निषेधाज्ञाको आगामी रणनीतिको मस्यौदा लिएर तीनै जिल्लाका सीडीओ पुगे गृह

भदौ २३, काठमाडौँ । जारी निषेधाज्ञासम्बन्धि नयाँ निर्णयबारे छलफल गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गृह मन्त्रालय पुगेका छन् ।

तीनै जिल्लाका सीडीओको संयुक्त बैठक सकेर निषेधाज्ञाको आगामी रणनीतिको मस्यौदासहित काठमाडौंका सीडीओ जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डे मन्त्रलाय पुगेका हुन् ।

‘हामी संयुक्त बैठक सकेर मन्त्रालय आएका छौं । मन्त्रलायको छलफलपछि निषेधाज्ञाबारे निर्णय हुन्छ,’ काठमाडौंका सीडीओ दाहालले भने ।

केही प्रावधानलाई खुकुलो पार्दै निषेधाज्ञालाई निरन्तरता दिने विषयमा मन्त्रलायमा छलफल भइरहेको गृह मन्त्रालय स्रोतले बताएको छ । यसअघि थपिएको निषेधाज्ञाको अवधि बुधबार मध्यराति सकिदैछ ।

निषेधाज्ञाबारे बुधबारमात्रै निर्णय हुने

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने भन्नेमा बुधबारमात्रै बैठक बसेर निर्णय गर्ने भएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु क्रमशः जनकराज दाहाल, हुमकला पाण्डे र नारायणप्रसाद भट्टले बुधबार जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर निर्णय गर्ने भएका हुन् ।

सरकारले लगातार निषेधाज्ञा मात्रै बढाएकोमा जनस्तरबाटै त्यसको विरोध हुन थालेको छ । निषेधाज्ञाप्रति व्यक्त भइरहेको असन्तुष्टिबारे आफूहरु जानकार रहेको एक प्रजिअले बताए । तीनवटै जिल्लाका प्रजिअहरुले मंगलबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग जारी निषेधाज्ञाबारे समीक्षा गरेका छन् ।

छलफलमा गृहसचिव र प्रजिअहरुबीच जनस्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गरेर विस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने बारे कुराकानी भएको थियो । ललितपुरका प्रजिअ भट्टले निषेधाज्ञालाई जारी राख्ने वा खुकुलो बनाउने भन्नेमा बुधबार संयुक्त बैठक बसेर उचित निर्णय लिइने बताए ।

मंगलबार नै उपत्यका मेयर फोरमले राजधानी प्रवेश गर्ने नाकामा सेना परिचालन गर्नुपर्ने प्रस्ताव गरेको थियो । यसबारे प्रजिअ भट्टले अनभिज्ञता जनाए । कुन र के प्रयोजनका लागि सेना परिचालनको प्रस्ताव आयो भन्नेमा आफू जानकार नरहेको उनले बताए ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले पनि फोरमबाट आएको सेना परिचालनको प्रस्तावबारे आफूहरुलाई जानकारी नभएको बताए । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले सेनालाई दिएको जिम्मेवारीअनुसार काम गरिरहेको उनले बताए ।

देशभर हाल ३७ जिल्लामा निषेधाज्ञा छ र त्यसमध्ये उपत्यकाका तीनसहित २६ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको छ ।

संक्रमण बढ्दै गएपछि ५२ जिल्लामा निषेधाज्ञा लगाइएकोमा हाल १५ जिल्लामा हटाइसकिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाले जनस्वास्थ्यका मापदण्ड पालना र संक्रमणको दर घट्दै गएपछि निषेधाज्ञा पनि हटाइदै लगिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *