कतार एयरवेजले गर्यो यस्तो घोषणा

भदौ २६, काठमाडौँ । कतार एयरवेजले काठमाडौंबाट सातामा ३ वटा उडान सुरुवात गर्ने घोषणा गरेको छ ।

कोरोनाभाइरसका कारण बन्द भएको अन्तर्राष्ट्रिय उडान खुलेसँगै एयरलाइन्सले हाललाई सातामा ३ वटा उडान गर्ने घोषणा गरेको हो । काठमाडौं विमानस्थलबाट हुने उडान एयरलाइनको अत्याधुनिक बोइङ ७८७ ड्रीमलाइनर विमान र एयरबस ए ३२० एयरक्राफ्टद्वारा हुनेछ ।

संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको निर्देश अनुसार विमानमा नेपाली नागरिक, संयुक्त राष्ट्र विशेष संगठनहरू, विकास परियोजनाका साझेदारहरू, नेपालमा कार्यरत सबै दूतावासहरुले निर्धारित मापदण्ड पालना गरी यात्रा गर्न सक्नेछन् ।

यस्तै नेपाल आउने सबै यात्रीहरूले निर्धारित उडान समयको ७२ घण्टा भित्र गरिएको आरटी–पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टको साथै अनलाइन फारम पूरा गरेको हुनुपर्नेछ ।

असोज १५ देखि आन्तरिक उडान खुलाउने पर्यटनमन्त्रीको प्रस्ताव

सरकारले असोज १५ देखि आन्तरिक उडान खोल्ने तयारी गरिरहेको छ।

यसअघि दुई पटक उडान खोल्ने घोषणा कार्यान्वयन गर्न नसकेको सरकारले पछिल्लो पटक सीमित क्षमतामा असोज १५ देखि आन्तरिक उडान खोल्ने गृहकार्य गरिरहेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रि योगेश भट्टराईले आन्तरिक उडान खोल्नका लागि तयारी भइरहेको जानकारी दिए।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले आफूले आन्तरिक उडान खोल्नका लागि सिसिएमसीमा प्रस्ताव तयार पारेर पठाएको जानकारी दिए। हिमाल आरोहण र पदयात्रालाई पनि खुला गर्न प्रस्ताव पठाएको उनले जानकारी दिए।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्नेगरी पर्यटकीय गतिविधि खोल्ने, विदेशी नागरिकलाई पनि नेपालमा सिमित क्षेत्रमा खुला गर्नका लागि आफूले प्रस्ताव गरेको उनले बताए।

नेपालका विकास आयोजनामा कार्यरत विदेशी कामदारलाई ल्याउनका लागि पनि भिसा तथा अन्य प्रक्रियाहरु केही सहजीकरण गर्नैपर्ने बाध्यता रहेको उनले बताउ।

अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रबर्द्धन गर्नका लागि पर्यटन बोर्डलाई अध्ययन गर्न आफूले निर्देशन दिइसकेको तर अहिले सरकारको ध्यान भने आन्तरिक पर्यटनमै रहेको उनले जानकारी दिए।

अन्तर्राष्ट्रिय चार्टर्ड उडान गर्दै श्री एयरलाइन्स

श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टर्ड उडान सुरु गरेको छ। एयरलाइन्सले काठमाडौंबाट नजिक दुरीमा रहेका गन्तव्यहरुमा चार्टर्ड उडान सेवा सुरु गर्न लागेको हो।

कोभिड १९ का कारण आन्तरिक उडान सुरु हुन नसकेको अवस्थामा श्रीले अन्तर्राष्ट्रिय चार्टर्ड उडान सुरु गरेको हो। श्रीले काठमाडौंबाट बैंकक,ढाका लगायतका गन्तव्यमा उडान गर्न लागेको हो।

एयरलाइन्सले १९ सेप्टेम्बरमा ढाका र २४ सेप्टेम्बरमा बैंकका लागि चार्टर्ड उडान गर्न लागेको जानकारी दिएको छ। यसरी चार्टर्ड उडानमा जान चाहनेहरुले टिकटका लागि एयरलाइन्समा सम्पर्क राख्न एयरलाइन्सले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *