विदेशबाट आउनेलाई क्वारेन्टिन राख्ने होटलको मापदण्ड तयार, के के छन् सुविधा ?

भदौ १०, काठमाडौँ । सरकारले विदेशबाट आउने नेपालीलाई क्वारेन्टिनमा राख्न प्रयोग हुने होटलका लागि न्यूनतम मापदण्ड तयार गरेको छ।

विदेशबाट उद्धार गरिएको व्यक्ति कम्तिमा पनि एक साता आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएसंगै क्वारेन्टिन राख्ने होटलको मापदण्ड तयार गरिएको हो ।

मापदण्ड अनुसार क्वारेन्टिनका रुपमा प्रयोग हुने होटल कम्तीमा २० वटा कोठा भएको हुनुपर्नेछ। होटल परिसरको छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न मिल्ने हुनु पर्नेछ। हवाई यात्रुका लागि सेवा प्रदान गर्न खाना, पानी अन्य लजिस्टिक सपोर्ट र स्वाब परीक्षणका लागि नमुना संकलनको लागि खुल्ला ठाउँ पनि भएको हुनु पर्ने छ।

होटलमा टीभी, वाईफाई, अट्याच बाथरुम, नुहाउन तथा पिउन तातो पानीको व्यवस्था भएको हुनुपर्ने छ। त्यस्तै, होटलमा खाना खाने तथा अन्य सेवा कोठा तथा प्यासेजमा मात्रै गर्न पाइने छ। प्रत्येक कक्षमा साबुन पानी र स्यानिटाइजर हुनु पर्ने तर होटलले प्रदान गर्ने सामूहिक खाना, जिम, साउना, इन्डोर तथा आउटडोर खेलहरु बन्द गर्नु पर्नेछ। प्रत्येक कोठामा एक हप्तासम्म पुग्ने गरी साबुन, टुथपेस्ट, ब्रस, ह्यान्डवास र टावेल पहिले नै राख्नु पर्नेछ।

होटलमा क्वारेन्टिनका रुपमा सात दिनसम्म बस्दा तिर्नु पर्ने शुल्क पनि सरकारले तोकेको छ। इकोनोमी पर्यटकस्तरका होटलमा सात रात र आठ दिनका लागि दुई जना बस्ने कोठाको प्रतिव्यक्ति ११ हजार र एक जना बस्ने कोठाको १७ हजार ५ सय रुपैयाँ मात्र लिन पाउने व्यवस्था छ।

यो अवधिभन्दा बढी बस्नु पर्नेका लागि दुई जना बस्ने कोठामा प्रतिव्यक्ति दिनको १ हजार ५ सय र एक जना बस्ने कोठाका लागि २ हजार ५ सय रुपैयाँ मात्रै लिन पाउने मापदण्ड बनाइएको छ।

यस्तै स्टार/बुटिक होटलमा एक जना बस्ने कोठाका लागि दैनिक ४ हजार रुपैयाँ र दुई जना बस्ने कोठाका लागि दैनिक २ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ।

एयरपोर्टबाट होल्डिङ सेन्टर र होटलसम्म पुर्याउने यातायातको व्यवस्था पनि होटलले नै गर्नुपर्नेछ, तर थप शुल्क लिन पाइने छैन। हवाई यात्राबाट आउने यात्रुले होटल भौचर साथमा लिएर आउनु पर्नेछ। इकोनोमी/पर्यटकस्तर होटलका लागि हरियो, स्टार/बुटिक होटलका लागि नीलो र तीन तारे वा सोभन्दा माथिका होटलका लागि होटलको स्तर र एक जना वा दुई जना बस्ने भन्ने खुलाएको बैजनी रंगको भौचर हुनु पर्नेछ।

होटललाई तिर्नु पर्ने शुल्क यात्रुले पहिले नै बुझाउनु पर्ने छ। यसको व्यवस्था वायु सेवा कम्पनीले नै मिलाउने गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशन दिएको छ। विमानस्थलबाट होटलसम्म कुन दिन कसले यात्रुलाई लैजाने भन्ने पनि तोकिएको छ।
जस अनुसार चार दिन नेपाल होटल संघले र तीन दिन होटल व्यवसायी महासंघले यातायातको व्यवस्था गर्नेछन्। तीन तारे वा सोभन्दा माथिल्लो स्तरको होटलमा जान चाहनेका लागि पनि यी दुई संघले नै समन्वय गर्नुपर्नेछ।

विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्न ३५ सय बेड तयार, कुन होटलको कति तिर्नुपर्छ ? हेर्नुहोस्

काठमाडौँ । सरकारले चार्टड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । पर्यटन विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो । जसमा तीन हजार ५०० बेड क्षमता रहेको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यही भदौ २ गते कोभिड–१९ विश्वव्यापी सङ्क्रमणको कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटल क्वारेन्टिनमा बस्ने व्यक्तिलाई राख्न होटल सूचीकृत गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा पर्यटन विभागले बिहीबार क्वारेन्टाइन प्रयोजनार्थ होटलको विवरण र मूल्य जिल्ला प्रशासन कार्यालय काठामाडौँलाई उपलब्ध गराएको थियो । तारे होटलदेखि सामान्य पर्यटकस्तरका होटलको सूची र मूल्य सार्वजनिक गरिएको जिप्रका काठमाडौँका प्रशासकीय अधिकृत रमा घिमिरेले जानकारी दिनुभयो ।

पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न सक्ने क्षमता भएका होटललाई क्वारेन्टिनका रुपमा प्रयोग गर्न सूचीकृत गरिएको जानकारी दिनुभयो । “अहिले हामीले तीन हजार ५०० बेड तयारी अवस्थामा राखेका छौँ, चरणबद्ध रुपमा यो थपिन सक्छ”, उहाँले भन्नुभयो, ”स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्न सम्भव भएका होटललाई सूचीकृत गरेको हौँ, सबै होटलमा त्यो सुविधा नहुन सक्छ ।”

सकभर आइसोलेटेड क्षेत्रमा भएका, कम्पाण्ड भएका, बाहिरी व्यक्तिसँग घुलमिल हुन नक्स्ने, सामाजिक दूरी कायम गर्न सक्ने होटललाई सूचीकृत गरिएको उहाँले जानकारी दिनुभयो । होटल व्यवसायी महासङ्घ, होटल एसोसियसन तथा व्यवसायीसँग छलफल गरेर क्वारेन्टिन होटलको सूची सार्वजनिक गरिएको उहाँको भनाइ छ ।

पर्यटकीय क्षेत्र ठमेल, ताहचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटललाई क्वारेन्टिनका रुपमा प्रयोग गरिने छ ।

विभागले क्वारेन्टिमा प्रयोग गरिने पर्यटकस्तरका होटलको मूल्य र खानाको मेनु पनि सार्वजनिक गरेको छ । पाँच तारे होटलमा एकल नौ हजार, दुई जना साझेदारीमा बस्नेका लागि प्रतिव्यक्ति रु छ हजार तोकिएको छ । यस्तै चारतारे होटलमा एकल रु आठ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति रु पाँच हजार ५००, तीनतारे तथा डिलक्स रिसोर्टमा एक जनाको रु छ हजार र दुई जनाको हककमा प्रतिव्यक्ति रु पाँच हजार, दुई तारेमा एकल पाँच हजार र दुई जना भएमा प्रतिव्यक्ति रु तीन हजार ५००, एकतारेमा एकल रु चार हजार र दुई जना भएमा प्रतिव्यक्ति रु दुई हजार ५०० तथा पर्यटकस्तरको होटलमा एक रु दुई हजार ८०० र दुई जना भएमा प्रतिव्यक्ति रु एक हजार ८०० शुल्क तोकिएको छ ।

पर्यटकस्तरको होटलका लागि दिनको चार पटक दिइने खानाको मेनु पनि तोकिएको छ । पर्यटकस्तरको होटलले क्वारेन्टिनमा बस्ने व्यक्तिलाई बिहानको नास्ता, खाना, खाजा र बेलुकाको खाना खुवाउनुपर्नेछ । तारे होटलले खुवाउने खाना आफ्नै ढङ्गको हुनेछ ।

सरकारले चार्टड उडानमार्फत कोभिड–१९ का कारण विदेशमा अलपत्र परेको नागरिकको उद्धार गर्ने निर्णय गरिसकेको छ । त्यसरी विदेशबाट उद्धार गरिएको व्यक्ति कम्तिमा पनि एक साता होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । कोभिड–१९ महामारीका बीचमा यही भदौ ३ गतेसम्म ५९ देशबाट करिब ५२ हजार नेपाली स्वदेश फर्किका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *