेर राणालाई मकैमा लाग्ने रातो टाउके कीरा, बेलायती कुकुरलगायत शब्द–बिम्बले सम्बोधन गरेर दुत्कार्दै जेलमै बलिदान गरेका कृष्णलालले विसं १९८० मै जेलमा लेखेका थिए :

संसारमा कीर्ति छ धेर ठूलो
कीर्तिबिना मानिस बन्छ लूलो
संसार छोडे पनि हेर क्वै दिन
आउनेछ एउटा जनतन्त्रको दिन ।।

राणा शासकहरूको कठोर जेलभित्र बसेर कृष्णलालले राणाहरूलाई नै ललकार्दै नेपालमा कुनै न कुनै दिन जनतन्त्र आउनेछ भन्ने घोषणा गरेका थिए । नेपालका प्रथम सांस्कृतिक सहिद कृष्णलालहरूकै क्रान्तिपथमा लामबद्ध भएका गङ्गालाल श्रेष्ठ जसले नेपालका प्रथम विद्यार्थी सहिदमा नाउँ लेखाए, उनले जेलमै लेखेका थिए–

जेता–नेतादि सबले मर्नु साझा सबैको ।
सब शव गई बस्तछन् एक दिन काखमा चिताको ।।
किन डरूँ मृत्युदेखि मर्न कम्मर कसेको ।
हुँ एक वीर पुत्र म पनि वीर माँ नेपालको ।।

राणा शासकहरूले जीवनको भिक माग्न बारम्बार कर गर्दा गङ्गालालले मृत्यु त कायरहरूका लागि मात्र डरको विषय हो, क्रान्तिकारी, देशभक्तहरूका लागि जेल, हिरासत, यातना र मृत्युको त्रासदीले कुनै फरक पार्नेछैन भन्ने शङ्खघोष गरेका थिए । यही शृङ्खलामा इच्छुकले जेलभित्रै कयौँ रचना गरेर बलिदान गरेका थिए । बन्दी र चन्द्रागिरि त यो युगकै कालजयी माक्र्सवादी काव्यका रूपमा स्थापित भइसकेको छ । नेकपाका स्थायी समिति सदस्य कमरेड सुदर्शनले २० वर्षअघि बाजुरा जेलमा र २० वर्षपछि नख्खु जेलमा बस्ता आमा र बाबालाई सम्बोधन गरेर लेखेका क्रान्तिकारी आशावादका उत्कृष्ट नमुना दुईवटा कविताको चर्चा हामीले यसअघि नै गरिसकेका छौँ । जेल पनि क्रान्तिकारीहरूका लागि आन्दोलनको एउटा शक्तिशाली मोर्चा बन्दो रहेछ भन्ने केही उदाहरण हुन् यी ।
यसै सिलसिलामा माइला लामाले क्रान्तिकारीहरूले जनक्रान्तिको मैदानमा केकस्ता समस्या र चुनौतीको सामना गर्नुपर्छ भन्ने सन्दर्भमा जेलभित्रैबाट लेखेका छन् :

विचलनका आँधी–तुफान छेक्न सक्नुपर्छ
सङ्घर्षमै सुन्दर जीवन देख्न सक्नुपर्छ ।

कमरेड माइला लामा एकीकृत जनक्रान्तिका मात्र होइन, महान् जनयुद्धका पनि सशक्त योद्धा हुन् । जनयुद्धको पहिलो सफल फौजी मोर्चा रामेछाप बेथान पानीघाटको लडाइँमा उनी छापामार योद्धा थिए । जनयुद्धकै क्रममा उनी विस्फोटमा परे र श्रवणशक्ति, दृष्टिशक्ति र हृदयको धड्कन÷स्पन्दन शक्ति गुमाए, छियाछिया पारे ।

बमबारुदमा परेर कयौँ मिटरमाथि आकाशसम्म पुगेर धर्तीमा पछारिँदा पनि उनले होस र धैर्य गुमाएनन् । फलतः उनी इस्पातजस्तै धारिला भएर विचार, सिर्जना र राजनीतिक आन्दोलनमा खटिरहे, लागिरहे । माइला कहिल्यै पुरातन सत्ताको चास्नीमा लोभिएनन् । सिङ्गो पार्टी संविधानसभामा होमिएको समयमा काठमाडौँ– ९ मा सभासद् उम्मेदवार बनेका लामा अत्यन्त झिनो मतले पराजित भए पनि क्रान्तिकारी राजनीतिक आन्दोलनमा रत्तिभर पराजित भएनन् । प्रचण्डको संशोधनवादी गद्दारी रवैद्य समूहको छद्म संशोधनवादी अकर्मण्यतावादका विरुद्धको विद्रोहमा उनले अग्रमोर्चामा रहेर क्रान्तिकारी ध्रुवीकरणका लागि पहल गरे । फलस्वरूप उनी नेकपाको केन्द्रीय सदस्य, अखिल नेपाल जनसांस्कृतिक महासङ्घको अध्यक्ष र नेकपा उपत्यका विशेष ब्युरो इन्चार्जजस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेर जनक्रान्तिको मोर्चा समालिरहेका थिए र साथमा क्रान्तिकारी आशावादले ओतप्रोत सिर्जना पनि गरिरहेकै छन् । यसैबीच मध्यरातमा दुस्मनले उनलाई बिस्तराबाटै गिरफ्तार ग¥यो जसरी ऋषि देवकोटा ‘आजाद’ लाई पञ्चायती शासकहरूले घेरा हालेर गिरफ्तार गरेका थिए । भीमदत्त पन्तलाई भारतीय सैनिक लगाएर गिरफ्तार गरेका थिए । चे ग्वेभारा, चारु मजुमदार र गोन्जालोलाई फासिवादी शासकहरूले जसरी समातेका थिए, माइला लामालाई पनि शासकहरूले त्यसैगरी झुक्याएर समाते र हतारहतार जेल पठाए ।

देशभक्त÷क्रान्तिकारी माइला लामाहरू जेल बाहिर रहनु केपी वली, पुष्पकमल दाहाल र रामबहादुर थापाहरूका लागि खतराको घन्टी बज्नु हुन्थ्यो । किनकि माइला लामा जनताको मन छुने गीत लेख्थे र सङ्गीत भर्थे । देश दुखेको गीत लेख्थे र देश बचाउन अमरसिंह, भीमसेन र बलभद्र बन्ने उत्साह भर्थे । कालापानी बेच्ने, महाकाली बेच्ने, लिपुलेक, अरुण, सप्तकोसी र कर्णाली बेच्ने केपी, पीके र रामबहादुर थापाहरूका लागि माइला लामाहरूका देशभक्तिका गीतहरू आतङ्कवादी, राष्ट्रद्रोही र आपराधिक हुनु स्वाभाविक थियो । झन्डै एक खर्ब रुपैयाँ बराबर नेपालको राजस्व लुटेर फरार रहेको एनसेलका टावरहरू नेपाल र नेपालीका लागि खतरनाक छन् भनेर विद्रोहको दुन्दुभि बजाउने माइला लामाहरूका आवाजहरू कृष्णलाल, गङ्गालाल, भीमदत्त र कृष्ण सेनहरूका जत्तिकै ‘देशद्रोही’ थिए । जनतालाई खाना, नाना र झुप्रोछाप्रोको माग गर्ने माइला लामाहरू आतङ्ककारी नभएर के तराई विखण्डनको माग गर्दै भारत र पश्चिमाहरूसँग मिल्ने सीके राउतहरू विखण्डनकारी र देशद्रोही हुन सक्छन् त यो दलाल फासिवादी सरकारका लागि ?

माइला लामा बहुमुखी प्रतिभाका धनी योद्धा र स्रष्टा हुन् । जादुमयी, वैचारिक र विस्फोटक उद्घोषण क्षमता र कलाका धनी पनि हुन् माइला लामा । त्यसैले उनी क्रान्तकारीबीच मात्र होइन, आम श्रमिक जनतामा पनि लोकप्रिय र स्थापित छन् । माइलाको लोकप्रियता क्रान्तिकारी आन्दोलनप्रतिको लोकप्रियता हो । एकीकृत जनक्रान्ति र नेकपाको लोकप्रियता हो । राष्ट्रघात र जनघातका कारण दैनिक अलोकप्रियताको शिखर चुम्दै विघटनको सँघारमा पुगेको दलाल पुँजीवादका लागि क्रान्तिको लोकप्रियता सह्य हुने कुरा पनि होइन । त्यसैले त आजादलाई जस्तै यो दलाल सत्ताले माइलाहरूलाई मध्यरातमा सयौँ प्रहरी खटाएर अपहरण गरेको छ र विचार र राजनीतिको सामना गर्न नसकेर जेलमा पठाएको छ ।

माइला लामाको गिरफ्तारीका विरुद्ध देशविदेशबाट हज्जारौँ होइन, लाखौँ क्रान्तिकारीहरूले आवाज उठाएका छन् । नेकपाले त उनको गिरफ्तारीका विरुद्ध बागमती, नारायणी र जनकपुर बन्द नै गरिसकेको छ । कुशल वक्ता र कार्यक्रम सञ्चालकसमेत रहेका माइला लामा गीतकार, सङ्गीतकार तथा संस्मरण लेखकसमेत हुन् । उनले आफू जेल परिसकेपछि जेलभित्रैबाट शासकहरूलाई चुनौती दिँदै लेखेका छन्–

समानताको हाम्रो बिहान पक्कै उदाउनेछ
धर्तीभरि न्यानो–न्यानो खुसी सजाउनेछ
एक दिन जेलका काला पर्खाल सबै ढालिनेछन्
अत्याचारका खुनी जन्जिर सबै फालिनेछन् ।

हो, यही क्रान्तिकारी आशावादले कार्ल माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ, किम इल सुङ, होचि मिन्ह, फिडेल क्यास्ट्रो, चे ग्वेभारा र चारु मजुमदारहरूलाई निरन्तर क्रान्तिमा होमिन प्रेरित गरेको थियो । लेनिन, स्टालिन, माओ, किम इल सुङ, हो चिमिन्ह, फिडेल र चेहरूले त एक किसिमको सफलता पनि प्राप्त गरे । आज त्यो क्रान्तिकारी आशावादकै कारण नेपालमा कमरेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्ति सञ्चालनमा छ र यसको सफलतासँगै केपी वली, पुष्पकमल दाहाल र रामबहादुर थापाहरू बर्बराइरहेका छन्, सुदर्शन र माइला लामाहरूलाई जेलमा कोचिरहेका छन् ।

क्रान्तिकारी स्रष्टा र विचारकहरू जनताका बीचमा होऊन् वा जेलमा, उनीहरूले सुदूर भविष्य देखिरहेका हुन्छन् । एक सय वर्षअघि कृष्णलालले जनतन्त्र आएरै छोड्ने सपना जेलभित्रैबाट देख्नु, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र र केवलपुरे किसानहरूले सङ्घर्ष र क्रान्तिकै माध्यमबाट नेपाल र नेपालीको सुदिन आउने सपना देख्नु र इच्छुकले आस्थाको साम्यवाद आएरै छोड्ने उद्घोष गर्नु क्रान्तिकारीहरूको हृदयको आवाज हो, सपना हो– पूरा भएरै छोड्ने सपना । यही सपना देखिरहेका थिए सुदर्शन र माइलाहरूले पनि । दुष्ट र मूर्ख शासकहरू भौतिक शरीर थुनेपछि सपना देख्न पनि बन्द हुन्छ भन्ने ठान्छन् तर हृदयले, विचारले देख्ने सपना पर्खालहरूले कहाँ थुनिन्छन्, कहाँ मर्छन् र ?

इतिहासले कहिलेकहीँ कति गम्भीर ठट्टा गर्छ भने चोरलाई साधु र साधुलाई चोरजस्तो गरी अघि सारिदिन्छ । यस किसिमको भद्दा ठट्टा संसारमा अन्यत्र पनि नभएको होइन तर हाम्रो आँखै अघिल्तिर नेपालमा भने प्रसस्तै देख्न, सुन्न र भोग्न पाइएको छ । नेपालकै एकाध वर्षभित्रका केही राजनीतिक गतिविधि हेर्ने हो भने यो कुरा छर्लङ्ग हुन्छ । पहिलो त भारतको नाकाबन्दीको समयमा नाकाबन्दीविरुद्ध केही अडान लिएकै भरमा (जनतालाई राहत दिएकाले होइन) केपी वली रातारात ‘राष्ट्रवादी’ कहलाइए । नेपाली जनता कमलो मनका छन् । भरसक चुनौती र खतरा मोल्नु नपरोस् भन्ने ठान्छन् तर पर्यो भने नालापानी, कालापानी, जनयुद्ध र एकीकृत जनक्रान्तिमा जस्तै विवेकलाई त्याग, साहस, शौर्य र बलिदानसम्म पनि दिन सक्छन् ।

सुनसरीको इटहरीबाट नेकपाका स्थायी समिति सदस्य कमरेड सुदर्शनलाई गिरफ्तार गरेर केपी वली–रामबहादुर थापा गृहप्रशासनले नेकपामाथि प्रतिबन्ध र दमनको रिहर्सल गरेको थियो । यो प्रकरण अहिले फेरि सुदर्शनको पुनः गिरफ्तारी र पुर्पक्षको बहानामा जेल चलान हुँदै कमरेड माइला लामा, भृकुटी, रणवीर, बन्धु चन्दहरूको गिरफ्तारी र जेल चलानसम्म आइपुग्दा झनै प्रस्ट भएको छ– यो सरकार कसको हो ? यसले ककसको रक्षा गरिरहेको छ र कसलाई दुस्मन ठानिरहेको छ ?

माइला लामाको हातमा हतकडी देखेपछि राजनीतिक र सांस्कृतिक आन्दोलनको पूरै क्षेत्र तरङ्गित र आक्रोशित बन्यो र जुर्मुरायो । हजारौँहजारले त्यसको तीव्र निन्दा र भत्र्सना गरे । जनयुद्धका एक बौद्धिक योद्धा नरेन्द्रजङ्ग पिटरले भने : एउटा सोच, एउटा सपना, एउटा इतिहासको समीक्षा, एउटा दर्शन र राजनीति, एउटा कविता, एउटा गीत, एउटा युद्धमोर्चा एसाल्टका सिपाही कमरेड र अर्कातर्फ गद्दार, एकातर्फ हारमोनियमका झङ्कार र सुरिला गीतका गुञ्जन, अर्कातर्फ हातकडी । उफ्!

यसैगरी माक्र्सवादी स्रष्टा एवम् जनमेलका सञ्चालक ऋषिराज बरालले भने : बमबारुद र मादल दुवैसित खेल्न अभ्यस्त माइला लामा जुझारु प्रवृत्तिका कलाकार साथै राजनीतिक व्यक्तित्व पनि हुन् । जनयुद्धकालमा उनीद्वारा लेखिएका र गाइएका गीतहरू निकै लोकप्रिय छन् । थुप्रै एल्बमहरू प्रकाशित गरिसकेका लामाका सबैभन्दा चर्चित एल्बम ‘राता मान्छेहरू’ हो र सबैभन्दा चर्चित गीत ‘हेर अघिअघि बढिरहेछन् राता मान्छेहरू’हो । उनी सम्बद्ध सांस्कृतिक मोर्चालगायत संस्थाहरूका साथै विभिन्न प्रगतिशील लेखक–साहित्यकारहरूले उनको अविलम्ब रिहाइको माग गरेका छन् । राजनीतिक गतिविधिसित सम्बद्ध कुनै पनि पार्टीमाथि प्रतिबन्ध लगाउन नपाइने भनेर संविधानमै उल्लेख गरिएको भए पनि वली सरकारले जसरी फासिवादी प्रवृत्तिको प्रदर्शन गरिरहेको छ, यो निन्दनीय छ र यसको व्यापक र सङ्गठित प्रतिरोध गर्नु आवश्यक छ । ‘जनमेल’ उनको रिहाइका लागि उठेका आवाज र प्रयासहरूप्रति ऐक्यबद्धता जनाउँछ ।

यसरी माइला लामाको गिरफ्तारीविरुद्ध हजारौँ न्यायप्रेमीहरूले आवाज उठाएका छन् । कवि सुदृष्टिले जेलमा बन्दी भएका स्रष्टाहरूका पक्षमा लेखेको ‘प्रतीक्षाको पल’ शीर्षक कविता र अखिल नेपाल जनसांस्कृतिक महासङ्घका कोषाध्यक्षसमेत रहेका सांस्कृतिक योद्धा आरोह नेपालीले जेलमा बन्दी बनाइएका माइला लामाबारे लेखेको ‘क्रान्तिको सुनामी’ शीर्षक कविताका केही हरफ राख्दै यो समय समीक्षा यहीँ स्थगित गर्ने अनुमति माग्छु :

प्रिय सखा
खै किन हो
हिजोआज बेचैनीको चुलेसीले
छियाछिया पारेजस्तै लाग्छ हृदय

पर्खाइमा फुलेका पूmलहरूलाई
सुनामी आएर हुत्याइदिएजस्तो लाग्छ
जुन दिनदेखि
मेरो हृदयको आँगनीबाट

वैरीहरूले उठाएर लगे तिमीलाई
(जसरी लगिरहेछन् अरूहरूलाई पनि)
त्यही दिनबाट
परेली ओभाएका छैनन्

न त सुकेको छ सिरानी
हराएको छ चैन
बढेको छ बेचैनी
रात निदाउँदा पनि

म जागा बसेकी छु
सम्झेर ती अतीतका पल
बेजोडले बल्झिरहेछ

प्रिय सखा
समयसँग बोलिरहेकी छु
म यतिखेर
समय भन्छ, तिमी मलाई नछोड

सधैँ सँगै हिँडौँ
अवश्य आउनेछ तिम्रो कमरेड
उज्यालो उचालेर
बत्तीमुनिको अँध्यारो हटाउन

जसरी कुरिरहेछन्
महासमरमा बेपत्ता पारिएका
योद्धाहरूका आफन्तहरू… ।
सुदृष्टि

उनीहरू आँधीलाई
पिँजडामा कैद गर्ने दुष्प्रयास गरिरहेछन्
उनीहरू उदाउँदो सूर्यलाई
हत्केलाले छेक्ने दिवासपनाबुनिरहेका छन्

न आँधीलाई पिँजडामा कैद गर्न सक्छौ
न सूर्यलाई हत्केलाले छेक्न सक्छौ
महाशय
माइला लामा त्यस्तै आँधी हो

त्यस्तै प्रज्वलित सूर्य हो
उसको आँखामा बाँधेर कालो कानुनकै काला पट्टीहरू
उसको हातमा लगाएर प्रतिबन्धको एक थान हत्कडी
ठोकेर उसका खुट्टाहरूमा

फासिवादी कुरूप नेलहरू
न कैद गर्न सक्छौ उसको मुक्तिको सपना
न रोक्न सक्छौउसका उन्मुक्तिकाजाज्वल्य गीतहरू
न ठोक्दैमा नेलहरूछेकिन्छ ऊ हिँडेको महासमर

महाशय
माइला लामाआन्दोलन हो
माइला लामा एक महान् आदर्श हो
माइला लामा क्रान्तिको उर्लिंदो सुनामी हो

कहाँ छ तिम्रो कैदखानामा त्यत्रो सिक्री
जसले आन्दोलन बाँध्न सक्छ?
कहाँ छतिम्रो बधशालामा त्यत्रो तागत
जसले महान् आदर्शलाइ मार्न सक्छ?

कहाँ छ तिम्रो अजङ्गी पर्खाल
जसले क्रान्तिको सुनामी झेल्न सक्छ?
आरोह नेपाली

-ईरातोखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *