यी हुन् काठमाडौंका ५ कोरोना ‘हटस्पट’

भदौ ४, काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोनाभाइरस संक्रमण दर बढ्दै गएको छ। बिहीबारसम्म महानगरमा १ हजार १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६ जनाको ज्यान गइसकेको छ। यो खबर यज्ञराज जोशीले नेपालखबरमा लेखेका छन् ।

उपत्यकाको कोटेश्वर क्षेत्र सबैभन्दा बढी जोखिममा देखिएको छ। त्यसपछि बल्खु, कलंकी, बालाजु, महाराजगञ्ज तथा असन क्षेत्रमा ५० भन्दा बढी संक्रमण देखिएका छन।

बिहीबारसम्म काठमाडौंमा ५० जनाभन्दा बढी संक्रमित भेटिएका स्थान यसप्रकार छन्:

कोटेश्वर
काठमाडौंको वडा नम्बर ३२ स्थित कोटेश्वर क्षेत्र कोरोनाको हटस्पट देखिएको छ। वडाकी जनस्वास्थ्य अधिकारी मैया सैंजुका अनुसार त्यहाँ ९१ जना कोरोना संक्रमित भेटिइसकेका छन्।

वडामा बुधबारमात्रै ११ जना संक्रमित थपिएका छन्। उनीहरुको कन्ट्याक्ट ट्रेसिङ जारी छ। त्यसक्रममा संक्रमितहरु थप हुनसक्छन्। कोटेश्वर प्रहरी बिटपछाडिको असर्फी गल्लीमा मात्रै ३९ जनामा संक्रमण भेटिएको सैंजुले जानकारी दिइन्।

Bidh Lab
‘दैनिक औसत ७–८ जना संक्रमित भेटिइरहनुभएको छ,’ उनले भनिन्, ‘सुरुमा बाहिरबाट आएमा मान्छेहरुमा संक्रमण देखिएको थियो। अहिले स्थानीयहरुमा पनि संक्रमण देखिन थालेको छ।’

एसओएस क्षेत्रमा एउटै घरको चारजना परिवार संक्रमण पुष्टि भएको उनले जानकारी दिइन्। चारवर्षका दुई र एक ६ वर्षको बालकलाई पनि कोरोना पुष्टि भएको छ। यस्तै कोटेश्वरमा व्यापारी, स्वास्थ्यकर्मी, कामदार लगायतमा कोरोना पुष्टि भएको छ।

यस क्षेत्रमा ३९ जना होम आइसोलसनमा छन। उनीहरुसँग वडाले नियमित सम्पर्क राखिरहेको पनि सैँजुले बताइन्। अस्पताल लैजानुपर्ने बिरामीका लागि समयमै एम्बुलेन्स नआइदिने तथा अस्पतालमा बेड नपाउने समस्या रहेको उनको गुनासो छ।

यस्तै संक्रमितहरुले गलत नम्बर र ठेगाना दिएका कारण उनीहरुलाई समयमै अलग्याउन समस्या भएको उनको अनुभव छ। काठमाडौं उपत्यकामा बिहीबार देखि निषेधाज्ञा जारी भएपछि यस क्षेत्रमा पनि संक्रमणदर रोक्न सहयोग पुग्ने उनले बताइन्।

कुलेश्वर–बल्खु क्षेत्र
महानगरको वडानम्बर १४ स्थित बल्खु, कलंकी क्षेत्र पनि जोखिमयुक्त देखिएको छ। यस वडामा ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ।

बल्खु, कुलेश्वर क्षेत्रमा ठूलो तरकारी तथा फलफूल बजार छ। त्यस्तै, तराईका जिल्लाबाट हालै आएका व्यापारी तथा कामदारहरुहरुसँग त्यहाँका मानिसहरुको घुलमिल हुने कारणले बढी जोखिम देखिएको वडाअध्यक्ष शोभा सापकोटाले बताइन्।

एक व्यवसायीसँगै तरकारी किन्न गएका स्थानीय, एकै घरका धेरै जना र बालबालिकामा पनि कोरोना पुष्टि भएकाले समुदायमै संक्रमण गएको हो कि भन्ने आशंका उनको छ। समुदायस्तरमै कोरोना पुगेको आशंकामा साउन २७ गतेदेखि वडा सिल गरिएको थियो।

बालाजु क्षेत्र
महानगरको वडा नम्बर १६ स्थित गोंगबु बसपार्कसँगै औद्योगिक क्षेत्र पनि रहेको बालाजु काठमाडौंमा संक्रमण बढी भएको अर्को स्थान हो। वडा सदस्य पुष्प महजर्नका अनुसार यहाँ ६४ जनामा कोरोना संक्रमण देखिइसकेको छ।

९ जना निको भइसकेका छन् भने १२ जना होम आइसोलेसनमा छन्। बालाजु चोकमा मात्रै १६ जनामा संक्रमण पुष्टि भएको छ। औद्योगिक क्षेत्रको एउटै मैदा मिलमा ८ सहित १३ जनामा संक्रमित पुष्टि भएको छ।

यस वडामा एउटै घरमा चार जना संक्रमित भएका छन्।

असन, महाबौद्ध क्षेत्र
महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार वडानम्बर २७ को असन, महाबौद्ध क्षेत्रमा ५० जना कोरोना संक्रमित भेटिसकेका छन्।

तीमध्ये भोटाहिटीबाट वीर अस्पताल जाने गल्लीमा सबैभन्दा बढी संक्रमित भेटिएको वडा सदस्य नरेशमान महर्जनले जानकारी दिए। महाबौद्धमा सुरुमा भारतबाट आएर पसल गरी बसेका एक व्यवसायीको परिवारमा संक्रमण देखिएपछि उक्त क्षेत्र सिल गरिएको थियो।

त्यसयता स्थानीय व्यवसायीसहित एकै परिवारका पनि धेरै जनामा संक्रमित भेटिएको श्रेष्ठले जानकारी दिए।

महाराजगञ्ज
वडानम्बर ३ स्थित महाराजगञ्ज क्षेत्रमा पनि संक्रमितको संख्या उच्च देखिएको छ। वडाध्यक्ष दीपक केसीका अनुसार वडामा ७४ जना संक्रमित देखिएको छ। जसमध्ये ५ जना निको भइसकेका तथा १३ जना होम आइसोलेसनमा छन्।

अधिकांश संक्रमित यस वडामा त्रिवि शिक्षण अस्पताल, गंगालाल अस्पताल, प्रहरी अस्पताल जस्ता ठूला अस्पतालमा भर्ना भएका व्यक्ति हुन्। अस्पतालमा भएका संक्रमितलाई छाड्ने हो भने वडा अहिलेसम्म सुरक्षित देखिएको केसीले बताए।‘म्यासिभ आउटब्रेक’ हुने खतरा बढ्यो, धेरै मानिस हताहत हुन सक्छन्

डा. प्रभात अधिकारी

‘हाम्रो अध्ययनले भन्छ– काठमाडौंमा म्यासिभ आउटब्रेक भयो भने कुल जनसंख्याको ८० प्रतिशत संक्रमणमा पर्छ र ३ प्रतिशत केस आईसीयूमा जान्छ। नेपालमा अहिलेसम्म २९ हजार संक्रमित भएका छन्, दशैँतिहारसम्म देशैभर एक लाख संक्रमित हुने देखिन्छ।’
अहिले पूरै नेपालमा कोरोनाको संक्रमण एउटै चरणमा छैन। वीरगञ्जमा तेस्रो चरणको अन्तिम र चौथो चरणमा सुरु भइसकेको छ। तेस्रो चरण भनेको सामुदायिक तहको ‘आउटब्रेक’ हो भने चौथो ‘म्यासिभ आउटब्रेक’। यो अन्तिम अवस्था हो। सोही कारण त्यहाँ मृत्युदर बढ्न थालेको छ।

सुरुमा हाम्रो पोजिटिभ केस क्वारेन्टिनमा देखिएको थियो। क्वारेन्टिनमा बस्ने मानिस, विदेशबाट फर्केका, युवा हट्टाकट्टा थिए। केही मृत्यु भएका मानिस रोगी नै थिए। अब भने समुदायस्तरमा संक्रमण फैलियो। त्यहाँ फैलिएपछि युवामात्र भन्ने हुँदैन, दीर्घरोगी, वृद्धवृद्धा सबैलाई भेट्न थाल्यो अनि मृत्युदर बढेको हो।

काठमाडौंमा संक्रमित क्षेत्र, खासगरी तराईबाट आएका मानिसहरुबाट संक्रमण सुरु भएको हो। उहाँहरुले आफ्नो घरपरिवारलाई सार्नुभयो। यो प्रकोपको दोस्रो चरण हो। अहिले त्यसबाट फैलिएर तेस्रो चरणमा पुगेको छ। कतै नगएका मानिसमा संक्रमण देखिएको छ। तर, यहाँ कुन तहको आउटब्रेक भन्ने विषयमा अझै अध्ययन गर्न बाँकी नै छ।

Century masala 2
हिमाली क्षेत्रमा हेर्ने हो भने त्यहाँ संक्रमणको खासै ठूलो जोखिम अहिलेसम्म छैन। त्यसकारण नेपालमा कोरोना संक्रमणको अवस्था हेर्दा प्रकोप फैलिएको क्षेत्र प्रदेश २ हो र काठमाडौँमा तेस्रो चरणको प्रकोप सुरु भएको छ।

वीरगञ्जमा केस पनि बढ्यो र मानिसको मृत्यु पनि बढिरहेको छ। तर अझै ‘फुल फेज’ मा पुगिसकेको छैन। भयानक महामारीको रुप अझै लिइसकेको छैन। तर, काठमाडौंको जनसंख्या र जनघनत्व त्योभन्दा कयौं गुणा बढी छ। हाम्रो अध्ययनले के भन्छ भने काठमाडौंमा ठूलाे प्रकाेप भयो भने कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या संक्रमणमा पर्छ र ३ प्रतिशत केस आईसीयूमा जान्छ।

Bidh Lab
हाम्रा साथीहरुले गरेको अध्ययनअनुसार दशैँतिहारसम्म देशैभर एक लाख संख्या संक्रमित हुने देखिन्छ। अहिलेसम्म नेपालमा जम्मा २९ हजारको हाराहारीमा संक्रमित भएका छन्।

अहिले हामी काठमाडौंमा पनि उच्च जोखिममा छौं। अहिले कतै यात्रा विवरण नभएको घरमै बसेका मानिस पनि संक्रमण भएर अस्पतालको आईसीयूमा आइरहेका छन्। अब भाइरस वरिपरी आयो, कतिपयमा लक्षण नभई सर्‍यो, केहीमा लक्षण पनि देखिन थाल्यो, त्यही भएर हामी उच्च सतर्क हुनैपर्‍यो।

काठमाडौंमा म्यासिभ आउटब्रेक भयो भने सोही आधारमा संक्रमण बढ्ने हो तर, सरकारले आज बुधबार रातीबाट उपत्यकामा निषेधाज्ञा लगाएको छ। अब परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गर्‍यो भने केही दिनमा संक्रमित संख्या ह्वात्तै घट्छ।

संक्रमण बढ्ने घट्नेमा सरकारको नीतिले मुख्य भूमिका खेल्छ। सरकारले महामारीको रोकथामका लागि के गर्छ, जनताले कसरी कार्यान्वयन गर्छन्, सोहीअनुसार केस पनि परिवर्तन हुन्छ।

मुख्य काम– कन्ट्याक्ट ट्रेसिङ
रोकथामको विषय दुईवटा कुरामा निर्भर हुन्छ। परीक्षण गरेर पोजिटिभ जतिलाई आइसोलेसनमा राख्ने। अर्काे, संक्रमितले सम्पर्क गरेका अरु मानिसलाई संक्रमण छ कि छैन पहिले नै पत्ता लगाएर तिनीहरुलाई पनि आइसोलेट गरिदिने। यसलाई कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टिन गर्ने भनिन्छ। यी दुईवटा कुरामा मुख्यरुपमा ध्यान केन्द्रित गर्नुपर्छ।

अहिले हाम्रो परीक्षणमा उल्लेख्य सुधार भएको छ। सुरुमा आरडीटीको पछि लागियो। पीसीआर नै गर्न सकिएन। अहिले पीसीआर निजी संस्थालाई पनि गर्न दिइएको छ। केही समस्या भएपनि पीसीआर परीक्षणको दायरा बढेको चाहिँ छ। त्यहीअनुसार अब आइसोलेसन र होम आइसोलेसनको संख्या पनि बढाउन जरुरी छ।

तर, हामी चुकेको भनेको कन्ट्याक्ट ट्रेसिङमा हो। एकजना संक्रमितले कम्तीमा १० देखि १५ लाई सारिसकेको हुन्छ भन्ने छ। ती मानिसलाई त पत्ता लगाउन सक्नु पर्‍यो नि! एउटा मानिसलाई पोजिटिभ आएको तीन दिन अगाडिदेखि एकहप्ता पछिको कन्ट्याक्ट ट्रेस गर्नुपर्छ। त्यो गर्न नसके उसले अरुलाई सारिरहेको हुन्छ। यसअघि यही कन्ट्याक्ट ट्रेसिङ नभएर हामीले नियन्त्रण गर्न नसकेका हौं। यदि प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ भएन भने भाइरस नियन्त्रण गर्न सकिन्न।

सुरुमा कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम्मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिइएको थियो। तर, त्यसलाई ह्यान्डल गर्न दक्ष जनशक्ति नै दिइएको थिएन। काम गर्ने कार्यविधि बनेको थिएन, पूर्वाधार पनि थिएन।

अहिले फेरि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यो कामको जिम्मा स्थानीय सरकारलाई दिएको छ। तर, स्थानीय सरकारसँग पनि त्यो काम गर्ने दक्ष जनशक्ति, ज्ञान, सीप भएको व्यक्तिको अभाव छ। त्यही भएर कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी भएको छैन। कन्ट्याक्ट ट्रेसिङको लागि अन्तर्वार्ता दिने मानिस खोज्ने त हो। त्यसको लागि एसएलसी वा प्लस टु पास गरेको जुनसुकै व्यक्ति पनि योग्य हुन्छ।

अहिले अत्यावश्यकबाहेकका सरकारी, गैरसरकारी वा अन्य विभिन्न क्षेत्रका शिक्षक, शिक्षिका त त्यत्तिकै बसेका छन्। उनीहरुलाई केही सामान्य ज्ञान दिएर करारमा यो काममा खटाइदिए हुन्छ, ताकि कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनोस्।

तर, जसरी गरेपनि मानिसबाट गर्ने कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुँदैन। दैनिक सयौँको संख्यामा संक्रमण बढिरहेको छ। एकजनालाई ट्रेसिङ गर्न ३-४ घण्टा लाग्छ। दिनमा त्यत्रो गर्न सम्भव पनि छैन। यस्तो बेलामा सरकारले प्रबिधिको सहयोग लिनुपर्छ।

यसमा एउटा मोबाइल एप्स प्रयोग गर्न सकिन्छ। अर्काे सिमकार्डको आधारमा ‘जिओ ट्यापिङ’ गर्न सकिन्छ। अर्काे गृह मन्त्रालयसँग फिंगर प्रिन्टिङ डिभाइस छ, अर्काे सिङ्गापुरमा गरेको जस्तो रिस्ट व्यान्ड (नाडीमा बाँध्ने, बालाजस्तो हुन्छ त्यसमा जीपीएस ट्रयाकिङ गर्न मिल्ने) प्रविधिहरु प्रयोग गर्नुपर्‍यो। मोबाइल एप त सरकारले लञ्च पनि गरेको छ।

त्यसलाई सरकारले नै प्रयोग गरेको देखिँदैन। भएकै कुरा पनि सरकारबाट कार्यान्वयन हुँदैन भने नभएको त कहिले होला? यो सबै प्रविधिको सहयोग नलिएसम्म हामी सफल हुँदैनौँ।

कर उठाउन लकडाउन खोल्दिने, उठेपछि बन्द गर्दिने?
अर्काे कुरा हाम्रो विज्ञहरुको टोलीमा एकखाले डाक्टरलाई मात्र बोलाएर भएन। त्यो टोलीमा जनस्वास्थ्य विज्ञ, डाक्टरहरुमा पनि संक्रामक रोगविज्ञ, इमर्जेन्सी, आईसीयू लगायतका जो फ्रन्ट लाइनमा खटिन्छन्, उनीहरुलाई बोलाउनुपर्‍यो। अनि नर्सहरु पनि चाहिन्छ। फ्रन्टलाइनमा त नर्सहरु बढी खटिन्छन्। यसमा ल्याब विज्ञ पनि राख्नुपर्‍यो। र, फेरि भनौं ‘इन्फरर्मेसन टेक्नोलोजी’ विज्ञ बढी चाहियो।

नेपालमा यो विषयमा ठूलाठूला काम गरेका कम्पनी छन्, उनीहरुबाट सहयोग लिनुपर्‍यो। विज्ञ भनेर सिमित डाक्टरलाई राखेर मात्र केही हुनेवाला छैन।

तयारी कसरी गर्नुपर्छ भने– एउटा लडाइँ गर्न हामीलाई के के चाहिन्छ? हतियार मात्र भएर भएन, सूचना चाहिन्छ, घाइते उपचार गर्ने टोली, खाना खुवाउने टोली लगायतका सबै निकाय हुनुपर्छ। यो लडाइँमा पनि स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायमात्र भएर पुग्दैन। सबै क्षेत्रका विज्ञ चाहिन्छ। अझ पछिल्लो दिन त यो संक्रमणको कारण मानसिक रोग देखिन थालेकोले यसका विज्ञहरुलाई पनि अगाडि सार्नुपर्छ।

अर्काे महत्वपूर्ण कुरा भनेको हाम्रो आर्थिक योजना खोइ त? सरकारले कर उठाउन भनेर लकडाउन खोल्दिने, कर आयो भनेर बन्द गर्दिने? आर्थिक विषयले स्वास्थ्यलाई निर्देशित गर्ने हो कि स्वास्थ्यले आर्थिक विषयलाई? स्वास्थ्यको आवश्यकताअनुसार अर्थतन्त्र निर्माण गर्ने होला, तर यहाँ त्यसो गरिएन अनि नराम्रो भयो।

यसको लागि अर्थतन्त्र त्यसमा पनि स्वास्थ्य अर्थतन्त्र पढेको मानिस ल्याऊँ। जसले स्वास्थ्यलाई प्राथामिकतामा राखोस् र त्यति गर्दागर्दै अर्थतन्त्रलाई कसरी चलायमान गर्न सकिन्छ भनेर आइडिया देओस्। अर्थतन्त्र कसरी चलायमान बनाउने भनेर सरकारले विज्ञहरुलाई सोधेको होला त? कर उठाउन लकडाउन खोल्ने, अनि उठेपछि बन्द गर्ने, कहिले कफ्र्यु लाइदिने, कहिले एक्कासि खोल्दिने त्यस्तो गरेर कहाँ हुन्छ?

राम्रोसँग नियन्त्रण गर्‍यौं भने सय दिनमा सकिने रहेछ भन्ने उदाहरण न्युजिल्याण्डले देखाएको छ। भारत र अमेरिकामा त्यस्तो भएन। भारतमा त लकडाउन गर्दागर्दै केस बढ्यो।

समुदायमा गएपछि लकडाउनले पनि रोक्दैन
यो भाइरस समुदायस्तरमा गएपछि लकडाउन गरेर पनि रोकथाम गर्न सकिँदैन, भारतकै हालत हुन्छ। वीरगञ्जमा त्यही हाल छ। काठमाडौंमा त्यो तहमा पुगेको छैन। त्यो अवस्थामा जानुअगाडि नै निषेधाज्ञा लगाएर राम्रो भयो। जनघनत्व बढी भएको ठाउँमा निषेधाज्ञा लगाएपछि सबै मानिसको गतिविधि ठप्प भएको बेलामा अब समुदायमा गएर परीक्षण गरियोस्।

अब पीसीआर होइन, एलिसा परीक्षण गर्नुपर्छ। रगतमा एन्टीबडी पत्ता लगाउन गरिने परीक्षण एलिसा हो। त्यसबाहेक ‘सेेेेेराे-प्रिभ्यालेन्स स्टडी’ गर्नुपर्छ। यो गर्दा कहाँ भाइरस आइसकेको छ? कहाँ आएको छैन? भाइरस कुन माध्यममा छिरेको छ, थाहा हुन्छ। त्यहीअनुसार मात्र पीसीआर गर्नुपर्‍यो। अनि त्यहाँबाट पहिचान भएका मानिसलाई आइसोलेट गर्न सहज हुन्छ।

यसबाट काठमाडौंजस्तो विशाल जनघनत्व भएको स्थानमा रेड जोन, ग्रिन जोन वा अरेन्ज जोन थाहा हुन्छ। अनि त्यहीभित्र रेड जोनमा रहेका सबैलाई आइसोलेट गरौं। तिनीहरुलाई घुलमिल हुन नदिऔं। ग्रिन जोनका मानिसलाई घुलमिल हुन दिऔं। यो गरेपछि नियन्त्रण हुन्छ।

तर, हामीले काठमाडौंमा बाहिरका मानिसहरुलाई खोलिदिएको छ, काठमाडौंमा कहाँ कहाँ फैलिएको छ, हटस्पट पनि थाहा छैन। मानिस यताउता गर्छ अनि कसरी नियन्त्रण हुन्छ? अबको लकडाउनमा ‘सेेेेेराे-प्रिभ्यालेन्स स्टडी’ पछि पीसीआर गरेर हट जोन पत्ता लगाएर मात्र लकडाउन कसरी खोल्ने भनेर पत्ता लगाउनुपर्छ। देशका सबै ठाउँमा त्यसैगरी गर्नुपर्छ।

अब नियन्त्रण गरिएन भने म्यासिभ आउटब्रेक हुने खतरा रहन्छ। यदि त्यो अवस्थामा पुग्यौं भने धेरै मानिस हताहत हुन्छन्। ‘हर्ड इम्युनिटी’ प्राप्त गर्न अधिकांश मानिस संक्रमित हुनुपर्छ, धेरैको ज्यान जान्छ।

अहिले भाइरस परिवर्तन भइरहेको छ। त्यही भएर अहिलेजस्तै लकडाउन गर्ने, आवश्यक पर्‍यो भने खुलाउने, टेस्टिङ गर्ने गर्नुपर्छ। यो क्रम खोप र प्रभावकारी औषधि नेपालमा नआएसम्म गरिराख्नुपर्छ। नत्र हर्ड इम्युनिटीमा जान दिने जति मानिस मर्छन् मर्न दिने गर्नुपर्‍यो। त्यो नगर्ने हो भने खोप नआएसम्म परीक्षण गरिराख्ने गर्नुपर्छ।

अर्काे कुरा भनेको कहाँ भाइरस लुकेको छ, हटस्पट पहिचान गरेर सावधानी अपनाउनुपर्छ। पहाडी र हिमाली क्षेत्रको मानिस पनि सतर्क हुनुपर्‍यो किनभने, भाइरस त देखिँदैन। लक्षण पनि देखिएको छैन। सिमित समुदायमा पुगेर सिमित उमेर समूह वा रोगीहरुलाई भेटेपछि मात्र झ्याप्प देखिन्छ नत्र त भुसको आगो जस्तो भित्र भित्र सल्कन्छ। त्यो देखिएन भन्दैमा ढुक्क हुनु भएन सतर्क हुनुपर्‍यो।

कहाँ छ राजनीतिक नेतृत्व?
काठमाडौंमा आईसीयू बेड ६ सयको हाराहारीमा होला। भेन्टिलेटर पनि धेरै छैन। ठ्याक्कै तथ्यांक त सरकारसँग होला। एउटा मानिस भेन्टिलेटरमा गएपछि एक दुई हप्ता त त्यहीँ बस्नुपर्छ। भोलिपल्ट अर्काे मानिस आयो, आईसीयू बेड, भेन्टिलेटर भरिए भने अरुलाई उपलब्ध हुँदैन। काठमाडौँमा दिनमा ५० वटा गम्भीर केस मात्र आयो भने पनि व्यवस्थापन गर्न सकिन्न। किनभने दुईतीन दिनमै आईसीयू बेड, भेन्टिलेटर बेड भरिन्छ। त्यसपछि जतिपनि आउने बिरामी हुन्छन्, तीमध्ये जसलाई आईसीयू वा भेन्टिलेटरमा राख्दा बचाउन सकिन्थ्यो, तिनको पनि ज्यान जान्छ।

हाम्रा लागि त्यही नै महामारी बन्छ। अमेरिकाका लागि दिनमा हजार वटा केस सामान्य होला, किनभने उसले ह्यान्डल गर्न सक्छ। त्यो व्यवस्थापन गर्न उसको लागि खासै जोखिमको कुरा भएन। तर, नेपालमा दिनमै ५० वटा केस आउन थाल्यो भने त्यो नै महामारी हो।

त्यसैले महामारीको स्तर हाम्रो स्रोत र साधनको आधारमा निर्धारण गर्ने हो तथ्यांकका आधारमा होइन।

सर्वसाधारणको तहबाट भौतिक दूरी कायम गर्ने, स्यानिटाइज गर्ने, मास्क लगाउने, हात धुने काम जारी राख्नुपर्छ। सकेसम्म चस्मा पनि लगाउन सल्लाह दिन्छु। किनभने भाइरस आँखाबाट जानसक्छ भन्ने देखिएको छ। आफू मात्र होइन छरछिमेकमा कोही शंकास्पद छ भने टेस्ट गराउन लगाउने, आइसोलेसन र क्वारेन्टिनमा बस्न उत्प्रेरित गर्ने, आफ्नो मात्र होइन समाजको समेत ख्याल राख्नुपर्छ।

सरकारले यो समस्याको व्यवस्थापनका लागि पहिलो चरणमा परीक्षण गरेर आइसोलेसन गर्ने, कन्ट्याक्ट ट्रेसिङ गरेर क्वारेन्टिनमा राख्नुपर्छ।

त्यस्तै, विपत आइपरेको ठाउँमा पहिले अक्सिजन पुर्‍याउनुपर्‍यो। आईसीयू र भेन्टिलेटर तयारी राख्नुपर्‍यो। ठूलो संख्यामा आउटब्रेक हुने स्थानमा अक्सिजन प्लान्ट बनाउनुपर्‍यो। बेड संख्या २५ देखि माथिका अस्पतालले अक्सिजन प्लान्ट बनाउनुपर्‍यो। रेमडिसिविर भन्ने जुन औषधि छ, त्यसलाई चाँडोभन्दा चाँडो ल्याएर सर्वसुलभ गराउनुपर्‍यो।

अर्को डेक्सामेथासोन भन्ने औषधि त नेपालकै कम्पनीले बनाउँछ तर, कच्चा पदार्थ सकिन सक्छ। कच्चा पदार्थ भारतदेखि ल्याउनुपर्छ, भारत आफैँ संकटमा छ, नेपालमा किन पठाउँछ? यदि कच्चा पदार्थ भारतबाट नआउने हो भने कहाँबाट ल्याउने हो? चीनबाट हो कि कताबाट, व्यवस्था गर्नुपर्‍यो। कच्चा पदार्थ सकिएर कोभिडको मात्रै होइन ननकोभिडको पनि औषधि सकिनेवाला छ। त्यसमा चनाखो बन्नुपर्छ।

यो लडाइँमा विजय प्राप्त गर्न राजनीतिक इच्छाशक्ति र राजनीतिक प्रतिबद्धता आवश्यक छ। अहिले प्रधानमन्त्रीको ध्यान संक्रमण कसरी नियन्त्रण गर्ने भन्नेमा हुनुपर्ने तर, मन्त्री परिवर्तन गर्ने, कोको सँग बैठक गर्ने भन्नेमा छ।

राजनीतिक नेतृत्वले कोरोना कहाँसम्म फैलियो, औषधि आयो कि आएन, डाक्टरको अवस्था के छ, मानिस कसरी बसेका छन् खोज्नुपर्ने हो कि होइन? उहाँहरुले आवाज उठाउनुभएको छ? यो प्रश्न सत्तापक्ष र प्रतिपक्ष लगायत सबै राजनीतिक पार्टीहरुका लागि हो। यस्तै गर्ने हो भने सबै डाक्टर नर्सहरुले हात झिक्नेवाला छन्।

कन्ट्याक्ट ट्रेसिङ गर्ने, परीक्षण दायरा नबढाएसम्म नेपालमा कोरोना नियन्त्रण हुँदैन। यसमा सरकारले कति प्रभावकारी काम गर्छ, त्यहीअनुसार संक्रमण नियन्त्रण हुने वा नहुने थाहा हुन्छ।

(सागर न्यौपानेसँगको कुराकानीमा आधारित।डा. प्रभात अधिकारी संक्रामक तथा जटिल राेग उपचार विशेषज्ञ हुन्) नेपालखबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *