अचम्मको आयो कोरोना रिपोर्ट, सबै तीन छक

भदौ २९, वीरगन्ज । वीरगन्जमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा उपचार गराइ रहेकी एक महिलाको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका १० की ५५ वर्षीया महिलाको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार अपरान्ह ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।

नारायणी अस्पतालमा उपचारका क्रममा भदौ १२ गते ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई त्यही दिन गण्डक अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो । त्यसपछि भदौ २२ गते पुन: पीसीआर परीक्षण गर्दा पनि उनको रिपोर्ट फेरि पोजिटिभ आएको थियो ।

कडा खालाको निमोनिया भएकी ती महिलालाई आइसीयुमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई गत शनिबार भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए ।

मृत्यु हुनु भन्दा पहिले तेश्रो पटक उनको स्वाब संकलन गरी परीक्षण गर्दा भने पीसीआर रिपोर्ट नेगेटिभ आएको डाक्टर चौरसीयाले जानकारी दिए । मृत्यु हुनु भन्दा पहिले संकलन गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएकाले शव दाह संस्कारका लागि आइतबार नै परिवारजनको जिम्मा लगाइएको कोभिड अस्पतालले जनाएको छ ।

वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ । साउन यतामा मात्रै ५७ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ६१ मध्ये २ बेवारिसे पुरुष सहित पर्साका ४३ जना , बाराका १३ जना , रौतहटका ४ जना र सर्लाहीका १ जना रहेका छन् । क्रान्ती शाह अन्नपूर्ण पोष्टबाट

एन्टिजन टेस्ट: कोरोना परीक्षणको अर्को गम्भीर त्रुटि नबनोस्

डा. विजय ढकाल

नेपाल सरकारले कोरोना भाइरस (SARS-CoV-2) को संक्रमण समुदायमा फैलिएको घोषणा नगरे पनि केही समुदायमा तीव्र गतिमा भाइरस फैलिरहेको छ । विगत केही दिनमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका विभिन्न क्षेत्रमा सयौंको संख्यामा र तराईका जिल्लामा पनि बढ्दो संख्यामा संक्रमितहरू देखापर्न थालेका छन् ।

नेपालमा अझै पनि अधिकांश संक्रमित व्यक्तिहरूमा लक्षणहरू नदेखिएकाले संक्रमित भए नभएको जान्न पीसीआर परीक्षण गर्नुपर्छ । त्यसो त कोभिड-१९ रोगको लक्षणहरू देखिए पनि संक्रमण पुष्टि गर्न परीक्षणको विकल्प छैन । हाल सरकारी तथा निजी गरी कुल ४७ वटा प्रयोगशालाले दैनिक औसतमा १२ हजार नमुना परीक्षण गरिरहेका भए पनि सरकारको क्षमता भने दैनिक १८ हजार नमुना परीक्षण गर्न सक्ने खालको छ । समुदायमा यसरी नै संक्रमण फैलिँदै जाँदा केही दिनमा यो परीक्षण संख्या पर्याप्त नहुने पक्कै छ

परीक्षण क्षमता वृद्धि गर्ने विभिन्न मोलेकुलर विधिहरूको विषयमा सम्बन्धित निकायलाई समयमा नै सूचित गरिएको थियो ।भीटीएम, एक्स्ट्रयाक्सन रि–एजेन्ट र एक्स्ट्रयाक्सन प्लेटफर्म नचाहिने डाइरेक्ट पीसीआर (Direct PCR), ल्याम्प (LAMP) तथा नमुनाहरूको मिश्रण परीक्षण (पुल टेस्टिङ) विधिहरू परीक्षण क्षमता वृद्धि गर्ने केही कम खर्चिला विधिका उदाहरणहरू हुन् जुन विश्वभरी नै प्रयोगमा आइरहेका छन् । यी विधिहरूका बारेमा विभिन्न पत्रपत्रिकामा जानकारीमूलक लेखहरू पनि प्रकाशित गरिएका छन् ।

आरडीटी (एन्टिवडी टेस्ट) जस्तो उपयोगिता नभएको टेस्ट प्रयोग गरेर कोरोना रोकथाममा पर्न गएको नकारात्मक असर सेलाउन नपाउँदै एन्टिजन परीक्षणलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ । कम खर्चिलो र चाँडो नतिजा दिन सक्ने डायग्नोस्टिक परीक्षण विधि भएकोले एन्टिजन टेस्टप्रति आकर्षित हुनु स्वाभाविक हो । तर हाल उपलब्ध रि–एजेन्टहरू भरपर्दो नभएको र सीमित दायरामा मात्रै प्रयोग गर्नुपर्ने भएकाले यो पनि आरडीटी (एन्टिबडी टेस्ट) जस्तै कम उपयोगी र विवादास्पद हुने देखिन्छ ।

कोरोना भाइरसको संरचना र एन्टिजन टेस्ट

चित्रमा देखाइएको जस्तै कोरोना भाइरस (SARS-CoV-2) मा चार मुख्य संरचनात्मक (स्पाइक प्रोटिन, मेमब्रेन ग्लाइकोप्रोटिन, इन्भेलोप प्रोटिन र न्युक्लियोक्याप्सिड प्रोटिन) र अन्य धेरै सहायक प्रोटिनहरू हुन्छन् । भाइरसको आनुवंशिक तत्वको रूपमा आरएनए रहेको हुन्छ । नमुनामा भएका भाइरसका संरचनात्मक प्रोटिनका टुक्राहरू पत्ता लगाउन एन्टिजन र आरएनए पत्ता लगाउन मोलेकुलर (जस्तै, आरटी पीसीआर) टेस्टहरू उपयोग गरिन्छ ।

अमेरिकामा हालसम्म चारवटा मात्र एन्टिजन टेस्ट किटलाई खाद्यान्न तथा औषधि अनुगमन प्रशासन (एफडीए) ले आपतकालीन प्रयोगको स्वीकृति दिएको छ । यी चारैवटा टेस्ट किटले कोरोना भाइरसका न्युक्लियोक्याप्सिड प्रोटिन पत्ता लगाउँछन् । टेस्ट किटका निर्माताहरूले प्याकेज इन्सर्टमा दाबी गरेको टेस्ट सेन्सिभिटी ९५ प्रतिशतभन्दा बढी छ । टेस्ट किटले बिरामीमा रोग भएको पुष्टि गर्न सक्ने क्षमतालाई टेस्ट सेन्सिभिटी भनिन्छ । शत प्रतिशतको निकट सेन्सिभिटी भएका किटहरू भरपर्दो हुन्छन् ।

महत्वपूर्ण बुँदाको हकमा यी चारैवटा टेस्ट कोभिड-१९ को लक्षणहरू भएका बिरामीहरूको मात्रै नमुना परीक्षण गर्न स्वीकृति पाएका हुन् । साधारणतया किट निर्माताहरूको टेस्ट सेन्सिभिटी र स्पेसिफिसिटीको दाबी क्लिनिकल प्रयोगशालाहरूले स्वतन्त्र रूपमा मूल्याङ्कन गरेर साइन्टिफिक जर्नल अथवा पत्रपत्रिकामार्फत सार्वजनिक गर्छन् । यसरी क्लिनिकल प्रयोगशालाहरूले बिरामीहरूको नमुनामा परीक्षण गरी प्रकाशित गरेको टेस्ट सेन्सिभिटी र स्पेसिफिसिटीमात्र भरपर्दो र वास्तविकताको निकट हुन्छ ।

एन्टिजन टेस्टका कमीहरू

एन्टिजन टेस्टहरूको अविश्वसनीय नेगेटिभ रिपोर्ट (फल्स नेगेटिभ) एउटा महत्वपूर्ण नकारात्मक पक्ष हो । यसै कारणले हरेक एन्टिजन नेगेटिभ रिपोर्ट अनिवार्य रूपमा आरटी-पीसीआर टेस्टद्वारा नेगेटिभ भएको प्रमाणित गर्नुपर्छ । हिजोआज साइन्टिफिक जर्नलमा एन्टिजन टेस्ट प्रयोगकर्ता प्रयोगशालाहरूले कोरोना संक्रमण नभएका व्यक्तिका नमुनाहरूमा फल्स पोजेटिभ रिजल्ट रिपोर्ट गरेको पनि प्रशस्तै उदाहरणहरू भेटिन्छन् ।

पाँचवटा अध्ययनलाई समेटेर गरिएको एउटा मेटाएनालाइसिस लेखमा एन्टिजन टेस्टको औसत टेस्ट सेन्सिभिटी र स्पेसिफिसिटी क्रमश: ५६.२% र ९९.५% रहेको पाइएको छ । यस अध्ययनमा समेटिएका एन्टिजन टेस्ट किट प्रायजसो चीनमा उत्पादित छन् ।

महामारीको चपेटामा परेको बेला स्पेनले टेस्ट सेन्सिभिटी ८० प्रतिशत भनिएको किटले ३० प्रतिशतमात्र देखाएपछि चीनमा उत्पादित ३ लाख ४० हजार यस्तै एन्टिजन किट फिर्ता गरेको थियो ।

चीनमा उत्पादित यस्तै एन्टिजन किटहरूले नेपाली बजार चाँडै नै भरिने सम्बन्धित क्षेत्रका विज्ञहरूको आशंका छ । रोचक कुरा त के छ भने सस्तो एन्टिजन किटहरू बनाउने चीन आफू भने मोलेकुलर (आरटी-पीसीआर) विधिबाट मात्र परीक्षण गर्छ । चीनले गत मे महिनामा कोरोना भाइरसको महामारी सुरु भएको वुहान सहरका एक करोड १० लाखमध्ये ६५ लाख बासिन्दाको परीक्षण गरेको थियो । यति धेरै संख्याको परीक्षणमा मोलेकुलर (आरटी पीसीआर) विधि नै प्रयोग गर्‍यो । केवल ९ दिनमा परीक्षण पूरा गर्न नमुनाहरूको मिश्रण (पुलिङ) अनि आरटी पीसीआर विधि प्रयोग भएको थियो ।

केही दिनअघि मात्र वुहान सहरका बासिन्दाले महामारीपछिको सबैभन्दा ठूलो जमघटमा मास्क नै नलगाई पुल पार्टी गरेको समाचार सार्वजनिक भएको थियो ।

परीक्षणमा एन्टिजेन टेस्ट प्रयोग गरिएको भए सायदै यस्तो समाचार सुन्नमा आउँथ्यो होला ।

बेल्जियममा र्‍यापिड डायग्नोस्टिक टेस्टको रूपमा प्रयोग गर्नको लागि गरिएको सम्भाव्यता अध्ययनमा आरटी-पीसीआरको तुलनामा एन्टिजन टेस्टको टेस्ट सेन्सिभिटी ३०.२ प्रतिशतमात्र पाइएको थियो । अनुसन्धान पश्चात कोभिड-१९ निदानको लागि एन्टिजन टेस्ट प्रयोग गर्नुहुँदैन र आरटी-पीसीआरको उपयोग घटाउनुमा कुनै फाइदा नभएको निष्कर्ष निकालेको थियो ।

त्यस्तै, हंगकंगमा गरिएको अध्ययनमा एन्टिजन टेस्ट भाइरल कल्चर र आरटी पीसीआरभन्दा क्रमशः १,००० र १००,००० गुणा कम सेन्सिभिट पाइएको थियो । सोही अध्ययनमा आरटी-पीसीआरको तुलनामा एन्टिजन टेस्टको टेस्ट सेन्सिभिटी ११.१% देखि ४५.७% को बीचमा रहेको पाइएको छ ।

अमेरिकी एफडीएले आपतकालीन प्रयोगको स्वीकृति दिएका एन्टिजन किटहरूमा पनि फल्स पोजेटिभ देखिएका धेरै उदाहरणहरू छन् । तीमध्ये केही त उच्च व्यक्तित्वहरूसँग जोडिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकपूर्व गरिएको एन्टिजेन परीक्षणमा ओहायो राज्यका गभर्नर माइक डवाइन कोरोना भाइरस पोजेटिभ देखिए र यसैकारण भेटको योजना परिवर्तन गर्नुपर्‍यो । पछि उनमा गरिएको पीसीआर परीक्षण दोहोर्‍याएर गर्दा नेगेटिभ प्रमाणित भएको थियो ।

यस्तै, अर्को घटनामा भर्मन्ट राज्यको म्यानचेस्टर मेडिकल सेन्टरमा एन्टिजन टेस्ट पोजेटिभ देखिएका ६५ जनामध्ये केवल ४ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । एन्टिजन टेस्टको अविश्वसनीय परीक्षण नतिजाका कारण भर्मन्ट स्वास्थ्य विभागले म्यानचेस्टर क्षेत्रका १६१३ बासिन्दाहरूको पीसीआर परीक्षण गर्‍यो र थप एकजना संक्रमित नागरिक पहिचान गर्‍यो ।

नेपाल भित्रिएका एन्टिजन टेस्ट

जापानले फुजीरेबायो डायग्नोस्टिक्स (Fujirebio Diagnostics Inc.) को ५० हजार एन्टिजन किट नेपाललाई अनुदानस्वरूप प्रदान गर्ने भएको छ ।सोमध्ये सात हजार एन्टिजन किट नेपाल भित्रिसकेको छ । यस किटको निर्माताले प्याकेज इन्सर्टमा दाबी गरेको टेस्ट सेन्सिभिटी र स्पेसिफिसिटी क्रमश: ९१.७ प्रतिशत र ९७.३ प्रतिशत रहेको छ । जर्नल अफ क्लिनिकल भाइरोलोजीमा २५ अगस्ट २०२० मा प्रकाशित एक लेख अनुसार यो किट (Lumipulse G SARS-CoV-2 Ag) प्रयोग गरी परीक्षण गरिएका ३० वटा एन्टिजन पोजेटिभमध्ये ८ वटा आरटी-पीसीआर परीक्षणमा फल्स पोजेटिभ साबित भएका थिए । लेखमा अनुसन्धानकर्ताले उपचारको क्रममा फल्स पोजेटिभ व्यक्तिलाई कोभिड-१९ रोगीसँगै एउटै कोठामा राखेर उपचार हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण कोरियाली फर्म एसडी बायोसेन्सरद्वारा विकसित STANDARD Q COVID-19 Ag एन्टिजन किट नेपाल भित्र्याउन तयारी भइरहेको बुझिएको छ । हाल भारतमा प्रयोग भइरहेको यस किटको टेस्ट सेन्सिभिटी ५०-८४ प्रतिशतमात्र रहेकोले आईसीएमआरले यो परीक्षण किट आरटी पीसीआर विधिसँग संयोजन गरेर प्रयोग गर्न निर्देशन दिएको छ ।

किन नेपालमा एन्टिजन टेस्ट प्रयोगमा ल्याउन हुँदैन

एन्टिजन टेस्ट प्रयोग गरेर परीक्षण गर्ने ठूला राष्ट्रहरू भारत र अमेरिकाको कोरोना संक्रमणको स्थिति सर्वविदितै छ । विश्वमान चित्रमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भएका राष्ट्रहरूको सूचीमा यी दुई देशहरु अगाडि रहेका छन् । अर्कोतर्फ संक्रमण काबुमा राख्न सफल भएका देशहरूले भने कोरोना परीक्षणको लागि आरटी-पीसीआर विधि नै उपयोग गरेको देखिन्छ । सम्पन्न मुलुकहरूमा दोहोर्‍याएर, तेहेर्‍याएर उपर्युक्त निदान नभएसम्म परीक्षण गर्न सक्ने श्रोत, साधन र सुविधा छन् । अर्थतन्त्र कमजोर बन्दै जाँदा नेपालमा सरकार र नागरिक दुवैको बारम्बार परीक्षण गर्नसक्ने क्षमता नभएकोले पीसीआर परीक्षण नै उपयुक्त हुन्छ । कम खर्चिलो र चाँडो नतिजा दिनसक्ने भन्दैमा महत्वपूर्ण र गम्भीर कमी भएका एन्टिजन टेस्टहरू उपयोग नगर्नु संक्रमण रोकथामको लागि फाइदाजनक छ ।

एन्टिजन टेस्ट हालको परिस्थितिमा कम खर्चिलो हुन्छ भन्ने तर्क युक्तिसंगत नभएको देखिन्छ । हाल परीक्षण भएकामध्ये लगभग १० प्रतिशत नमुनाहरू पोजेटिभ देखिएका छन् । यही स्थितिलाई मध्यनजर राखेर लागत बचतको गणना गर्न सकिन्छ । संक्रमितको दर १० प्रतिशत, टेस्ट सेन्सिभिटी र स्पेसिफिसिटी क्रमशः ५० प्रतिशत र ९९ प्रतिशत भएको एन्टिजन टेस्टले ९५ प्रतिशत नमुनाहरू नेगेटिभ र ५ प्रतिशत पोजेटिभ देखाउँछ । माथि उल्लेख भएजस्तै एन्टिजन टेस्टको नेगेटिभ रिपोर्ट विश्वसनीय नहुने भएकोले पीसीआर विधि प्रयोग गरी नेगेटिभ भएको प्रमाणित गर्नुपर्छ ।

त्यसैले ९५ प्रतिशत नमुनाहरूको एन्टिजन र पीसीआर टेस्ट दुवै गर्नुपर्ने भएकोले खर्च झन् बढ्ने देखिन्छ । यसरी दोहोरो परीक्षण गर्नुपर्ने भएकोले रिपोर्ट आउन झन् ढिलो हुन्छ । त्यसैले सही तवरले प्रयोग गर्ने हो भने एन्टिजन टेस्टले लागत बचत गर्न संक्रमितको दर धेरै नै उच्च हुनुपर्छ । अर्कोतर्फ संक्रमितलाई एन्टिजन टेस्टले नेगेटिभ भनेर रिपोर्ट हुँदा नागरिकहरू संक्रमण मुक्त छु भनेर ढुक्क परेर अन्जानमा उनीहरुले संक्रमण फैलाउने सम्भावना हुन्छ । माथि उल्लेख भए जस्तै एन्टिजन टेस्टले फल्स पोजेटिभ रिपोर्ट पनि दिने भएकोले संक्रमण नभएकालाई पोजेटिभ भनेर रिपोर्ट हुँदा नागरिकले भोग्नुपर्ने तनावको प्रशस्त उदाहरणहरू पत्रपत्रिकामा प्रकाशित छन् ।

सेप्टेम्बर १० देखि दैनिक झण्डै एक लाखको दरले नयाँ संक्रमण देखिएपछि भारतको स्वास्थ्य मन्त्रालयले एन्टिजन टेस्टमा नेगेटिभ भएका तर पछि लक्षण देखिएका व्यक्तिहरूमा आरटी-पीसीआर टेस्ट गर्न निर्देशन दिएको छ ।

भारतले कुल परीक्षणको ८७ प्रतिशतसम्म एन्टिजन टेस्ट प्रयोग गरिरहेको देखिएको छ ।

लक्षण नदेखिएका व्यक्तिहरूमा पनि एन्टिजन टेस्ट गर्ने नीति भारतले बनाएको छ ।

यति धेरै जनसंख्या र बाक्लो जनघनत्व भएको देशमा लक्षण नदेखिएकामा एन्टिजन टेस्टजस्तो अपत्यारिलो टेस्ट प्रयोग गर्दा संक्रमण अझ धेरै फैलिन सक्छ । विश्वको आकडा हेर्दा साधारणतय, संक्रमण भएकामध्ये ४० देखि ४५ प्रतिशतमा रोगका लक्षणहरू नदेखिने (एसिम्प्टोमेटिक) र यस्ता व्यक्तिहरूले लामो समय (१४ दिनभन्दा बढी) सम्म संक्रमण सार्न सक्दछन् ।

योकोहामा जापानमा क्वारेन्टिन गरिएको डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजमा भएको संक्रमणको विश्लेषण गर्दा ७४ प्रतिशत संक्रमित व्यक्तिहरू एसिम्प्टोमेटिक रहेको र एसिम्प्टोमेटिक व्यक्तिहरू ६९ प्रतिशत संक्रमणको स्रोत रहेको पाइएको थियो ।

यसैगरी एक संक्रमित तर एसिम्प्टोमेटिक व्यक्ति अन्तर्राष्ट्रिय यात्रापछि चीन फर्किएर ७१ जनाभन्दा बढीको संक्रमणको स्रोत बनेका थिए ।

आधिकारिक आँकडा प्रकाशित नभए पनि नेपालमा ७५-८० प्रतिशत संक्रमितमा लक्षण नदेखिएको अनुभव चिकित्सकहरूले व्यक्त गरेका छन् । एसिम्प्टोमेटिक व्यक्तिहरूले थाहा नपाई संक्रमण फैलाउने उच्च जोखिम भएकोले यो समूहको पनि उचित परीक्षण र व्यवस्थापन गर्न अनिवार्य छ । सबै जसो एन्टिजन किट प्रयोग गर्ने निर्देशिकामा लक्षण देखिएका बिरामीको नाकबाट संकलन गरिएका नमुनाहरूमा मात्र परीक्षण गर्न निर्देशन दिइएको हुन्छ । एसिम्प्टोमेटिक व्यक्तिको र घाँटीका नमुनामा एन्टिजन टेस्टको प्रभावकारिता र उपयोगिताबारे केही खुलाइएको छैन । घाँटीबाट संकलित नमुनाहरू हीन हुँदाहुँदै अझै पनि नेपालमा घाँटीबाट नै नमुनाहरू संकलन गरिएको देखिन्छ । यसर्थ एन्टिजन टेस्ट किटहरू सामान्य रूपमा प्रयोग भए भने यो महामारीलाई अझ लामो समय र अहिलेभन्दा धेरै विकराल रूपमा झेल्नुपर्ने हुन सक्छ ।

आरटी-पीसीआरको विस्तार र परीक्षण खर्च कटौती अथवा वैकल्पिक मोलेकुलर विधि

केही समयअघि नमुनाबाट भाइरसको आनुवंशिक तत्व (आरएनए) निकाल्न करोडौंमा अटोमेटेड एक्स्ट्राक्सन मेसिनहरू खरिद गरिएको थियो । यी मेसिनहरू प्रयोगमा आएपछि आरटी-पीसीआर परीक्षण संख्या व्यापक रूपमा वृद्धि गर्न सकिने दाबी गरिएको थियो । म्यानुयल एक्स्ट्राक्सन गर्दाभन्दा केही सुधार देखिए पनि अझै सरकारले दाबी गरेको क्षमतामा (दैनिक १८ हजार) परीक्षण हुनसकेको छैन ।

आरटी-पीसीआर विधि खर्चिलो भएकोले सरकार र आमनागरिकले धान्न नसक्ने अभिव्यक्ति आउन थालेको छ । आजभन्दा ४-५ महिना अगाडि नै त्यतिबेला सरकारले तोकेको ५ हजार ५ सय रुपैयाँ शुल्कभन्दा कम खर्चमा पीसीआर परीक्षण गर्न सकिन्छ भनेर सरोकारवालालाई ज्ञात गराइएको थियो । भीटीएम र एक्स्ट्राक्सन रि-एजेन्ट प्रयोग नगरी ड्राई स्वाब नमुना संकलन गरेर डाइरेक्ट पीसीआर विधि अपनाउँदा परीक्षण खर्चमा धेरै नै बचत हुनुको साथै परीक्षण क्षमता पनि वृद्धि गर्न सकिन्छ । यो विधिको बारेमा पहिले नै केही लेखहरू प्रकाशित भएका छन् ।

‘नेपालमा अहिलेभन्दा छिटो र सस्तोमा कोरोना परीक्षण गर्न सकिन्छ’ लेख हेर्नुहोस ।

आरटी-पीसीआरको विकल्प लुप मिडिएटेड आइसोथर्मल एम्प्लिफिकेसन, छोटकरीमा ल्याम्प (Loop-mediated isothermal Amplification, or LAMP) हुन सक्छ । तुलनात्मक रूपमा आरटी-पीसीआरभन्दा द्रूत र कम खर्चिलो यस प्रविधिको धेरै परिमार्जनमध्ये प्रमाणीकरण अध्ययन पश्चात नेपाललाई सुहाउने विधिलाई उपयोगमा ल्याउन सकिन्छ । एउटै तापक्रममा इन्क्युबेसन गरे पुग्ने यो सरल प्रविधिलाई नेपालका दुर्गम जिल्लाहरूमा कुनै विशेष महँगो उपकरणबिना नै प्रयोगमा ल्याउन सकिन्छ ।

केही समय अगाडि विकसित गरिएको क्यासपर/क्यास (CRISPR/Cas) प्रविधिलाई परिमार्जन गरेर बनाइएका सेरलक (SHERLOCK) र डिटेक्टर (DETECTR) जस्ता नयाँ प्लेटफर्महरू आरटी-पीसीआरको विकल्प हुन सक्छन् । तर यी विधिहरू डायग्नोस्टिक प्रयोगशालाहरूमा व्यापक रूपमा प्रयोग नभएकोले थप अनुसन्धान तथा प्रमाणीकरण अध्ययन गरी निखार्न जरुरी छ ।

संसारमा धेरै मुलुकहरूले तथा नेपालका पनि केही सरकारी प्रयोगशालाहरूले प्रयोग गर्दै आएको अर्को विधि हो, नमुनाहरूको मिश्रण परीक्षण (पुल टेस्टिङ) । पुल टेस्टिङ संक्रमणको प्रिभिलेन्स (व्यापकता) १० प्रतिशतभन्दा कम हुँदासम्म उपयुक्त हुन्छ । नमुनाहरू संकलन गरिएको क्षेत्रमा संक्रमणको व्यापकता जति कम भयो त्यति नै पुलिङ/पुल टेस्टिङ प्रभावकारी र कम खर्चिलो हुन्छ । त्यसैगरी प्रिभेलेन्सको आधारमा मिश्रण गर्ने नमुनाहरूको संख्या तय गरिन्छ । संक्रमणको प्रिभेलेन्स धेरै भएको बेला कम नमुनाहरू र प्रिभेलेन्स थोरै भएको बेला धेरै नमुनाहरूको पुल टेस्टिङ गर्न सकिन्छ । एउटै परिवारका सदस्यहरू, संक्रमणको जोखिम न्यून भएका व्यक्तिहरू र प्रिभेलेन्स न्यून भएको बेला सङ्कलन गरिएका कुनै पनि नमुनाहरूमा पुल टेस्टिङ गर्न सकिन्छ । समुदायमा ५ प्रतिशतसम्म संक्रमित हुँदा तीनदेखि पाँचवटा र १ प्रतिशत वा सोभन्दा कम संक्रमित हुँदा १० वटासम्म नमुनाहरूको मिश्रण परीक्षण गर्न उपयुक्त हुन्छ ।

नेपालमा कोभिड-१९ बाट मृत्यु र संक्रमित हुनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएकोले क्षमता अनुरूप पूर्ण रूपमा आरटी-पीसीआर परीक्षण गर्नुपर्नेमा टेस्ट सेन्सिभिटी र स्पेसिफिसिटी दुवैमा समस्या भएका एन्टिजन टेस्ट प्रयोग गर्न सरकारले अनुमति दिनु युक्तिसङ्गत देखिँदैन । उच्च गुणस्तरीय, विश्वसनीय र सर्वमान्य आरटी-पीसीआर टेस्ट नै दुई हजार रुपैयाँमा उपलब्ध हुने भएकोले कोरोनाको परीक्षणमा आरटी-पीसीआर अथवा माथि चर्चा भएका अन्य मोलेकुलर विधिहरू कार्यान्वयन र विस्तार गर्न जोड दिऔं ।

लेखकको परिचय

अस्ट्रेलियामा मुख्यालय (हेडक्वाटर) रहेको सोनिक हेल्थकेयरको प्रयोगशालाहरू अस्ट्रेलियामा, न्युजिल्याण्ड, युरोप र अमेरिकाका विभिन्न सहरहरूमा फैलिएका छन् । सोनिक हेल्थकेयर यूसएअन्तर्गत १२ वटा प्रयोगशालाहरू छन्, जुन पूर्वमा न्युयोर्कदेखि पश्चिममा हवाईसम्म फैलिएको छ । डाक्टर ढकालका अनुसार यी १२ वटा प्रादेशिक प्रयोगशालाहरूले परीक्षण गर्न नसकेको तथा प्राविधिक रूपमा कठिन टेस्टहरू उनी कार्यरत सोनिक रेफ्रेन्स ल्याबमा परीक्षण हुन्छ ।

संक्रामक रोग, आनुवांशिक रोग, क्यान्सर तथा फार्माकोजिनोमिक्ससँग सम्बन्धित परीक्षणहरू गर्ने उनको ल्याबले अहिले महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको परीक्षण पनि गरिरहेको छ । उनले काम गर्ने ’सोनिक रेफ्रेन्स ल्याब’ अमेरिकामा निजी क्षेत्रलाई कोभिड–१९ को परीक्षण गर्न अनुमति दिएपछि पहिलो परीक्षण सुरु गर्नेमध्येकै प्रयोगशाला पनि हो ।

उनी अहिले सोनिक हेल्थकेयर युसएको कोभिड–१९ टास्क फोर्सको साइन्टिफिक एड्भाइजरको रूपमा पनि संलग्न छन् । यो कमिटीले सोनिक हेल्थकेयर युसएअन्तर्गतका विभिन्न प्रयोगशालाहरूलाई कोभिड–१९ को परीक्षणसँग सम्बन्धित राय तथा सुझाव दिन्छ ।

२० वर्षदेखि माइक्रोबायोलोजी र मोलेकुलर बायोलोजी क्षेत्रमा काम गर्दै आएका डाक्टर ढकालले अमेरिकाको युनिभर्सिटी अफ युटाबाट एक्सपेरिमेन्टल प्याथोलोजीमा विद्यावारिधि हासिल गरेर त्यहीँबाट पोस्ट डक्टरल फेलोसिप गरेका छन् । युनिभर्सिटी अफ युटा र एआरयूपी ल्याबरेटोरी (ARUP Laboratory)को संयुक्त प्रोग्रामबाट मेडिकल तथा पब्लिक हेल्थ माइक्रोबायोलोजीमा क्लिनिकल फेलोसिप गरेका डाक्टर ढकाल बोर्ड सर्टिफाइड माइक्रोबायोलोजिस्ट र मोलेकुलर बायोलोजिस्ट हुन्। अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *