रोल्पा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति रोल्पाले जिल्लाभर सरकारी सवारी साधन आवतजावतमा प्रतिबन्ध लगाउने भएको छ। केही दिनअघि बसेको पार्टीको बैठकले यस्तो निर्णय गरेको हो।
पार्टीको मध्यपश्चिम कमान्डको निर्देशन अनुसार जिल्ला पार्टी कमिटीले यस्तो निर्णय गरेको नवनियुक्त जिल्ला सेक्रेटरी मानवले जानकारी दिए। ‘पार्टीको यो निर्णयसँगै अब रोल्पा जिल्लाभर चल्ने सबै सरकारी गाडी आवतजावतमा प्रतिबन्ध लाग्छ,’ सेक्रेटरी मानवले भने।
पार्टी केन्द्रको निर्देशन अनुसार रोल्पा जिल्लामा पनि शुद्धीकरण अभियान संचालन गरिने भएको छ। शुद्धीकरणको सुरुवात जिल्ला कमिटीबाटै गर्ने भन्दै ३ दर्जन बढी जिल्ला कमिटी सदस्यलाई करिब २ दर्जनमा झारिएको बताएको छ। शुद्धिकरण तल्लो कमिटीसम्म पुग्ने सो पार्टीको अर्का एक नेताले जानकारी दिए।
जिल्ला ईन्चार्ज जयप्रकाश रोका केही महिनाअघि पक्राउ परी पुर्पक्षका लागि जेल चलान भएपछि उनको ठाउँमा सन्तोष सुवेदी प्रयासलाई जिम्मा दिएको बताइएको छ।
नवनियुक्त जिल्ला ईन्चार्ज प्रयास सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता झक्कु प्रसाद सुवेदीका छोरा हुन्। यसैगरी, पार्टीले जिल्ला सेक्रेटरीमा मानवलाई जिम्मेवारी दिएको बताइएको छ।
सो पार्टीको निवर्तमान जिल्ला इन्चार्ज जयप्रकाश रोका प्रतापसहित जिल्ला कमिटीका करिब १ दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। हाल सो पार्टीका जिल्ला स्तरीय ५ नेता हिरासत र ५ नेता जेल चलान भएका छन्। हिरासत र जेलमा विप्लव समूहका नेतासँग पारिवारिक भेटघाटमा रोक लगाएको आफन्तहरूले गुनासो गरेका छन्।
महेश न्यौपाने/नेपाल लाइभबाट
000
यो पनि पढ्नुस
नेकपा नेता सुदर्शनका विषयमा भ्रामक र षड्यन्त्रपूर्ण समाचारको खण्डन
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले हाल नख्खु कारागारमा रहेका उक्त पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ का बारेमा केही सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचार भ्रामक, नियोजित र षड्यन्त्रपूर्ण भएको भन्दै उक्त झूट्टा प्रचारको खण्डन गरेको छ । साथै प्रतिधु्रवीय तत्वहरूले उक्त सुनियोजित षड्यन्त्र गरेको नेकपाको ठहर छ ।
नेकपाको केन्द्रीय कार्यालयका तर्फबाट सुशीलले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सरुवा, बढुवा, स्थानान्तरण वा जिम्मेवारी परिवर्तन पार्टी सङ्गठनको सामान्य प्रक्रिया भएको उल्लेख गर्नुका साथै सञ्चारमाध्यममा आएका समाचार गलत र भ्रामक भएको भन्दै पार्टी केन्द्रीय कार्यालयको आधिकारिक धारणा स्पष्ट पारेका छन् ।
साथै विचार, सङ्गठन र कार्यदिशाबाट अलग भएका बाहेक कसैलाई कारबाही नगरिएको पनि कार्यालय सचिव सुशीलको विज्ञप्तिमा उल्लेख छ ।
स्मरणीय छ, केही दिनपहिले नयाँ पत्रिका दैनिकलगायत केही सञ्चारमाध्यममा जेलमा रहेका कारण स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ जिम्मेवारी मुक्त भन्ने समाचार प्रकाशित भएको थियो ।
त्यस्तै गम्भीरलगायत केन्द्रीय नेताहरूलाई कारबाहीलगायत समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित भएका थिए । त्यस्ता समाचारहरू सुनियोजित तरिकाले प्रकाशन तथा प्रसारण गरिएको भन्दै नेकपाले त्यस्ता समाचार आफ्नो पार्टीका विरुद्ध जालझेल र षड्यन्त्र भएको स्पष्ट पारेको छ ।