उपत्यकामा थपिएकाे एक साता निषेधाज्ञामा के गर्न पाउने, के नपाउने (हेर्नुस सूचीसहित)

काठमाडौं, भदौ १७
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि थप गरिएको छ।

साबिकको निषेधाज्ञा निर्णयलाई निरन्तरता दिँदै सात दिन समय थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। उनका अनुसार निषेधाज्ञा २४ गते राति १२ बजेसम्म कायम रहन्छ।

बुधबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो। प्रजिअ दाहालका अनुसार यसपालि अत्यावश्यक वस्तु तथा सेवालाई खुकुलो पारिएको छ।

जसअनुसार अब खाद्यान्न, तरकारी, फलफूललगायतका पसललाई बिहान ११ बजेसम्म खोल्न दिइने छ। यसअघि बिहान ९ बजेसम्म मात्र दिइएको थियो।

यस्तै, निर्माणसामग्री सम्बन्धी सबै पसललाई दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको दाहालले बताए।

यस्तै, प्रशासनले निर्माण सामग्री ढुवानी गर्ने सबै साधनहरूलाई काठमाडौं प्रवेश गर्न दिने निर्णय गरेको दाहालले बताए। यसअघि निर्माण सामग्रीका सवारीसाधन राजधानी प्रवेश गर्न दिइएको थिएन।

यसैगरी, अनलाइन कक्षा सञ्चालनका लागि अनुमति दिइएको छ। तर, यी सबैमा सामाजिक दूरी र स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्नुपर्ने छ।

अब स्वाब परीक्षण गर्न दिएर होम क्वारेनटाइनमै बस्ने नियम कडाइसाथ लागू गरिएको दाहालले बताए। स्वाब दिनेहरूलाई घरमै निगरानीमा राखिने दाहालले बताए।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण नघटेपछि जारी निषेधाज्ञालाई निरन्तरता दिनुपरेको दाहालले बताए। यसअघि सरोकारवाला सबै पक्षसँग छलफल गरेर प्रशासनले गृह मन्त्रालयमा निषेधाज्ञासम्बन्धी राय पठाएको थियो।

गृहले राय अनुमोदन गरेपछि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा निर्णयमा सामेल भएका थिए।

काठमाडाैं जिल्ला प्रशासन कार्यालयले जारी गरेकाे सूचनाः

 

देशभर कति थपिए कोरोना संक्रमित ?

बितेको २४ घण्टामा देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत्मले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

उनका अनुसार आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ४९३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६१५ जना रहेका छन् ।

यसैगरी बितेको २४ घण्टामा १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

प्रदेशगत विवरण

आजसम्म देशभरी संक्रमितको संख्या १८ हजार १ सय ८ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार १ सय ३८, प्रदेश नम्बर २ मा १ हजार १ सय २७, बागमती प्रदेशमा ५ हजार ६७ र गण्डकी प्रदेशमा ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रदेश नम्बर ५ मा १ हजार २ सय ५२, कर्णाली प्रदेशमा ३ सय ५० र सुदूरपश्चिम प्रदेशमा ९ सय २० जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ४ सय ९३ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर १ मा ६ सय ७६, प्रदेश नम्बर २ मा ४ हजार १ सय ३, बागमती प्रदेशमा २ हजार १ सय ७६ र गण्डकी प्रदेशमा ३८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ७, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा १ सय ३८ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ६ सय १५ जना रहेका छन् । आइसियुमा १ सय ४४ जना संक्रमित र भेन्टिलेटरमा १८ जना उपचाररत रहेका छन् ।

यसैगरी डिस्चार्ज हुनेमा प्रदेश नम्बर १ मा १ हजार ७ सय ८७, प्रदेश नम्बर २ मा ६ हजार ३४, बागमती प्रदेशमा १ हजार ५ सय ६९र गण्डकी प्रदेशमा १ हजार ७ सय९ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ६६, कर्णाली प्रदेशमा २ हजार १ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ८८ गरी देशभरी गरी आजसम्म २३ हजार २ सय ९० जना संक्रमण मुक्त भएका छन । क्वारेन्टिनमा ६ हजार ७ सय ६६ जना रहेका छन् । मन्त्रालयले ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरेको छ ।

यसैबीच देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २५१ पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *