आज हल्कादेखि भारीसम्म वर्षा हुने, कहाँ- के हुन्छ ?

काठमाडौं, भदौ १७
आज (बुधबार) पनि देशका धेरै स्थानमा मघेगर्जन/चट्याङसहित हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

उसो त अहिले बिहान पनि गण्डकी र प्रदेश ५ मा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

‘प्रदेश ४ (गण्डकी) मा त रातभर पनि पानी परेको थियो,’ बुधबार बिहान उनले भने, ‘प्रदेश १ तिर भने आकाश खुल्दै गएकाे छ।’

उनका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरिरहेकाले आज देशका पूर्व र मध्य क्षेत्रमा भन्दा पश्चिमतर्फ बढी वर्षा हुने सम्भावना छ।

‘खासगरी आज गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी वर्षा हुने सम्भावना छ,’ मौसमविद् श्रेष्ठले भने, ‘छेउमै रहकाेले बागमती प्रदेशका पनि केही ठाउँमा वर्षा हुने सम्भावना छ, प्रदेश १ र २ मा पनि पानी नै नपर्ने त होइन, तर हल्का मात्रै पर्ने सम्भावना छ।’

मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसाे गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिमप्रदेशका थौरै स्थान र बागमती प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना छ।

‘तर बागमती प्रदेशअन्तर्गत काठमाडौंमा आजलाई भारी वर्षाको सम्भावना छैन,’ मौसमविद् श्रेष्ठले भने, ‘हल्का वर्षाको मात्रै सम्भावना देखिएको छ।’

यस्तै राति पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाकाे बुलेटिनमा उल्लेख छ।

‘आज र भोलि वर्षा अलि बढी हुने सम्भावना देखिन्छ,’ मौसमविद् श्रेष्ठले भने, ‘शुक्रबारबाट भने वर्षा कम हुने सम्भावना छ।’

चट्याङ लागेर एकको मृत्यु, पाँच जना घाइते

ताप्लेजुङमा मंगलबार साँझ चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

फुङलिङ नगरपालिका १० फुरूम्बुकी दुर्गा भट्टराईको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङले गम्भीर भएकी भट्टराईलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

ताप्लेजुङकै सिरिजंघा गाउँपालिकामा मंगलबारै चट्याङ लागेर पाँचजना घाइते भएका छन्।

सिरिजंघा ४ तेल्लोकमा दुईजना र वडा नम्बर ५ पेदाङमा तीनजना घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। तेल्लोकका ३५ वर्षीय कुमार थेबे, १७ वर्षीय उमेश थेबे, पेदाङका ५० वर्षीय अर्थमान मावो, उनकी पत्नी ४९ वर्षीया नरमाया मावो र ६ वर्षीय छोरा अतिप मावो चट्याङ लागेर घाइते भएका हुन्।

घाइते सबैको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। मंगलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *