‘ह्याकर’ ऐश्वर्या

अनुषा अधिकारी/सेतोपाटी
काठमाडौं, भदौ ८ ऐश्वर्या केसीलाई सानैदेखि कम्प्युटर मन पर्थ्यो। चलाउन नआए पनि अनेकौं किताब हेर्दै सिक्न खोज्थिन्।

कक्षा ६ मा स्कुलले नै कम्प्युटर विषय पढाउन थालेपछि उनलाई यसबारे झनै चासो बढ्न थाल्यो। बिस्तारै उनको रूचि कम्प्युटर गेमिङतिर मोडियो। गेमका लागि कोडहरू कसरी प्रयोग गर्ने भनेर सिक्दै गइन्। यसरी गेमिङ हुँदै कम्प्युटर कोडिङमा लागेकी उनी अहिले एक ‘ह्याकर’ हुन्।

काठमाडौंकी २४ वर्षीया ऐश्वर्या नेपालका थोरै संख्यामा पर्ने महिला ह्याकरमध्ये एक हुन्। करिब तीन वर्षदेखि ह्याकिङमा लागेकी उनी अहिले एक बैंकका लागि काम गरिरहेकी छन्। बैंकको सिस्टम सर्भर, नेटवर्क, वेब एप्लिकेसन र डाटाहरू बाहिरी ह्याकरबाट बचाउनु उनको जिम्मेवारी हो।

कुुनै पनि अनलाइन साइटको पूर्वाधारमा आउने जोखिमबाट बचाउने र भविष्यमा त्यो घटना फेरि हुन नदिन त्यसबारे अध्ययन गर्ने काम हुन्छ ह्याकरको। यो दुई किसिमको हुन्छ– इथिकल ह्याकिङ र अनइथिकल।

अनुमति लिएर गर्नेलाई इथिकल ह्याकिङ भनिन्छ भने कसैको स्वीकृति बिना व्यक्तिगत वा व्यवसायिक डाटा चोर्न खोज्नुलाई अनइथिकल ह्याकिङ भनिन्छ।

इथिकल ह्याकिङमा कम्पनीले स्वयम् ह्याकर राखेका हुन्छन्। ताकि सबै जानकारी सुरक्षित राख्न सकियोस्। ऐश्वर्या इथिकल ह्याकिङका तिनै कर्तव्य पूरा गर्छिन्।

एक महिला ह्याकर हुनु हाम्रो समाजका लागि आज पनि नौलो विषय हुन सक्छ। तर उनका लागि सानैदेखिको सपना पूरा हुनु हो।

‘घरको वाइफाइ बिग्रियोस् मा अन्य सामग्री, बनाउन मै अघिअघि सर्थेँ,’ उनले सम्झिँदै भनिन्, ‘मेरो रूचि देखेर त परिवारले आफ्नो मोबाइल बिग्रियो भने पनि मलाई नै बनाउन दिनुहुन्थ्यो।’

रूचि भए पनि ऐश्वर्यालाई यसमै भविष्य कसरी बनाउने भन्ने अलमल थियो। कोडिङका लागि छुट्टै पढाइ हुन्छ भन्ने उनलाई थाहा थिएन। १२ कक्षा पढेपछि आइटी विषय पढेर धेरै काम गर्ने अवसर पाइन्छ भन्ने थाहा पाइन्। बल्ल उनको अलमल सुल्झियो।

२०७२ सालमा उनी इस्लिङ्टन कलेजमा ‘नेटवर्क र आइटी सेक्युरिटी’मा स्नातक गर्न भर्ना भइन्। स्नातकको दोस्रो वर्षमा उनी कलेजको आइटी डिपार्टमेन्टमा इन्टर्नका रूपमा काम गर्न थालिन्।

बिस्तारै एक साइबर सेक्युरिटी कम्पनी हुँदै अहिले उनी बैंकका लागि इथिकल ह्याकरका रूपमा काम गरिरहेकी छन्।

ऐश्वर्याका अनुसार साइबर सेक्युरिटीभित्र पनि थुप्रै विधा हुन्छन्। जस्तै, नेटवर्क सेक्युरिटी, मोबाइल सेक्युरिटी र वेब एप्लिकेसन सेक्युरिटी। ऐश्वर्याको काम वेब एप्लिकेसन सेक्युरिटी हो।

‘यो केही वर्षमै सिक्न सकिने काम होइन। हरेक पटक काम गरेपछि नयाँ कुरा सिक्न पाइन्छ,’ उनले भनिन्, ‘ह्याकिङ किताबमा रहेको कुराभन्दा धेरै ठूलो छ। त्यसैले यहाँ डिग्री लिएर मात्र हुँदैन। कामको अनुभवले धेरै महत्व राख्छ।’

ह्याकिङ जसले पनि गर्न नसक्नुको कारण यही हो। यो क्षेत्रमा काम गर्न सक्नेलाई धेरै अवसर छन्। नेपालको सन्दर्भमा साइबर सेक्युरिटीबारे बैंकहरू बढी सचेत रहेको देखिन्छ। यही कारण बैंक र थुप्रै सेक्युरिटी कम्पनीले ह्याकरलाई काम दिइरहेका उनले जानकारी दिइन्।

यसबाहेक ह्याकरले थुप्रै ह्याकिङ प्रतिस्पर्धामा भाग लिन सक्छन् जसबाट बाहिरी देश पनि घुम्न पाइन्छ। सन् २०१९ मा गुगलले आयोजना गरेको ‘गुगल सि.टि.एफ २०१९’ नामक ह्याकिङ प्रतिस्पर्धामा ऐश्वर्या पनि चुनिएकी थिइन्। त्यस क्रममा उनले लन्डन घुम्ने अवसर पाइन्।

युवामाझ ह्याकरलाई ‘कुल’ रूपमा हेरिने भएकाले ह्याकिङ धेरैको आकर्षणमा पर्न थालेको छ। ह्याकर शब्दबाट आकर्षित भएरै यतातिर लाग्ने युवा संख्या धेरै भए पनि बाहिरबाट हेर्दा जति ‘कुल’ देखिन्छ, काम गर्दा उत्तिकै गम्भीर हुनुपर्ने ऐश्वर्या बताउँछिन्।

‘इन्टरनेटमा ग्राहकको व्यक्तिगत डाटा चोरी हुने सम्भावना धेरै हुन्छ। कसैले जथाभावी प्रयोग गर्ने डर पनि। यसले कम्पनीलाई आर्थिक रूपमा मात्र घाटा नभई, बदनाम हुन सक्छ। सानो गल्तीले कम्पनीसहित ठूलो संख्यामा ग्राहकलाई असर पुग्न सक्छ,’ उनले भनिन्।

त्यस्तै ह्याकर भएपछि दिनरात नभनी खटिनु पर्ने उनको भनाइ छ। तै पनि आफूलाई मन पर्ने काम भएकाले उनी निकै रमाउँछिन्।

यो काममा ‘सफ्टवेयर बग’ फेला पार्न सकियो भने सबभन्दा खुसी लाग्ने उनले बताइन्। सफ्टवेयर बग कम्प्युटर प्रोगाममा हुने त्रुटिलाई भनिन्छ, जुन प्रोगामको डिजाइन वा स्रोतमा हुने गल्तीका कारण उत्पन्न हुन्छ।

यी बग फेला पार्नु एक ह्याकरका लागि ठूलो कुरा हुन्छ। ऐश्वर्याका अनुसार इन्टरनेटमा अनलाइन व्यवसाय वा सुरक्षामा कयौं कमजोरी भेटिन्छन्। ती त्रुटिको दुरुपयोग नगरी आधिकारिक रुपमा खुलासा गरेर सावधान गराउनु एक इथिकल ह्याकरको जिम्मेवारी हुन्छ। यस्ता बग भेटाएबापत ह्याकरलाई पुरस्कृत गरिन्छ।

अहिले विश्व नै डिजिटल भइरहेका समयमा यस्ता थुप्रै अनलाइन जोखिम बढ्दै गएको ऐश्वर्या बताउँछिन्। अहिलेको अवस्थामा सबैजना इन्टरनेटमै संलग्न छन्। यसले गर्दा हाम्रो व्यक्तिगत जानकारी पनि डिजिटल भएको छ।

‘यस्तो बेला आफ्नो सुरक्षाका बारेमा सचेत रहन निकै जरुरी छ,’ उनी सुझाउँछिन्, ‘हामीले जस्तोसुकै लिंक खोल्नु हुँदैन। एउटै पासवर्ड धेरै एकाउन्टमा प्रयोग गर्नु हुँदैन। सार्वजनिक वाइफाइ प्रयोग गर्नु हुँदैन। कुनै पनि एप्लिकेसन खोल्नुअघि त्यो बारेमा बुझ्नु पर्छ। केही भएर आफ्नो इमेलमा कुनै पनि अनलाइन एकाउन्ट ह्याक भयो भने पासवर्ड परिवर्तन गरिहाल्नु पर्छ।’

साइबर सेक्युरिटीमा बढ्दै गएको जोखिमबाहेक ऐश्वर्यालाई नेपाली ह्याकिङ क्षेत्रमा महिलाको संलग्नता निकै कम रहेको कुराले पनि पिरोल्छ। विश्वव्यापी साइबर सुरक्षामा महिलाको प्रतिनिधित्व २० प्रतिशत मात्रै रहेका बेला नेपालमा महिला ह्याकरको संख्या औंलामा गन्न मिल्ने छ।

‘पहिलो कुरा त यहाँ आइटी विषय पढ्ने केटीको संख्या नै थोरै छ। म आफैं कलेज पढ्दा कक्षामा मसहित दुई-तीनजना मात्र केटी थियौं,’ ऐश्वर्या भन्छिन्, ‘कलेजमा इन्टर्न गर्दा म एक्लै थिएँ। अहिले काम गर्ने ठाउँमा पनि एक्ली महिला ह्याकर हो।’

उनलाई एक्लै केटी भएर काम गर्न कहिल्यै अप्ठ्यारो लागेन। बरू केटाहरू उल्टै उनलाई देखेर अच्चम मान्थे रे।

एकपटक उनी आफ्ना एक पुरुष सहकर्मीसँग काममा जाँदा उनलाई बेवस्ता गरेछन्। आफ्ना अर्का सहकर्मीसँग मात्र बोल्न खोजे। यस्तो अनुभव उनका लागि अचेल सामान्य भइसक्यो। काम गर्दै गएपछि मात्र मान्छेले उनलाई बुझ्छन्।

‘सुरूमा भेट्ने मान्छेले केटी देखेर कामबारे बोल्न नखोज्ने घटना अचेल केही लाग्दैन,’ उनले सुनाइन्, ‘यो क्षेत्रमा ह्याकरका रूपमा महिला आकृति सोच्नु परको कुरा, महिला ह्याकरले काम पाउन पनि आफ्नो क्षमताको विश्वास दिलाउनु पर्छ।’

उनलाई प्रायःले ह्याकर मात्र नभनी ‘लेडी ह्याकर’ भनेर संबोधन गर्छन्, जुन उनलाई चित्त बुझ्दैन।

‘ह्याकरलाई ह्याकरै भनेर चिनिन्छ। केटीका लागि अगाडि छुटै ‘लेडी’ शब्द किन आउनु पर्ने?,’ उनी प्रश्न गर्छिन्, ‘अचेल त मैले प्रतिवाद गर्नै छाडीसकेँ। बुझ्नेले यसै बुझिहाल्छन्, नबुझ्नेका अगाडि हाँसेरै टारिदिन्छु।’

अब उनको उद्देश्य नेपालको प्रविधि क्षेत्रमा महिलाको सहभागीता बढाउनु बनेको छ। अनलाइन कार्यक्रम सञ्चालन गरी यस क्षेत्रबारे ज्ञान नभएका वा भर्खर सिक्न थालेका किशोरीलाई सहज पारिदिने काम उनी गर्छिन्।

‘सुरूमा केही महिला आफैं प्रविधि विषय गाह्रो हुन्छ भनेर पढ्न खोज्दैनन्। त्यो गलत हो,’ उनले भनिन्, ‘केटाले पढ्न र गर्न सक्ने कुरा केटीले पनि गर्न सक्छन्। अलिकति चासो र इन्टरनेटमा खोजबिन गर्न सकियो भने यहाँ धेरै अवसर पाउन सकिन्छ।’ सेतोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *