सरकारले आन्तरिक उडान र लामो दूरीका गाडी खोल्ने मिति तोक्यो

भदौ २९, काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र लामो दूरीका गाडी असोज ५ गतेदेखि खुलाउने निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात असोज ५ देखि खोल्ने निर्णय गरेको हो ।

कानुन मन्त्री डा. शिवमाया तुम्वाहाङ्फे अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको प्रस्तावमा आन्तरिक आकाश मार्ग र लामो दूरीको स्थल मार्ग एकै दिन खोल्ने निर्णय मन्त्रिपरिषद्ले लिएको हो ।

चैत ११ देखिको चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण आफूहरु थला परिसकेको जनाउँदै यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दूरीमा गाडी चलाउने घोषणा गरेका थिए ।

यस्तोमा यातायात मन्त्रीसहित सरकारी अधिकारीसँग पनि भएको सम्वादपछि सहमतिको वातावरण बनेको थियो । त्यसक्रममा सरकार यातायात खोल्न तयार भएको थियो ।

कुलमानको विषयमा प्रधानमन्त्रीले उठाए कानुनी प्रश्न, आज नियुक्ति हुन सकेन

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नेबारे प्रस्ताव तयार गरेपछि कानुनी प्रश्न उठाएका छन् ।

उनले कानुनी प्रश्न उठेकाले यसबारे परामर्श गर्न जरुरी रहेकाले आजको मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्न नसकेको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लगेकोमा प्रधानमन्त्रीले सुरुमै कानुनी प्रश्न रहेकाले यसमा आफूले थप परामर्श गर्ने बताएपछि बैठकको मुल एजेण्डामै प्रवेश नभएको ती मन्त्रीको भनाइ छ ।

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले २०७३ साल भदौ २९ गते कुलमानलाई प्राधिकरणमा नियुक्त गरेका थिए । सोअनुसार ४ वर्षे कार्यकाल आइतबार सकिएका कुलमानलाई सरकारले पुनः नियुक्ति दिनुपर्ने दवाव चौतफी भएपनि आज नियुक्ति हुन नसकेको हो ।

दैनिक १४ घण्टा लोडसेडिङ भएको समयमा प्राधिकरणमा आएका उनलाई देशमा लोडसेडिङ अन्त्य गरेको जस जान्छ । कार्यकारी निर्देशकको रुपमा आएको ६ महिनामै उनले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेका थिए । त्यसलगत्तै देशका प्रमुख शहर, सबै क्षेत्रका घरायसी ग्राहक हुँदै २०७५ बैशाख ३१ गते घरायसी र औद्योगिक ग्राहक सबैलाई लोडसेडिङमुक्त गराएका थिए ।

यो अवधिमा ३४ अर्ब सिञ्चित नोक्सानमा रहेको प्राधिकरणलाई करिब ५ अर्ब सिञ्चित नाफामा पुर्याउने र वार्षिक ८ अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरणलाई ११ अर्ब नाफाको बलियो अवस्थामा पुर्याउने जस समेत उनैले पाएका छन् । कुलमान सातौँ तहको इन्जिनियरबाट २०५१ सालमा नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका थिए ।

बामदेव गौतमबारे गर्यो यस्तो निर्णय

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारले निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई रिक्त राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक जना डा.युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरिएको हो ।

गौतमलाई अब राष्ट्रपति राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नेछिन् । गौतमलाई गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । उक्त निर्णय नेकपाभित्रको आन्तरिक द्वन्द्वका कारण कार्यान्वयन हुन सकेको थिएन ।

पार्टीभित्रको विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव ल्याएर प्रधानमन्त्री ओलीको गुटमा पुगेका गौतमलाई अन्ततः ओलीले राष्ट्रिय सभामा लाने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *