प्रदेश ५: एक महिलाको मलामी गएका ९० प्रतिशतमा कोरोना, किरिया गराउने पण्डित पनि संक्रमित

भगवती पाण्डे/सेतोपाटी
भदौ ५, बुटवल रूपन्देहीको बुटवलमा एक जना महिलाको मलामी गएका ९० प्रतिशतलाई कोरोनाको संक्रमण देखिएको छ।

साउन १८ गते बुटवल उपमहानगरपालिका- ११ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो।

उनी क्यान्सरको उपचारका लागि अस्पतालमा आएकी थिइन्। मृत्युपछि परिवारले कोरोना परीक्षण गर्न पर्छ कि भनेर सोधेका थिए। किमोथेरापीको क्रममा हृदयघातले मृत्यु भएको भन्दै अस्पतालले कोरोना परीक्षण नगरी पठाइदियो।

सामान्य मृत्युजस्तै ठानेर उनका छिमेकी र नातागोता मलामी गए। उनको दाहसंस्कार गरेर आएको केही दिनमै मृतकका देवरलाई कोरोनाको जस्तै लक्षण देखिए। शंका लागेर जाँच्दा साउन २२ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आयो।

मृतकका देवरमा कोरोना पोजिटिभ देखिएपछि दाहसंस्कारमा सहभागी भएकाहरूले परीक्षण थाले। बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार ती महिलाका देवर नेकपाका स्थानीय कार्यकर्ता हुन्।

केही समयअघि उनी पार्टी कार्यालय पनि आएका थिए। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पार्टी कार्यालय सिल गरिएको थियो।

भट्टराईका अनुसार पछि ती महिलाको मलामी गएकाहरूले पनि परीक्षण गराउन थालेका थिए।

‘अहिलेसम्म ४५ जनाको स्वाब परीक्षण गर्दा ९० प्रतिशतमा कोरोना पोजिटिभ देखिएको छ,’ भट्टराईले सेतोपाटीसँग भने।

मृतक महिलामा कोरोना भएका कारण अरूमा सर्‍यो कि उनका देवरबाट अरूलाई संक्रमण फैलियो भन्ने एकिन भइसकेको छैन। भरतपुर क्यान्सर अस्पतालले ती महिलाको उपचारमा संलग्न चिकित्सक वा अन्य स्वास्थ्यकर्मीमा संक्रमण देखिएको पुष्टि गरेको छैन।

सो घटनापछि बुटवलमा कोरोनाको संक्रमण समुदायस्तरमा भूसको आगोजसरी फैलिएको सरोकारवालाहरूले बताएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बुटवलमा कोरोना संक्रमण समुदायमै पुगिसकेको र यसको नियन्त्रणको लागि एकअर्का बीचको सम्पर्कलाई टुटाउनु पर्ने बताए।

पछिल्लो समय दिनदिनै बढिरहेका संक्रमितले पनि बुटवलमा संक्रमणको क्रम तीव्र छ भन्ने देखाउँछ।

साउन २२ गतेसम्म २७ जनामात्र कोरोना संक्रमित रहेको बुटवलमा १५ दिनमा १ सय १७ जना थपिएर अहिले १ सय ४४ जना पुगेका छन्।

थपिएकामध्ये अधिकांश तीनै मृतक महिलाका आफन्त तथा टोलछिमेक र अन्त्येष्टिमा सहभागी छन्। उनको किरिया गराउने पण्डितलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ।

बुटवलमा फैलिएको संक्रमणको असर छिमेकी पालिका तिलोत्तमा, सैनामैना, देवदह र सिद्धार्थनगरमा पनि परेको छ।

पहिलो चरणको लकडाउनको अवधिमा भारतीय खुल्ला सीमाना बेलहिया हुँदै भारतबाट आएका हजारौं नेपाली र पैदल हिँड्दै आएका मेचीदेखि महाकालीसम्मका मजदुरलाई आश्रय दिएको बुटवलले संक्रमणबाट आफूलाई जोगाएको थियो।

पछिल्लो १५ दिनयता दिनदिनै संक्रमित थपिँदै गएपछि सर्वसाधारण त्रसित बनेका छन्।

बुटवल उपमहामहानगरपालिकाले साउन २९ गतेदेखि घोषणा गरेको लकडाउनपछि सडकमा मानिसको उपस्थिति शुन्य प्राय: छ। उपमहानगरपालिकाले भदौ ७ गतेसम्म लकडाउन जारी राखेको छ।

साउन २२ गतेसम्म जिल्लाभर कुल ३ सय ५० जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी जनसंख्या रहेको र दैनिक मानिसको चाप रहने बुटवलमा जम्मा २७ जना संक्रमित थिए। शुक्रबारसम्म आइपुग्दा भने जिल्लाभर संक्रमितको संख्या ६ सय १० पुग्दा बुटवलमा मात्रै १ सय ४४ पुगेको छ।

बुटवलमा कोरोनाका संक्रमित थपिदै गएपछि आइसोलेसनका बेड भरिएका छन्। अहिले थपिएका संक्रमितलाई घरघरमै सुरक्षित रूपमा बस्न आग्रह गर्दै आएको छ।

होम आइसोलेसनमा बसेका संक्रमितलाई बुटवलका मेयर शिवराज सुवेदीले जटिबुटीसहितको आयुर्वेदिक औषधी र स्वास्थ्यलाभको पत्र बोकेर घरघरमा पुर्‍याइरहेका छन्।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले अस्पताल, भारतीय मजदुर र बैंकमा रहेको नगदबाट बुटवल कोरोना फैलिएको बताइन्।

बुटवल वडा नम्बर १६ मा भेटिएका संक्रमित भरतपुर अस्पतालबाट फर्किएका थिए। त्यस्तै वडा नम्बर १५ मा भेटिएका संक्रमित भारतीय मजदुर हुन्। उपप्रमुख आचार्यले अहिले संक्रमण पुष्टि भएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गर्दै आएको बताइन्। सेतोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *