उनी श्रीमतीलाई भात खुवाउन गएका थिए, उठाउन खोज्दा त उनमा सा’स रहेनछ’ [मार्मिक घटना]

सविता बुढा/सेतोपाटी धनगढी, भदौ ९
हिजोअस्तिसम्म मदन बस्ने कोठामा अहिले उनकी २९ वर्षीया श्रीमतीको श’व छ। अहिले मदन पाँच वर्षकी छोरी लिएर अर्को कोठामा सरेका छन्।

बाहिर प्रहरी र दुई-चार जना आफन्त छन्। ‘कोरोना लागेका हुनाले नजिक कोही आउँदैनन्,’ मदनले फोनमा भने, ‘श्रीमतीको दा’हसं’स्कार गर्न पाउने हुँ कि होइन, यस्तै अलमल छ!’

बझाङको केदारस्युँका मदन (नाम परिवर्तन) साउन २१ गते भारतको बैंग्लुरूबाट नेपाल आइपुगेका हुन्। श्रीमतीको मिर्गौला खराब भएको र भारतमा उपचार गर्ने पैसा सकिएपछि घर जान भनेर आएका मदनले ससुरालीको आइसोलेसनमै श्रीमती गु’माउनु पर्‍यो।

सोमबार बेलुकी ८ बजेतिर घोडाघोडी नगरपालिका-११ को दशरथ बालविकास केन्द्रमा उनकी श्रीमतीको मृ’त्यु भएको हो।

६ वर्षअघि बिहे गरेर उनी श्रीमतीसहित मजदुरी गर्न भारतको बैंग्लुरू लागेका थिए। त्यहाँका अपार्टमेन्टमा चौकीदारी गर्थे। श्रीमती पनि सानोतिनो काम गर्थिन्।

सांकेतिक तस्बिर

अढाई वर्षअघि श्रीमती बिरामी परिन्। पहिले पेट दुख्यो। अस्पतालमा चेक गर्दा केही देखिएन। रगत जाँच भयो, एक्सरे गरे। रिपोर्ट त ठिकै छ भन्ने आयो।

पछि बढी नै गाह्रो भयो अनि ठूलो अस्पताल जानु पर्ने अवस्था आयो।

बैंग्लुरूकै एक अस्पतालमा देखाउँदा उनको किड्नीमा समस्या देखियो। डाक्टरले डायलासिस गर्नुपर्ने भने। स्क्यानिङ गर्दा एक मिर्गौला काम नलाग्ने भइसकेको रहेछ। ६ महिनाको अन्तरमा डायलासिस गर्नेपर्ने र जीवनभरि औषधी खानुपर्ने भयो।

डायलासिस गरी औषधी नियमित खान थालेपछि अलि सन्चो भएजस्तो भयो।

पोहोरको असोजतिर औषधी खाँदाखाँदै फेरि दुखाइ भयो। यसपटक त ज्यादै भएपछि आइसियूमा राख्नु पर्ने भयो।

‘१२ घन्टाको १२ हजार र दैनिक १९ हजारको औषधी लाग्ने गरी १५ दिन अस्पताल राखें,’ मदनले भने, ‘अलि ठीक भएपछि आइसियूबाट डिस्चार्ज भएर बैंग्लोरमै तीन महिना बस्यौं।’

केही महिनापछि फेरि समस्या देखियो। शरीर सुन्निने, उठ्न नसक्ने भयो। उपचार गर्न लकडाउन भएकाले उनले सकेनन्। त्यहीँका अस्पतालमा जाँदा कोरोना लागे जिम्मेवार नहुने भन्दै ३ लाख धरौटी मागे।

उनी विभिन्न अस्पतालमा पुगे। बैंग्लुरूकै एक अस्पतालले उपचार गर्ने भनेर भर्ना त गर्‍यो तर ७० हजार भारू सकिएपछि अन्तै लैजान भन्दै रिफर गरिदियो। अर्को अस्पतालले पनि पहिले ३ लाख धरौटी राख्नुपर्ने भन्यो। तबसम्म ९/१० लाख सकिएपछि उनलाई त्यो रूपैयाँ जुटाउन हिम्मत आएन।

‘आफन्तहरू सबैसँग ऋण निकालिसकेको थिएँ। लकडाउनपछि त उनीहरू पनि बेरोजगार भए। बारबार माग्न पनि सकिनँ,’ उनले भने।

अब घर गएर जडिबुटीले पो ठीक हुन्छ कि भनेर उनी नेपाल आउन तयार भए। भाडाका लागि ‘सेठ’हरूसँग मद्दत मागे। कसैले पाँच सय, कसैले हजार गरेर सहयोग गरे। गाडी नपाएपछि समितिवालाबाट बुक गरी मागे। एकै गाडीमा ४५ जना आउने गरी एक जनाका ६ हजार भाडा तिर्नुपर्ने भयो।

उनी, श्रीमती र छोरीको गरी १२ हजार भाडा लाग्ने भयो।

साउनको २१ गते उनीहरू भारतबाट नेपालका लागि हिँडे। ५ दिनमा उनीहरू बेलुका सात बजेतिर गौरीफन्टा पुगे।

राति भएकाले बसले गौरीफन्टाको जंगलमै उनीहरूलाई छोडिदियो। त्यसदिन पानी परेपछि रूझ्दै छोरी र बिरामी श्रीमतीलाई पिठ्यूँमा बोक्दै उनी नाकावारि कञ्चनपुरको डोकेबजार पुगे।

बझाङ जान गाडी थिएनन्। पुर्‍याउने भने पनि गाडीवालाले दोब्बर-तेब्बर भाडा मागेपछि उनी जान सकेनन्। आफूसँग पैसा नभएपछि सँगै आएका जेठानका परिवारसित ससुरालीतिर लागे।

साउनकै २६ गते डोकेबजारबाट ७-७ सय एकजनाको तिरेर जेठानका दुई केटाकेटीसहित चारजना परिवार र उनीहरू ३ जना सिसैया पुगे। जेठानहरू अर्को घरमा बसे। उनीहरू बसेको घरमा सासू-ससुरासहित ६ जना थिए।

८/१० दिन बसेपछि ससुरालीबाट बिरामीलाई गाह्रो हुँदैछ, घरमा लगेर जाऊ भन्न थाले। ‘बिमारी मान्छे, माइतमा मरे राम्रो हुँदैन भनेपछि एम्बुलेन्समा बझाङ जाने तयारी गरेँ,’ उनले भने।

एम्बुलेन्ससँग बागथलासम्मको २२ हजार लिने गरी पुर्‍याउने कुरा भएको थियो। हिँड्न तयार भएको दिन बिहान कोरोना पोजेटिभ छ भनेर प्रहरी ससुराली घर आइपुगे।

त्यहाँ पुगेको १२ दिनजति पुगेपछि स्वास्थ्यकर्मीले उनी र उनका छोरीसहित अरूको स्वाब लिएका थिए। सँगै आएकी उनकी श्रीमतीको भने स्वाब लिइएन।

‘उनलाई त्यो दिन पखाला चलेकाले बोकेर ल्याउन सकिनँ। घरमा जान स्वास्थ्यकर्मीले मानेनन्,’ उनले भने।

कोरोनाको नतिजा आउँदा उनकी छोरीमा पनि संक्रमण भएको पाइयो। होम क्वारेन्टिन बसेको १४/१५ दिन भएको थियो। उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि नजिकैको दशरथ बाल विकास केन्द्र भन्ने स्कुलको एक कोठामा छोरीसहित बस्न गए।

‘छोरीलाई ५ बजेतिर स्कुलमा बसालेँ। पछि श्रीमतीलाई पनि बोकेर ल्याएँ,’ उनले भने।

बिमारी श्रीमतीको शरीरमै दिसा/पिसाब हुने हुँदा हेरिदिने मान्छे नभएकालेसँगै राख्न बोकेर स्कुल ल्याएको उनले बताए। छोरी हेर्नुपर्ने, बिमारीलाई स्याहार गर्नुपर्ने, तीन दिन आइसोलेसनमा उनका दिन यसैगरी बिते।

आइसोलेसनमा समितिका मान्छेले बिहान नास्ता चना, साँझ-बिहान भात दाल पकाएर दिन्थे। स्कुलको एक कोठामा उनीहरू तीन जना र अर्को कोठामा एउटा परिवारका अरू तीन जना बस्थे। सोमबार दिउँसो एक-दुई पटक पानी दिनेबेला मदनले श्रीमतीसँग थोरैमात्र कुरा गर्न पाएका थिए।

‘हिजो सास बसेको थियो। मैले हजुरलाई धेरै दुःख दिएँ भनिन्,’ मदनले भावुक हुँदै फोनमा भने।

बेलुका छोरीलाई खाना खुवाएर उनी श्रीमतीलाई अलिकति भात खुवाउँछु भनेर भित्र गए।

‘कोठामा म पुग्दा उनी दाँत बाँधेर पल्टिएकी थिइन्,’ उनले भने, ‘उठाउन खोज्दा त ला’स भइसकिछन्।’

त्यसपछि उनले छोरीलाई अर्को कोठामा राखे। उनले अहिलेसम्म छोरीलाई केही भनेका छैनन्। कसरी भन्ने पनि थाहा छैन।

‘कसैले ममीबारे कुरा गरे मेरी ममी बिमारी छ भन्छ,’ मदनले भने।

उनले श्रीमतीलाई बचाउन आफूले सक्दो प्रयास गरे पनि नसकेकोमा निकै दु:ख लागेको बताए।

‘बचाउन सक्दो उपचारको प्रयास गरेँ। अरूले जसो भने त्यसै जाँच गराएँ, तर सकिएन,’ उनले भने, ‘बरू मै किड्नी दिन्छु भन्या थिएँ, डाक्टरले नमिल्ने बताए।’

अहिले मृ’तकको श’व स्कुलकै कोठामा छ। कोरोना परीक्षणका लागि स्वाब संकलन गरी धनगढी पुर्‍याइएको घोडाघोडी नगरपालिकाका जनस्वास्थ्य अधिकृत कैलाश कुमार रावतले जानकारी दिए।

‘इमरजेन्सी परीक्षणका लागि अनुरोध गरेका छौं। आठ घण्टामा नतिजा आउँछ भनेको छ,’ उनले भने।

घोडाघोडी नगरपालिका–११ का वडा अध्यक्ष दानसिंह जोगीका अनुसार मृतकको कोरोना रिपोर्ट पाजेटिभ आए आर्मीले श’व व्यवस्थापन गर्ने बताए। सेतोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *