‘ऊ त ‘तल्लो’ जातको पो रैछ’

कल्पना शर्मा/सेतोपाटी

एक धर्को सिन्दुर के हो र त्यो त पखालिन सक्छ,

चुरापोते काँचको न हो, त्यो पनि फुट्न सक्छ,

दिन्छु तिमीलाई यो चोखो माया

जो सधैं सधैं बाँचिदिन्छ …

देउतीबज्यै मन्दिर नजिकै एकजोडी प्रेमीप्रेमिकाले बडो रोमाञ्चक ढंगले यो गीत गुनगुनाइरहेका थिए।

ती जोडी अरु कोही नभएर मेरै कक्षामा पढ्ने साथी थिए। म कक्षा ९ मा पढ्दाको मीठो स्मरण हो यो। शनिबारको दिन थियो। सुर्खेतको देउतीबज्यै मन्दिरमा भाकल गर्ने हो भने चिताएको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक मान्यता छ।

यदि चोखो मनले माग्ने हो भने देवीले भाकल पूरा गर्छिन् भन्ने विश्वासले मानिसहरू मन्दिर धाउने गर्छन्। त्योमध्येको एउटा जोडी थियो, मेरै साथीको।

उनीहरू पनि दृढ आशा र विश्वासका साथ मन्दिर जान्थे र हरेकचोटि हाम्रो प्रेम फलोस् फुलोस् भन्दै भगवानसँग प्रार्थना गर्थे।

दिनहरू बित्दै गए। मेरी साथी (प्रेमिका) गणितमा असाध्यै जान्ने थिई। म भने कमजोर। सामाजिक शिक्षा, नेपाली लगायतका विषयमा भने म उभन्दा जान्ने।

हामी एउटै कक्षाका भएकाले सँगै मिलेर पढ्थ्यौं। ऊ मलाई गणित सिकाउँथी भने म चाहिँ अन्य विषय। यसरी दिनहरू बित्दै गए। ती युगल जोडीको प्रेम पनि दिनप्रतिदिन मौलाउँदै, झांगिदै गयो। यसलाई नजिकबाट नियाल्ने साक्षी मै थिएँ।

९ कक्षामा पढ्ने भएकाले एसएलसीमा फोकस गर्न उसलाई सुझाइरहन्थें। हामी दुबैजना पढाइमा राम्रै थियौं। शिक्षकशिक्षिकाका पनि प्यारा विद्यार्थी।

वर्षातको समय आयो । विद्यालय घरदेखि टाढा भएकाले कहिले बाटोमैं मुसो झैं भिज्थ्यौं त कहिले लेउ उम्रेको खोलामा हामी दुबै चिप्लिएर लड्थ्यौं।

कहिले त किताबको झोलासँगै लडेर निथ्रुक्कै क्लासभित्र पस्थ्यौं। यस्तै यस्तै बाध्यताका बीचमा हामी दुबैलाई आफ्नो सुन्दर भविष्य निर्माण गर्नु थियो।

समाजमा आफ्नो पहिचान बनाउनु थियो। पानीमा जति बल्ड्याङ खाए पनि हामीलाई केही फरक पर्नेवाला थिएन। किनकी सुन्दर भविष्यको सपना साँचेका हामीमा दृढ विश्वास थियो अनि संकल्प- कुनै पनि हालतमा पढाइ पूरा गर्ने।

एकदिन हामीसँगै हात समाएर खोर्के खोला तर्दै थियौं। एक्कासि ठूलो भल आयो। हामी दुबै अगाडि बढ्न सकेनौं। विद्यालय १० बजे सुरू हुन्थ्यो।

हामी भने खोलाको छेउमैं रोकियौं। पर्खनुको विकल्प रहेन। मैले साथीलाई एकछिन खोलाको बाहिरै बस्न आग्रह गरें। तर उसले मानिन। विद्यालय ढिलो हुने भएकाले बाढीको पर्वाह नै नगरी अगाडि बढ्न कर गरी। मैले मानिनँ ।उसले जिद्दी गरी। उसको जिद्दीको अगाडि मैले हारें। अन्ततःदुबै भेलमैं पस्यौं।

अलिकति अगाडि के बढेका थियौं, खोलामा उर्लेको धमिलो बाढीको हल्कोले हामी दुबैलाई नराम्ररी पछार्यो। किताबको झोला पनि नराम्ररी भिज्यो। एक भेलमैं निथ्रुक्कै भयौं। भेलसँगै दाउरा, ससाना ढुंगाहरू पनि खुट्टामा ठोक्किएकाले हामी आत्तियौं।

हाम्रो त्यस्तो अवस्था देखेर एक जना दाइले हात समातेर हामीलाई खोला तराइदिनुभयो। खोला त तरियो तर हालत खराब थियो। केशदेअि खुट्टासम्म पूरै भिजेको।

मलाई यस्तो हालतमा पुर्याएको भन्दै साथीसँग रिसाएँ। अबदेखि नबोल्ने भनेर विद्यालयको बाटो लागें। ऊ भने सरी भन्दै खोलाको छैउमैं बसेर रुन थाली। म पनि के कम? सुईं सुईं बाटो लागें।

खोर्केखोलाको केही अगाडि बजारको नजिकै काठको पुल आउँछ। म त्यहाँ पुगिसक्दा पनि साथीको अत्तोपत्तो छैन। मैले त साथी भनेर पो त्यसरी घुक्र्याएको त। माया नै नगर्ने त कहाँ हो र ? मनमनैं फलाकें। उता कक्षा सुरू भइसकेको थियो, अर्कोतर्फ आफ्नो प्राण प्यारी साथी।

मेरो जीवनमा दुबैको निकै ठूलो अर्थ थियो। एक मनले सोचें, ह्या आज एकदिन कक्षा नलिँदा के हुन्छ ? तर त्यसदिनको कक्षा पनि अति नै महत्वपूर्ण थियो। मलाई मनपर्ने लक्ष्मी गुरुआमाको पिरियड थियो। उहाँको पढाउने शैली मलाई खास लाग्थ्यो । एकदमै माया पनि गर्नुहुन्थ्यो।

१० मिनेट जति पुलमाथि नै बसें। तर साथी आइन। अब त अत्तिभो भन्दै खोलातर्फ अघि बढें। ऊ अझै ठूलो स्वरमा रोइरहेकी थिई। मैले गल्र्याम्म अंगालो हालेर सरी भनें। हामी दुबै त्यही खोलाकै डिलमा बसेर निकैबेर रोयौं। एकअर्कासँग कहिल्यै नरिसाउने प्रण गर्दै माफी माग्यौं र विद्यालयतर्फ लाग्यौं।

मलाई उसले किन उर्लदों भेलमा हाम फाल्न लगाई त ?भनेर सोध्न मन थियो तर ऊ भर्खरै खुसी भएकीले फेरि त्यो वातावरण धुमिल गर्ने आँट भने ममा आएन। हामी माथिल्लो बजार नजिकै पुग्यौं।

अब त केटीलाई जसरी नि सोध्छु। हिम्मत गरेर भनें, ‘ओइ केटी किन मलाई उर्लंदो भेलमा हाम फाल्न लगाएकी हँ?खोलाले बगाएर झण्डै तल्लो भेरीमा पुर्याएको ? तँ आँटिली छेस्, तर यतिसम्म मूर्ख होलिस् भन्ने चाहिँ मलाई लागेको थिएन।’

मेरो प्रश्नसँगै ऊ लाजले रातो पिरो भई। एकछिन केही बोल्न सकिन। मैले पनि यत्तिकै किन छोड्थें र ज्यान भिजेर विजोक पार्नेलाई। त्यसमाथि माटो लागेर टाटेपाङ्ग्रे बनाउने त्यै डाँका साथी त हो नि । ओई भन न भनेर मैले कुममा धकेलें, ‘हेर न आज उसको वर्थडे हो के ।’ उसले यति भनेपछि मैले सोध्नु बाँकी केही रहेन।

म अति नै खुसी हुँदै थपें, ‘ओए केटी तेरो उसलाई गिफ्ट के दिन्छेस् त ?’ यसरी गफिँदागफिँदै हामीले जन उच्चमाविको विद्यालयको गेट पार गरिसकेका रहेछौं।

नजिकै पिपल चौतारो। पानी सिमसिम परे पनि निथ्रुक्कै पार्नेगरी भने परेको थिएन। एकछिन त्यही चौतारोमा बस्ने निधो गर्यौं। उसले झोलाखोली। त्यसमा प्रेमीको लागि ग्रिटिङ कार्ड किन्ने भनेर छुट्याइएको ३० रुपैयाँ रहेछ। भिजेर चिप्किएको अंग्रेजी किताबबाट छुट्याउन खोज्दा पैसा ४ टुक्रा भयो। हामी एकछिन बोल्नै सकेनौं।

मेरो साथीको मन कति टुक्रा भयो होला मलाई अनुमान लगाउनै नसक्ने पीडा भयो। ऊ फेरि टिलपिलाउन थाली। वर्षे पानीले बिरालोझैं भिजेकाले कक्षामा बस्ने अवस्था भएन।

उसको प्रेमीको लागि उपहार किन्ने पैसा पनि पानीले भिजेर च्यातियो। मैले आफ्नो ब्याग खोलें। ब्यागमा रहेको पैसा भने आधाजस्तो मात्रै भिजेको रहेछ।

डाँडा स्कुलनजिकै चन्द्राकोमा १ प्लेट चाउमिन खाजा खान्थ्यौ। मसँग त्यही खाजाको १२ रुपैयाँ थियो। तर त्यसले ग्रिटिङ कार्ड आउँदैनथ्यो। मलाई अति नै पीडा भयो। उसको एउटा उपहार किन्ने इच्छा पनि पूरा हुन सकेन हगि? म कति अभागी साथी? यदि मसँग ३० रुपैयाँ भइदिएको भए सायद ! उसको सपना पूरा हुन्थ्यो।

हामी फेरि निःशब्द भयौं। एकछिनपछि वीरेन्द्र चोकतिर लाग्यौं। त्यहाँ राम्रो गिफ्ट पसल थियो। पसलमा आँखा डुलायौं।

राम्रा/राम्रा पोष्टकार्डहरू भित्तामा झुण्डिएका थिए। भारतीय कलाकारहरू साहरुख, सलमान, काजोल, श्रीदेवी, माधुरी लगायत नेपालका प्रख्यात कलाकार राजेश, करिश्मा, जल, विपना, श्रीकृष्ण लगायतका तस्वीरलाई बडो कुशलतापूर्वक सजाइएको थियो।

हामी यो हेरेरै खुबै रमायौं। मूल्य एकसाथ सोध्यौं, ‘कति हो एउटा पोष्टकार्ड को ?’

पसलले जवाफदिए, ‘५ रुपैयाँ’।

नजिकै हर्ट साइन भएको, पत्रैपत्रै भएको रातो ग्रिटिङ कार्ड दुबैको आँखामा पर्यो । मैलें सोधें, यसको कति पर्छ दाइ, पसलेले उसैगरी जवाफ दिए, ‘३५ रुपैयाँ हो, लाने भए ३० मा दिउँला।’

हामी फेरि निःशब्द भयौं।

हाम्रो झोला नभिजेको भए… हामीले एकअर्कालाई पुलुक्क हेर्‍यौं। मन भारी भयो। आँखा फेरि टिलपिलाए। अब हामीसँग पोष्टकार्ड किन्नुको विकल्प थिएन। उसको मनपर्ने हिरो थिए, श्रीकृष्ण श्रेष्ठ। क्लिपले च्यापेर सजाइएको श्रीकृष्णको तस्वीर निकालेर मैले उसको हातमा थमाइदिएँ। मसँग भएको १२ रुपैयाँबाट ५ रुपैयाँ निकालेर पसलेलाई दिएँ।

घडीमा दिनको १२ बजेको थियो। कक्षा ४ बजेसम्म लाग्थ्यो । हामीसँग अझै ४ घण्टा बाँकी नै थियो। गफिँदै चन्द्राको चाउमिन पसल हुँदै जिल्ला अस्पताल नजिकको पिपल चौतारोमा पुग्यौं।

बाटोमा हामीलाई देख्नेहरू तलदेखि माथिसम्म हेर्दै मुसुमुसु हाँस्थे। सायद जीउमा लागेको धुलो मैलो देखेर हुनुपर्छ। श्रीकृष्णको तस्वीरको पछाडिको खाली ठाउँमा उसले बडो राम्रा अक्षरले ‘प्यारो मान्छे’भनेर जन्मदिनको शुभकामना लेखी। रमाईला गफ गर्दै चौतारोमै ४ बजायौं।

विद्यालयको छुट्टीको घण्टी टिङटिङटिङटिङ बज्यो। साथीको प्रेमी आउने बाटो पनि त्यही थियो।

हामीमा डर पनि थियो कि, कक्षाका अरू साथीले भेट्छन् कि भन्ने ? ४ बजेर १० मिनेट गयो। साथीको मुटुको ढुकढुकी बेजोडले बढिरहेको थियो। यत्तिकैमा उसको प्यारो मान्छेको जन्मदिनको शुभकामना दिंदै घर जाने भन्दै हामी त्यहाँबाट उठ्यौं। मैले साथीको प्रेमीको ब्याग खोल्न लगाएँ र बुकभित्र उपहार राखिदिएँ।

मैले भनें, ”घर गएर हेर्नू ल ।“ मैले यसो भनिरहँदा दुबै लजाएका थिए।

उनीहरूको प्रेमको कुनै सीमाना थिएन। केहीले पनि छेक्नेवाला थिएन। यसको साक्षी म थिएँ।

दिनहरू बित्दै गए। कक्षा ९ को वार्षिक परीक्षा सुरू भयो। हामी तीनै जनाले राम्रो अंक ल्यायौं। योसँगै उनीहरूको प्रेम दिनप्रतिदिन कसिलो बन्दै थियो।

कक्षा १० को सुरूको दिन थियो। म र मेरी साथी विद्यालयको गेटभित्र पस्यौं। उसको प्रेमीलाई मैले नजिकै देखें र बोल्न खोजें तर मेरी साथीले आफ्नो देब्रे हातले मेरो दाहिने नारीमा समातेर बेस्सरी तानी। जसको मायामा संसार भुल्थी। जसलाई जन्मदिनको शुभकामना दिन भेलमा हाम फाल्ने गर्थी। आज यो केटीलाई के भयो? बोल्नै छाडी त!

उसको यस्तो व्यवहारले म छाँगाबाट खसेजस्तै भएँ। जसको प्रतीक्षामा दिनभर पिपल चौतारोमा बिताउने केटीमाथि एक्कासि यो के आइलाग्यो ? म सोच्दै थिएँ। ऊ भने मेरो हात तान्दै थिई।

यत्तिकैमा राष्ट्रिय गानको लागि चौरमा लाइन लाग्न सुरू भइसकेछ। अरु श्रीमान गम्भीर नेपाली भन्दै थिए, ममाथि भने मुसलधारे पानीको वर्षात भइरहेको आभाष भयो। म अनियन्त्रित भएर ढल्छु कि जस्तो भयो।

केहीबेरपछि आफूलाई सम्हाल्दै कक्षाकोठामा पुगें। मलाई अच्चम लागिरहेको थियो। आखिर यो सबै किन भइरहेको छ? के कारणले उनीहरूबीच बोलीचाली बन्द हुने अवस्था आयो? मैले उसलाई नसोधी बस्नै सकिनँ।

अरूले सुन्लान् कि भनेर अन्तिम बेञ्चमा लगेर सोधे, ”तिमीहरूबीच प्रेम सम्बन्ध टुंगिएको हो ?”उसले जवाफ दिई, “ ऊ त ‘तल्लो’ जातको पो रैछ, ऊ त विक रैछ नि, मैले त क्षेत्री भन्ठानेको”। लव इज ब्लाइन्ड, प्रेम अन्धो हुन्छ भन्ने सुनेरै हुर्किएको मान्छे म। एक्कासि उसको जातको प्रसंगले मेरो मुटु छियाछिया भयो।

आखिर जातकै कारण मान्छे यतिसम्म कठोर बन्न सक्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *