प्याजको मूल्य आकाशियो, कति छ प्रति केजी ? हेर्नुस

३१ भदौ, काठमाडौं । भारतले प्याज निर्यात बन्द गरेपछि बजार भाउमा नेपाली व्यापारीको मनोमानी सुरु भएको छ ।

कालीमाटी तरकारी बजारमा करिब २४ घण्टाको फरकमै प्याजको भाउमा शतप्रतिशतभन्दा बढीले मूल्य बढाइएको उपभोक्ताले गुनासो गरेका छन् ।

मंगलबार बिहान प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा प्याज बिक्री भएकोमा बुधबार बिहान १३० रुपैयाँ पुर्‍याइएको छ ।

प्याजको मूल्यमा व्यापारीको मनोमानी सुरु भएको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले पनि स्वीकार गरेको छ । केही व्यापारीले बढी मूल्यमा प्याज बिक्री गर्न थालेको गुनासो आएपछि बजार अनुमगन थालिएको बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए ।

सोमबार बजारमा ३५ टन प्याज आए पनि मंगलबार प्याज नभित्रिएको उनले बताए । बिगतको प्याजको आयात हेर्दा नेपाली बजार प्याजका लागि भारतमै निर्भर देखिएको उपनिर्देशक श्रेष्ठको भनाइ छ । दुई महिनामा ३४ सय टन प्याज बजार भित्रिदा जम्मा तीन टन मात्रै नेपाली प्याज आएको उनको भनाइ थियो ।

बजारमा प्याज पाइनै छोड्यो : व्यापारी

भारतले प्याज निर्यात रोकेपछि नेपाली बजारमा प्याज पाइन छोडेको कालीमाटीका व्यापारीहरुको तर्क छ । भारतबाट आउन छोडेपछि बजारमा प्याजको अभाव भएको कालीमाटीका आलु–प्याज व्यापारी दधिराम उप्रेतीको दाबी छ । ‘हिजोबाट प्याज आउन छोड्यो, बजारमा प्याज पाइएको छैन,’ उप्रेतीले भने । मागको तुलनामा बजारमा अभाव भएपछि केही व्यापारीले महँगोमा प्याज बिक्री गरेको हुन सक्ने उनको भनाइ छ ।

अर्का प्याज व्यवसायी वृजभुषण मल्लिकले भने बजारमा प्याज नै नभएको र भएको प्याज बिक्री गर्दा बढी मूल्य नलिएको दाबी गरे । ‘थोकमा ८० रुपैयाँमा बिक्री भएको एक सय पुगेको छैन, बजारमा प्याज एक दम कम छ,’ मल्लिकले भने ।

भन्सारमा भारतले रोकेपछि लोड गाडी पनि नेपाल आउन नपाएको उनको भनाइ छ । नेपाली प्याज बजारमा नभएको र भारतकै भर पर्दा समस्या परेको उनले सुनाए । दुई महिनाअघि धेरै प्याज भित्रिदा १८ रुपैयाँ किलोमा पनि बिक्री गर्न नसकिएको प्याज अहिले चरम अभाव भएको मल्लिकको भनाइ छ ।

‘अप्रेसन प्याज अभियान’ सुरु

यता वाणिज्य विभागले भने प्याजको मूल्य बृद्धिबारे बजार अनुगमन सुरु भएको जनाएको छ । मंगलबारदेखि नै ‘अप्रेसन प्याज अभियान’ चलाएको विभागले जनाएको छ ।

मंगलबार नै कालीमाटीका ६ वटा पसलमा अनुगमन गरिएको वाणिज्य विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए । ‘प्याजको मूल्य वृद्धिविरुद्ध गुनासो आएपछि आज अनुमगन गरेका छौँ, ६ वटा पसललाई पूर्जी काटिएको छ,’ निर्देशक आचार्यले भने ।

तीन वटा खुद्रा र तीनवटा थोक पसलमा गरिएको अनुगमनमा ४५ रुपैयाँमा किनिएको प्याजलाई एक सय १० रुपैयाँसम्ममा बिक्री गरिएको पाइएको उनले बताए । प्याजको मूल्यवृद्धि विरुद्ध नियमित अपे्रसन घोषणा नै गरेर विभाग लागेको आचार्यले बताए ।

दशैँसम्म प्याजको मूल्यले नयाँ रेकर्ड राख्न सक्छ’

आसन्न दशैँ–तिहारमा प्याजको अभाव हुनसक्ने सम्भावना देखिएको छ । प्रमुखः निर्यातकर्ता भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा त्यसको प्रत्यक्ष प्रभाव पर्न थालिसकेको छ ।

गत सोमबार भारतीय वाणिज्य मन्त्रालयले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो । भारतीय बजारमै प्याजको मूल्य बढेको र उत्पादनसमेत घटेको कारण देखाएर भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

भारतीय बजारमै यतिखेर प्याजको मूल्य प्रतिकेजी २५ देखि २७ रुपैयाँ छ । निर्यात रोकेपछि बजारमा प्याजको स्टक रहने र मूल्य घट्ने भारत सरकारको बुझाइ छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा भने प्याजको अभाव भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार गत आइतबार र सोमबार क्रमशः ६२ र ३५ टन प्याज आयात भएकोमा मङ्गलबार प्याजको आयात शुन्यमा झरेको छ ।

प्याजको प्रमुख निर्यातकर्ता भारतले निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा प्याजको अभाव भइ मूल्यवृद्धि हुनपुगेको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए ।

‘उताबाट आधिकारिक जानकारी त आएको छैन । आयात हुन छाडेकाले बजारमा प्याजको अभाव हुन थालेको सूचना आएको छ,’ उनले भने, ‘यसको असर कतिसम्म पर्ने हो, अहिले नै भन्न सक्ने अवस्था छैन ।’ निर्यात प्रतिवन्ध लम्बिरहने हो भने बजारमा हाहाकार मच्चिन सक्ने उनको भनाइ छ ।

‘भारतीय प्रतिवन्धको दोस्रो दिनमै बजारमा प्याजको अभाव देख्न थालिसकेको छ । यसले चरम मूल्य वृद्धि हुनेमा कुनै शंका छैन,’ कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका महासचिव हरिकृष्ण थापाले भने, ‘छिटोभन्दा छिटो विकल्प नखोजिने हो भने दशैंसम्म प्याजको भाऊले नयाँ रेकर्ड राख्न सक्छ ।’

नेपाल प्याज आयातका लागि ९९ प्रतिशत भारतमै निर्भर छ । गत सोमबार अधिकतम ६० रुपैयाँ प्रतिकेजीमा कारोबार भएको प्याज भारतले निर्यात रोकेसँगै ७५ देखि ८० रुपैयाँ प्रतिकेजीसम्ममा कारोबार भएको छ । ५ दिन यता बजारमा प्याजको मूल्य क्रमशः बढ्दै आएको छ । भारतको पछिल्लो निर्णयसँगै अधिकतम ७० प्रतिशतसम्मले प्याजको मूल्यवृद्धि भएको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको तथ्याङ्कले देखाएको छ ।

समितिको तथ्याङ्क अनुसार गत शुक्रबार अधिकतम ५३ रुपैयाँ प्रतिकेजी थोक मूल्यमा कारोबार भएको प्याजको मूल्य मंगलबार (५ दिनमा) ७५ रुपैयाँ पुगेको छ । यो मूल्य अझ बढ्न सक्ने समितिले बताएको छ ।

गत वर्ष पनि भारतले प्याजको निर्यातमा अवरोध गर्दा बजारमा हाहाकार मच्चिएको थियो । प्रतिकेजी ३०–४० रुपैयाँमा पाइने प्याजको मूल्य अधिकतम दुई सय देखि ३ सय रुपैयाँसम्म पुगेको थियो ।

दशैँसम्म प्याजको मूल्यले नयाँ रेकर्ड राख्न सक्छ

बजारमा प्याजको भाऊले नयाँ रेकर्ड राख्न सक्ने व्यवसायीहरुले बताएका छन् । बजार खपतको मुख्य समय दशैँ–तिहारसम्म पनि प्रतिवन्ध कायमै रहे प्याजको मूल्य नसोचेको विन्दुमा पुग्ने उनीहरुको भनाइ छ ।

‘भारतीय प्रतिवन्धको दोस्रो दिनमै बजारमा प्याजको अभाव देख्न थालिसकेको छ । यसले चरम मूल्य वृद्धि हुनेमा कुनै शंका छैन,’ कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका महासचिव हरिकृष्ण थापाले भने, ‘छिटोभन्दा छिटो विकल्प नखोजिने हो भने दशैंसम्म प्याजको भाऊले नयाँ रेकर्ड राख्न सक्छ ।’

कालिमाटीकै व्यवसायी अमन अधिकारी प्याज दैनिक उपभोग्य वस्तु अन्तर्गत नै पर्ने भएकाले एकदिन रोकिने वित्तिकै बजारमा अभाव सिर्जना हुने बताए । भारतीय प्रतिवन्ध कहिलेसम्म कायम रहने हो भन्ने टुंगो नभएकाले प्याजको भाऊ जति पनि जान सक्ने उनको भनाइ छ ।

चालु आर्थिक वर्षको दुई महिनामा ३ हजार ८ सय २ टन प्याज आयात

कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा मात्र कुल ३ हजार ८ सय २ टन भारतीय प्याजको आयात भएको छ । उक्त तथ्याङ्क अनुसार गत सोमबार सम्ममा सरदर दैनिक ६३ टन प्याज आयात भइरहेको थियो । तर गत सोमबारको निर्णय लगत्तै मंगलबार कालिमाटी तरकारी बजारमा भारतीय प्याजको आयात शुन्य भएको छ ।

प्याजको ९९ प्रतिशत आयात भारतबाटै हुने भएकाले बजार अनिश्चित हुनपुगेको प्रवक्ता विनय श्रेष्ठले बताए । तर, गत वर्षको जस्तै प्रतिवन्ध खुलाउन वा वैकल्पिक मार्ग खोज्न सकिने श्रेष्ठको भनाइ छ ।

यता नेपालको आफ्नै उत्पादन भने शुन्य जस्तै भएकाले आन्तरिक व्यवस्थापन गर्न नसकिने उनको भनाइ छ । समितिको पछिल्लो तथ्याङ्क अनुसार गत आर्थिक वर्ष कुल २४ हजार २७२ टन प्याज आयात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *