दाङमा बञ्जर जग्गामा ताइवानी मेवा खेतीमा रमाइरहेका कुलबहादुर र तुलसीराम [भिडियो]

नारायण खड्का
दाङ, भदौ २३ केही दिनअघि उनीहरूले सामाजिक सञ्जालमा पाकेको मेवाको तस्बिर पोष्ट गरे। त्यसपछि उनीहरूको फोनको रिङटोन बजिरहेको छ, उता बगैंचामा मान्छेको लर्को नै लागेको छ।

यो त्यही ठाउँ हो जहाँ एक वर्षअघिसम्म गाउँलेहरूले गाईवस्तु चराउँथे। दाङस्थित सिद्धरत्ननाथ मावि, नारायणपुरको उक्त जग्गामा कहिले त बालबालिका डन्डीबियो र लुकामारी खेल्थे।

कहिल्यै खेती नभएको बञ्जर डाँडोमा केही नयाँ गर्ने सपना लिएर उक्लेका थिए, अधिवक्ता कुलबहादुर डाँगी र शिक्षक तुलसीराम केसी।

भलै उनीहरूका सपनामा कसैको विश्वास थिएन।

स्थानीयले ‘केको रोइलो गरेको होला’ भनेर कुरा पनि काट्थे। कति साथीहरूले त अनुदान खान नाटक मञ्चन गरेको समेत भने। खिसीटिउरी पनि गर्नु गरे।

शुभचिन्तकले समेत आश्चर्य मिश्रित आँखाले हेर्थे।

उनीहरूले कसैलाई केही जवाफ फर्काएनन्। खुरूखुरू जमिन खने। साढे दुई विघा जमिनभरी ठिक्क ठिक्कका खाडल बनाएपछि कुखुरा र गाईवस्तुको मल हालेर भरे। ‘रेड लेडी’ जातको मेवाका रहरलाग्दा बिरूवा रोपे।

त्यसपछि वरिपरि तारबार गरे। भित्र सानो एउटा घर बनाए। विस्तारै उक्त डाँडोमा रोपेका मेवा बोटहरू हुर्किन थाले। चार/पाँच महिनामा त कुरा काट्नेहरूकै अघि ती बोटहरू मज्जाले हुर्किएर उभिए।

एक वर्ष पुग्यो। उनीहरूको सपनाले पहिलो बिहानी देख्यो। र, उनीहरूले फेसबुकमा जनाउ दिए- मेवा पाक्यो!

पहिलो दिनमै आधा क्विन्टल जति बिक्री भयो। अर्को दिन एक क्विन्टल। गत शुक्रबार तेस्रो दिन, डेढ क्विन्टल। उनीहरूले एक किलो मेवाको ५० रूपैयाँ मूल्य तोकेका छन्।

अधिवक्ता कुलबहादुर र शिक्षक तुलसीरामको यो दोस्रो पेसा हो। मेवा खेतीलाई फुर्सदमा सम्हालेका हुन्। आफूले नभ्याउँदा गोडमेल गर्न कामदारहरूलाई निमेक दिएर पठाउँथे।

उनीहरूको मिहेनत देखेर अहिले गाउँलेहरू चकित छन्। केही स्थानीय पनि बगैंचामा काम खोज्न आए। केहीले ज्यालादारी काम गरे।

अनि उनीहरू भने बोटमा लागेका मेवाका फल हेर्दै दंग!

‘एउटै बोटमा एक सय २० वटासम्म फल लागेको छ। कम फलेको भनेको बोटमा पनि ३० देखि ४० केजीसम्म फल्यो। एउटा फल आधा केजीदेखि साढे दुई केजीसम्मको छ,’ कुलबहादुरले भने, ‘अहिले त कतै नमिल्ने खुसी र आनन्द यहाँ आउँदा मिल्छ।’

४६ वर्षे कुलबहादुर र ४० वर्षे तुलसीरामले यो जग्गा विघाको वार्षिक १८ हजार रूपैयाँ तिर्ने गरी भाडामा लिएका हुन्। ८ वर्षका लागि उनीहरूले यो जग्गा लिजमा लिएर रेड लेडी जातको ३ हजार ५ सय जति मेवाका बेर्ना रोपेका छन्।

‘त्यसमध्ये केही मरे होलान्,’ तुलसीरामले भने, ‘अब करिब ३ हजार बोट छन्। ती सबैमा फल लागेको छ।’

अहिलेसम्म २४ लाख खर्च भएको बताउँदै उनीहरूले पहिलो लटमै राम्रै फाइदा हुने अनुमान सुनाए।

तुलसीराम र कुलबहादुर दाङ, तुलसीपुर बजारमा जन्मिए, हुर्किएका हुन्। अहिले घोराहीमा समेत उनीहरू छिमेकी छन्।

दुवैका अभिभावक किसान थिए। उनीहरू पनि कृषि कर्म गर्दै हुर्किए। सानैदेखिका छिमेकी भए पनि एसएलसी दिएपछि पढाइ र कामको सिलसिलामा उनीहरू टाढा भए।

कुलबहादुरले २०५३ सालदेखि ०७१ सालसम्म जिल्ला विकास समिति दाङ र रोल्पामा जागिर गरे। त्यो जागिरमा उनको मन बसेन। त्यसपछि दुई वर्ष उनले एनजिओमा काम गरे। त्यहाँ पनि उनी रमाउन सकेनन्। उनले समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्। त्यसैले दुई वर्षयता भउनी दाङमै वकालत पेसा गरिरहेका छन्।

तुलसीरामले पनि जनसंख्या विषयमा स्नातकोत्तर गरेका हुन्। दाङ र काठमाडौंका निजी विद्यालयमा पढाउँदै आफू क्याम्पस पढेका उनी भन्छन् ,’पढाउँदा एक पिरियडको ५ देखि ८ सयसम्म पाइन्थ्यो।’

आफ्नो खर्चका लागि पढाउनु परे पनि उनलाई त्यसरी प्रगति हुँदैन भन्ने लाग्यो। अनि तुलसीराम रोजगार खोजीमा विदेश पुगे। सुरूमा दुबई र त्यसपछि कतार। तर ती ठाउँमा साढे तीन वर्षभन्दा बढी टिक्न सकेनन्।

‘विदेशमा बसिरहन मनले मानेन,’ तुलसीरामले भने, ‘आफ्नै देशमा केही गर्नुपर्छ भन्ने कुराले मनमा चिमोटिरहन्थ्यो। त्यसैले म फर्केर आएँ।’

चिनजानका साथीहरूले ‘डिग्री गरेको मान्छे पनि त्यसै हल्लिन्छ’ भनेर कुरा काट्न थाले। फेरि एउटा निजी विद्यालयमा पढाउन थाले। लोकलाजबाट जोगिन पढाए पनि मन खुसी थिएन।

कुलबहादुर र तुलसीराम दुवै आफ्नो काममा जमेका थिएनन्। तर छिमेकी भए सँगै काम गर्ने सोचै थिएन। तर घोराहीमा पनि छिमेकी भएपछि उनीहरूको आउजाउ र सरसल्लाह बढ्न थाल्यो।

दुवै मिलेर व्यावसायिक खेती गर्नेबारे छलफल मोडिन थाल्यो। के खेती, उनीहरूलाई थाहा थिएन। बस्, सँगै काम गर्ने उत्साहले उनीहरू झन्डै ५/६ विघा जग्गाको प्लट खोज्दै हिँडे।

त्यही बीचमा लामो समयदेखि कृषि कर्म गर्दै आएका महेन्द्र थापाको सम्पर्कमा पुगे। महेन्द्रले एक जना व्यक्तिले विद्यालयको ५ विघा जग्गा भाडामा लिए पनि त्यसै बाँझै पल्टिएको जानकारी दिए।

सबै सँगै हेर्न गए। जग्गा धनीसँग कुरा गरे। त्यसपछि त्यो जग्गा तीन जना मिलेर भाडामा लिए। जग्गा त मिल्यो, तर अब के खेती गर्ने?

कुलबहादुर र तुलसीराम फेरि अलमलमा परे। सम्भावना खोजी गर्न थाले। महेन्द्रले उनीहरूलाई मेवा खेती नेपालमै निकै कम भनेर यसको सम्भावना राम्रो भएको औंल्याइदिए। कुलबहादुर र तुलसीरामलाई पनि सुझाव उपयुक्त लाग्यो। अनि मेवा खेतीबारे अध्ययन, अनुसन्धान गर्न थाले।

मेवाका जातमध्ये राजा मानिने सबभन्दा उत्कृष्ट र मिठो जात रेड लेडी हो भन्ने जानकारी पाए र कहाँ भेटिन्छ भन्ने खोजिनीति गरे। ताइवानमा पाँइदो रहेछ। यो मेवाको उत्पत्ति भने मेक्सिकोमा भएको मानिन्छ। उनीहरू यही मेवा लगाउने निष्कर्षमा पुगे।

त्यो मेवा खोजी गर्ने क्रममा भेटिएको कम्पनीमार्फत् महेन्द्र, कुलबहादुर र तुलसीराम काठमाडौं गए। त्यहाँ उनीहरूलाई तालिम पनि रेड लेडी नामक मेवा उत्पादन कम्पनीले दिएको थियो। त्यो कसरी लगाउने, कसरी हुर्काउने र कस्तो ठाउँमा राम्रो उत्पादन लिन सकिन्छ भन्ने ज्ञान हासिल गरे।

त्यही तालिमबाट भएको सम्पर्कका आधारमा बिउ मगाए। एक सय ग्राम बिउ एक लाखमा किने। रेड लेडी मेवाको बिउ एक किलोको दश लाख रूपैयाँ पर्ने उनीहरू बताउँछन्।

घोराहीस्थित घरमै तुलसीरामले टनेल बनाएर बिउ लगाए। पोलिथिनमा राखेको बेर्ना सबै जाग्यो। अनि त्यहाँबाट ल्याएर गत साउनमा भाडाको जग्गामा ल्याएर रोपे। रोपेको सात महिनामै फूल्न सुरू गर्‍यो।

अहिले लटरम्म फलेर, पाकेका छन्।

‘मेवा केही बोटमा पाक्दै छ र केही फूल खेलिरहेको छ,’ तुलसीरामले भने, ‘पाकेको फल हामीले तलबाट टिप्दै गएका छौं। बोट माथिबाट फूल्दै र फल्दै गएको छ।’

मेवा उष्ण प्रदेसीय फल हो। दाङको वातावरण मेवा खेतीका लागि उपयुक्त छ। यो ३५ डिग्री सेल्सियससम्म तापक्रम भएको ठाउँमा लगाउनु राम्रो मानिन्छ। बिरूवा लगाउँदा हरेक बोटबीच अढाई मिटर दुरी हुनु पर्छ।

करिब ४ देखि ६ फिटसम्म अग्लो हुने मेवाले चारदेखि आठ महिनामा फल दिन सुरू गर्छ। एक पटक रोपेपछि चार वर्षसम्म निरन्तर फल दिने जानकारहरू बताउँछन्। मेवामा भिटामिन ‘ए’ र ‘सी’ धेरै पाइन्छ।

पढे लखेका युवाहरू कृषिमा आउनु जरूरी छः

हाम्रो देशमा कृषि पेसा भनेपछि लाज मान्ने र ‘हुने-खाने’ ले हलो जोत्नेहरूलाई हेप्ने प्रवृत्ति अझै पनि छ। कुलबहादुरका अनुसार त्यो सोच अन्त्य गर्न र कृषि पेसा सम्मानित बनाउन उच्च शिक्षा हासिल गरेका युवाहरू यसमा आउन जरूरी छ। विदेशमा कृषि कर्म गर्नेहरूको उच्च सम्मान हुन्छ। त्यस्तै वातावरण नेपालमा बनाउन आवश्यक रहेको उनले तर्क गरे।

‘विदेशीहरू नेपालमा आएर प्राजेक्टमा काम गर्छन् र त्यस्ता प्रोजेक्टमा को इञ्जिनियर हो र को मजदुर हो भन्ने थाहै हुँदैन,’ कुलबहादुरले थपे, ‘हामी कहाँ भने इञ्जिनियर भनेपछि उपरखुट्टी लाएर बस्छन्। हाकिम भएपछि स्यालुट खानुपर्छ भन्ने ठान्छन्। यो गलत हो।’

त्यस्तै कारणले गर्दा नेपालमा वर्ग विभाजन भएको उनको बुझाइ छ। तुलसीराम पनि यसै भन्छन्।

‘जागिर त अर्कालाई देखाउनहो,’ उनले भने, ‘भ्रष्टाचार गरेर तथा लुटेर खाए त अलग कुरा, नत्र जागिरको तलबले मात्र आर्थिक उन्नति हुँदैन। जागिर खाने मात्रै हैन, पढेका युवाले अरूका लागि पनि जागिर सिर्जना गर्नतर्फ लाग्नु राम्रो हो।’

उनीहरू दुवैको आग्रह छ- जमिन बाँझो नछोड्नु र फुर्सदमा काम गर्नु। मेवा खेतीबाट उत्साहित उनीहरूले अर्को जग्गाको प्लट पनि खोजिरहेका छन्।

‘यो मेवाबाट कस्तो फाइदा हुन्छ, एक-दुई महिना हेर्छौं,’ कुलबहादुरले भने, ‘राम्रै भए अरू खेती गर्न सक्छौं।’

सबै तस्बिरहरू र भिडिओ: नारायण खड्का/सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *