एउटा किताबले बदलेको जीवन, वेलायतबाट फर्केर बने ९ वर्षमै चार व्यवसायका मालिक

सम्झना घिमिरे/शिलापत्र

काठमाडौं, किताब पढेको सबैले सुन्नुभएको र पढ्नु पनि भएको छ तर एउटा किताब पढेकै भरमा बेलायत पुगेका एक व्यक्तिलाई नेपाल फर्काएको पक्कै पनि सुन्नुभएको छैन होला ।

बेलायतमा विलासितापूर्ण जीवन बिताउन हिँडेका स्याङ्जाका कृष्णजंग केसी बेलायतमा नै सुविधासम्पन्न जीवन बिताउने सपना देख्थे । त्यसैले नेपालबाट पैसा कमाउन उनी बेलायत पुगे ।

त्यहाँको विकसित जीवनशैली, विलासितापूर्ण जीवन देखेर मख्ख परेका उनले एउटा किताब पढेकै भरमा सबै छोडेर नेपाल फर्कन्छु भन्ने पक्कै पनि सोचेका थिएनन् ।

कृष्ण भन्छन्, ‘एक जना मित्रले कर्ण शाक्यको ‘सोच’ किताब पढ्न दिनुभयो ।

किताब पढेपछि बेलायत आएको प्रति आफैँमा हीनता बोध हुन थाल्यो, नेपालमै केही गर्छु भन्ने हेतुले नयाँ योजना बनाउन थालेँ । अन्ततः त्यही किताबले नै मलाई नेपाल फर्कायो ।’

फुटपाथमा व्यवसाय, पागल व्यवसायीको उपनाम

कृषिक्षेत्रमा केही गर्छु भन्ने योजना बोकेर आएका कृष्णजंगको नेपाल आएपछि सोच बदलियो । सोचले नै बदलिएको सोच पुन: बदलियो ।

उनी कृषिमा मात्र सीमित रहेनन्, कृषिदेखि पर्यटन क्षेत्रको व्यवसायमा निकै लामो फड्को मार्न सफल बने ।

नेपाल आएर के गर्ने भन्ने अलमलमा परेका कृष्ण सुरुमा स्याङ्जामा साथीभाइको सरसहयोगमा विन्द्यवासिनी अर्ग्यानिक फार्म खोले । अहिले उक्त फार्म नेचर भिलेजको रूपमा चिनिन्छ ।

परिवारमा बाबुले कफीको व्यवसाय गर्दै आएकाले उनलाई थोरै भए पनि व्यवसायप्रति ज्ञान थियो । परिवारले दिनहुँ पागल भइस् भनिरहँदा उनी भने गाउँमा तरकारी गोडमेल गर्न थाले ।

कृष्ण सम्झन्छन्, ‘फर्केर आएपछि घरमा दिनहुँ कराउने, आफन्त/नातेदारले पागल भयो भन्ने, कसैले बेलायतमा चोरी बदमासी गर्‍यो भन्ने, कतिले त प्रेमिकाबाट धोका पाएको त कतिले नामर्दलगायतका अनेकौँ नाम राखे मलाई ।’

कृष्ण मुस्कुराउँदै भन्छन्, ‘त्यस्तै उपनाम पाउँदै म झन् फुटपाथमा गएर आफूले फलाएका सुन्तला बेच्न थालेँ, अनि बनेँ फुटपाथे सुन्तला व्यापारी ।’

‘बाबु कफीको व्यवसायी, दाजुभाइ, दिदीहरू सबै अस्ट्रेलिया, अमेरिकामा । मध्यम वर्गीय भए पनि राम्रै खानलाउन पुग्ने घरको छोरा ।

समाजमा चल्दोबल्दो परिवारको छोरा सडकको छेउमा सुन्तला बेच्न थालेपछि कसले पागल नभन्ला र ?’ उनी प्रश्न गर्छन् ।

बेलायतमा बसेर आएको व्यक्ति सडकमा ३० रुपैयाँ किलो ‘सुन्तला सुन्तला’ भन्दै बेच्न बस्दा सुरुसुरुमा पागल नै हो कि भनेर किन्न पनि हच्किने गरेको कृष्ण बताउँछन् ।

कृष्ण यस्ता अनगिन्ती उपनामलाई शिरोपर गर्दै गए ।

महिनामा सुन्तला बेचेर ३ लाख आम्दानी गर्ने उनी सडकमा बसेर १६ लाखसम्म आम्दानी गर्न थाले ।

विचौलियाको बिगबिगीले गर्दा किसानले उत्पादनको न्यूनतम मूल्य पनि नपाउने गरेको देखेर आफैँ बिक्री गर्न तम्सिएका उनी आफू मात्रै होइन, त्यस्ता अन्य किसानको पनि सारथि बन्दै आफैँ आफ्नो उत्पादन बेच्न अग्रसर बने ।

उत्पादनको आठ गुणा मुनाफा आएपछि परिवारको मुख पनि टालियो । अनि विचौलियाको हावी हराउँदा किसान पनि हर्षित बने ।

विचौलियाले गर्दा श्रमको उचित मूल्य नपाएर पीडित बनेका अन्य कृषक पनि कृष्णको कामबाट प्रभावित हुन थाले ।

पहिला पागल भन्नेहरू पछि आफैँ चुप हुँदै गए ।

बिनानाम अनि पहिचान सिद्धार्थ राजमार्गमा सुन्तला बेच्न थालेपछि अहिले उनैको सिको गर्दै ५ सयभन्दा बढी व्यापारीले सुन्तला राख्न थालेका छन् ।

सडकमा बस्दाबस्दै अनि सुन्तला बेच्दाबेच्दै बेलायतमा राम्राराम्रा रेष्टुरेन्टमा विभिन्न परिकार खाएका सम्झन्छन् कृष्ण ।

अनि आफ्नो गाउँमा आएका पर्यटक होटल नभएर भौँतारिएको पनि सम्झन्छन् ।

आफैँ पनि यात्रा गर्दा कफी खानका लागि कोसाैँ पर भौँतारिँदासमेत नपाउनुको पीडा सम्झन्छन् । हो, त्यही पीडालाई सिर्जनामा ढाल्दै उनी सडकबाट उठेर पुन: नयाँ व्यवसायतर्फ लम्किए र सुरु गरे होटल व्यवसाय । अनि नाम राखे ‘रोडसाइड क्याफे’ ।

सडकबाट क्याफेसम्मको यात्रा

कृष्णले आफ्नो गाउँशहर घुम्न आउने पर्यटकलाई राम्रो हस्पिटालिटी दिनकै लागि ११ हजार रुपैयाँकाे लगानीमा सन् २०१४ मा रोडसाइड क्याफे खोलेका हुन् ।

सुनसान क्षेत्रमा क्याफे खोलेका उनलाई सबैले फेरि बौलायो भने । तर सुरुमै पागल उपनाम पाइसकेका उनी विचलित हुने कुरै भएन ।

सिद्धार्थ राजमार्गमा पर्ने करेन डाँडाको सुनसान क्षेत्रमा क्याफे खोलेपछि अहिले यात्रा गर्ने सयौँ यात्रु उनको क्याफेमा सुस्ताउने बाटो बनेको छ ।

हाल उनले उक्त क्याफेलाई ६ वर्षमै ५० लाख रुपैयाँ लगानीको बनाउन सफल बनिसकेका छन् भने साे क्षेत्रका स्थानीय २२ जनालाई रोजगारीसमेत दिइरहेका छन् ।

होटलमा रोकिएन कृष्णको पाइला

हरेक व्यक्तिका सोच र समस्याबाट सिर्जना पहिल्याउने कृष्ण आफ्नै होटलमा आएका ग्राहकबाट तेस्रो व्यवसायमा होमिए ।

ती ग्राहक सामान्य मानिस थिएनन् । सामान्य रूपमा आएका ग्राहक नेशनल जियोग्राफि हीरो अफ द ईयर २०१२ बाट सम्मानित विश्व साहसिक यात्री सानोबाबु सुनुवार थिए ।

सानोबाबुकाे साहसिक यात्राका बारेमा सुने । उनका कठिनाइ, नेपालमा पूर्वाधारको कमी र अवसर दुवै थाहा पाए ।

त्यसपछि उनी सुनारका कुरामा थप उत्साहित बने ।

कृष्ण भन्छन्, ‘आफ्नै क्याफेमा बसेर उनका कुरा सुनेँ, छोटो समयमा नै दुईवटा व्यवसाय संचालन गरिरहेको म किनकिन एड्भेन्चर टुरिज्मले हामीजस्तै नवउद्यमीहरूलाई पर्खिइरहेको महसुस गरेँ । चुनौतीसँग सिँघाैरी खेल्ने मैले एड्भेन्चर टुरिज्ममा हात किन नहाल्ने भन्ने सोच आयो ।’

एउटा व्यवसायमा नरोकिएका कृष्णलाई देखेर पागल भन्ने मानिसहरू पनि उदाहरणीय पात्र बनाउन थालिसकेका थिए । हिजोका तिनै आलोचकहरू आज प्रशांसाका शब्द खन्याउन थालेका छन् उनमाथि ।

एड्भेन्चर क्षेत्रमा कृष्णको पाइला

सुनुवारका कुराले प्रेरित कृष्ण एड्भेञ्चर टुरिज्ममा अवसरसँगै चुनौती दुवै देखिएपछि किन नगर्ने भन्ने मनशायमा पुगे ।

नयाँ सिर्जनालाई प्राथमिकता दिने उनी कर्ण शाक्यको ‘सोच’ किताबमा सोच र गर भन्ने सिद्धान्तलाई अनुशरण गर्दै एड्भेञ्चर क्षेत्रमा हात हाल्न पुगे ।

अहिले उनलाई एडभेन्चर टुरिजम क्षेत्रमा अब्बल व्यवसायीको रुपमा पनि चिनिन्छ ।

साहसिक खेलहरूको प्रवद्धर्न गर्दै पर्यटन क्षेत्रलाई विस्तार गर्न लागिपरेका कृष्ण छोटो समयमा नै अब्बल पर्यटन व्यवसायी बन्न सफल भए ।

सन २०११ बाट नेपालमै व्यावसायिक वातावरण सम्भव छ भनेर लागिपरेका कृष्ण स्टार्टअप व्यवसायबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन् । उनले ९ वर्षको अवधिमा पागल उपनाम पाएसँगै ४ वटा व्यवसाय अब्बल रूपले संचालन गरिरहेका छन् ।

उनको मातहतमा रहेर अहिले झण्डै १ सय जना कर्मचारीले काम गरिरहेका छन् भने नेपाली ब्राण्डकै कफी, सुन्तला र जुस जापान र बेलायतमा निर्यातसमेत गर्दै आएका छन् ।

प्रयासमा नै सफलता देख्ने कृष्णले आँधीखोलामा र्‍याफ्टिङको सुरुवात पनि गरिसकेका छन् । सोच भएपछि सीपको विकास आफैँ हुनेमा विश्वास राख्ने कृष्ण पहिले आफू के गर्ने, त्यसमा बलियो रूपमा उत्रनुपर्ने बताउँछन् ।

बाबु एड्भेञ्चर क्लबबाट नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ क्षेत्रमा विश्वलाई चिनाउन सफल बनेका छन् कृष्ण । २०१७ मा आयोजित अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितामा नेपालकाे इतिहासमा पहिलो पटक रजत पदक नेपाल भित्राउने पहिलो व्यक्ति हुन उनी ।

त्यस्तै, २०१८ मा अन्तर्राष्ट्रिय फस्ट प्याराग्लाइडिङ विश्वकप आयोजना गरेर नेपाली प्याराग्लाइडिङ व्यवसायीले पहिलो पटक  विदेशमा सीप विकासको अवसर पाएको उनी बताउँछन् ।

यो सफलता आफ्नो मात्र नभएर सिंगो मुलुकको नै भएको उनकाे बुझाइ छ ।

उनी भन्छन्, ‘बेलायतमा म सामान्य मान्छे थिएँ । तर, नेपालमै केही गर्ने प्रयास गरेपछि दु:ख हण्डर जति खेपेर भए पनि अहिले उदाहरणीय व्यक्तिको रूपमा आफूलाई अरुले औँल्याएको पाउँदा खुसी लाग्छ र  नेपालको नाम राख्ने काम गर्न पाएकाेमा जीवनले पनि सार्थकता पाएको अनुभूति हुन्छ ।’

सिर्जनाका धनी र प्रयास गरेर कहिलै नथाक्ने कृष्ण लकडाउनलाई बुबाको व्यवसायलाई फस्टाउने उपयुक्त समय मानेका छन् । उनी अहिले बुबाको नेचर भिलेजलाई बजारीकरण गर्न लागिपरेका छन् ।

उनी कफीका पारखी भएकै कारण बेलायतमा कफीका पारखीहरूको सिको गर्दै आफैँ नयाँनयाँ रेसिपी बनाउँदै आएका छन् ।

बिक्री नभएर गाउँमै ५ देखि १० रुपैयाँ प्रतिकिलोमै बेच्दै आएको कफीलाई उनले अहिले जापान, बेलायतजस्ता विकसित मुलुकमा वार्षिक ४ देखि ६ टनसम्मको कफी निर्यात गर्दै आएका छन् । शिलापत्रबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *