प्रदेश ५: कोरियाबाट फर्किएका मनकाजीले देखाए चमत्कार ! [भिडियोसहित]

भगवती पाण्डे/सेतोपाटी
बुटवल, भदौ १६ दुई वर्षपहिले दक्षिण कोरियाबाट फर्किएका बुटवलका मनकाजी थापा अहिले कालिज फर्ममा भेटिन्छन्।

कोरियामा ५ वर्ष काम गरी फर्किएका थापालाई त्यसपछि भने पैसा कमाउन विदेशी भूमिमा जान मन लागेन।

गुल्मीको शान्तिपुर चन्द्रकोटबाट १७ वर्ष पहिले बुटवल उपमहानगरपालिका-१९ रानीबारीमा बसाइँ सरेका मनकाजीले दाजुसँग मिलेर आफ्नै जग्गामा कालिज फर्म सञ्चालन गरेका हुन्।

उनीहरूका कालिज फर्मसँगै बुटवल मिलनचोक र देवीनगरमा दुई वटा रेष्टुरेन्टसमेत छन्।

लकडाउनले ५ महिनादेखि रेष्टुरेन्ट बन्द भए पनि थापा दाजुभाइ भने कालिज हुर्काउनमा व्यस्त रहे।

कोरियाबाट फर्किएपछि नेपालका विभिन्न स्थानका कालिज फर्मको अवलोकन र सञ्चालकहरूसँग प्राविधिक ज्ञान लिएर व्यवसाय सुरू गरेको थापाले बताए।

‘काठमाडौं, पोखरालगायत ठाउँमा कालिज फर्म हेरेर तिनका सञ्चालकसँग प्राविधिक रूपमा सल्लाह लिएर सुरू गरेका हौं,’ मनकाजीले सेतोपाटीसँग भने।

कालिज पालन व्यवसाय नेपालमा नयाँ हो। यहाँ त्यसका अण्डा र चल्ला नपाइएपछि युरोपबाट अण्डा ल्याएर काठमाडौंमा ह्याचरिङ गरिएको थियो।

‘युरोपबाट २२ सय अण्डा झिकाएका थियौं, काठमाडौंमा ह्याचरिङ गर्दा जम्मा १२ सय चल्ला निस्किए, ह्याचरिङ गरिएको एकदिनकै चल्लालाई फर्ममा ल्याए पनि राम्रो गरी हुर्किए चल्ला धेरै मर्न पाएनन्,’ थापाले भने।

उनका अनुसार झन्डै आधा अण्डा खेर गएकोले चल्ला उत्पादन गर्दा नै लागत धेरै परेको थियो। चल्लालाई फर्मसम्म पुर्‍याउँदा प्रतिगोटा १ हजार ४ सय परेको उनले बताए।

बाहिरबाट अण्डा ल्याउँदा चल्ला ह्याचरिङमै लागत बढी परेकोले पहिलो उत्पादनमा महंगो पर्ने उनको भनाइ छ।

आगामी वर्षदेखि फर्ममै अण्डा र चल्ला उत्पादन हुने भएकोले लागत घट्ने छ। मूल्य पनि त्यसै अनुसार कायम गरिने उनले बताए।

अन्य पंक्षीभन्दा कालिजको मूल्य महँगो पर्छ। नेपालका अरू फर्महरूले तौलेर नभई प्रतिगोटाको हिसाबले बिक्री गर्दै आएकोले उनले पनि गोटाको हिसाबले मूल्य तोकेर बिक्री गर्ने बताए।

‘एउटा चल्लाकै लागत १४ सय परेको छ, ६ महिना दानापानी खुवाएर हुर्काएको कालिजलाई ३ हजार २ सय प्रतिगोटा मूल्य तोकेका छौं,’ उनले भने।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुसार डाँफे, मुनाल, कालिजलगायतका वनजंगलमा पाइने पंक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध गरिएको छ।

विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा शिकार गर्न पाइने भएकाले नेपालमा कालिज पाल्नेको लहर चलेको छ।

नेपाल सरकारले कालिज पालनलाई अनुमति दिएको लामो समय पनि भइसकेको छैन। यसको मासुको माग अत्यन्त भएकोले राम्रै आम्दानी गर्न सकिनेमा उनी ढुक्क छन्।

कालिजको मासु स्वादिष्ट र पोषणयुक्त हुने भएकाले मागलाई हेरेर अर्को वर्ष कालिजको संख्या बढाउने उनले बताए।

‘कालिजको मासु रातो हुने भएकोले स्वस्थकर मानिन्छ, यसको मासुमा बोसोको मात्रा कम हुने र प्रोटिनको मात्रा धेरै हुने भएकोले गर्भवती, सुत्केरी तथा बिरामीलाई समेत लाभदायक मानिन्छ,’ थापा भन्छन्।

कालिज बिक्रीका लागि बजारको कुनै अभाव नरहेको र सर्वसाधारणको भान्छामा सहजै पुर्‍याउने योजना उनीहरूले बनाएका छन्।

‘नेपालका ठूला होटलदेखि सर्वसाधारणको भान्सामा कालिजको मासुको माग हुन्छ, उत्पादन हुनुपर्‍यो मासुको बजारको समस्या छैन,’ उनले भने।

साढे ५ कट्ठा जग्गामा सञ्चालन गरिएको उनीहरूको फर्ममा अहिले ११ सयभन्दा बढी कालिज छन्।

यी मासुको लागि तयार भइसकेका छन्। कालिज ६ महिनादेखि मासुको लागि तयार हुन्छन्। भाले कालिजको तौल औसतमा डेढ किलोग्रामसम्म पुग्छ। पोथी भने ९ सय ग्रामदेखि एक किलोसम्म तौलको हुन्छ।

थापाले अहिले फर्ममा रहेका पोथी र केही भालेलाई माउको बनाएर थोरैमात्र बिक्री गर्ने बताए।

‘अहिले माउ तयार गर्ने भएकोले केही भालेमात्रै असोज १ गतेदेखि मासुको लागि बजार पठाउने सोचमा छौं,’ उनले भने।

केही पोथीबाट अण्डा र चल्ला उत्पादन गरी आगामी वर्ष चल्लासमेत बिक्री गर्ने योजना रहेको उनले बताए।

‘अहिले १२ देखि १५ लाख रुपैयाँसम्मको मात्रै भाले बिक्री गर्ने योजना छ, फर्ममा धेरै पोथी छन्, यिनलाई बिउको रूपमा राखेर अर्को वर्ष चल्ला उत्पादन गरी यस्तै व्यवसाय गर्न चाहने किसानलाई चल्ला बिक्री गर्ने र आफैंले पनि फर्मलाई विस्तार गर्ने योजना छ,’ उनले भने।

कालिजले माघदेखि असारसम्म अण्डा दिने र वर्षको एक सिजनमा एउटा पोथीले ५०-५५ वटासम्म अण्डा पार्छ।

अहिले फर्ममा ६ सय बढी पोथी कालिज छन्। एक सिजनमा ३० हजार हाराहारी अण्डा उत्पादन हुने उनले बताए।

३० हजार अण्डा ह्याचरिङ गर्दा २० हजारसम्म चल्ला हुर्काउन सकिए पनि चल्लाबाट राम्रो आम्दानी लिन सकिने उनको विश्वास छ।

सानो बच्चामै एक दुई वटा भ्याक्सिन दिएपछि कुनै रोग कालिजमा देखिएको छैन।

कालिजको लागि पहाडी क्षेत्रको भूभाग र हावापानी राम्रो हुने भए पनि तराईमा जोखिम मोलेर सुरू गरेका छन्।

‘तराईमा तापक्रम त्यति मेल खाँदैन की भन्ने डर थियो, सुरूमा चल्ला ल्याउँदा जोखिम मोलेरै ल्याएका थियौं अहिले भने सन्तुष्ट छौं,’ उनले भने।

मनकाजीले कालिजसँगै फर्ममा लोकल कुखुरा र बाख्रा पनि पालेका छन्। कालिज र बाख्राको लागि घाँस चाहिने भएकोले उनले फर्मभित्रै घाँस खेती लगाएका छन्। कालिजले दाना र घाँस समेत खान्छ।

एउटा कालिजलाई दिनमा ५० ग्राम दाना चाहिनेमा घाँस खुवाउन सकिए ३०/३५ ग्राम दानाले पुग्ने उनले बताए।

‘हाँस, कुखुराभन्दा कालिजलाई प्रोटिनको मात्रा धेरै भएको दाना चाहिन्छ, घाँस पर्याप्त भए ५० प्रतिशत दाना र ५० प्रतिशत घाँस खुवाउन सकिन्छ त्यो भयो भने लागत पनि घट्न जान्छ,’ थापा भन्छन्।

फर्ममा पालिएका कालिज एकअर्कालाई ठुग्ने, लड्ने भएकाले खेल्न र उड्न मिलोस् भनेर अग्लो गरी तार र जाली लगाएर घेरिएको छ। आफ्नै जग्गा भएकोले करिब ४० लाख रुपैयाँको लागतमा फर्म सुरू गर्न सकिएको उनले बताए। सेतोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *