मेरी ९ महिनाकी छोरीले यसरी जितिन् कोरोना [नालीबेली]

सुदेशना पाण्डेय
काठमाडौं, भदौ २२ मेरो घर इमाडोल हो। पेसाले इन्जिनियर म रेस्टुरेन्ट चलाउँछु। कोभिड १९ रोक्न सरकारले गरेको पहिलो लकडाउन खुलेपछि मैले पनि रेस्टुराँ खोले। सावधानीका सबै उपायसहित टेक अवे र होम डेलीभरी राम्रै चलिरहेको थियो।

तर, अचानक काठमाडौँमा संक्रमण बढ्न थालेपछि डर लाग्न थाल्यो। घरमा मेरी नौ महिनाकी नानी छिन्। जति सावधानी अपनाएपनि यसबाट बच्न मुस्किल होलाजस्तो महसुस भइरहेको थियो। त्यसैले निषेधाज्ञा जारी हुनुभन्दा दुई दिनअघि मैले रेस्टुराँ बन्द गर्ने निर्णय लिएँ।

घरमा सबैलाई राम्रै थियो तर सबैको मनमा कोभिडको डर बढिरहेको थियो। त्यसैबेला मेरो श्रीमानको अफिसमा एकजना स्टाफलाई संक्रमण देखिएको खबरले हाम्रो परिवारलाई स्तब्ध बनायो। अर्को दिन कन्ट्याक्ट ट्रेसिङपछि मेरोे श्रीमानले पनि पुल्चोकको ल्याबमा गएर स्वाब दिएर आउनुभयो। परीक्षण गराउनुभयो।

नतिजा के आउँछ भनेर हामी सबै चिन्तित थियौँ। भोलिपल्ट श्रीमानको जन्मदिन थियो। जन्मदिन मनाउने अवस्था थिएन तर पाँच वर्षको छोराले नमानेपछि मैले केक अर्डर गरेँ।

तर, दिउँसो साढे दुई बजे नै परीक्षणको रिपोर्ट आयो। र, पूरै परिवार विचलित बन्न पुग्यो। किनकि श्रीमानलाई कोरोना पोजिटिभ देखिएको थियो। तत्कालै घरको माहौल परिवर्तन भयो। मेरो परिवारमा ७१ वर्षकी दीर्घरोगी बुढीसासु (प्रेसर, मुटुरोग, थाइराडको बिरामी), ५३ वर्षकी सासु अनि ससुरा (सुगरको बिरामी) र ससाना केटाकेटी छन्।

उनीहरुको चिन्ताले सताउन थाल्यो। तत्कालै पूरै परिवारको परीक्षण गर्ने सल्लाह भयो। श्रीमान अघिल्लै दिनदेखि आइसोलेसनमा हुनुहुन्थ्यो। त्यसपछि बुढीसासु र मैले स्वाब दियौँ। परिणाम झन् आश्चर्यचकित बनाउने थियो। ममा संक्रमण देखिएन तर ७१ वर्षकी बुढीसासु संक्रमित हुनुहुन्थ्यो। परिवार नै स्तब्ध भयो। उहाँसँग सबैभन्दा धेरै समय बिताउँथी मेरी ९ महिनाकी छोरीले। म दिनभर व्यस्त हुँदा आमाले नै उसलाई पूरा समय हेर्नुहुन्थ्यो। मलाई ठूलो चिन्ता पर्‍यो। त्यसैदिन सबैजनाको स्वाब दिइयो। रिपोर्ट कुर्नुकोे विकल्प थिएन।

रिपोर्ट आयो, सासु र सानी छोरीलाइ पनि कोभिड देखियो। अब कसरी व्यवस्थापन गर्ने, कहाँ लैजाने केही सोच्न सकिएन। मैले आँखाअगाडि अन्धकारबाहेक केही देखिनँ।

हिम्मत हारेर पनि भएन, श्रीमान आइसोलेसनमा, परिवारमा कुल ४ जनामा संक्रमण, सबै आफैँले गर्नु थियो। मैले हिम्मत बटुलेँ र सबैको सल्लाह मुताबिक हामीले घरमै आइसोलेसनमा बस्ने व्यवस्था मिलायौँ। मेरो देवर र देउरानी पनि आउनुभयो, उहाँहरु दुवै आयुर्वेद डाक्टर हुनुहुन्छ। त्यसैले केही परिहाले हामीसँग दुइजना डाक्टर पनि हुनुहुन्छ भनेर अलिकति ढुक्क पनि महसुस भयो। कोरोना नेगेटिभ देखिएपछि छोरा र ससुराबुबालाई अन्यत्र पठायौँ र घरलाई आइसेलसन केन्द्र बनायौँ।

बुढी सासुबाहेक अरुलाई खासै लक्षण थिएन। तर, समस्या नानीको थियो। दूध चुसाउनुपर्ने उसलाई कसरी आइसोलेट गर्ने, केही थाहा थिएन। बच्चालाई मेरो साथमा राख्न कसैले मान्नुभएन। संक्रमण सर्न सक्ने सम्भावना पनि थियो। हामीले चिनेजानेको डाक्टर, बालरोग विशेषज्ञ, सबैलाई फोन गरेर सल्लाह लियौँ। तर के गर्नु उचित हुन्छ, ठोस रुपमा कसैले भन्न सकेन।

बच्चालाई दूध चुसाउने विषयमा विश्व स्वास्थ्य संगठनको मार्गनिर्देशन पनि हेर्‍यौँ। त्यसबाट पनि स्पष्ट भएन। फर्मुला फिड खुवाएर छुट्टै सासुआमासंग राख्ने कुरा ठिकै जस्तो लागेर त्यही गर्ने मनस्थिति बनाइयो। तर, नानीले केही पनि खान मानिनन्। खाली रुने मात्र गर्न थालेपछि मलाई छटपटी हुनथाल्यो। नानीले केही नखाएर स्वास्थ्य झन् बिग्रियो भने! आमाको दूध जति पोषिलो अरु के नै हुन्छ र दुधे बच्चाको लागि!

सासुआमासँग २४ घण्टा नानी राखेपछि मलाई आत्मग्लानि भयो र आफैँसँग राख्ने सोच बनाएँ। सबै असहमत हुनुहुन्थ्यो तर मैले आफूलाई रोक्न सकिनँ र नानीलाई साथ लिएर म आइसोलेसनमा बस्न थालेँ।

नानीसंग बस्दा शारीरिक दूरी त सम्भव नै भएन। तर मैले सकेसम्म मास्क, फेस सिल्ड, चस्मा आदि प्रयोग गरेँ। साथै बारम्बार हात धुने र अन्य सुरक्षाका उपायहरु अपनाइरहेको नै थिएँ। हामीले खानामा पनि विशेष ध्यान दियौँ। आयुर्वेदमा रोगप्रतिरोधी क्षमता बढाउन सफल मानिएका जडिबुटीहरु जस्तै गुर्जो, अश्वगन्धा, हर्रो, बर्रो , अमला, बेसार आदि मिसाएर काढा पकाएर नियमित खाने गर्‍यौँ। सँगसँगै योगाभ्यास पनि गर्‍यौँ।

नानीलाई सुरुसुरुमा खाना अरुची थियो। उसलाई हल्का ज्वरो र रुघाखोकी पनि थियो। मैले नानीलाई कस्तुरीभुषण नियमित खुवाएँ। चारपाँच दिनपछि नानीले खानामा अलिकति रुची बढाइन्। मेरो हौसला पनि अलिकति बढ्यो। स्वास्थ्यमा सुधार आउँदै गयो। १२ दिन पूरा भएपछी फेरि हामीले कोरोना परीक्षण गरायौँ।

बेलुका लगभग ८ बजेतिर रिपोर्ट आयो। मलाई शंका थियो, पक्कै मेरो रिपोर्ट पोजिटिभ आउँछ भन्ने। तर, दुवैको रिपोर्ट नेगेटिभ आयो। खुसीको सीमा नै रहेन। ठूलो युद्ध जितेको महसुस भयो। आफन्तले फोन गरेर बधाइ दिनुभयो।

आश्चर्यको कुरा नानीको त्यति नजिक रहेर पनि मलाई संक्रमण सरेको थिएन। परिवारका सबै कोभिडबाट मुक्त भइसक्नुभएको थियो।

कोभिड निको भइसकेपछि पनि भौतिक दूरी कायम गर्नुपर्छ, मास्क लगाउनु जरुरी हुन्छ। मेरो अनुभवमा कोभिडले व्यक्तिलाई मात्र नभएर सिंगो समाजलाइ नै असर गरिरहेको छ। त्यसैले हामी आफैँ जिम्मेवार बने मात्रै सबैलाई जोगाउन सम्भव हुनेछ।

कोभिडले धेरै कुरा सिकाएर गयो। जीवन धेरै अमूल्य छ र परिवारको साथ पाएमा जस्तोसुकै चुनौतीलाई पनि सामना गर्न सकिँदो रहेछ। संक्रमित बच्चा र आफूलाई बचाउन मैले अपनाएका विधि यसप्रकार छन्ः

क) संक्रमण भइसकेपछि डराउनु हुँदैन
ख) सम्भव भएसम्म र लक्षण नभएमा घरमै आएसोलेसनमा बस्ने। आफन्त र परिवारको बीचमा बस्दा मनोबल उच्च राखे रोगसंग लड्न सजिलो हुने रहेछ

ग) घरमै आइसोलेसनमा बस्दा घरका अन्य संक्रमण नभएका सदस्यसंग टाढा रहने
घ) सरसफाइमा ध्यान दिने

ङ) पटक–पटक हात धुने
च) सकेसम्म छुट्टै ट्वाइलेट र बाथरुम प्रयोग गर्ने
छ) बच्चाको कपडा पटकपटक फेरिदिने
ज) बच्चाको आहारमा विशेष ध्यान दिने

झ) स्तनपान गराइरहेको बच्चालाई समयसमयमा स्तन पान गराउने
ञ) घरको भुइ र रेलिंग सफा राख्ने
ट) नियमित योगाभ्यास गर्ने
ठ) मनोरञ्जन गर्ने

नेपालखबरबाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *