यस्तो छ कोरानो संक्रमित नर्सको मार्मिक अनुभव [नालीबेली]

विश्वास खड्काथोकी/अनलाइनखबर
८ भदौ, काठमाडौं । ‘हामीलाई विचरा नलेखिदिनुस् । संक्रमितलाई विचराका रुपमा प्रचार नगरिदिनुहोला’, कुराकानीको अन्त्यमा स्टाफ नर्स रञ्जिताले भनेकी थिइन् ।

पक्कै पनि कोरोनाले दुनियाँलाई आक्रान्त बनाएका बेला ज्यानलाई धरापमा राखेर विरामीको उपचारमा खटिनेहरु विचरा होइनन् । रञ्जिताभित्र कायरताले बास गरेको हुँदो हो त आफ्नो परिवारले भने जसरी उनले खुरुक्क जागिरबाट हात धुन्थिन् । र, यतिबेला आइसोलेसनमा कोरोना संक्रमणसँग लडिरहेको अवस्थामा भेटिँदैनथिन्, सायद ।

रञ्जिता कोरोना संक्रमित भएर आइसोलेसनमा पुगेपछि पनि चुप रहन सकिनन् । संक्रमणको भयले गलिरहेका बेला संक्रमितलाई मानिसहरुले गर्ने विभेदको पराकाष्टाले उनलाई उद्वेलित बनाएको थियो । आफ्नै परिवारलाई सम्झाउन गाह्रो परिरहेका बेला संक्रमितको परिवारलाई समाजले नाकाबन्दी गरेका खबरले उनको मन कुँडाएको थियो ।

त्यसैले त आइसोलेसनमा पुगेको भोलिपल्टै आफ्नो परिचय लुकाएर होइन, थप साहस जुटाएर लेखेको स्टाटस रञ्जिताको प्रोफाइलमा झुल्कियो :

मलाई थाहा थियो कुनै दिन म कोरोनाको शिकार हुनेछु भनेर । तर पनि मैले कहिल्यै जागिर छोड्ने मनसाय राखिनँ । म पछि हटे कसले सेवा गर्नेछ ! मेरो देशमा लासको हिमाल बन्न समय नलाग्न सक्छ । त्यो म हेर्न सक्दिनँ । त्यो लाशको थुप्रोमा मेरो, तपाईको, कसै न कसैको प्रा‍ण जोडिएको हुन्छ । यही सोचले म कुनै दिन अस्पताल जान छोडिनँ । कुनै बिरामीको सेवामा घीन मानिनँ । आज म संक्रमित भएर बसेको छु । तर, त्यही समाजले मेरो परिवारलाई बारम्बार सिल्डको धम्की किन दिन्छ ? किन घरमा प्रहरी पठाउँछ ? किन पहिले नै छोरीलाई जागिर छोड्न नलगाएको भनेर धम्की दिन्छ ? वाह ! समाजको दायित्व । भोलि हजुरलाई कोरोना लागेपछि सहयोगका लागि कहाँ जानुहुन्छ । आफ्नो परिवारलाई कहाँ लगेर लुकाउनुहुन्छ ? अब म कुन मुखले बाबालाई भनँु फेरि अस्पताल जान्छु भनेर ? (स्टाटसको सम्पादित अंश)

तनाव व्यवस्थापनको बाटो खोजिरहेकी रञ्जिताको दिमागमा जन्मिएका यी अस्वाभाविक प्रश्न विवेकशील मानिसको मथिंगल रन्थन्याउन काफी छन् । र, प्रश्नभित्रै समाज सचेतनाको धारणा व्यक्त छन् ।

‘मैले कुनै गल्ती नै गरेको छैन भने किन आफ्नो परिचय लुकाउनु ?’, स्टाटसबारे रञ्जिताले खुल्छिन्, ‘मैले निश्चित कुनै व्यक्तिको आलोचना गर्नुभन्दा पनि जनप्रतिनिधिहरुप्रति प्रश्न उठाउँदै जिम्मेवार बन्न आग्रह गरेकी हुँ । संक्रमितलाई नराम्रो होइन कि आत्मबल बढाउन माया र प्रेरणा दिनुपर्छ भनेकी हुँ । सानो उदाहरण मात्र बन्न खोजेको हुँ ।’

****
२७ वर्षीया रञ्जिताले भरतपुर सेन्ट्रल हस्पिटलमा जागिर शुरु गरेको चार महिना नपुग्दै विश्वव्यापीरुपमा कोरोना भाइरसको सन्त्रास भुसको आगो जसरी फैलिएको थियो ।

विश्वका अति विकसित मुलुकले नै कोरोनाको लक्षण र उपचारबारे अनुसन्धान गरिरहेका बेला नेपालका स्वास्थ्यकर्मीलाई भयले छपक्क ढाक्नु नौलो कुरा थिएन ।

युरोपेली मुलुकमा कोरोनाले ज्यान गुमाएकाहरुको शवको थुप्रो समुन्द्रको किनार र खाल्डोमा हालेका दृश्यले रञ्जिताको आङ सिरिङ्ग पार्थ्यो । ‘कोरोनाको साइड इफेक्ट, यसका लक्षण, घटनाक्रम र मृत्यूबारे इन्टरनेटबाट अपडेट भइरहेकी थिएँ,’ रञ्जिता भन्छिन्, ‘सामाजिक सञ्जालमा आएका अनेक अफवाहले त झन् सास फुलेर आउँथ्यो ।’

रञ्जिता नर्सिङ इन्चार्ज भएकाले पनि हस्पिटलमा स्वास्थ्यकर्मीको ड्युटी व्यवस्थापनमा थप समय खर्चिनुपरेको थियो । नेपाललाई पनि कोरोनाको संक्रमणले छुन थालेपछि स्टाफ घटाएर काम गर्ने नीति अवलम्वन गरेको थियो अस्पतालले । उता, डराएका बा–आमाले माया जोडेर रञ्जितालाई भन्न थालेका थिए, ‘आफ्नो ज्यान जोखिममा राखेर गर्ने काममा जान छोडिहाल ।’ तर, उनी न अस्पताल जान छोडिन्, न बा–आमालाई सम्झाउन ।

उनले संक्रमित भएपछि बुझिन् कि कोरोनासँग लड्नका लागि शारीरिक स्वास्थ्यभन्दा बढी मानसिक स्वास्थ्यलाई बलियो बनाउनुपर्दोरहेछ । ‘ध्यान गर्ने, संगीत सुन्ने र उत्प्रेरक प्रवचनहरु सुनेर आफ्नो दिमाग डाइभर्ट गर्छु’, उनले भनिन् ।
उनी बिहानै छ बजे अस्पताल पुगिसक्थिन् । एक बजेसम्म ड्युटीमै खटिनुपर्थ्यो । हाडजोर्नी, पेट, नाक कान घाँटीलगायतका बिरामी अस्पतालमा आउँथे । उनी भन्छिन्, ‘सुरुमा बिरामी आएपछि हामीले आइसोलेट गरेर राखेर पीसीआर टेस्ट गर्थ्यौं । नेगेटिभ रिपोर्ट आएपछि मात्र वार्डमा उपचार हुन्थ्यो ।’

ड्युटी सकिएपछि पनि अन्य व्यवस्थापनको कामले रञ्जितालाई थप दुई–चारघण्टा अल्झाउँथ्यो । बिहानको खाजा–खाना सधैं अस्पतालको क्यान्टिनमै हुन्थ्यो । ‘म एक स्टेपपछि हटेपछि र मजस्तै अरु सबै पछि हटेपछि फ्रन्टलाइनमा को आउँछ त भन्ने प्रश्न आफैंभित्र उब्जिन्थ्यो’, रञ्जिता भन्छिन्, साथीहरु पनि त्रासमा त थिए । तर, हामीले राम्रो आस्थामा मात्र ड्युटी गर्ने होइन । देश र स्वास्थ्य क्षेत्रलाई भार परेका बेला हामी ब्याक हुनुहुन्न भनेर एक अर्कालाई हौसला बाँड्दै काम गरिरह्यौँ ।’

रञ्जिता साँझ मात्र घर पुग्थिन् । सबैभन्दा माथिल्लो तलामा उनको कोठा थियो । आमाले खाना तयार पारेर कोठामै ल्याइदिन्थिन् । रञ्जिता भन्छिन्, ‘पहिलेदेखि नै म बुवाआमाहरुसँग दुरी कायम गरेर बसेकी थिएँ । हाम्रो त्यति धेरै भेट पनि हुँदैनथ्यो ।’

तर पनि रञ्जिताले अस्पताल नजानका लागि परिवारबाट दबाव आइ नै रहेको थियो । ‘कोरोनाका कारण मानिसहरु मरिरहेका थिए । त्यसको डर चिन्ता त छँदै थियो’, उनी भन्छिन्, ‘महारामारीको चिन्ताभन्दा स्वास्थ्यकर्मीको पनि केही कर्तव्य छ भन्ने भएर होला उपचारबाट पछि हट्दिनँ भन्ने ममा सोच आएको ।’

यद्यपि रञ्जिताले उपचारका क्रममा कोरोनाका बिरामीलाई बिरलै भेटेकी थिइन् । सिकिस्त नभइकन अस्पताल नआउने भएकाले पनि बिरामीको चाप कम थियो ।

व्यवस्थापनसँग कुरा गरेर सावधानीका पर्याप्त सामग्री लगाएरै उपचारमा खटिएका थिए स्वास्थ्यकर्मीहरु । र, पनि उनको अस्पतालभित्र कोरोना छिरिछाड्यो । स्वास्थ्यकर्मी संक्रमित भए ।

त्यसपछि अस्पतालका सबै कर्मचारीको स्वाब संकलन गरियो । स्वाब संकलनपछि रञ्जिता घर नगई अस्पताल छेउकै होटलमा कोठा लिएर बसिन् । तर, पीसीआरको रिपोर्ट आउन तीन दिन लाग्यो । १८ अगस्टमा आएको रिपोर्टमा तीनजना स्टाफ नर्ससहित पाँचजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखियो । जसमध्येकी एक थिइन् – रञ्जिता ।

रञ्जिताले रिपोर्ट हातमा लिएपछि केही सोच्नै सकिनन् । मानौँ कि उनले समाएको कोरोना संक्रमणको रिपोर्ट नभएर आफ्नै मृत्युको सूचना हो । अब के गर्ने ? उनको दिमागले केही निर्णय दिएन । उनी भन्छिन्, ‘त्यतिबेला ममा के भएको थियो त्यो वर्णन नै गर्न सक्दिनँ ।’

उनले आफ्नो परिवार सम्झिइन् । अब यो खबर परिवारलाई कसरी सुनाउने ? हिजो यही दिन नआओस् भनेर अस्पताल नजाऊ भन्ने बाआमालाई आफू संक्रमित भएको सूचना कसरी दिने ? रञ्जिताको मुटुको ढुकढुकी झन् बढ्यो ।

‘दश मिनेटजति शान्त रहेर सोचेँ’ उनी भन्छिन्, ‘अरुबाट थाहा पाउँदा उहाँहरुलाई झन कति असर गर्ला भनेर आफैंले फोन गर्ने निर्णय गरेँ ।’

पहिला रञ्जिताले भाइसम्म खबर पुर्‍याइन् र बा आमालाई सम्झाउन भनिन् । लगत्तै आमालाई फोन गरिन्, ‘म एकदमै ठीक छु, केही हुँदैन, केही चिन्ता लिनुपर्दैन । चाँडै हजुरहरु भएको ठाउँमा आइपुग्छु, बरु बाबालाई पनि सम्झाइदिनुहोला ।’

छोरीको यो अप्रत्याशित खबरले रञ्जिताकी आमाको अनुहार अध्यारियो । आँशु खस्न थाले ।

रञ्जिता सुनाउँछिन्, ‘त्यसपछि आमा बाबा एकदमै डराउनुभयो । एक्लोपनको अनुभुति गर्नुभयो ।’

रञ्जिता भने त्यही दिन आफ्नै अस्पतालको आइसोलेसनमा पुगिन् । एकदिन घरमा बस्दा पनि छट्पटिएर शनिबारसमेत अस्पताल पुग्ने रञ्जितालाई अब दुई कुराले पिरोल्न थाले ।

एउटा कोरोनाको डर । अर्को एक्लोपन ।

‘सुरुमा निकै सास बढेको थियो । आत्तिएँ पनि । तर, त्यहीबेला स्टाफ नर्सको पढाइ सकेपछि फ्लोरेन्स नाइटिङ्गेलको तस्वीर अघि मैनबत्ती समाएर खाएको बाँचा सम्झिएँ ।

त्यतिबेला जे परी आए पनि पाइलाहरु डग्मगाउन दिँदैनौँ भन्ने बाचा गरेका थियौँ’, रञ्जिताले भनिन्, ‘अनि लाग्यो, हामी बाचाअनुरुप हिँड्नुपर्छ र मेरो कर्तव्य भनेकै सेवा गर्ने हो । त्यसले मभित्र पोजेटिभ तरंग ल्याइदियो ।’

उनले संक्रमित भएपछि बुझिन् कि कोरोनासँग लड्नका लागि शारीरिक स्वास्थ्यभन्दा बढी मानसिक स्वास्थ्यलाई बलियो बनाउनुपर्दोरहेछ । ‘ध्यान गर्ने, संगीत सुन्ने र उत्प्रेरक प्रवचनहरु सुनेर आफ्नो दिमाग डाइभर्ट गर्छु’, उनले भनिन्, ‘यदि केही गर्न मन लागेन भने स्लो म्युजिक सुनेर कोठाको वल्लो पर्खालदेखि पल्लो पर्खालसम्म डुलिरहन्छु ।’

अझै पनि उनका बाबा आमा भने सम्हालिसकेका छैनन् । स्थानीय तहले चासो नदेखाउँदा र समाजले विभेदको आँखाले हेर्दा झन् एक्लोपनको अनुभूति गरेका छन् ।

रञ्जिता भन्छिन्, ‘मैले दैनिकरुपमा बा–आमालाई सम्झाउनुपरेको छ । केही गरी खोकी लाग्ला रोकेर उहाँहरुसँग बोलिरहेकी हुन्छु ।’

उनी आइसोलेसनमा बस्न थालेको सातौं दिन भइसकेको छ । रक्तचाप (बीपी) जाँच्ने सेट र थर्मोमिटर आफैसँग राखेकी छिन् । हरेक दिन आफैं बीपी र ज्वरो नाप्छिन् ।

बिहान–बिहान स्वास–प्रश्वासको व्यायाम गर्छिन् । मोबाइल र शारीरिक व्यायाममा उनको दिन बित्छ । युट्युबमा सन्दीप महेश्वरीको प्रवचनले उनको आत्मबल बढाउन मद्दत गरेको छ ।

दुईवटै खुट्टा नहुनेहरुले पनि कसरी सफलता हासिल गरेका होलान्, म पनि यस्तै साहसी बन्न पाए हुन्थ्यो नि ! तिनै मोटिभेसनल स्पिचहरुले उनको दिमागमा यस्ता विचार आउँछन् । उनी भन्छिन्, ‘अहिले त म बिरामी होइन, एउटा सर्भाइबर मात्र हुँ जस्तो लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *