कोरोनाको खोपका लागि अझै कति समय पर्खनुपर्छ ? हेर्नुस

सन् २०२० अगष्ट ११ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधनका क्रममा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पहिलो खोप बनेको घोषणा गरे । रुसले निर्माण गरेको भनिएको खोपको नाम ‘स्पुतनिक भी’ दिइएको छ ।

रुसी भाषनमा स्पुतनिकको अर्थ स्याटेलाइट भन्ने हुन्छ । सोभियत संघले १९५७ मा विश्वको पहिलो स्याटेलाइट बनाएको थियो । उक्त स्याटेलाइटको नाम पनि स्पुतनिक राखिएको थियो ।

अहिले खोपको नामले यो संकेत गर्छ कि, वर्षौंअघि जसरी सोभियत संघले स्याटेलाइटमा अमेरिकालाई पछाडि पार्‍यो, त्यसरी नै रुसले कोरोना भाइरसविरुद्धको खोपमा पनि अमेरिकालाई पछि पारेको सन्देश दिन चाहन्छ ।

पुटिनले रुसले बनाएको खोपको डोज दिइएको र उनी पूर्णरुपमा स्वस्थ रहेको बताएका थिए । यद्यपि यो कोरोना खोपमाथि वैज्ञानिकहरुले आशंका व्यक्त गर्दै आएका छन् । रुसले यो खोपको प्रयोग ७६ जनामा गरेको थियो । साथै तेस्रो चरणको क्लिनिकल परीक्षण बाँकी थियो । यो चरणको परीक्षण हजारौं मानिसमा गरिन्छ ।

रुसले आफ्नेा देशमा यसको प्रयोग नै गरेपनि बाँकी दुनियाँ यसलाई स्वीकृति दिने पक्षमा देखिन्न ।

खोप छिटै निर्माण गर्नुपर्ने दबाब

कोरोना भाइरसविरुद्धको खोप कहिलेसम्म बन्न सक्ला भन्ने विषयमा कोलम्बिया युनिभर्सिटीकी संक्रामक रोग विशेषज्ञ एन्जेला रेसमसन भन्छिन्, ‘मलाई लाग्छ कि निकै छिटो । तर पनि सन् २०२० अन्तिमसम्म वा २०२१ को शुरुवाती केही महिनासम्ममा मात्र कोरोना भाइरसविरुद्धको खोप निर्माण हुन सक्छ । त्यसअघि बन्दैन ।’

कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन विश्वभरका रिसर्च इन्स्टिच्युट र फर्मास्युटिकल कम्पनीहरुले एक सयभन्दा धेरै खोपको विषयमा काम गरिरहेका छन् । चीनका तीन, अमेरिकाका दुई र बेलायतको एक खोप विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अन्तिम चरणमा पुगिसकेका छन् । एन्जेला रेसमसन भन्छिन्, ‘यसमध्ये तीन फरक टेक्नोलोजी प्लेटर्फमको प्रयोग भइरहेको छ । सबैले सबैभन्दा प्रतिरोधी क्षमता प्रणालीमा कोरोना भाइरस पत्ता लगाउँछन् र त्यसैको अधारमा एन्टिबडी विकास गर्छन् ।’

बेलायतको अक्सफोर्ड युनिभर्सिटी र ग्लोबल ड्रग्स र्फम एक्स्ट्राजेनेकाले मिलेर बनाइरहेको खोपमा कोरोना भाइरसँग मिल्ने किसिमको भाइरसको प्रयोग भइरहेको छ । अमेरिकाको मोडर्नाले निर्माण गरिरहेको खोपमा जेनेटिक मेटेरियलको सहायतामा स्पाइक प्रोटिन तयार पारिन्छ । चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले तेस्रो विधिको प्रयोग गरिरहेको छ । यो खोपमा कोरोना भाइरसकै प्रयोग गरिन्छ ।

तीन वटै खोपको सुरक्षा र रोगसँग लड्ने क्षमता जान्न अपेक्षा गरिएभन्दा निकै कम मानिसमा परीक्षण भएको छ र तेस्रो चरणको परीक्षणको पालो आएको छ । ‘तेस्रो चरणको परीक्षणमा हजारौंको संख्यामा मानिसहरुलाई यो खोप दिइन्छ । त्यसपछि सामान्य जिन्दगीमा कोरोना भाइरसको सम्पर्कमा आउँदा उनीहरुमा कस्तो असर पर्छ भन्ने कुराको अध्ययन गरिन्छ’ एन्जेला रेसमसन भन्छिन्, ‘उनीहरु कोरोना भाइरसका कारण बिरामी परेनन् भने ने खोपले काम गरिरहेको छ भन्ने यकिन हुन्छ ।’

खोपको परीक्षण जनावरहरुमा गर्दाको अवस्थामा त्यति धेरै सतर्क हुनु जरुरी हुँदैन । तर मानिसमा परीक्षण सुरु गरेपछि भने उनीहरुको स्वास्थ्यमा कुनै पनि किसिमको खेलवाड नहोस् भन्नेमा विशेष ध्यान दिनु जरुरी हुन्छ ।

अहिले वैज्ञानिकहरुमाथि छिटोभन्दा छिटो कोरोना खोप निर्माण गर्नुपर्ने दबाब भएकाले केही खतरा छ । रेसमसनका अनुसार समय निकै कम हुँदा वैज्ञानिकहरुले तथ्यांकको राम्रोसँग अध्ययन गर्न सक्दैनन्, जसको कारण धेरै खोपहरु सफल नहुने जोखिम हुन्छ ।

खोपको माग कसरी पूरा हुन्छ ?

खोप निर्माण गर्नु मात्र होइन, ठूलो संख्यामा यसको उत्पादन गर्नु पनि महत्वपूर्ण कुरा हो ।

अहिलेको अवस्थामा विश्वव्यापीरुपमा फैलिएको महामारी नियन्त्रणको लागि निकै ठूलो संख्यामा खोप उत्पादन गर्नु जरुरी छ । यति संख्यामा अहिलेसम्म कुनै पनि खोप उत्पादन गरिएको थिएन । त्यसो त माग अनुसारको आपूर्तिका लागि उल्लेख्य मात्रामा लगानी पनि भइरहेका छन् । तर लगानी अनुसारको उत्पादनले भने माग धान्न नसक्ने जानकारहरु बताउँछन् ।

पछिल्लो समय खोप निर्माणका लागि बौद्धिक क्षमताको पनि विस्तार भएको छ, जसको कारण पश्चिमा मुलुकभन्दा बाहिरका मुलुकको पनि खोप निर्माणको क्षमता बढेको छ । यसले माग अनुसार खोप उत्पादन हुनसक्ने जानकारहरुले बताएका छन् ।

उत्पादनपछि खोपलाई सुरक्षित राख्नु पनि अर्को चुनौती हो । विशेषगरी २४ सै घण्टा बिजुली नहुने मुलुकमा यसलाई सुरक्षित रुपमा स्टोर गर्नु निकै चुनौतीपूर्ण हुन्छ ।

साथै एकैपटक सबैलाई कोरोना खोप दिन पनि नसकिने भएकाले त्यसका लागि अहिलेदेखि नै रणनीतिक योजना बनाएर अघि बढ्नु जरुरी रहेको जानकारहरुको भनाइ छ ।

खोप र राष्ट्रवाद

कोरोना भाइरसको महामारी सुरु हुँदाको समयमा अमेरिका र चीन व्यापार युद्धमा अल्झिएका थिए । अमेरिकालाई पीपीई आवश्यक पर्दा यी दुई मुलुकको बीचमा भन्सार शुल्कको मुद्दा प्रमुख बन्न पुग्यो । यस विषयमा नै विवाद देखिएका थियो भने राष्ट्रवादको सम्बन्ध खोपसँग जोडिनु खासै नौलो कुरा होइन ।

अमेरिकामा मात्र नभई युरोपमा पनि त्यस्तै अवस्था देखियो । कोरोना भाइरस नियन्त्रणको लागि सहयोगी हुने भनिएको रेमडेसिभर औषधिमा पनि सोही अवस्था देखियो । अमेरिकाले तीन महिनालाई पुग्ने औषधि पहिला आफ्नो लागि सुरक्षित गर्‍यो ।

वासिङटन डीसीमा रहेको पिटर्सन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्स का चेड बाउन यो सार्वजनिक स्वास्थ्यको विषय भएकाले आफ्नोबारे मात्र सोच्नुको नतिजा नराम्रो हुनसक्ने बताउँछन् । उनका अनुसार कुनै एक स्थानमा मात्र कोरोना भाइरसको संक्रमण सकिनुले यात्रामा अहिले कायम रहेको प्रतिबन्ध हट्न सक्दैन । उनका अनुसार कोरोना खोप जुन मुलुकले निर्माण गरे पनि अर्को कुनै न कुनै मुलुकसँग सहकार्य गर्नु जरुरी हुन्छ ।

चेड बाउन भन्छन्, ‘खोपको सानो कुरा खोतल्दा, जस्तो किसिमको खोप आवश्यक पर्ने हो, त्यो सबै मुलुकसँग हुँदैन । यस्तोमा उनीहरुलाई आयातको विकल्प हुँदैन । विश्व व्यापार तथा आपूर्तिको लागि प्रत्येक विकल्प खुला राख्नु जरुरी हुन्छ । धेरै सम्भावना यो पनि छ कि खोपको लागि आवश्यक केही कुराको लागि विदेशी मुलुकसँग निर्भर रहनुपर्ने जरुरी पनि हुन सक्छ ।’

अहिले खोपको दौडमा सबैभन्दा अगाडि देखिएका खोप सबैभन्दा प्रभावकारी हुन्छन् भन्ने पनि कुनै ग्यारेन्टी छैन । चेड बाउन भन्छन्, ‘ठूलो मात्रामा उत्पादन गरिएको पहिलो खोप सबैभन्दा प्रभावकारी नहुन पनि सक्छ । उदाहरणका लागि अमेरिकाले पहिलो खोप विकास गरेको अवस्थामा उसले अन्य मुलुकलाई यो खोप नदिन पनि सक्छ । युरोप वा अष्ट्रेलियाले त्यसपछि निर्माण गरेको खोप थप प्रभावकारी देखिन पनि सक्छ र उनीहरुले पनि अमेरिकालाई आफ्नो खोप नदिन पनि सक्छन् । आपसी सहयोगको कमी, कमजोरी बन्नसक्छ ।’

अन्तर्राष्ट्रिय राजनीति र प्रविधिको समस्या आफ्नो ठाउँमा छ, तर कतै हामीले नै कोरोना भाइरसविरुद्धको खोपबारे धेरै अपेक्षा त गरेका छैनौं ? क्यालिफोनिया युनिभर्सिटीमा ग्लोबल हेल्थका प्राध्यापक रिचर्ड फिचम पनि कोरोना खोपबारे धेरै अपेक्षा गर्नु उचित नभएको बताउँछन् । उनका अनुसार ढिलोचाँडो खोप त बजारमा आउला तर त्यसबारे धेरै अपेक्षा गर्दा समस्या अझै बढ्नसक्छ । उनी भन्छन्, ‘अहिले मानिसहरुको मनस्थितिलाई ध्यानमा राख्दा खोप आउनेबित्तिकै सबै समस्या समाधान हुन्छ भन्ने धारणा देखिन्छ । त्यसै धेरै चिन्ता लिनुपर्ने अवस्था छैन भन्ने मानिसहरुको बुझाइ छ तर कुनै पनि ‘गेम चेन्जिङ’ खोपको बारेमा सोच्नु ठूलो समस्या हो ।’

७० प्रतिशतभन्दा धेरै प्रधावकारी र एक डोज लिएपछि वर्षौंसम्म प्रतिरक्षा क्षमता बन्ने खोपलाई ‘गेम चेन्जिङ खोप’ भनिन्छ । यसअघि पनि खोपको प्रतीक्षामा बस्दा धेरै कुराहरु प्राथमिकताको सूचीमा नपर्ने र खोपको आशा पनि समाप्त भएका उदाहरण छन् । सन् १९८४ मा अमेरिकी अधिकारीले एचआईभीको खोप दुई वर्षभित्र परीक्षणको लागि तयार हुने बताउका थियो । तर, अहिलेसम्म पनि वैज्ञानिकले एचआईभीको खोप बनाउन सकेका छैनन् ।

फिचम भन्छन्, ‘सन् १९८० को दशकदेखि १९९० को दशकसम्म हामीले खोपको प्रतीक्षा गर्‍यौँ र यो अवधिमा अन्य विकल्पको विषयमा सोच्न पाएनौँ । धेरै लामो समयपछि हामीले एन्टि रेट्रो भाइरल ड्रग्सलाई मिलाएर केही गर्न सकिन्छ कि भन्ने सोच्यौँ । पछि यो ‘गेम चेन्जर’ साबित भयो । तर, एचआईभी/एड्सको पहिचान भएको चार दशकपछि उल्लेख्य रकम खर्च र उल्लेख्य रुपमा वैज्ञानिक विकासका बाबजुद हामीसँग एचआईभीको कुनै खोप छैन । तर हामीले भाइरस फैलिन रोक्न र धेरै मानिसहरुको ज्यान बचाउन सहयोग गर्ने उपचार खोजेका छौँ ।’

अहिले कोरोना भाइरसविरुद्धको खोप निर्माणको काम एतिहासिक गतिमा भइरहेको छ । तर प्रभावकारी खोप आउन अझै धेरै महिना लाग्न सक्छ । त्यसपछि मात्र प्रभावकारी हुनुका साथै सुरक्षाको पनि प्रत्याभूति हुने खोप बजारमा आउन सक्छ ।

सुरक्षित र प्रभावकारी खोप निर्माण गर्न धेरै वर्ष लाग्न सक्छ । साथै एचआईभी/एड्सजस्तै कोरोना भाइरसको खोप पनि कहिले पनि नभेटिन पनि सक्छ । पनि आशा गरौं, छिटै नै कोरोना भाइरसविरुद्धको खोप आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *