अब यी देशबाट नियमित उडान मार्फत आउन पाउनेछन् नेपाली

भदौ ४, काठमाडौं । सरकारले विभिन्न देशबाट नेपाली नागरिक तथा नेपालस्थित नियोगका कूटनीतिज्ञ तथा कर्मचारीलाई नेपाल आउन नियमित उडान शुरु गर्ने निर्णय गरेको छ। यो खबर मणि दाहालले नेपालखबरमा लेखेका छन्।

मन्त्रिपरिषको बिहीबार बसेको बैठकले विभिन्न देश तथा शहरबाट आउनेका लागि उडान नियमित गर्न निर्णय गरेको हाे। मन्त्रिपरिषदले मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिएको छ।

संक्रमित कम रहेका र पीसीआर परीक्षण सहज भएका मुलुकका लागि यस्तो व्यवस्था गर्न पर्यटन मन्त्रालयले प्रस्ताव गरेको थियो।

मन्त्रिपरिषदको बैठकले कुन दिनदेखि यस्तो उडान गर्ने भनेर निर्णय भने गरेको छैन।

यसरी नेपाल आउने वायु सेवाले कुनै एउटा शहरबाट दैनिक एक वटा उडान गरी सातामा बढीमा सात उडानको अनुमति पाउन सक्ने व्यवस्था गरेको छ।

तर यस्तो यात्रा गर्ने व्यक्तिले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको रिपोर्ट र नेपाल आएपछि क्वारेन्टिनमा बस्नका लागि होटलको बुकिङ गरेको हुनुपर्ने छ। होटल बुकिङ र पीसीआर रिपोर्ट नभएका यात्री बोक्ने वायु सेवा निमगलाई कारबाही गर्ने अधिकार पर्यटन मन्त्रालयलाई दिइएको छ।

यसअघि विदेशमा रहेका नेपालीहरुलाई नेपाल ल्याउनका लागि चार्टर्ड उडान मार्फत मात्रै गरिँदै आएको थियाे। तर त्यस्ता उडान महंगो भएको भन्दै तीव्र आलोचना भएको थियो।

विदेशबाट आउनेले  नेपाल आएपछि के गर्नुपर्छ ?

भदौ ४, काठमाडौं । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ ।

अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।

विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ । एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने मन्त्रिपरिषदले मापदण्ड तोकेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

उनले भने, ‘हवाइ मार्गबाट तोकिएको मापदण्डअनुसार सीमित संख्यामा मात्रै मानिसहरु ल्याउने र उनीहरुलाई सात दिन अनिवार्य होटल क्वारेन्टिनमा राखेर कोरोना नरहेको पुष्टि भएपछि मात्र घर जान दिने निर्णय भएको छ ।’ यो निर्णयसँगै माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर फ्लाइट सुरु हुनेछ ।

यसअघि सोमबार कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले चार्टर तथा उद्धार उडान राखेको थियो । त्यो निर्णयका कारण दुबई गएको नेपाल एयरलाइन्सको विमान खाली नै फर्किएको थियो तर त्यही दिन टर्कीबाट र बिहीबार बंगलादेशबाट चार्टर उडान भएको छ ।

त्यसैगरी सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको स्रोतले बतायो । ‘१० वटा तोकिएका स्थल नाकाहरुबाट आउनेहरुले पनि सात दिनसम्म स्थानीय होटलमा अनिवार्य रुपमा बस्नैपर्छ र कोरोना परीक्षण गराउनैपर्छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘होटल खर्च आफैंले व्यहोर्नुपर्ने छ । नसक्नेहरुको हकमा स्थानीय समितिले व्यवस्थापन गर्नेछ ।’

बिहीबार बसेको मन्त्रिपरिषद बैठक कोरोना रोकथामकै एजेण्डामा केन्द्रित थियो । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा धेरै बोलेनन् । उनले सबै मन्त्रीहरुलाई आ-आफ्ना धारणाहरु राख्न समय दिएका थिए ।
मन्त्रिपरिषद बैठक खास गरी बढ्दो कोरोना महामारी र यसको रोकथामको विषयमा केन्द्रीत रहेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि सीसीएमसीले तयार पारेको प्रस्तावलाई अगाडि बढाउने र सरकारको निर्णयलाई एकरुपता दिनेबारे बैठकमा छलफल भएको ती मन्त्रीले बताए ।

बैठकले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुमार्फत घोषणा गरिएका निषेधाज्ञाको कार्यान्वयन र पालनाका लागि गृह प्रशासनलाई निर्देशन दिने निर्णय गरेको स्रोतले अनलाइनखबरलाई बतायो । काठमाडौं उपत्यकाको हकमा समन्वय गर्न गहृ मन्त्रालयका सहसचिवको नेतृत्वमा एकमिटी गठन गर्ने निर्णण भएको एक मन्त्रीले जानकारी दिए । कमिटीमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरु रहनेछन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुखद निधन भएकोमा औपचारिकरुपमा श्रद्धाञ्जली अर्पण गरेको छ । साथै बाढीपहिरो र कोरोना लगायतका प्रकोपबाट मृत्यु हुनेहरुप्रति पनि मन्त्रिपरिषद बैठकले श्रद्धाञ्जली अर्पण गरेको छ । अनलाइनखबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *