‘राष्ट्रकवि घिमिरे एक सातादेखि मृत्युको तयारी गरिरहेका थिए’ [भिडियो]

सुजाता खत्री/देशसंचार
मध्य दिउँसो राष्ट्रकवि माधवप्रसाद घिमिरेको घर छिर्ने गेट बन्द थियो। गेटबाहिर दुईवटा मोटरसाइकल थिए अनि नेपाली सेनाको हरियो रंगको जीप। गेटभित्र मानिसको चहलपहल बाक्लै थियो। एक छेउबाट मलिनो धुँवा उडिरेको थियो, ब्राम्हणले संस्कृतमा श्लोक बाचन गरेको सुनिन्थ्यो।

रंगाइएको गेट बिस्तारै खुल्यो, कपाल थोरै सेतो भएकी एक महिला देखा परिन्। उनी राष्ट्रकविकी छोरी मञ्जु घिमिरे अधिकारी। उनको मुखमा मास्क थियो, हातमा पुस्तक ‘बाल–लहरी’ ।

‘यो पुस्तक बुवाले हामीलाई हुर्काउँदै गर्दा लेख्नु भएको हो। यसपछि प्रकाशित अर्को एउटा बाल कविता संग्रह छ, त्यो उहाँले नातिनातिनालाई हुर्काउँदै गर्दा लेख्नु भएको थियो,’ उनले भनिन्, ‘तपाईँ अब अनुमान लगाउन सक्नुहुन्छ, हामी कवितात्मक वातावरणमा हुर्कियौँ। भात खुवाउँदा, खेलाउँदा पनि कविता नै सुन्यौँ, हाम्रो शरीरमा पनि कविताकै रस छ।’

कविता सुन्दै गर्दा उनीहरु नाच्ने, उफ्रने गर्थे रे तर कवितामय वातावरणमा हुर्किए पनि घिमिरेको कान्छी छोरीबाहेक अरुले कविता लेख्दैनन्। मञ्जु चाहिँ नेपालीको शिक्षिका, तर उनले कहिले पनि कविता लेखिनन्, ‘अलि अलि गद्य लेखन म गर्छु तर प्रकाशित भने भएको छैन।’

यति भनिसकेपछि उनले गेटभित्र भईरहेको क्रियाकलापको बारेमा जानकारी दिइन्, ‘आज बुवाको किरिया सक्काउने काम भइरहेको छ।’ आज अर्थात २०७७ भदौ, १३ गते राष्ट्रकवि स्वर्गीय भएको १२ दिन, हिन्दु परम्परा अनुसार १३ दिनको काम आइतबार गर्न नहुने भएको भन्दै १३ गते नै सक्काउन लागिएको थियो।

मञ्जु आफ्नो घरतिर लगिन्, उनको घर ठ्याक्कै राष्ट्रकविको घरको अगाडि। ब्रिटिस एम्बेसीको कम्पाउन्डबाट राष्ट्रकविको घर पुग्नै लाग्दाको घुम्तीमा मञ्जुको घर आइपुग्छ, राष्ट्रकविको घरबाट दुई मिनेट वरपर। विवाह गरेको ५२ वर्षको अवधिमा उनले यही बाटो प्रयोग गरेर माइती र घर आउजाउ गरिन्।

मञ्जु राष्ट्रकविको तेस्रो सन्तान हुन्, उनीभन्दा माथि दुई दिदीहरु, तल तीन बहिनी र दुई भाइ छन्। पेशाले उनी शिक्षक हुन्। उनले विश्व निकेतन स्कूलमा साढे २२ वर्ष पढाइन्, त्यसपछि उनले स्वेच्छिक अवकाश लिइन्। उनी सोही विद्यालयमा पढाउँदै गर्दा साइन्स कलेज खुल्यो, त्यहाँ पनि उनले २० वर्ष प्राध्यापन गरिन्। उनी विद्यार्थीसँग सामाजिक सञ्जालमा जोडिएकी छन्, उनलाई लाग्छ, ‘उनीहरु मेरा वर पिपल हुन्।’

अनि उनले बाबुको स्वर्गारोहण यात्रा सम्झन थालिन्,

मरण हैन, दिव्य यात्रा

‘बाबाको निधनमा देशभरिका मानिसले शोक प्रकट गरे, तर मैले यसलाई अलि फरक रुपमा लिएकी छु, मेरो पिताको अहिलेको स्थितिलाई मरण हैन, भौतिक जीवनलाई सकेर उहाँ आकाशमा रमण गर्न जानु भएको छ। यो दिव्य यात्रा हो, उहाँ ईश्वरसँग मिल्न जानुभएको छ।’ उनले भनिन्, ‘हामीले दु:ख गर्नु पर्ने नै छैन, यो हाम्रो उत्सव हो।’

मञ्जुले यो कुरा आमा सहित परिवारका सबै सदस्यलाई सम्झाइन् पनि। यसमा केही कारणहरु थिए। यस्ता महान राष्ट्रले मात्र हैन, पूरै विश्वले मानेको व्यक्ति जो आफ्नो पूरा उमेर बाँचेर अनि एक सातादेखि स्वेच्छिक मरणको तयारी गरिराखेका थिए।

‘उहाँले एक सातादेखि औषधि खान मानिरहनु भएको थिएन। हामीलाई पटक पटक बोलाएर आशिर्वाद दिएर, सानो भाइलाई आफ्नो मृत्युपछि गर्ने क्रियाकलापका बारे अह्राउनुभएको थियो।’

मञ्जु भन्छिन्, ‘उत्सव हुने अर्को कारण पनि छ, जुन दिन उहाँ जानुभयो त्यो दिन तीन कुराको संयोग परेको थियो,

१. त्यो दिन दिउँसो १ बजेपछि औँशीट तिथि लागेको थियो, बुबाको जन्म पनि औँशी तिथिमा नै भएको हो।

२. गतेले बुवाको मुख हेर्ने दिन भोलिपल्ट थियो, बुवा स्वर्गारोहण भएकै दिन हामीले उहाँको सद्गद् गर्न पाएनौँ। ‘मृत्युपछि मलाई जलाइ नहाल्नू’ भन्ने उहाँको इच्छा पूरा भयो अनि, बुवाको मुख हेर्ने औँसीको दिनमा हामीले अन्तिम पल्ट अनुहार पनि हेर्न पायौँ।

हामीले चन्दनले बुवालाई चन्दन र मालाले श्रृंगार गरेर ‘हाम्रो गायत्री गुरु’ लाई गायत्री मन्त्र वाचन गरी परिक्रमा गर्‍यौँ।

३. त्यो दिन मञ्जुकी आमाको जन्मदिन थियो। शुभकामना दिने शब्द त्यो दिन फरक भए। त्यो दिन आमालाई सौभाग्य सामग्री दिन पाएनौँ हामीले। पाँच छोरीहरुले आमालाई परिक्रमा गर्‍यौँ, एक दिदीले विद्युतीय उपकरणबाट हामीलाई साथ दिनुभयो। हामीले भन्यौँ – ‘हामीलाई आशिर्वाद दिनुस् आमा।’हामी सबै खुशी-खुशी थियौँ, त्यसैले यो उत्सव हो।’

त्यहाँ शान्ति छोरी थिइनन्, कान्ति, मञ्जु, उषा, किरण, ज्योति थिए, अनि छोराहरु इन्दिवर र राजीव अनि दुई बुहारीहरु थिए।

श्लोकले बिदाइ
त्यो दिन बिहीबार थियो। जुन दिन राष्ट्रकविले औषधि, खाना खान मानेनन्। त्यही दिन राष्ट्रकविलाई अस्पताल लगेर ल्याइएको थियो। मञ्जुकी चिकित्सक बहिनीले स्वासको तालमेल, शरीरको तालमेल हेरेर बुबाको समय धेरै छैन भन्ने जानकारी दिएकी थिइन्। त्यसपछि सबै सन्तानले सबैले आफूले जानेको श्लोक पाठ गरे।

राष्ट्रकविले धेरैजसो पाठ गरिरहने श्लोक
गीता अध्याय ६, श्लोक ५

उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मन

गुरु पूर्णिमामा विशेष गरी पाठ गरिने श्लोक, यो मन्त्र पढ्दा राष्ट्रकविले भन्ने गर्थे, ‘मेरा छोरा छोरीले कति प्रष्ट पाठ गर्न जानेका’ यो मन्त्र राष्ट्रकविको स्वर्गारोहणको दोस्रो दिन पनि ५ छोरी, दुई बुहारी र श्रीमती महाकालीले परिक्रममा गर्दै सुनाए।

गायत्री मन्त्र

ऊँ भूर्भुवः स्वः
ततसवितुर्वरेण्यम
भर्गोदेवस्य धिमहि
धियो यान प्रचोदयात्

यो मन्त्र राष्ट्रकविले स्वेच्छिक मरण गर्ने संकेत दिएपछि परिवारका सदस्यले सुनाइरहे।

महामृत्युञ्जय मन्त्र
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय मामृतात्

यो स्तुति राष्ट्रकविको घरदेखि पशुपतिसम्मको शव यात्रामा वाचन गरियो।

शिव ऊँ शिवोहम् पुनरपि जनमम् पुनरपि मरणम्
पुनरपि जननी जठरे सयनम्

र अन्तमा

त्वदीयं वस्तु गोविन्द तुम्यमेव समर्पये
ऊँ ऊँ ऊँ ऊँ ऊँ

झ्यालबाट बाबु हेर्थिन् मञ्जु

मञ्जुको घरको दोस्रो तलामा भान्सा छ। त्यहाँबाट राष्ट्रकविको घर प्रष्ट देखिन्छ। अझै मञ्जुको घरबाट बाबाको सुत्ने अनि अध्ययन गर्ने कोठा, दिउँसो घाम ताप्ने बरन्डा अनि बिहान राष्ट्रकविले ध्यान गर्ने बगैँचा पनि देखिन्छ।

यो घर २०३९ सालमा बनेको हो। त्यही बेलादेखि नै हो उनले बिहान उठेदेखि बेलुका सुत्नेबेला सम्म झ्यालबाट बुवालाई हेर्न थालेको । मञ्जुको घरकै अगाडि अर्को बहिनीको घर पनि छ। विगत केही वर्षदेखि राष्ट्रकविको स्वास्थ्य ठीक नभएपछि यी दुई बहिनीहरु कोही बरण्डा त कोही झ्यालबाट बुवाको मुख हेर्थे। राष्ट्रकविकै घरभन्दा ३ काल्ना तल अर्की बहिनीको घर छ, अनि मञ्जुको घर आइपुग्नु भन्दा अघिल्लो चोकमा अर्को बहिनीको घर।

ठूली दिदी अमेरिका बस्ने र माइली दिदी रानीबारी। यी दिदी बहिनी मिल्दा सम्म दिनमा एकपल्ट माइती पुग्थे । पछिल्लो तीन महिनादेखि एकछिन् पनि छोडेनन्। मञ्जुको विवाह नै नजिक भयो तर अरु छोरीहरुलाई भने घिमिरेले आफूनजिक नै राखे।

२०१८ सालमा लाजिमपाटको कपूरधारामा राष्ट्रकवि माधव प्रसाद घिमिरेले घडेरी किने । त्यो भन्दा पहिले घिमिरेको परिवार नयाँबजारमा डेरागरी बस्थ्यो। राष्ट्रकवि घिमिरेको घडेरीसँगै लमजुङबाट आएका दुई साथीले जग्गा किनेका थिए। मञ्जुलाई स्मरण भएसम्म त्यो क्षेत्रमा नर्कटघारी बाहेक केही थिएन।

पहिला राष्ट्रकविले घर बनाए, त्यही घरमा बसेर अर्का दुई साथीले घर बनाए। यीनै दुई साथीमध्ये एक मञ्जुका ससुरा हुन्। पछिपछिका छोरीलाई सोधेर विवाह गरिदिए पनि मञ्जुको भने त्यसरी विवाह भएन। ‘कच्चा छोराछोरीले पक्का निर्णय गर्न सक्दैनन्, पछि पछुताउनु हुँदैन भन्दै हाम्रो कुरा मान्न पर्छ भन्नुभयो।’ मञ्जु भन्छिन्, ‘बाबा आफ्ना केही अफ्ठेरोमा मलाई सम्झनु हुन्थ्यो।’

एकपल्ट कवि बगैँचामा डुल्दै गर्दा लडेछन्, मञ्जुले पछि थाहा पाइन र भेट्न गइन्। ‘बुवाले मलाई ‘मैले कति तँलाई बोलाए, तैले सुनिनस् भन्नुभयो’ त्यो बेलामा मलाई थाहा भयो कि बुवाले ममाथि कति आश गर्नुहुँदो रहेछ, मैले छोड्न हुँदैन।’ मञ्जुले भनिन्, ‘हामी सबै एकपल्ट जम्मा हुन्थ्यौँ।’

यति भन्दा उनको गह भरियो, मञ्जुलाई थाहा छ, उनको बुवाको यो अनन्त यात्रा हो। तर पनि बेला बेला उनको मन भारी हुन्छ, मन भक्कानिएर आउँछ। उनी बेला बेलामा पोख्खिन लागेको भावनालाई चिमचिम आँखा पार्दै लुकाउथिन् कतिपल्ट सक्थिनन्।

लमजुङको ‘लमजुङ’ मा राष्ट्रकविको घर थियो, मञ्जुका अनुसार राष्ट्रकविका ८ सन्तानमध्ये उनीमात्रै गाउँमा जन्मिएकी हुन्। ‘सन्तानहरु मध्येमा बुवाको शरीरको माटो मसँग मात्रै छ।’ भावुक हुँदै मञ्जुले भनिन्, ‘लमजुङ दरबारको आडमा बुवा डेरा बस्नुहुन्थ्यो। महाकालि आमा त्यही घरमा भित्रनु भएको हो।’ मञ्जु राष्ट्रकविका दुई श्रीमतीध्ये कान्छि ‘महाकाली’ की पहिलो सन्तान हुन्। उनको जन्म वि सं २००८ सालमा भएको हो। मञ्जु ९ महिनाको हुँदा घिमिरे काठमाडौँमा स्थायी रुपमा बसे, त्यसबेला देखिनै घिमिरे परिवार काठमाडौँमै छ। घिमिरेको पहिलो श्रीमति गौरीको तर्फबाट जन्मिएको दोस्रो छोरी गौरीकै माइतीमा राखिएको थियो, वि सं २०१४ सालमा राष्ट्रकविले घरमा नै ल्याए।

‘मलाई खोप धेरै रहन्छ होला’

‘बाबा जानुभएको दु: त सबैलाई होला तर धेरै खोप मलाई रहन्छ। किनकी मेरो भान्छाबाट नि बुबा देखिनुहुन्थ्यो, सुत्ने कोठाबाट पनि बुवा नै देखिनुहुन्थयो। मैले साधना गर्ने कोठाबाट उठेर पर्दा खोलेर हेर्दा पनि बुवालाई नै देख्थेँ,’ मञ्जु भन्छिन्, ‘मलाई पछिल्लो समय विच्छौनामा सुत्नु भएको झलझली आइरहेको छ।’

मञ्जुले बुवालाई चलमल गर्न गारो भएको अनि पछिसम्म ‘ठीक हुन्छु’ भनि देखाएको आँटलाई स्मरण संगालेर राखेकी छन्। यसले बेला बेला दुखाउँछ भने कहिले आँट दिन्छ। उनलाई बेला बेलामा ‘सौभाग्य पाए’ जस्तो लाग्छ। किनकी त्यो देखाइले एउटा तार जोडेको थियो, ‘एक पल्ट बुवालाई ज्वरो बढेर औषधि खुवाउँदा अड्कियो र समस्या भयो। डाक्टर बहिनी त्यही सुत्थी। मलाई किन किन अनायास बिउँझिए, हेर्दा बत्ती बलेको थियो म ४ वटा ढोका खोलेर त्यहँ पुगे।’ त्यति बेला मञ्जुलाई त्यहाँ देखेर सबै चकित भए। । उनलाई निद्रामा नै आभास भयो, अनि मञ्जुको मनमा पिताको त्यो बेलाको तेजस्वी आँखा गडेर बसे।

उनी भन्छिन्, ‘यस्तो तेजस्वी पिता पाउन सौभाग्यको कुरा छ।’

‘मैले कहिले पनि यसरी बोलेको छैन, अन्तवार्ता लिएँ, तर दिएको छैन। बाबाको बारेमा हामीले सार्वजनिक रुपमा अहिले नै हो बोलेको। मलाई केही व्यक्त गर्न पाउँ भन्ने छ,’ मञ्जु भन्छिन्, ‘संयोग कस्तो पर्‍यो भने उहाँको अनन्त यात्रापछि मैले बोल्न लागेँ।’

घिमिरेले जन्म दिएर जसरी उनको अस्तित्व बनाए त्यसरी नै पछि उनलाई उनी हुन सिकाए। शैक्षिक अवकाशपछि जब सामाजिक सञ्जालमा उनलाई ‘राष्ट्रकविकी छोरी’ भनेर चिनिन्थ्यो, त्यसै अनुसार उनको नाम थिएन। उनले विवाह पछि थरमा ‘अधिकारी’ लेख्थिन्, अनायासै एक दिन राष्ट्रकविले भने, ‘तिमी त घिमिरे हौँ नि।’ त्यसपछि उनले आफूलाई ‘मञ्जु घिमिरे अधिकारी’ भनेर भन्न थालिन्। त्यसपछि उनलाई धेरैले सम्पर्क गरे, ‘एउटा आइडलको छोरी हुन पाउनु गर्वको कुरा त हो नि।’

तर उनले त्यही कारणले कहिले पनि फाइदा लिन खोजिनन्।

मञ्जु उनै ‘बाल–लहरी’ को ‘क्षेपारोको आव्हान कविता गुन गुनाउन थालिन्। त्यतिबेला सुनेका बाल कवितामा लुकेको व्यंग्य उनले भर्खरै मात्र बुझिन्। लाग्छ अझै बुझ्न धेरै बाँकी छ। बुवा सिकाएका कुराको अर्थ अर्थ्याउनै बाँकी छ। किनकी सिकेर त कहिले सकिँदैन। जस्तो उनको मनमा बुवाको स्मृति गडेको छ, जो कहिले सकिँदैन। -देशसंचारबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *