लकडाउनबारे उपत्यका नगरपालिका फोरमको यस्तो छ सुझाब, अब के हुन्छ ?

काठमाडौं, भदौ २३
काठमाडौँ उपत्यका नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न माग गरेको छ।

काठमाडौँमा मंगलबार बसेको फोरमको बैठकले सार्वजनिक यातायात बाहेकका सवारी सञ्चालनमा जोरबिजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाब दिएको हो।

निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार काठमाडौँ भित्रिने र बाहिरिने नाकाको आवागमनमा थप कडाई गर्नसमेत सरकारलाई सुझाब दिएको छ।

नेपाल प्रहरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले नाकाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने फोरमको निष्कर्ष रहेकोसमेत उनले जानकारी दिए। यस्तै फोरमले बिहीबारदेखि उपत्यकाको वडा कार्यालयबाट सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

सरकारले स्थानीय सरकार सञ्चालन ऐन संशोधन गर्न लागेकाले त्यसका लागि सुझाव दिन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलसमेत गठन गरेको श्रेष्ठले जानकारी दिए।

शिक्षक दरबन्दी मिलानका सन्दर्भमा उपत्यकाबाट शिक्षक कटौती गर्न लागेको भन्ने जानकारी आएकाले उक्त कार्य तत्काल स्थगित गर्न र तलब भत्ता नपाएका शिक्षकको तत्काल तलब भत्ता निकासा गर्न पनि फोरमले माग गरेको छ। बैठक उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष चिरिबाबु महर्जनको अध्यक्षतामा बसेको थियो। रासस

सार्वजनिक यातायात तत्काल सञ्चालन गर्ने अवस्था छैन

उपत्यका नगरपालिका फोरमले उपत्यकमा तत्काल सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्था नरहेको बताएको छ। फोरमको आज बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाई अन्य सवारी साधन सञ्चालनमा जोर–विजोर प्रणाली लागु गर्न सुझाव दिएको छ।

काठमाडौँ उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाई गर्न पनि बैठकले माग गरेको छ। फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बैठकमा उपत्यका भित्रको जनजीवन खुकुलो बनाउँदै नाकामा भने सेना खटाएर भएपनि कडाई गर्न संघीय सरकार र तीन वटै जिल्ला प्रशासनसँग माग गर्ने बताए।

महामारीको जोखिम घटेर होइन, जीविकोपार्जनका दृष्टिबाट जनजीवन असहज बन्न थालेपछि यस्तो निर्णय गरेको ललितपुरका महानगरका प्रमुख महर्जनले बताए।

फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘भदौ २५ गतेबाट उपत्यका प्रवेशका सबै प्रवेश विन्दुमा कडाई गरी जोखिम न्यूनिकरणलाई ध्यानमा राखी सुरक्षा सतर्कतासाथ स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा गर्ने–गराउने गरी निषेधाज्ञा खुकुलो गर्दै जाने निर्णय गरेका छौँ।’

बैठकमा उपत्यकाका १८ वटै नगरपालिकाले पछिल्लो निषेधाज्ञा अवधिमा उपत्यकामा करिब ३८ हजारको कन्ट्याक्ट ट्रेसिङ गरेको पनि जानकारी दिइएको थियो।

पाँच हजार बेडको क्वारेन्टिन र ६ हजार बेडको आइसोलेशन बनाउने ठाउँ पहिचान भएको पनि सो अवसरमा जानकारी दिइयो। निषेधााज्ञासँगै रोकिएको स्थानीय तहको सेवा भदौ २५ देखि नियमित गर्ने निणय बैठकले गरेको छ।

नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि पटक–पटक उपत्यका प्रवेश नाकामा कडाई गर्न र उपत्यका भित्रको जनजीवन भने सहज बनाउन माग गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *