यी ६ जिल्लामा ‘अति भारी’ वर्षा, सतर्क रहन आह्वान, देशभरको अवस्था के छ ?

भदौ ३०, काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षा भएको छ ।

नेपाल बाढी सूचना केन्द्रले ६ बजे सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास ‘अति भारी’ (२५० मिलिलिटरभन्दा बढी)वर्षा भएको छ ।

यस्तै झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यम देखि ठूलो बर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत झापा ,मोरङ सुनसरी भई बहने स-साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले १२ बजे सम्म सतर्क रहन आह्वान गरिएको छ ।

यस्तै चितवन, कास्की लगायतका जिल्ला तथा आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नारायणगढ-मुग्लिन सडक खण्डको कालिखोला र आसपास ‘अति ठूलो’ वर्षा भएको छ ।

भारी वर्षापछि स-साना खोलामा पनि आकस्मिक बहाव आउने तथा कालिखोला आसपास पहिरोको उच्च जोखिम रहेकाले उक्त क्षेत्रको यात्रामा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ ।

यस्तै कास्कीको पोखरा र आसपास पनि भारी बर्षा भएकाले तनहूँ, लमजुङ, स्याङजा, बागलुङ, पर्वत भई बहने स-साना नदीमा पनि बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आह्वान गरिएको छ ।

मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले विभिन्न ३ प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ ।

अहिले प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउँन महाशाखाले आह्वान गरेको छ ।

भारी वर्षाका कारण विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

रातिदेखि नै विभिन्न स्थानमा भारी वर्षा, अगामी २४ घण्टासम्म सतर्कता अपनाउन मौसमविद्को सुझाव

रातिदेखि नै देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। अन्य स्थानमा हल्कादेखि मध्यमसम्म र प्रदेश १ को झापामा भने भारी वर्षा भइरहेको छ।

उनका अनुसार सोमबार राति पोखरा, चितवन र धादिङमा भारी वर्षा भएको थियो। अहिले भने कम भइसकेको छ। अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद् शाक्यले जानकारी दिइन्।

काठमाडौं उपत्यकामा पनि मंगलबार बिहान ३ बजेदेखि वर्षा भइरहेको उनले बताइन्। ‘यो अझै केहीबेर जारी रहने अनुमान छ,’ उनले भनिन्।

फेरि दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १ , प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले मंगलबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *