नेपाल आइडल विजेता सज्जाको यस्तो छ प्रतिक्रिया [नालीबेली]

रूमा रिजाल/सेतोपाटी
इटहरी, भदौ १४ नेपाल आइडल सिजन-३ की विजेता २३ वर्षीया सज्जा चौलागाईंको गायन यात्रा उनका आमाबाबुबाट सुरू हुन्छ।

उनका आमाबाबुको पनि गीत गाउने सोख थियो। घरमा गुनगुनाइरहन्थे। उनीहरूकै भाकामा सज्जाको रहरले लय समात्यो।

उनले स्टेजमा पहिलोपटक गाएको १० कक्षा पढ्दा हो। स्कुलमा एउटा सांगीतिक प्रतिस्पर्धा थियो। साथीहरूले कर गरेपछि उनले भाग लिइन्। त्यहाँ उनले तारा देवीको ‘उकाली ओरालीहरूमा’ गीत गाएकी थिइन्।

त्यो गीतमा पाएको तालीको गड्गडाहटले उनको रहरमा हौसला थपिदियो। त्यो प्रतियोगिता उनैले जितिन्। त्यहीँबाट सुरू भएको सांगीतिक यात्राले उनलाई नेपाल आइडलसम्म पुर्‍यायो।

मोरङको पथरी घर भए पनि सज्जाको जन्म काठमाडौंको रानीटारमा भयो। उनीहरूको आर्थिक अवस्था सामान्य थियो। बुवा पैसा कमाउन मलेसिया गएका थिए। तर बिरामी भएर फर्किनुपर्‍यो। अहिले गाउँमै तरकारी खेती गर्छन्।

सज्जा र उनका भाइलाई पढाउने जिम्मा बोकेकी उनकी आमा काठमाडौंमा सिलाइकटाइ गर्थिन्। सिलाइकटाइले मात्र खर्च धान्न नसकेपछि उनी पनि विदेश गइन्।

यता सज्जाको सपना गायनतिर ढल्कँदै गयो। संगीत कक्षाहरू लिन भने आर्थिक अवस्थाकै कारण गाह्रो भयो। घरमा आफैं संगीत सिक्न कुनै बाजागाजा उनीसँग थिएन।

‘म १० कक्षा पढ्दै गर्दा आमा विदेश जानुभयो। आमाको कमाइ सुरूमा त्यति राम्रो हुन सकेन। मैले आफैं केही गर्नुपर्छ भनेर सोच्न थालेँ,’ उनले भनिन्, ‘मलाई जसरी पनि गायक त हुनु थियो।’

एकदिन उनका साथी पेङ्मा छिरिङ तामाङले एउटा काइदाको खबर लिएर आए, ‘ठमेलका क्लबहरूमा गीत गाएको राम्रै पैसा दिन्छन् रे!’

पेङ्मालाई संगीतमा रूचि थियो। उनले सज्जालाई पनि पहिल्यैदेखि सपोर्ट गर्थे। ठमेलमा गीत गाउन पनि एउटा पहिचान त चाहियो। त्यसका लागि पेङ्माले नै योजना बनाएका थिए, पहिले आफ्नै ब्यान्ड बनाउने। सज्जालाई पनि यो योजना मन पर्‍यो।

उनीहरूका अरू दुई जना साथी थिए, जसलाई गीत-संगीतमा रूचि थियो। सज्जा गीत गाउने र अरूले संगीत भर्ने। उनीहरूले मिलेर ब्यान्ड बनाए- द लर्ड। त्यति बेला उनी ११ कक्षा पढ्थिन्।

त्यसपछि ठमेलका रेस्टुरेन्टहरूमा गीत गाउन गए। काम पनि पाइयो। रेस्टुरेन्टमा ४/५ वटा गीत गाए त भइहाल्छ होला भन्ने सज्जालाई लागेको थियो। तर दर्शकले ‘वान्समोर’ भन्दाभन्दै चार-पाँच घन्टा बित्थ्यो।

पहिलो दिन चार घन्टा गीत गाउने-बजाउने गरेपछि उनीहरूले पाँच सय रूपैयाँ पाए। ‘पाँच सय हात पर्दा पनि म खुसीले झन्डै उफ्रिएँ। त्यो मेरो जीवनको पहिलो कमाइ थियो,’ उनले भनिन्।

उनीहरू नियमित साँझ परेपछि होटल तथा रेस्टुरेन्ट छिर्न थाले। त्यही मेहफिल सज्जाको निम्ति संगीत कक्षा बने। उनको स्वर निखारिँदै गयो। कमाइ बढ्दै गयो। उनीहरू दिनको ३ देखि ५ हजार मज्जाले कमाउन थाले।

राति गीत गाउन जानुपर्ने भएकाले घरमा भने सबै चिन्ता लिन्थे। आमा सधैं भन्थिन्, ‘सतर्क भएर काम गर्नू।’ अरूले त अझ बढी डर देखाउँथे।

सज्जालाई भने आफ्नो आत्मविश्वासमा भर थियो। उनी कहिल्यै डराइनन्।

‘कहिलेकाहीँ आफूले गाइरहने क्लबमा ग्राहकले जथाभाबी बोल्दा चाहिँ साह्रै नराम्रो लाग्थ्यो,’ उनले भनिन्, ‘म गलत थिइनँ तर केही गलत नजर भएकाहरू पनि भेटिन्थे। अरूको नजर देखेर आफू किन डराउनु?’

सबलाई झेल्दै ब्यान्ड राम्रै चल्दै थियो। एकदिन बिहानै ब्यान्डका साथीहरूले खबर सुनाए- नेपाल आइडल सिजन-३ को अडिसन खुलेछ।

उनीहरू सबैले सज्जालाई अडिसनमा भाग लिन प्रोत्साहित गरे। सज्जाले कुनै तयारी गरेकी थिइनन्, तर पनि उनी भोलिपल्टै अडिसन दिन गइन्।

अडिसनमा सविन राईको ‘तिमी नै हौ’ बोलको गीत गाइन्। राम्रो प्रतिक्रिया आयो। त्यसपछि त नेपाल आइडलका अन्य राउन्डमा उनले सबैको तारिफ बटुल्दै गइन्। उनले गाएका गीतमा दर्शक मात्र होइन, निर्णायकहरू पनि खुसी हुन्थे।

निर्णायकमध्ये संगीतकार कालीप्रसाद बाँस्कोटा भन्छन्, ‘सज्जा आइडल बन्नुको पछाडि उनको आत्मविश्वास र उनले आफ्नो क्षमता पहिचान गरेकै कारण हो। यसले उनलाई सांगीतिक यात्रामा परसम्म लैजान्छ भन्नेमा विश्वस्त छु।’

सज्जा पनि परिवार र साथीभाइको सहयोगले आफू नेपाल आइडल विजेता बनाएको बताउँछिन्।

उनलाई नेपाल आइडलमा एकपछि अर्को राउन्ड उक्लिँदै जाँदा आफ्नो ब्यान्ड ‘द लर्ड’ को खुब चिन्ता लाग्थ्यो। अभावमा साथ दिने साथीहरू आफू नभएपछि बेरोजगार बनेको देख्दा उनी खिन्न हुन्थिन्।

‘अब ब्यान्डप्रति मेरो जिम्मेवारी झन् बढेको छ,’ उनले भनिन्, ‘जहाँ जस्तो अवस्थामा पुगे पनि म ब्यान्डको साथमा हुन्छु।’ सेतोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *