‘लकडाउन नगरी यसरी मज्जाले नियन्त्रण गर्न सकिन्छ कोरोना’

डा. अर्चना श्रेष्ठ
‘आफन्तको मृत्यु हुँदा १३ दिने काजकिरिया वा बरखी बसेजस्तै हो क्वारेन्टिन। भौतिक दूरी कायम राख्ने भनेको हाम्रो समाजमा रजस्वला हुँदा बार्ने चलन जस्तै हो। अहिले हामी सबैले गर्नुपर्ने ठ्याक्कै त्यही हो।’

अहिलेसम्म कोरोना भाइरस, मानिसबाट मानिसलाई नै सरिरहेको देखिन्छ। त्यसैले यो सर्ने मुख्य माध्यम मानिस नै हो। चीनको वुहानबाट गत वर्ष कोरोना संक्रमण सुरु हुँदा जनावरबाट मानिसमा सरेको भनिएको थियो। तर, अहिलेसम्म यो रोग फैलिएका मुलुकमा मानिसबाट मानिसमै सरेको पाइएको छ।

मुख्यतः दुईवटा अवस्थामा यो भाइरस मानिसबाट मानिसमा सरेको पाइन्छ। हाच्छिउँ गर्दा वा खोक्दा मुखबाट ससाना कण निस्कन्छन्। तिनमा भाइरस हुन्छन्। त्यो अलि गह्रौं हुने भएकाले हावाबाट १ देखि २ मिटरसम्म पुगेपछि खस्छ। ती कणमा मानिसको हात पर्‍यो भने त्यहीँ बस्ने भयो।

कुनै संक्रमित व्यक्ति छेउमा आएर हाच्छिउँ गर्दा, खोक्दा वा बोल्दा निस्किने कणले हाम्रो शरीरमा प्रवेश पायो भने कोरोना संक्रमण हुने सम्भावना बढी हुने भयो। भाइरस भएको ठाउँमा छोएपछि त्यो औंलाले नाक, मुख वा आँखामा छोइयो भने त्यहाँबाट कोरोना भाइरस शरीरभित्र छिर्छ। यी दुई माध्यमबाट कोरोना सरेको पाइएको छ।

त्यसैले मानिसबीच सम्पर्क कम गर्न आवागमनमै रोक लगाउने गरिएको हो। लकडाउनले पनि मानिस–मानिसबीच भेटघाट रोक्छ। कोही संक्रमित छ भने लकडाउन गर्दा ऊ घरभित्रै सीमित हुनेभयो। मानिस–मानिसबीच हुने सबै प्रकारका गतिविधि रोकेर भाइरसलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन नदिने अभिप्रायले यस्तो गरिएको हो।

अब लकडाउन वा निषेधाज्ञा नगरी कसरी संक्रमण रोक्न सकिन्छ भनेर विश्वभर विभिन्न उपाय अपनाइएका छन्, जस्तै: संक्रमित व्यक्ति पहिचान गर्ने, उनीहरूलाई क्वारेन्टिनमा राख्ने र कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरूका सम्पर्कमा आएका व्यक्ति पत्ता लगाउने।

लकडाउन नगरौं, यी दुई काम गरौं
मानिसबीचको सम्पर्कबाट भाइरस फैलिन नदिने हो भने संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका व्यक्तिबाट थप अन्यलाई संक्रमित गर्न नदिने उपाय कन्ट्याक्ट ट्रेसिङ हो। यो राम्रोसँग गर्न सकेका खण्डमा कोरोना नियन्त्रण एकदमै प्रभावकारी हुन्छ। कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमित पत्ता लगाएर अरूमा फैलिन नदिने हो भने लकडाउन वा निषेधाज्ञा आवश्यक पर्दैन।

लकडाउन निरन्तर गरिरहँदा देशको अर्थतन्त्रमा नराम्रो असर पर्न थालिसकेको छ। दैनिक काम गरेर जीविका चलाउने मानिस खान नपाउने अवस्थामा पुगिसकेका छन्। व्यापार व्यवसाय ठप्प भएका छन्। त्यसकारण अब लकडाउन नगर्नेतिर जानुपर्छ।

त्यसका लागि दुईवटा काम गरे पुग्छ।

पहिलो, भीडभाड नगर्ने, भौतिक दूरी राख्ने, कसैले कसैलाई प्रत्यक्ष नछुने, मास्क लगाउने र हात धुने। यसो गरेका खण्डमा संक्रमण निकै कम हुन्छ।

दोस्रो, कति जनालाई त संक्रमण भइसकेको छ। अब जतिसुकै लकडाउन गरे पनि संक्रमित भएका त भइहाले। हामीकहाँ अहिले सबैतिर संक्रमण फैलिइसकेको छ। जो संक्रमित भइसकेका छन्, अब लकडाउन गरे पनि उनीहरूको घरपरिवारभित्र संक्रमण फैलिनबाट रोक्न सकिँदैन।

कुनै व्यक्ति संक्रमित भएको ४८ घण्टाभित्र उसको सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टिनमा राख्न सक्यौं र समुदायमा घुलमिल हुन दिएनौं भने ७० प्रतिशत संक्रमण फैलनबाट रोक्न सक्छौं। यसका लागि लकडाउन गर्नै पर्दैन। संक्रमितको सम्पर्कमा आएकामध्ये शतप्रतिशत होइन, ८० प्रतिशतलाई मात्र समुदायमा घुलमिल गर्नबाट रोक्न सक्यौं भने यो महामारी नियन्त्रण गर्न सकिन्छ।

कोरोना संक्रमण एकबाट दुई, दुईबाट चार, चारबाट आठ हुँदै फैलिने हो। एक जनाले अर्को एक व्यक्तिलाई मात्र सारेका खण्डमा त्यो त्यति ठूलो चुनौती हुँदैन। तर संक्रमित व्यक्ति घुम्न थालेपछि धेरैलाई जोखिम हुन्छ। विश्वभर नै अब केही नयाँ अभ्यास सुरु गरिएको छ। अब हामीले पनि दैनिक केही आनीबानीमा सामान्य परिवर्तन गर्नुपर्ने भएको छ। सबैजना मास्क लगाएर हिँड्ने, हात धुने, भीडमा नजाने गर्नुपर्‍यो। केही समय जात्रा पनि मनाउनु भएन।

हामीले केही दिनअघि काठमाडौंमा कन्ट्याक्ट ट्रेसिङ गरेका थियौं। दरको पार्टी गरेका ठाउँमा संक्रमित रहेछन्। अनि त्यहाँ कोरोना सरेछ। पार्टी नगरेको भए एक जनालाई मात्र लाग्थ्यो। त्यस्ता भीडभाडले कोरोना फैलिन सजिलो बनाउँछ। अनावश्यक मानिससँग नभेट्ने, भेट्दा पनि भौतिक दूरी राखेर कुरा गर्ने, सकभर अरूको सामान प्रयोग नगर्ने, हिँड्दा भर्‍याङको रेलिङ पनि छुनु भएन। सचेतताका लागि यस्ता कुरा समुदायमै फैलाउन जरुरी छ। यस्ता कुरा कडाइसाथ स्वःस्फूर्त कार्यान्वयन गराउन सके लकडाउन वा निषेधाज्ञा चाहिँदैन।

यतिबेला सरकार, स्थानीय तह र प्रदेशले कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिनुपर्ने हो। यसो गर्ने हो भने तत्काल कुनै प्रतिबन्ध (निषेधाज्ञा/लकडाउन) लगाउनै पर्दैन। एउटा संक्रमितबारे थाहा पाउनेबित्तिकै ऊसँगको सम्पर्कमा आएका सबैलाई तुरुन्तै क्वारेन्टिनमा राख्न सक्यौं भने संक्रमण मज्जाले नियन्त्रण गर्न सकिन्छ। तर यो काम चुस्त रूपमा गर्नुपर्‍यो।

म आफैं पनि कन्ट्याक्ट ट्रेसिङमै केन्द्रित भएर काम गरिरहेको छु। कन्ट्याक्ट ट्रेसिङकै आधारमा सार्स, इबोलाको पनि उपचार गरिएको हो। ती रोगमा चाहिँ मानिस थला परे र बाहिर निस्किन गाह्रो भएपछि संक्रमित ठ्याक्कै चिनिए।

तर कति कोरोना संक्रमितमा त लक्षण नै देखिएन। अनि ती मानिस सबैतिर हिँडिराख्ने भए। संक्रमण फैलाउने भए। त्यही भएर चुस्त रूपमा कन्ट्याक्ट ट्रेसिङ गर्ने हो भने यो रोग त झन् छिटो नियन्त्रणमा आउँछ। किनभने यसका संक्रमितमध्ये ८० प्रतिशत सामान्य खालका हुन्छन्। १५ प्रतिशतलाई केही उपचार चाहिने हो भने ५ प्रतिशतलाई मात्र आईसीयू वा भेन्टिलेटर चाहिन्छ।

८० प्रतिशतलाई साधारण रुघाखोकी लागेको जस्तो हुन्छ र आफैं निको हुन्छ। केही गर्नै पर्दैन। १५ प्रतिशतलाई सामान्य लक्षण हुन्छ। उनीहरूले अरूलाई सार्न सक्छन्। तर अरू धेरै जटिलता आउँदैन। धेरै मानिसलाई स्वास्थ्य सेवा नै चाहिँदैन। यसको सबैभन्दा ठूलो जोखिमचाहिँ संक्रमित व्यक्ति सामान्य देखिन्छ। चिनिँदैन। त्यस्ता व्यक्ति हिँडडुल गर्छन् र अरूलाई भाइरस सार्छन्। यो नै ठूलो चुनौती हो। र, त्यसलाई सामना गर्ने मुख्य उपाय कन्ट्याक्ट ट्रेसिङ हो।

स्वअनुशासनमा बसेजस्तै हो क्वारेन्टिन
भौतिक दूरी कायम राख्ने कुरालाई नेपालीको संस्कारसँग जोडेर हेर्नुपर्छ।हामीले क्वारेन्टिन मात्र भनेका छौं। यो शब्दको तात्पर्य नै हामीले राम्रोसँग बुझाउन सकेका छैनौं। यो अवधारणा सर्वसाधारणलाई हाम्रो संस्कृतिसँग जोडेर बुझाउनुपर्छ।क्वारेन्टिन बस्दा, भौतिक दूरी राख्दा के हुन्छ त?

आफन्तको मृत्यु हुँदा १३ दिने काजकिरियामा जसरी अनुशासित भएर बसिन्छ, त्यसैगरी कडाइसाथ स्वअनुशासनमा बसेजस्तै हो क्वारेन्टिन। त्यस्तो अवस्थामा कसैलाई छुँदैनौं। कसैले दिएको खाँदैनौं र कसैको कपडा लगाउँदैनौं। कतै बाहिर निस्कदैनौं। क्वारेन्टिनमा पनि गर्नुपर्ने त्यही हो।

अर्को कुरा, हाम्रो समाजमा रजस्वला हुँदा बार्ने चलन पनि छ। राम्रो त होइन, तर यो चलन अहिलेसम्म हट्न सकेको छैन। त्यो पनि भौतिक दूरी कायम राख्ने उपाय हो। अहिले गर्नुपर्ने ठ्याक्कै त्यही हो। रजस्वला हुँदा घरबाहिर निस्के पनि अरूलाई नछुने गरिन्छ। मानिसको मृत्यु हुँदा १३ दिनसम्म घरमै बसेर बार्ने चलन एक किसिमको क्वारेन्टिन हो।

रजस्वला हुँदा बार्ने चलनचाहिँ भौतिक दूरी कायम गरेजस्तो हो। बाहिर निस्किन हुन्छ, तर मानिससँग टाढाबाट कुरा गर्नुपर्छ। केही सामान किन्न जाँदा पनि टाढाबाट माग्ने, दिँदाखेरी पनि नछुने गरिन्छ। भौतिक दूरी कायम गर्ने भनेको त्यही हो।

हामी कसरी ठूलो महामारीको खतरामा पुग्यौं?
सरकारले कोरोना आइसकेपछि कसरी त्यसलाई नियन्त्रण गर्ने भन्ने प्रस्ट योजनासहित तयारी नगर्दा अहिलेको यो अवस्था आएको हो। ६ महिनादेखि हामीले यसका लागि के के तयारी गर्नुपर्थ्योरु त्यो गरेनौं। हो, नयाँ रोग भएकाले सबै कुरा थाहा हुँदैन। तर, अरू राष्ट्रले के गरेका थिए? हामीले के गर्ने भनेर हाम्रा सरकारी निकायले त्यतिबेलै केही अध्ययन र विश्लेषण गर्न सक्थे।

अहिलेसम्म कोरोनाविरुद्ध खोप आएको छैन। अब यस्तो अवस्थामा जोगिने र संक्रमण फैलन नदिने उपाय अपनाउने हो। कोरोना पोजिटिभ भएको कुरा मानिस आफैंलाई पनि थाहा हुँदैन। त्यही भएर परीक्षण बढाउँदै संक्रमितले सम्पर्क गरेका व्यक्ति पहिचान गर्नुपर्छ। यो भाइरस मानिसबाट मानिसमा मात्रै सर्ने भएकाले उसका वरिपरिका वा सम्पर्कमा पुगेकालाई मात्र सर्न सक्छ। धेरै टाढा खोज्न जान पर्दैन।

तर, त्यो गर्ने गरी हाम्रो स्वास्थ्य टोलीलाई तयार पारिएको छैन। लकडाउन खोल्ने र मानिसलाई निगरानी (स्क्रिनिङ) गर्न सक्ने हो भने प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ।

यसअघि १२० दिन लकडाउन भयो। त्यो जरुरी थियो। हामीले साउन ७ गते लकडाउन खोल्यौं। तर त्यतिबेला गर्नैपर्ने मुख्य काम गरेनौं। त्यही भएर हामी ठूलो महामारीको खतरामा पुग्यौं। अनि काठमाडौंमै फेरि निषेधाज्ञा लगाउनपर्‍यो। अब यो समयलाई प्रभावकारी बनाएर स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट कन्ट्याक्ट ट्रेसिङ गराउनुपर्छ। यही अवधिमा सबै तहमा दक्ष जनशक्ति पुर्‍याउनुपर्‍यो। यतिबेलै त्यो काम सुरु गरिहाल्नुपर्छ।

हामीकहाँ कानुनी समस्या देखाउने र काममा अलमल गर्ने चलन छ। त्यस्ता कुनै समस्या आउन दिन हुँदैन। अर्को यही अवधिमा स्रोत र साधन पनि पर्याप्त रूपमा व्यवस्था गरिहाल्नुपर्‍यो। सबै संरचनाले चुस्त रूपमा काम गर्न सक्ने भयो भनेपछि निषेधाज्ञा खोलेर सामान्य जीवनमा जान सकिन्छ।

अहिलेसम्म समुदायमा तीव्र रूपमा संक्रमण फैलिएको छैन। थोरै हुँदा त व्यवस्थापन गर्न सकिन्छ। तर, जब समुदायमा धेरै संक्रमण बढ्न थाल्छ, तब गम्भीर बिरामीलाई मात्र अस्पताल लगेर सामान्य खालका बिरामीलाई घरमै आफैंले निको पार्नुपर्ने अवस्था आउँछ। अहिलेसम्म नेपालमा ज्यान जाने संक्रमितमध्ये धेरैजसो सुगर, क्यान्सर प्रकृतिका रोगी र अन्य रोगको संक्रमण भएका व्यक्ति हुन्।

हामीकहाँ ६० वर्ष नाघेका नागरिकमा कोरोना संक्रमण फैलिसकेको छैन। त्यही भएर मृत्युदर थोरै छ। वीरगन्ज, विराटनरगमा अस्पतालमा बिरामी राख्ने ठाउँ नै छैन। यो संख्या बढ्न थाल्यो भने व्यवस्थापन गर्न झन् कठिन हुन्छ। त्यसैले संक्रमितको उपचार गर्न छुट्टै कोभिड अस्पताल नै निर्माण गरिहाल्नुपर्छ।

कोरोना संक्रमित भएर आउने बिरामी अस्पतालमा अर्को बिरामीसँग सम्पर्क हुँदा परिस्थिति झन् डरलाग्दो हुन्छ। अरू रोगका बिरामी यसै पनि रोग प्रतिरोधात्मक क्षमता कम भएका हुन्छन्। बिरामी भएपछि अरू रोगसँग लड्ने क्षमता घटेको हुन्छ। त्यसैले निको नहुन्जेलसम्म कोरोना संक्रमितसँग घुलमिल हुनबाट जोगाउनुपर्छ।

यसका लागि दुईवटा काम गर्नुपर्छ। एउटा कोभिडको छुट्टै अस्पताल बनाउनुपर्‍यो। आइसोलेसन पनि कोभिड–डेडिकेटेड बनाउनुपर्‍यो।

सामान्य अस्पतालमा पनि बिरामीको स्क्रिनिङ गरेर मात्रै उपचारमा पठाउनुपर्छ। किनभने अहिले अस्पतालमै बिरामी देखिएका छन्। अप्रेसन गर्न आएका बिरामी कोरोना संक्रमित पर्छ, अनि अप्रेसनमा काम गर्ने ३ जनालाई सर्छ। त्यही भएर कुनै पनि व्यक्ति जेसुकै कारणले, जुनसुकै लक्षण लिएर अस्पताल आएको होस्, उपचारमा लग्नुअगाडि उसको स्क्रिनिङ गराउनुपर्छ।

त्यो भनेको सबैको पीसीआर परीक्षण नै गर्नुपर्छ भन्ने होइन। त्यो व्यक्तिमा कोरोना संक्रमणको सम्भावना कति छ भनेर हेर्ने हो। बिरामीलाई ज्वरो आए पनि पेट दुखेर आएको भन्यो भने त्यस्तो बिरामीलाई होसियारपूर्वक हेर्नुपर्‍यो।

अस्पतालमा छिरिसकेपछि त उसले एकैपटक धेरै जनालाई सार्ने खतरा हुन्छ। अमेरिकामा ४० प्रतिशत त अस्पताल, नर्सिङ होमहरुबाट सरेको छ। त्यही भएर नेपालमा कोरोना भइसकेका व्यक्तिलाई राख्ने र उपचार गर्ने ठाउँ छुट्टै बनाउनुपर्‍यो। कुनै पनि देशमा प्रभावकारी स्वास्थ्य प्रणालीको विकास हुन वर्षौंको मेहनत चाहिन्छ। कुनै पनि रोग नियन्त्रण गर्न समय लाग्छ।

चार महिना लकडाउन भएका बेला द्रूत गतिमा काम गर्नुपर्थ्यो। त्यो भएन। अन्योल पनि थियो। नयाँ समस्या कसरी सम्हाल्ने भनेर विश्लेषण हुन सकेन। अमेरिकाले सामान्य रूपमा लिँदा त्यहाँ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ। अर्को हाम्रो स्वास्थ्य प्रणाली यति झन्झटिलो छ कि नयाँ रोग आएपछि त्यसलाई यसरी समाधान गर्नुपर्छ भनेर द्रुत गतिमा काम गर्नै सकिँदैन।

नयाँ संविधान बनेपछि देशमा छिटो आर्थिक वृद्धि हुन्छ भनेर देश संघीयतामा गयो। यो एकदम राम्रो हो। तर स्वास्थ्य प्रणालीचाहिँ संक्रमणकालीन राजनीतिक अवस्थाको चपेटामा पर्‍यो। त्यसबारे कुनै प्रस्टतै भएन। पहिला सबै हेल्थपोस्ट र सब–हेल्थपोस्ट स्वास्थ्य मन्त्रालयअन्तर्गत थिए। स्वास्थ्य विभागले पत्र काट्नेबित्तिकै एकैपटक तलैसम्म सूचना पुग्थ्यो र निर्देशन दिन पनि सजिलो हुन्थ्यो।

अहिले स्वास्थ्य संस्था संघीय सरकारको मातहतमा छन्। कुनै अस्पताल वा ल्याब प्रदेशमातहतमा छन्। प्रदेश सरकारले काम गर्नुपहिले संघीय स्वास्थ्यमन्त्रीको अनुमति लिनुपर्छ। फेरि संघीय मामिलालाई चिठ्ठी लेख्नुपर्छ। तल्लो तहसम्म निर्देशन वा सूचना पुर्‍याउन समय लाग्ने र झन्झटिलो भएको छ।

स्थानीय तह वा प्रदेशले आफैं गर्न पाउने कामका लागि पनि जनशक्ति नै छैनन्। जनशक्ति नभएपछि काम प्रभावकारी हुने कुरै भएन। राम्रो प्रणाली नहुँदा काम गर्न खोजेपनि प्रभावकारी हुनै सकेन। यी कुराहरु सुधार गरेर तीनै तहमा कोरोना संक्रमणसम्बन्धी कामलाई विशेष प्राथमिकता दिनैपर्छ।

जनचेतना फैलाउने र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने हो भने अहिले लकडाउन वा निषेधाज्ञा लगाउनै पर्दैन। दूरी कायम गर्ने, सुरक्षा विधि अपनाउनेलगायत अनुशासन कायम गरी उद्योग, कलकारखाना पनि चलाउन सकिन्छ।

(जनस्वास्थ्य विज्ञ तथा काठमाडौं विश्वविद्यालयकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठसँग नेपालखबरका सागर न्यौपानेले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *