घरबाट निस्कँदा एउटै डरले सताइरन्छ-५ वर्षको छोरा भेट्न पाउँदिन कि ?

सुनिता अर्याल

म स्वास्थ्यकर्ममा लागेको ५ वर्ष बढी हुन लाग्यो। यसबीचमा निकै उतारचढाव आए। कठिन परिस्थितिलाई पनि सहज बनाएर अघि बढिरहेँ।

स्वास्थ्यकर्मको बाध्यता र हाम्रो जिम्मेवारीलाई राम्ररी बुझेको थिएँ मैले, र छु पनि। अस्पतालमा काम गरिरहँदा थुप्रै पटक व्यक्तिगत चाहना र अवसरलाई त्यतिकै माया मारेर बिरामीहरुको सेवामा समर्पित भइयो। जस्तोसुकै बाधालाई पन्छाएर जिम्मेवारी पूरा गर्छु भन्ने प्रतिबद्धता मैले आफूलाई गरेको थिएँ। तर, अहिलेको परिस्थिति मेरो बसमा रहेन।

कोभिड–१९ को महामारी अहिले विश्वकै चुनौतिको रुपमा खडा भएको छ। दैनिक संक्रमित र मृत्युदर बढिरहँदा मानिसहरु त्रसित हुनु स्वभाविक नै हो। म र मजस्ता स्वास्थ्यकर्मी आजकाल हतास छन्। मेरो त्रसित मनले पनि हजारौं प्रश्नहरु यतिबेला आफैँलाई सोधिरहेको छ।

पहिला-पहिला म ड्युटीमा रमाउँथे। अस्पताल जाने भनेपछि अर्कै ऊर्जाले मन आनन्दित तुल्याउँथ्यो। अहिले समय फेरिएको छ। हरदिन लाग्छ- अस्पताल जानै नपरे पनि हुन्थ्यो।

घरबाट निस्कँदा एउटा डरले सताइरन्छ- मेरो ५ वर्षको छोरालाई भेट्न पाउँदिन कि ? ८० वर्ष नाघेका वृद्ध बा-आमाको हेरचाह गन पाउँदिन कि? तर अस्पतालको शय्यामा छट्पटिरहेको देख्दा मनले मान्दैन। मैले नगरे कसले गर्छ उनीहरुको सेवा भन्ने लाग्छ। अनि जिम्मेवारीबाट हट्न आत्माले दिँदैन।

सबथोक बिर्सिएर काम गरिरहन्छु। तर, सुरक्षा? हो, यतिबेला आफ्नै सुरक्षाको याचना गर्नुपरेको छ म र मजस्ता स्वास्थ्यकर्मीले। सायद, कर्मचारीको सुरक्षामा सरकार र आफू कार्यरत संस्थाले ध्यान दिएको भए अझ काम गर्ने मनोबल बढ्थ्यो होला।

अस्पताल प्रशासनबाट पनि कुनै सहयोग पाइरहेका छैनौं। काम गर्दा मास्क पाउँदैनथ्यौं। प्रशासनलाई भन्दा बिरामीसँग माग्नु भनेर गैरजिम्मेवारीपूर्ण जवाफ दिन्थे।

सरकारी तहमा काम गर्ने कर्मचारीमात्र नभएर निजी संस्थामा काम गर्ने कर्मचारीलाई पनि हौसला र राहत सरकारले व्यवस्था गरिदिएको भए पनि स्वाथ्यकर्मीलाई मह्लम लगाएजस्तो हुन्थ्यो होला।

विडम्बना, अरुको चोट र दुखाइमा मह्लम लगाउने हामी आज आफ्नै पीडामा लगाउन सकेका छैनौं। अहिले कामको चाप त सहिनसक्नुको छ। त्यसमाथि अस्पतालमा बस्ने राम्रो व्यवस्था छैन। न क्वारेन्टीन्को व्यवस्था छ। यही अभावका कारण कठिन तरिकाले घर फर्किनुपर्ने बाध्यता छ।

कोभिड-१९ बाट सबै तर्किएर हिँडिरहेका बेला हामी त्यसको हरेक दिन सामना गरिरहन्छौं। डर त्यतिबेला लाग्छ, जतिबेला घर जाँदा ५ वर्षको बाबु र वृद्ध बा-आमालाई घरमा देख्छु। समाजले म र मेरो परिवारलाई बहिष्कार गर्ला कि भन्ने डर त अर्कोतिर छँदैछ। बाटोमा पनि डराइडराई जानुपर्छ।

अस्पताल प्रशासनबाट पनि यतिबेला हामी नर्सहरुले कुनै सहयोग पाइरहेका छैनौं। हामीले काम गर्दा मास्क पाउन्न थियौं। प्रशासनलाई भन्दा बिरामीसँग माग्नु भनेर गैरजिम्मेवारीपूर्ण जवाफ दिन्थे। अनि आफैँले किनेर लाउनुपर्ने बाध्यता थियो। पिपिई पनि प्रशासनले उपलब्ध गराएको थिएन । त्यो पनि आफ्नै खल्तीको पैसाले खर्च गर्नुपर्ने अवस्था छ।

१२ घण्टा खटेर काम गर्दा न खानाको व्यवस्था प्रशासनले गर्‍यो। दबाबका कारण कतिपय सहकर्मीले राजीनामा दिन खोजे। तर, प्रशासनको नियम छ, राजीनामा दिन नपाइने। यदि राजीनामा दिए उसको अगाडिदेखिकै सेवा सुविधा रोकिने।

हामी नर्सहरुमा अघिदेखिकै समस्या तलबकै थियो। झन् अहिले त नियमित पाउनेभन्दा पनि आधा लिन बाध्य छौं। कतिपय सहकर्मीको तलब आधा पाउँदा हातमा ९ हजार आउँछ। जबकि डेराभाडा हुन्छ १० हजार। अनि उनीहरुले कसरी टार्ने छाक? यो सम्भव छ? आइसोलेसन वार्डमा काम गर्ने हामीमा जोखिम धेरै हुन्छ। तर, बीमा गरिएको छैन। यसले हाम्रो मनोविज्ञानमा निकै ठूलो आहात पुर्‍याइसकेको छ।

अहिले स्वास्थ्यकर्मीमाथिको आक्रमणबारे सुनिरहन्छु, देखिरहन्छु। कतै घरमा पोस्टर टाँसेर दुर्व्यवहार गरेको कुरा त कतै बस्ती उर्लेर ढुंगामुढा गरेको भन्ने समाचारहरु आइरहेका छन्। यसले मन झन बिचलित बनाउँछ। यो समय सम्पूर्ण कुरा त्यागेर मानिसको जीवनरक्षाका लागि अग्रपंक्रतिमा उभिएका हामी स्वास्थ्यकर्मी किन मान्छेहरुबाटै असुरक्षित छौं?

थुप्रै चिन्ता र भयका बावजुत पनि मैले काम गर्न छाडेको छैन। मानवीय संवेदना र जिम्मेवारीलाई आत्मसात गरेर बिरामीको सेवामा तल्लीन छु। र, भइ नै रहन्छु ।

तर, यो बेलामा म र मजस्ता स्वास्थ्यकर्मीहरुको एउटै प्रश्न छ- हाम्रो मर्का बुझ्ने को? सरकार, स्थानीय सरकार, अस्पताल प्रशासन वा समाज?

– लेखक स्टाफ नर्स हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *