ट्रेण्डिङमा रियाशा दाहालका ३ भिडियो

पछिल्लो समय म्युजिक भिडियोमा रियाशा दाहालको क्रेज गज्जबको बनेको छ । युट्युबमा कमेडी भिडियोमा अभिनय गरेर चर्चामा आएकी रियाशालाई अहिले म्युजिक भिडियोमा भ्याइ-नभ्याई नै परेको छ ।

कोरोनाका कारण गरिएको लकडाउन केही खुकुलो भएसँगै रियाशाले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा काम गर्न भ्याइन् । उनले काम गरेको भिडियोले युट्युबमा राम्रो दर्शक पाइरहेको छन् ।

शुक्रबार रियाशा अभिनित नयाँ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘मुना’ बोलको गीतले रिलिजको छोटो समयमा नै राम्रो दर्शक पाएको छ । नाजिर हुसेन र स्वस्तिमा खड्काको पनि अभिनय रहेको यस भिडियोले रिलिजको २० घण्टामा ४ लाख ५० हजारभन्दा बढी दर्शक पाइसकेको छ । त्यो मात्रै होइन, यस भिडियो युट्युब ट्रेण्डिङको ८ नम्बरमा आइसकेको छ ।

यो भिडियोसँगै रियाशाको अन्य दुई भिडियो पनि युट्युब ट्रेण्डिङमा परेका छन् । उनी अभिनित सुधिर श्रेष्ठसँग जोडी बाँधिएको ‘माया नयनी ताल’ र पल शाहसँग जोडी बाँधिएको ‘लाइदिउ कि मोहनी’ बोलको गीत पनि युट्युब ट्रेण्डिङमा छन् । यी दुई गीत लगातार २३ र २४ नम्बर ट्रेण्डिङमा परेका छन् ।

रियाशालाई ट्रेण्डिङ नौलो कुरा भने होइन । उनी अभिनित धेरै कमेडी भिडियोले युट्युब ट्रेण्डिङको शीर्ष स्थान ओगटेका छन् । तर, म्युजिक भिडियोको सवलमा भने यो नयाँ अनुभव हो । एकसाथ तीन भिडियो ट्रेण्डिङमा पर्दा रियाशा दंग छिन् ।

शिलापत्रसँगको कुराकानीमा रियाशा भन्छिन्, ‘मैले गरेको तीनवटा म्युजिक भिडियो एकसाथ ट्रेण्डिङमा पर्छ भन्ने सोचेको पनि थिएइनँ । तर, दर्शकले दिनुभएको मायाले यो सम्भव भएको छ । अत्यन्तै खुसी छु ।’

रियाशा म्युजिक भिडियोमा काम गरेपछि धेरै दर्शक बढेको बताउँछिन् । ‘मेरो कमेडी भिडियो हेर्ने दर्शक फरक हुनुहुन्थ्यो । अहिले म्युजिक भिडियोमा आएपछि नयाँ दर्शक पाएको छु’, रियाशा भन्छिन्, ‘दुवै पक्षका दर्शकको मायाले नै यो सफलता मिलेको छ ।’

अबको दिनमा रियाशालाई चुनौती पनि थपिएको छ । राम्रो गीत वा राम्रो टिम छन्नेसँगै राम्रो काम देखाउने । यस कुरामा रियाशा आफैँ पनि सचेत छिन् ।

रियाशा भन्छिन्, ‘अहिले मलाई राम्रो राम्रो काम आइरहेको छ । तर, अहिलेको अवस्था भनेको काम गर्न सक्ने अवस्था नै छैन । यो समय काम गर्दिनभन्दा घमण्डी भई वा अर्को गुटको मान्छे हो भन्ने खालको कुरा आउने हो कि भन्ने डर पनि छ । नयाँ मान्छे भएकाले पनि त्यो कुरा मेरो लागि चुनौती बनेको छ ।’

जे होस्, आगामी दिनमा दर्शकलाई सन्तुष्ट पार्ने काम नै गर्ने रियाशाको प्रतिबद्धता छ ।
थप सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *