गरिबको भात खोसेर आफ्ना छोराछोरी अमेरिका पढाउनेलाई महापाप लाग्नेछ – रबिन्द्र मिश्र

रवीन्द्र मिश्र

प्रिय छोराछोरी,

म यो खुलापत्र तिमीहरू दुवैसँग क्षमायाचना गर्दै सुरु गर्न चाहन्छु। मैले ‘तिमीहरू’ भन्दा मेरो मनमा तिमीहरू दुईजना मात्र होइन, तिमीहरूको सिंगो पुस्ताको तस्बिर घुमिरहेको छ। त्यसै हुनाले मेरो क्षमायाचना केवल तिमीहरूसँग मात्र होइन, तिमीहरूले प्रतिनिधित्व गर्ने सिंगो पुस्तासँग हो। हिजोआज म तिमीहरूको पुस्ताका युवाहरूसँग अन्तरक्रिया गर्दा भन्ने गर्छु : नेपालमा हाम्रो पुस्ताले तिमीहरूको पुस्तामाथि अपराध मात्र होइन, मानवताविरुद्धको अपराध गरेको छ।

मानवताविरुद्धको अपराधलाई अन्तर्राष्ट्रिय कानुनले परिभाषित गरेअनुसार बुझ्नु आफ्नो ठाउँमा होला। तर समग्रमा भन्नुपर्दा हाम्रो पुस्ताको चरम भ्रष्टताका कारण हामीले गरिबहरूको थालको भात खोसेर आफ्नो पेट भरेका छौं र महल ठड्याएका छौं, कुपोषण र उपचारको अभावका कारण तिनलाई दिनदिनै मर्न बाध्य बनाएका छौं, देशका दशौं लाख कर्णधारलाई विदेशमा बेचिरहेका छौं, रातो बाकसमा लासहरू फर्काएका छौं र मूलतः तिनैको पीडामाथि राजनीति गरेर शीर्ष स्थानमा पुगेका नेताहरूलाई उपचार र सयरका लागि महँगा विदेश यात्रामा पठाएका छौं। ती

सबै मेरा लागि मानवताविरुद्धका अपराध हुन्।

युरोप, अमेरिका, अस्ट्रेलिया या खाडी क्षेत्रका देशहरूले भिसा अलि खुकुलो बनाइदिन्थे भने अपवादलाई छोडेर, युवाको सिंगो पुस्ताले यो देश छाडेर जाने थियो। तीसँगसँगै धेरै बुवाआमा पनि मुटुमाथि ढुंगा राख्दै देश छाडेर जाने थिए। यति सुन्दर, स्रोतसाधनले भरिपूर्ण र सहनशील जनता भएको देश हुँदाहुँदै, सम्पन्न हुन् या विपन्न, सिंगो पुस्ता नै बस्न नचाहने देश बनाउने मेरो पुस्ताले तिमीहरूसँग क्षमा माग्नैपर्छ र आत्मग्लानिले द्रवीभूत हुनुपर्छ।

एउटा प्रतिष्ठित अन्तर्राष्ट्रिय सर्वेक्षण तथा परामर्शदातृ संस्था ग्यालपले गरेको अन्तर्राष्ट्रिय सर्वेक्षणमा सकारात्मकताको ‍भावना अति न्यून भएको देखिएको नेपाली समाजमा मलाई थाहा छ, यो पत्रलाई कतिपयले नाटक भन्नेछन्। शेक्सपियरले भने झैं यो संसार नै रंगमञ्च हो भने त्यसमा थप एउटा नाटक मञ्चन गर्न कुनै आपत्ति छैन। तर मैले मञ्चन गर्न लागेको नाटकलाई मलाई राम्ररी चिनेका तिमीहरूले मेरो अन्तरमनको आवाज हो भनेर बुझ्ने नै छौ भन्नेमा म विश्वस्त छु। अरूका हकमा भने म ‘फूलका आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ गीत गुनगुनाउँदै रंगमञ्चमा प्रवेश गरेको छु, बाँकी नाटक हेर्ने या नहेर्ने निर्णय विनम्रतापूर्वक उहाँहरूलाई नै छोडिदिनेछु।

म सार्वजनिक जीवनमा हुनाले र मैले अभिव्यक्त गर्न लागेका कयौं विषय व्यक्तिगत नभएर समाज रूपान्तरणका मेरा सोचसँग गहिरो रूपमा जोडिएकाले मैले सार्वजनिक रूपमै यो पत्र लेख्ने धृष्टता गरेको हुँ। तिमीहरूले कक्षा १२ उत्तीर्ण नगरेसम्म मेरो मनमा सधैं एउटा डर थियो। तिमीहरूको पढाइ बिग्रियो भने तिमीहरूले ‘आफ्नो दृष्टिकोण लादेर बुवाले राम्रो शिक्षा पाउने हाम्रो अधिकारबाट वञ्चित गरी हामीलाई नेपाल फिर्ता ल्याउनुभयो’ भनेर दोष दिन सक्थ्यौ भन्ने लागिरहन्थ्यो।

तर भाग्यको कृपा, तिमीहरू दुवैले पढाइ राम्रो ग¥यौ। दुवैले विश्वकै प्रतिष्ठित कलेजहरूमा एकदमै राम्रो छात्रवृत्ति पायौ र छोरी, तिमी पनि यसै हप्ता पढ्नका लागि गएपछि अब दुवैजना देश बाहिर हुनेछौ।

छोराछोरी सानो हुँदा तिनीमाथि पूर्णरूपमा बुवाआमाको नियन्त्रण हुन्छ। त्यो समयमा छोराछोरीको चाहनाले होइन, उनीहरूका लागि बुवाआमाले आफ्नो बुद्धि विवेकले जे ठीक देख्छन् त्यही गर्छन्। उनीहरू हुर्किंदै जाँदा त्यो नियन्त्रण खुकुलिँदै जान्छ, जानुपर्छ।

त्यसैले हो शास्त्रमा ‘१६ वर्ष पुगेपछि पुत्र पनि मित्र समान हुन्छ’ भनिएको। एउटा समय यस्तो आउँछ, जहाँ बुवाआमाले सल्लाहकारीय भूमिका मात्र निभाउन सक्छन्। निर्णय छोराछोरीकै हुन्छ। उदाहरणका लागि मेरा बुवाआमाले मलाई नेपाल नफर्किन तीव्र दबाब दिनुभएको थियो। म फर्किएँ। मैले जागिर छाडेर नयाँ राजनीतिक पार्टी निर्माणमा सक्रिय हुने निर्णय गर्दा मेरी आमा घ्वाँघ्वाँ रुनुभयो र मेरो बुवाले टेलिभिजनमै अन्तर्वार्ता दिएर तीव्र असन्तुष्टि जनाउनुभयो। मैले उहाँहरूको विचारलाई सम्मान गरें, तर आफूले चाहेको बाटो समाएँ।

प्रिय छोराछोरी, तिमीहरू पनि अब बालिग भइसक्यौ। म तिमीहरूसँग मेरा भावना बाँड्न सक्छु, सल्लाह दिन सक्छु, जबर्जस्ती गर्न सक्दिनँ, गर्न हुँदैन, गर्न पनि चाहन्न। तिमीहरूको स्वतन्त्रता र मेरो डर यही विन्दुबाट सुरु हुन्छ। म तिमीहरूको स्वतन्त्रतामा वाधक बन्न चाहन्न, तर तिमीहरूले हाँसिल गरेको उत्कृष्ट शिक्षाबाट नेपालले लाभ नलिएको कल्पनासम्म पनि गर्न चाहन्न। तिमीहरूसँग भन्ने, गर्ने कुरा त कति छन् कति तर यो छोटो पत्रलाई सिर्फ भविष्यमा तिमीहरूको नेपालसँगको सम्बन्धमा सीमित राख्न चाहन्छु।

भन्न त तिमीहरू आफूलाई ‘हामी त एक्काइसौं शताब्दीका विश्व नागरिक (ग्लोबल सिटिजन) हौं’ भनौला। जुन देशका नागरिकले आफूलाई विश्व नागरिकभन्दा त्यहाँको समाजलाई कुनै फरक पर्दैन, तिनले आफूलाई विश्व नागरिकका रूपमा हेर्दा मलाई पनि फरक पर्दैन।

तर जुन देशमा तिमीहरूका उमेरका सम्भवतः ९५ प्रतिशत युवाहरूले गुणस्तरीय शिक्षा पाउँदैनन्, रोजगार पाउँदैनन्, राम्ररी खान, लाउन पाउँदैनन्, अलिकति पैसाका लागि ५० डिग्री तापक्रममा मरेर काम गर्छन् र कयौं अवस्थामा रातो बाकसमा लास बनेर देश फर्किन्छन्, त्यो देशमा तिमीहरूजस्ता भाग्यशाली युवालाई ‘म विश्व नागरिक, त्यसैले म त नेपालबारेमा मात्र होइन, संसारकै बारेमा चिन्तित छु’ भन्नु त्यति उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन। यो कडा सुनिने दृष्टिकोणसँग तिमीहरूलगायत धेरैको विमति हुन सक्छ। तिमीहरू वयस्क भइसकेकाले अब कयौं विषयमा हामी भद्रतापूर्वक असहमत हुन सहमत हुनुपर्छ।

हामीले यस्तो समाज बनायौं, जहाँ अधिकांश नागरिकले भविष्यको सपना देशमा होइन, विदेशमा देख्ने गर्छन्। त्यो स्थिति नदोहोरियोस् भन्ने मेरो कामना हो। एउटा कुरा कहिल्यै नबिर्सनुस्– विपन्न देशको सम्पन्न नागरिक हुनुमा भन्दा सम्पन्न देशको सामान्य नागरिक हुनुमा धेरै ठूलो गर्व हुन्छ। नेपाल सम्पन्न भयो भने यहाँ सामान्य नागरिक भएर बस्दा पनि शान आउँछ, नेपाल विपन्न भयो भने यहाँ सम्पन्न नागरिक हुँदा पनि स्वाद आउँदैन।

भाग्यले धोका दिएन भने तिमीहरू जीवनमा असल र सफल हुनेछौ। त्यसमा कुनै शंका छैन। तर तिमीहरूको सफलता नै मेरो जीवनको उत्तरार्धको पीडा हुने हो कि भन्ने मलाई डर छ। म स्पष्ट पार्न चाहन्छु– तिमीहरूले जीवनमा विशिष्ट सफलता हासिल गरेको खण्डमा पनि तिमीहरूको सफलताले नेपाललाई कुनै न कुनै रूपमा स्पर्श गरेन भने म त्यो सफलतामा गर्व गर्ने छैन। तर तिमीहरूलाई मायाचाहिँ गरिरहने छु। तिमीहरूको सफलताले जसलाई स्पर्श गर्छ, गर्व उनीहरूले नै गरून्। त्यसबारे नेपालीहरूले गर्व गर्नुको म कुनै औचित्य देख्दिनँ।

हाम्रो पुस्ताले नेपाल बदल्न सक्यो भने तिमीहरूको पुस्ताका धेरै नेपाली स्वस्फूर्त रूपमा नेपाल फर्किने नै छन्, जसको नेपाली परिवार र समाजको रूपान्तरणमा ठूलो भूमिका रहनेछ।

आफ्नो सफलतासँगसँगै आफ्नो देशलाई कसरी स्पर्श गर्ने त ? तिमीहरूलाई थाहै छ– मेरो इच्छाअनुसार हुने हो भने तिमीहरूको पढाइ सकिएपछि थोरै अन्तर्राष्ट्रिय अनुभव लिएर तिमीहरू नेपाल नै आउनुपर्छ, नेपालमै अवसर खोज्नुपर्छ या अवसर सिर्जना गर्नुपर्छ भन्ने मेरो मान्यता हो। अझ मेरो चाहना त तिमीहरू मात्र होइन, तिमीहरूजस्तो उत्कृष्ट शिक्षादीक्षा पाएका, क्षमतावान् र इमानदार नागरिकमध्ये कयौं, जीवन निर्वाहको बाटो बनाउँदै राजनीतिमै आउनुपर्छ भन्ने हो। इमानदार र क्षमतावान् राजनीतिलाई छिछि, दूरदूर गर्ने, असल वा विज्ञ मात्र भएर बस्ने अनि देशको रूपान्तरण कसले गर्ने ? औसतभन्दा पनि न्यून स्तरको नेतृत्वबाट देशको रूपान्तरण सम्भवै छैन।

त्यसैले मैले आजभन्दा झण्डै २० वर्षअघि नै मेरा छोरा इमानदार र क्षमतावान् भयो। मैले सकें भने राजनीतिज्ञ बनाउँछु भनेर स्तम्भ नै लेखेको थिएँ। त्यतिबेला छोरा मात्र जन्मिएको थियो। मलाई थाहा छ– तिमीहरूको पुस्ताका अधिकांश युवाजस्तै तिमीहरू दुवैजना राजनीतिबाट परै रहन चाहन्छौं। किनभने, तिमीहरूले राजनीतिलाई सुसंस्कृत मान्छेले अवलम्बन गर्ने कर्मका रूपमा होइन, भ्रष्टहरूले आफ्नो फाइदाका लागि देश दोहन गर्ने माध्यमका रूपमा मात्र प्रयोग भएको देखेका छौं। त्यो वास्तविकता होइन। इमानदार राजनीति परोपकार र मानवताको उच्चतम् अभिव्यक्ति हो।

नेपाल फर्किएनौ भने तिमीहरूले अहिले पनि अभ्यास गरिरहेको व्यावहारिक परोपकार (प्यार्टिकल फिल्यानथ्रोपी) मार्फत नेपाललाई स्पर्श गर्ने छौ भन्ने आशा लिएको छु। तिमीहरूलाई कहिलेकाहीं लाग्दो हो, ‘म एकजनाले गरेर के नै हुन्छ र ? ’ तर सोच त, आफ्नो देखभाल आफैं गरेर केही बचत पनि उघ्रिने तिमीहरूजस्ता दशौं लाख नेपालीले एकएकजना असहाय बालकको राम्रो शिक्षादीक्षाको जिम्मा मात्र लिने हो भने समाज कस्तो हुन्थ्यो होला ? व्यावहारिक परोपकारको भनेको त्यही हो। सबै मानिस पूर्णकालीन परोपकारी हुन सक्दैनन्।

पूर्णकालीन परोपकार असाधारण मान्छेले मात्र गर्न सक्ने कर्म हो। तर व्यावहारिक परोपकार धेरै मान्छेले अभ्यास गर्न सक्छन्। फेरि भन्लाऊ, ‘राज्यलाई कर तिरेकै छु, त्यही हो नि परोपकार।’ कर तिर्नु स्वउपकार र परोपकार दुवै हो। तर समग्रमा भन्नुपर्दा संसारमा सबैभन्दा बढी कर तिर्न लगाउने देशका नागरिक सबैभन्दा बढी परोपकारीहरूमध्येमा किन पर्छन् ? किनभने, समाजका पीडाहरू राज्यलाई तिरेको करबाट मात्र नमेटिने रहेछ। व्यक्तिगत तहमा हुने परोपकारी कर्महरूले समाजका धेरै दुःख न्यूनीकरण गर्ने रहेछन्, जुन नेपालजस्तो समाजका लागि झन् आवश्यक छ। दीर्घकालमा व्यावहारिक परोपकारको विचार पनि तिमीहरूलाई जचेन भने तिमीहरू आफ्नो पेसासँग सम्बन्धित या अरू नै केही सोच्न र गर्न सक्छौ। तर आफूलाई नेपाली भन्न चाहन्छौ भने फेरि पनि भन्छु– तिमीहरूको सफलताले कुनै न कुनै रूपमा नेपाललाई स्पर्श गर्नैपर्छ।

साथसाथै, तिमीहरूलाई थाहै छ, म पैत्रिक सम्पत्ति कर (इनहेरिटन्स ट्याक्स) मा विश्वास गर्ने मान्छे। नेपालमा पनि न्यून आय भएकालाई कुनै असर नपर्ने गरी निश्चित सम्पत्तिभन्दा माथि पैत्रिक सम्पत्ति प्राप्त गर्दा त्यसमा कर लागू गरिनैपर्छ भनेर मैले लगभग १० वर्षअघि नै लेखिसकेको छु। संसारका सुसंस्कृत र कल्याणकारी लोकतन्त्रको अवधारणा आत्मसात गरेका देशहरूमा यो सामान्य हो। नेपालमा भने आफूलाई समाजवादी भन्ने दुवै कांग्रेस र कम्युनिस्टहरू समाजको होइन, परिवार र आसेपासेको कल्याण गर्छन्। समाज सुदृढ भएन भने कुनै पनि परिवारको भविष्य सुनिश्चित हुन सक्दैन भन्ने उनीहरू बुझ्नै सक्दैनन्। मानिसको जीवन हो, कहिले, कहाँ, के हुन्छ, कसलाई के थाहा ? यसबीच हामीलाई केही भइहाल्यो र पैत्रिक सम्पत्ति कानुन बन्यो भने कुनै ठगठाग नगरी तोकिएको कर तिर्ने नै छौ भन्नेमा विश्वस्त छु। त्यस्तो कानुन बनेन भने हामीबाट तिमीहरूमा सर्ने सम्पत्तिको कम्तीमा २० प्रतिशत परोपकारका लागि कानुनी रूपमै स्पष्टसँग छुट्ट्याउन आग्रह गर्छु।

अर्को कुरा, म यस्तो परिवार र समाजको कल्पना गर्न चाहन्न, जहाँ मेरा छोराछोरी विशिष्ट अन्तर्राष्ट्रिय जागिरमा हुन्, संसार घुमून्, सुविधासम्पन्न जीवन बिताऊन्। नेपालमा चाहिँ ७५–८० वर्ष नाघेका बुवाआमालाई एकजना घरेलु सहयोगीले देखभाल गरेका हुन्। बिरामी हुँदा तिनै सहयोगीले ओल्टाइपल्टाइ गरेर औषधी खान दिएका हुन्। अलि बढ्तै बिरामी हुँदा छिमेकीले अथवा टाढा बसेका नातेदारले अस्पताल लगिदिएका हुन्। सात समुद्रपारिबाट छोराछोरीले अस्पतालमा फोन गर्दा ‘तिमीहरूले चिन्ता गर्नु पर्दैन, आफ्नो ख्याल गर, यहाँ मलाई ‘फलानो’ ले राम्रोसँँग हेरिरहेका छन्। घर गएपछि लामो कुरा गरौंला’ भन्ने बुवाआमा हुन्। अनि आईसीयूमा राखेपछि नातेदारले ‘आमालाई अब त अलि बढी नै भयो, तपाईंहरू आउनुपर्छ कि ? ’ भनेर फोन गरून्। उता नेपाल आउने चाँजोपाँजो मिलाउँदै गर्दा यता आमालाई भेन्टिलेटरमा सारिएको होस्। छोराछोरी विमानस्थलबाट सीधै अस्पताल जाऊन्। डाक्टरको सल्लाहमा भेन्टिलेटर हटाऊन्। त्यहाँबाट दाहसंस्कारका लागि सीधै आर्यघाट लगून्। काजकिरिया सकिएको भोलिपल्ट छोराछोरी उडेर फेरि आफ्नै कर्मभूमि फर्कियून्। यो अहिले नेपालका खासगरी मध्यम र उच्च वर्गका धेरै परिवारको कथा हो। अझ खाडी र दूरपूर्वमा काम गर्ने नेपालीका कथा हृदयविदारक छ, जो बुवाआमाको मृत्यु हुँदा छुट्टीमा घर आउनसम्म सक्दैनन्। जो गाईवस्तु बेचेर, महँगो ऋण काढेर परिवारलाई अलिकति सुख दिने सपना बोकेर जान्छन् र आफैं मरेर, जीवनभरिका लागि धेरैको सपना मारेर रातो बाकसमा फर्किन्छन्।

मैले यी सबै लेख्दा बुवाले हामीलाई सार्वजनिक रूपमै भावनात्मक ब्ल्याकमेल गर्न खोज्नुभयो भन्ने ठानौला। तर मेरो मूल ध्येय मेरा यी धारणा तिमीहरू र हाम्रो पुस्ताका नेपालीकहाँ पुगोस् भन्ने चाहना पनि हो। चित्त नबुझे भद्र विमति राख्ने अधिकार त सबैलाई छँदै छ। तिमीहरूले ‘हामी पक्का नेपाल फर्किन्छौं, बाबा’ त भनेका छौ। फर्किन्छौ भन्ने मलाई विश्वास पनि छ। तर त्यसैगरी वाचा गरेर जाने धेरै नेपाली नफर्किएको मैले देखेको छु। यो पत्र त्यही त्रासको परिणाम पनि हो। ती नफर्किनेलाई दोष दिन पनि मिल्दैन। सबैमा धुलो, धुवाँ, बेथिति, भ्रष्टता, गुणस्तरहीन शिक्षा र स्वास्थ्य सेवा, सामाजिक सुरक्षाहीन बुढेसकालको चिन्ता सहन गर्ने आँट हुँदैन र त्यो अपेक्षा गर्नु पनि हुँदैन। तर त्यो स्थिति कुनै पनि हालतमा हाम्रै जीवनकालमा बदल्नैपर्छ र बदल्न सकिन्छ भनेरै हो मैले वैकल्पिक राजनीतिक यात्रा सुरु गरेको। हाम्रो पुस्ताले नेपाल बदल्न सक्यो भने तिमीहरूको पुस्ताका धेरै नेपाली स्वस्फूर्त रूपमा नेपाल फर्किने नै छन्, जसको नेपाली परिवार र समाजको रूपान्तरणमा ठूलो भूमिका रहनेछ।

अन्त्यमा, सधैं मनमा राख : तिमीहरू नेपाल, दक्षिण एसिया या एसियामा मात्र होइन, संसारमै थोरै भाग्यशाली युवाहरूमध्येका हौ, जसले तुलनात्मक रूपमा राम्रो जीवन र उत्कृष्ट शिक्षा पायौ र प्राप्त गर्दै छौ। भाग्यले दिएको भाग्य आफैंमा मात्र सीमित राख्न खोज्यौ भने भाग्यले त्यसलाई कुनै पनि बेला हरेर लैजान सक्छ। तिमीहरूको इमानदारी र सफलताले शिखर होइन, नेपाल चुमोस् ! मेरो धेरैधेरै शुभकामना छ !

तिमीहरूलाई सधैं माया गर्ने र तिमीहरू सधैं नेपाली रहेको हेर्न चाहने बाबा ।

अन्नपुर्ण पोष्ट बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *